नेपाल प्रहरीले आज बिहान ९ बजे अपडेट गरेको विवरणअनुसार कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालीगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन्। बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुँदा ती स्थानमा सवारी आवागमन ठप्प भएको हो। त्यसैगरी, पाँच स्थानमा सडक एकतर्फी सञ्चालनमा छन्।

प्रहरीका अनुसार, संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
पाँचथरको फिदिम नगरपालिका–५ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाएपछि मेची राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ। पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर कोरिडोर अबरुद्ध भएको जानकारी दिइएको छ।
नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–३ तरङखोलामा आएको बाढीले कालीगण्डकी कोरिडोर अन्तर्गतको सडक अवरुद्ध पारेको छ।
रोल्पाको थबाङ गाउँपालिका–१ र २ मा पहिरो खस्दा शहीद राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजीगारमा बाढीले गर्दा जाजरकोट–डोल्पा भेरी कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यता, काठमाडौंको टोखा नगरपालिका–२ मा निरन्तर वर्षाका कारण सडकमा क्षति पुगेपछि काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।
बागलुङको गलकोट नगरपालिका–११ काउसेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। त्यसैगरी, बागलुङकै बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले कालीगण्डकी कोरिडोर एकतर्फी बनेको छ।
रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र भुर्तिबाङमा पहिरो खस्दा शहीद राजमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।











