सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका सरकारी गाडी एक आपसमा ठोक्किएका छन्। मंगलबार कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गाडीहरू ठोक्किएका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी चिसापानीमा दुर्घटनामा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही कार्यक्रममा सहभागी हुन चिसापानी पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार मन्त्री सार्की चढेको से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी एक आपसमा ठोक्किएको हो। दुर्घटना दिउँसो करिब १:१५ बजे भएको हो।
डीएसपी सिंहका अनुसार दुर्घटनामा गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।
ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिपट्टि र से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टि क्षतिग्रस्त भएको बताइएको छ।











