सामान्यत: चितुवाले जीवजन्तु सिकार गरेको खबरहरू सुन्न पाइन्छ । तर भारतमा भने यसको ठ्याक्कै विपरीत घटना घटेको छ — जुन एकदमै अपवादपूर्ण छ ।

भारतको उत्तर प्रदेशस्थित अमेठी जिल्लामा एक चितुवा भैंसीको आक्रमणबाट मरेको पुष्टि भएको छ । शनिबार राति अमेठीको मुसाफिरखाना थाना क्षेत्र अन्तर्गत रहेको गाउँमा चितुवा भैंसीको बथानमा पसेर पाडो सिकार गर्न खोज्दा भैंसीको समूहले आक्रमण गरेको थियो ।
भैंसीहरूको आक्रमणमा परी चितुवा गम्भीर घाइते भयो र केही समयपछि मृत्यु भयो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, यो घटना वास्तवमै दुर्लभ र अपत्यारिलो मानिएको छ ।
चितुवा मारिनु अघि सोही दिन दिउँसो उसले पाँच जना मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो । अमेठी जिल्लाका मेजिस्ट्रेट (प्रमुख जिल्ला अधिकारी) सञ्जय चौहानले चितुवाको मृत्यु भैंसीकै आक्रमणबाट भएको पुष्टि गरेका छन् ।
चितुवा मुसाफिरखाना क्षेत्रको भैंदपुर र बिरईपुर गाउँमा पसेर स्थानीय बासिन्दाबीच त्रास फैलाएको थियो । त्यसपछि वन विभाग, प्रहरी र प्रशासनको संयुक्त टोलीले चितुवालाई नियन्त्रणमा लिन अभियान चलाएको थियो ।
चितुवालाई समात्न जाल बिछ्याइयो, पिंजडासमेत तयारी अवस्थामा राखियो, ड्रोन र पावरफुल लाइटहरू प्रयोग गरियो । तर यी प्रयासहरू सफल हुन सकेनन् ।
अन्ततः चितुवा गाउँकै भैंसीको बथानमा पसेपछि, त्यहीँ उसमाथि भैंसीहरूको सामूहिक आक्रमण भयो र त्यसैबाट उसको मृत्यु भयो । यो घटना वन्यजन्तु र मानवबीचको सम्बन्धमा एउटा अनौठो तर वास्तविक घटना बनेको छ ।











