गुल्मीको धुर्कोट गाउँपालिका–४, कालापोखरामा एक १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। मृतक बालक सोही स्थानका स्थानीय रामबहादुर सुनारका छोरा अनमोल सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन्।

अनुसार, मंगलबार बिहान करिब १० बजे अनमोल आफ्नै घरको बंगालको काठले बनेको दलिनमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए। बालककी आमाले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि तुरुन्तै पासो काटी खाटमा सुताइन्, तर त्यस बेलासम्म उनको मृत्यु भइसकेको थियो।
घटनाबारे जानकारी पाएपछि स्थानीय देवेन्द्र भण्डारीले प्रहरी चौकी जैसिथोक बरबोटलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी सहायक निरीक्षक रामदेव सुनारको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा थप प्रहरी टोली खटिएको छ। हाल घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।











