नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चनौली सबस्टेशनको अनुगमनमा पुग्दा त्यहाँका प्रमुख राजकुमार श्रेष्ठ अनुपस्थित भएका छन्।

चितवनमा विद्युत आपूर्तिमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्य सोमबार चितवन पुगेका थिए। सोही क्रममा उनले बिहान करिब १० बजे भरतपुर सबस्टेशनको अनुगमन गरेपछि सवा ११ बजे चनौली सबस्टेशनमा पुगेका थिए। तर कार्यालय प्रमुख श्रेष्ठ भने त्यहाँ अनुपस्थित रहेको खुलेको छ।
अनुगमनका क्रममा शाक्यले सबस्टेशनका अन्य इन्जिनियरहरूसँग कुरा गर्दै लोड नाघेपछि मात्रै जानकारी हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “जेठमा काम गर्न भ्याइँदैन भन्ने हो भने वैशाखमै तताएर काम गर्नु पर्थ्यो। ट्रान्सफर्मरको होइन, फिडरकै समस्या हो। अरु काम रोकेर भए पनि फिडर ल्याउन ध्यान दिनु पर्थ्यो।”
सबस्टेशन प्रमुख अनुपस्थित रहेकाले विद्युत आपूर्तिमा देखिएको समस्याबारे प्राधिकरण प्रमुखलाई प्रत्यक्ष जानकारी गराउने अवसर गुमेको थियो। शाक्य चितवनमा करिब ६ घण्टा बसे पनि श्रेष्ठले उनलाई भेटेनन्।
शाक्यले भरतपुरमा लोडसेडिङको झल्को दिने गरी सार्वजनिक गरिएको तालिकाबारे पनि असन्तुष्टि जनाए। उनले तालिका गलत ढंगले दबाब दिएर सार्वजनिक गरिएको दाबी गरे।
प्राधिकरण प्रमुख आउँदा अनुपस्थित रहेका श्रेष्ठसँग सोध्दा उनले आफू कार्यालय बाहिर काममा रहेको प्रतिक्रिया दिए। श्रेष्ठका अनुसार उनले देवनगर सबस्टेशनमा विद्युत जाँच र मर्मतको काम गरिरहेका थिए। साथै, उनले प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झालाई जानकारी गराएको दाबी गरे।
श्रेष्ठले भने, “झा सरले मलाई, ‘म यता सम्हाल्छु, तपाईं उता काम गर्नुस्’ भन्नुभएको थियो। म नभए पनि सरहरू हुनुहुन्छ भनेर गइनँ।” तर डिभिजन प्रमुख झाले भने, श्रेष्ठले भनेझैँ आफूले स्पष्ट रूपमा जिम्मेवारी बाँडफाँट नगरेको बताए।
डिभिजन प्रमुख झाका अनुसार, “उहाँ अहिले देखिएको समस्याका कारण काममा गएको होला भनेर मैले बुझेको हुँ।” साथै उनले प्राधिकरणका कार्यकारी निर्देशकको उपस्थितिमा सबैभन्दा समस्याग्रस्त केन्द्रका प्रमुख अनुपस्थित हुनु सामान्य अवस्थाको घटनाजस्तो नलिन आग्रह गरे। “सामान्य अवस्थामा तपाईंले भनेको कुरा सहि हो, तर अहिलेको जटिल अवस्था फरक तरिकाले बुझ्नुपर्छ,” झाले भने।











