
मिति २०८२ साल श्रावण ११ गते (२०७५/०४/११), दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म लालुपाते टोल विकास संस्थाको १८औं साधारण सभा तथा नवौं अधिवेशन भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको सभाध्यक्ष निवर्तमान अध्यक्ष जुना अधिकारी रहनु भएको थियो।
प्रमुख अतिथिका रूपमा पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई तथा
विशेष अतिथिका रूपमा वडा प्रहरी कार्यालय बैदाम–६ का प्रमुख डीएसपी नवराज भट्टराई र
सामुदायिक सेवा केन्द्र बैदाम–६ का अध्यक्ष ठाकुरप्रसाद बराल उपस्थित हुनुहुन्थ्यो।
त्यस्तै, कार्यक्रममा संस्थापक अध्यक्ष गोविन्दराज पहारी लगायत
पूर्व अध्यक्षहरू सूर्यनाथ अधिकारी, चन्द्रनाथ अधिकारी, खिम बहादुर ढकाल र मिरा अधिकारीको पनि उपस्थिति रहेको थियो।
नवनिर्वाचित कार्यसमिति विवरण:
पदाधिकारीहरू:
-
अध्यक्ष – खगराज अधिकारी
-
उपाध्यक्ष – विकास पहारी
-
सचिव – सुरेश न्यौपाने
-
सहसचिव – उमा भण्डारी
-
कोषाध्यक्ष – प्रकाश पहारी
सदस्यहरू:
-
विजया पहारी
-
लक्ष्मण अधिकारी
-
माधव लम्साल
-
भूपाल थापा
-
दुर्गा पाण्डे
-
भिष्मराज पौडेल
कार्यक्रम रोज मेरी किचन एण्ड होम्सको सभाहल, लालुपाते मार्ग, स्ट्रिट नम्बर १७, लेकसाइड, पोखरा–६, बैदाममा सम्पन्न भएको थियो।
गुल्मीको धुर्कोट गाउँपालिका–४, कालापोखरामा एक १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। मृतक बालक सोही स्थानका स्थानीय रामबहादुर सुनारका छोरा अनमोल सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन्।
अनुसार, मंगलबार बिहान करिब १० बजे अनमोल आफ्नै घरको बंगालको काठले बनेको दलिनमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए। बालककी आमाले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि तुरुन्तै पासो काटी खाटमा सुताइन्, तर त्यस बेलासम्म उनको मृत्यु भइसकेको थियो।
घटनाबारे जानकारी पाएपछि स्थानीय देवेन्द्र भण्डारीले प्रहरी चौकी जैसिथोक बरबोटलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी सहायक निरीक्षक रामदेव सुनारको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा थप प्रहरी टोली खटिएको छ। हाल घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा गरिएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। हाल अमेरिका भ्रमणमा रहेका एसपी विमल बस्नेतले अनलाइनमार्फत उजुरी दर्ता गरेका हुन्।
प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस सार्वजनिक भएको मितिले सात दिनभित्र उजुरी दिन सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार बस्नेतले उजुरी गरेका हुन्। उनले आफू सिनियर हुँदाहुँदै बारम्बार बढुवाबाट छुट्याइएको गुनासो गरेका छन्।
५ साउनमा बसेको बढुवा सिफारिस समितिले ११ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो। सिफारिसमा तुलबहादुर कार्की, राकेश सिंह, राजीव बहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल परेका थिए।
एसपी विमल बस्नेत २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा इन्स्पेक्टर पदमा भर्ना भई पछि नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए। तर, सिफारिसमा परेका अधिकृतहरू २०५८ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर पदमा भर्ना भएका थिए। आफूभन्दा पाँच वर्ष जुनियरहरू बढुवामा परे पनि आफू छुटाइएकामा बस्नेतले आपत्ति जनाएका छन्।
बस्नेत कर्णाली प्रदेशको ट्राफिक प्रमुख रहेकै बेला आर्थिक अनियमिततामा मुछिएपछि एक वर्षका लागि बढुवा रोक्का गरिएको थियो। रोक्का अवधि सकिएपछि पनि पटक–पटक बढुवाबाट छुट्याइएको भन्दै उनले उजुरी दर्ता गराएका हुन्।
प्रहरी नियमावलीको दफा ४२ अनुसार उजुरी सुन्नका लागि गठित समितिमा लोक सेवा आयोगका अध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनेछन्।
उक्त समितिले बढुवा सिफारिस समितिबाट राय माग गरी सम्बन्धित कागजात पठाउन निर्देशन दिनेछ। सिफारिस समितिले तीन दिनभित्र आवश्यक कागजात र रायसहित उजुरी सुन्ने समितिमा पेश गर्नुपर्ने नियमावलीमा उल्लेख छ।
उजुरी सुन्ने समितिलाई अंक मूल्यांकनमा तल–माथि भएको खण्डमा मात्र अंक मिलाउने अधिकार दिइएको छ। उजुरी परेको मितिले १५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था छ।
