भोजपुरको कावा खोला आसपासका खेतमा बाढी पस्दा थन्काउने बेलाको बर्खे (साउने) धानबालीमा ठूलो क्षति पुगेको छ।
रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङका अनुसार, सडक विस्तारको क्रममा नाली व्यवस्थित नगरिएकाले सडकमा जमेको पानी खेतमा पसेर धानबाली नष्ट भएको हो।

उनले भने, “नालीलाई व्यवस्थित नगरिएपछि माथिबाट बगेर आएको पानी सिधै खेतमा पसेको हो। बर्सेनि यस्तै बाढीले बालीमा क्षति पुर्याउँदै आएको छ।”
सडकको पानी व्यवस्थापन नहुँदा कम्तीमा तीन जना किसानको बर्खे धानबालीमा क्षति पुगेको तामाङले जानकारी दिए।
पहिलो बालीको रुपमा उठाइने बर्खे धानबालीपछि किसानहरूले दोस्रो बाली विस्तार गर्ने योजना बनाउँछन्। तर खेतीयोग्य जमिन वर्षेनी बाझिँदै गइरहेको अवस्थामा राज्यले किसानहरूलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सहयोग गर्नुपर्ने तामाङको माग छ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार, भोजपुर जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन्। यहाँ करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।











