पोखरा — फोटोग्राफर संघ गण्डकीले आफ्नो स्थापना दिवस तथा १८६औँ विश्व फोटोग्राफी दिवसको अवसरमा ‘मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता’ को घोषणा गरेको छ।

संघले फोटोग्राफरहरूको सम्मान, प्रविधिको ज्ञान अभिवृद्धि, व्यवसायिक उत्साह तथा मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको हो। प्रतियोगिताको औपचारिक शुभारम्भ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल र फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायणबहादुर केसीले संयुक्त रूपमा ब्यानर सार्वजनिक गरेर गरे।
समारोहको उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले भने, “फोटोग्राफर संघ गण्डकीद्वारा आयोजना गरिएको प्रतियोगिता फोटोग्राफरहरूलाई प्रोत्साहित गर्ने अत्यन्त सराहनीय प्रयास हो। पत्रकारिता र फोटोग्राफी एक अर्काका पूरक हुन— यी दुईबीच नङ र मासुको सम्बन्ध छ।”
संघको स्थापना दिवसको दिन, भदौ २० गते सम्पन्न हुने प्रतियोगिता अन्तर्गत विभिन्न ६ विधाहरू सार्वजनिक गरिएको छ। ‘बेस्ट वैवाहिक फोटो अवार्ड’ का विजेतालाई नगद रु. १५,५५५, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधाका विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
उक्त प्रतियोगिता वर्षभरि संस्थाको आधिकारिक फेसबुक पेज र सामाजिक सञ्जालमार्फत निरन्तर सञ्चालन हुनेछ। प्रत्येक महिनाका उत्कृष्ट फोटोहरू गुगल फर्ममार्फत संकलन गरी अन्तिम छनोटमा समावेश गरिनेछ।
संस्थाका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदीले वैवाहिक फोटोग्राफीलाई व्यवसायिक आम्दानीको प्रमुख स्रोतको रूपमा विकास गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनले गण्डकी प्रदेशका प्राकृतिक सौन्दर्यहरू उजागर गर्न र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेचर एन्ड ल्यान्डस्केप’ विधामा पनि प्रतियोगिता समावेश गरिएको बताए।
यो विधाअन्तर्गत गण्डकी प्रदेशभित्र खिचिएका तस्बिरहरू मात्र मान्य हुनेछन्, तर सहभागिता भने देशैभरिका फोटोग्राफरहरूले गर्न पाउनेछन्। यस विधाको बेस्ट फोटोले नगद रु. १०,००१, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट १० तस्बिरलाई विशेष सम्मान प्रदान गरिनेछ।
कार्यक्रममा पर्वत फोटोग्राफर संघका अध्यक्ष तथा पर्वत जिल्ला संयोजक विजय शर्मा जैसी, संस्थाका पूर्व सल्लाहकार तथा पत्रकार इन्द्रप्रसाद पौडेल, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सदस्य रविनाथ दाहाल, प्रेस स्वतन्त्रता सेनानी पदमपाणि रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

संघका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रामचन्द्र पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव प्रेमप्रसाद पराजुलीले गरेका थिए।
संघका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रामचन्द्र पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव प्रेमप्रसाद पराजुलीले गरेका थिए।
Pokhara TV