उक्त उजुरीको फछ्र्यौट नभएसम्म बढुवा सिफारिसमा परेकाहरूको फुली (दस्तावेज) प्रक्रिया अघि बढ्न सक्दैन।
यदि उजुरी पुष्टि नभए पनि, उजुरी दिने अधिकृतको अंक कटौती हुने व्यवस्था नियमावलीमा छ। पहिलो पटक उजुरी पुष्टि नभए २ अंक, दोहोरिएको खण्डमा ३ अंक कटौती हुने उल्लेख छ।
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका सरकारी गाडी एक आपसमा ठोक्किएका छन्। मंगलबार कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गाडीहरू ठोक्किएका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी चिसापानीमा दुर्घटनामा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही कार्यक्रममा सहभागी हुन चिसापानी पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार मन्त्री सार्की चढेको से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी एक आपसमा ठोक्किएको हो। दुर्घटना दिउँसो करिब १:१५ बजे भएको हो।
डीएसपी सिंहका अनुसार दुर्घटनामा गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।
ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिपट्टि र से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टि क्षतिग्रस्त भएको बताइएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा थाइल्याण्डबाट २०७ किलो गाँजा नेपाल भित्रिएको पाइएको छ। ती सबै गाँजा नेपाल हुँदै भारत तर्फ तस्करी गरिएको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार पछिल्लो समय नेपाललाई ट्रान्जिट बिन्दु बनाएर थाइल्याण्डबाट गाँजाको तस्करी हुने क्रम बढ्दो छ। थाइल्याण्डको गाँजा उच्च गुणस्तरको हुने भएकाले यसको माग उच्च रहेको र त्यसैकारण तस्करी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।
त्यसैगरी, उक्त आर्थिक वर्षमा ब्यूरोले अन्य लागुऔषध समेत ठूलो परिमाणमा बरामद गरेको छ। कोकिन १८ किलो ९१९ ग्राम, हेरोइन २५ किलो २३७ ग्राम, अफिम २८ किलो र एम्फेटामाइन २७२ ग्राम बरामद भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा ब्यूरोले लागुऔषध सम्बन्धी १,१३२ वटा मुद्दा दर्ता गरेको छ भने सोही अवधिमा १,६७५ जना पक्राउ परेका छन्।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।
पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो ।
धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन् । प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।
बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामकुमार खड्काले सोमबार साँझ राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका हुन्।
मन्त्री खड्काले राजीनामा दिँदै मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। यससँगै लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूको संख्या २२ पुगेको छ।
यसअघि, ९ साउनमा चार जना मन्त्रीले राजीनामा दिएका थिए। तीमध्ये युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ थिए। उनीहरूले राजीनामा दिएपछि सोही दिन साँझ मुख्यमन्त्री लामाले तिनीहरूलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए।
मुख्यमन्त्री लामा अहिले आफ्नै दल नेपाली कांग्रेसका २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन्। संसदीय दलभित्रको विवाद समाधानका लागि कांग्रेस केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसी सोमबार मध्यान्हदेखि नै मुख्यमन्त्री लामा र सांसद इन्द्रबहादुर बानियाँसँग छुट्टाछुट्टै छलफलमा संलग्न छन्।
कांग्रेस संसदीय दलले १ बजेका लागि बोलाएको बैठक ४ बजेसम्म पनि बस्न सकेको थिएन।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चनौली सबस्टेशनको अनुगमनमा पुग्दा त्यहाँका प्रमुख राजकुमार श्रेष्ठ अनुपस्थित भएका छन्।
चितवनमा विद्युत आपूर्तिमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्य सोमबार चितवन पुगेका थिए। सोही क्रममा उनले बिहान करिब १० बजे भरतपुर सबस्टेशनको अनुगमन गरेपछि सवा ११ बजे चनौली सबस्टेशनमा पुगेका थिए। तर कार्यालय प्रमुख श्रेष्ठ भने त्यहाँ अनुपस्थित रहेको खुलेको छ।
अनुगमनका क्रममा शाक्यले सबस्टेशनका अन्य इन्जिनियरहरूसँग कुरा गर्दै लोड नाघेपछि मात्रै जानकारी हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “जेठमा काम गर्न भ्याइँदैन भन्ने हो भने वैशाखमै तताएर काम गर्नु पर्थ्यो। ट्रान्सफर्मरको होइन, फिडरकै समस्या हो। अरु काम रोकेर भए पनि फिडर ल्याउन ध्यान दिनु पर्थ्यो।”
सबस्टेशन प्रमुख अनुपस्थित रहेकाले विद्युत आपूर्तिमा देखिएको समस्याबारे प्राधिकरण प्रमुखलाई प्रत्यक्ष जानकारी गराउने अवसर गुमेको थियो। शाक्य चितवनमा करिब ६ घण्टा बसे पनि श्रेष्ठले उनलाई भेटेनन्।
शाक्यले भरतपुरमा लोडसेडिङको झल्को दिने गरी सार्वजनिक गरिएको तालिकाबारे पनि असन्तुष्टि जनाए। उनले तालिका गलत ढंगले दबाब दिएर सार्वजनिक गरिएको दाबी गरे।
प्राधिकरण प्रमुख आउँदा अनुपस्थित रहेका श्रेष्ठसँग सोध्दा उनले आफू कार्यालय बाहिर काममा रहेको प्रतिक्रिया दिए। श्रेष्ठका अनुसार उनले देवनगर सबस्टेशनमा विद्युत जाँच र मर्मतको काम गरिरहेका थिए। साथै, उनले प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झालाई जानकारी गराएको दाबी गरे।
श्रेष्ठले भने, “झा सरले मलाई, ‘म यता सम्हाल्छु, तपाईं उता काम गर्नुस्’ भन्नुभएको थियो। म नभए पनि सरहरू हुनुहुन्छ भनेर गइनँ।” तर डिभिजन प्रमुख झाले भने, श्रेष्ठले भनेझैँ आफूले स्पष्ट रूपमा जिम्मेवारी बाँडफाँट नगरेको बताए।
डिभिजन प्रमुख झाका अनुसार, “उहाँ अहिले देखिएको समस्याका कारण काममा गएको होला भनेर मैले बुझेको हुँ।” साथै उनले प्राधिकरणका कार्यकारी निर्देशकको उपस्थितिमा सबैभन्दा समस्याग्रस्त केन्द्रका प्रमुख अनुपस्थित हुनु सामान्य अवस्थाको घटनाजस्तो नलिन आग्रह गरे। “सामान्य अवस्थामा तपाईंले भनेको कुरा सहि हो, तर अहिलेको जटिल अवस्था फरक तरिकाले बुझ्नुपर्छ,” झाले भने।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले वर्षौँदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई नेपाल–भारत दुवै देशको हितमा अघि बढाउन गृहकार्य भइरहेको बताएका छन्।
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनासम्बन्धी महत्वपूर्ण सम्झौता गर्न मन्त्रालयले तयारी गरिरहेको छ।
प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतबीच सम्झौता भएको २० वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुँदा हालसम्म नेपालले करिब एक खर्ब रुपैयाँ घाटा बेहोर्नु परेको उल्लेख गरे।
उनले पञ्चेश्वर लगायतका परियोजनाहरू दुई पक्षीय हितमा रहेर अघि बढाउन संवाद र सहकार्य आवश्यक रहेको बताए। प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर परियोजनामा बाँकी रहेका जटिलताहरू समाधान गर्ने उद्देश्यले मन्त्रालय गृहकार्यमा जुटिरहेको उनले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ गते हुने तयारी भइरहेको उनले उल्लेख गरे।
मन्त्री खड्काले नेपालमा ऊर्जा क्षेत्रको अपार सम्भावना रहे पनि स्रोतसाधनको अभाव, आर्थिक कठिनाइ र कानुनी जटिलताका कारण पश्चिम सेतीजस्ता महत्वपूर्ण परियोजना लामो समयदेखि अघि नबढेको पनि बताए।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलाहरूमा पानीको सतह बढेपछि गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ।
सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि रिडी–वामीटक्सार सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन्। डहरे खोलाबाट लेदो सहितको बाढी आएपछि सडक अबरुद्ध हुँदा सो क्षेत्र हुँदै रिडीबाट बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्याको सामना गर्नु परेको सूचना अधिकारी सारुले बताए।
यसैबीच, दुई दिनदेखिको लगातार वर्षाका कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको सतह बढ्दो क्रममा रहेको छ। जिल्ला प्रशासन कार्यालयले खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन तथा सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मीमा १८० भन्दा बढी स्थान बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन्।
त्यस्तै, बैतडीको पाटन नगरपालिका–४ स्थित जेउडे मोडमा पहिरो खसेपछि दशरथचन्द राजमार्ग पनि अवरुद्ध भएको छ। सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण उक्त मोडमा पहिरो खसेर सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्ध भएपछि सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन्। मोड सुधारको क्रममा सडक खनेपछि सो स्थानमा बेलाबेलामा पहिरो खस्ने गरेको र यसपटकको पहिरोले विद्युत् पोल समेत जोखिममा परेको उनले बताए।





