धरहरा अब साउन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ। यससँगै सार्वजनिक विदाको दिन समेत धरहरा चढ्न पाइने व्यवस्था गरिएको छ।

शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार अहिले धरहरा दैनिक बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुल्दै आएको छ। साथै, सरकारले तोकेको सार्वजनिक विदाको दिन बन्द हुने र शनिबारको साप्ताहिक विदाको सट्टा बुधबार धरहरा बन्द हुने व्यवस्था थियो।
मैनालीले भनेः
“अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन हुनेछ। सार्वजनिक विदाको दिन पनि धरहरा घुम्न पाइनेछ।”
२०७२ सालको विनाशकारी भूकम्पले धरहरा ढलेपछि पुनर्निर्माण भई असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो। त्यसपछि गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित प्रवेश खुला गरिएको हो।
यस अवधिमा नागरिकले खुल्ने समय छोटो भएको र विदाको दिन बन्द नगर्न सुझाव दिँदै आएका थिए। उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई मध्यनजर गर्दै धरहरा सञ्चालन अवधि बढाउन निर्देशन दिएका थिए।
सात महिनाको अवधिमा धरहरा अवलोकन गर्न आएका २ लाख ३७ हजार ६५ जनाबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ। धरहरा शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) मार्फत सशुल्क सञ्चालनमा छ।
झापाको व्यापारिक कम्प्लेक्स साउन १ देखि खुल्ने
झापाको दमकमा निर्माण भएको व्यापारिक कम्प्लेक्स पनि साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ।

शहरी विकास मन्त्रालयका अनुसार कम्प्लेक्स बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म परीक्षणका रूपमा सञ्चालन हुनेछ।
करीब १०० मिटर अग्लो यो कम्प्लेक्स १८ तलाको छ। यसको ७२ मिटर उचाइ कंक्रिट संरचना र माथिल्लो २८ मिटर भाग मेटल फ्रेमको टावर रहेको छ। यो अग्लाइमा धरहराभन्दा ठूलो छ।
साउन १ बाट मन्त्रालयका काम पेपरलेस हुने
शहरी विकास मन्त्रालयले साउन १ गतेदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) लागू गर्ने भएको छ।
मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार यो प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि सरकारी कामकाज पेपरलेस हुनेछ।
“अब अन्तर मन्त्रालय फाइल र चिठीपत्र आदान–प्रदान गर्दा सबै डिजिटल हुनेछ,” सचिव सिग्देलले बताए।
हाल यो प्रणाली आंशिक रूपमा सञ्चालनमा छ, साउन १ बाट पूर्ण रूपमा लागू हुनेछ।
अनधिकृत गाडी प्रयोगमा रोक, विद्युतिय हाजिरीमा कडाइ
मन्त्रालयले अनधिकृत रूपमा प्रयोग भइरहेका सवारीसाधन फिर्ता ल्याएको छ।
सरकारी मापदण्डमा नपर्ने व्यक्तिले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधानमन्त्री सिंहको निर्देशनमा ती सवारीसाधन फिर्ता गरिएको हो।
त्यस्तै, साउन १ देखि विद्युतिय हाजिरीमा पनि कडाइ गरिने भएको छ। अहिलेसम्म बहाना बनाएर हाजिरी टार्ने प्रवृत्ति देखिएकाले कडाइ गरिने मन्त्रालयले जनाएको छ।
प्रमुख आयोजनाको अनुगमन मन्त्रालयबाटै
शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित प्रमुख आयोजना अब मन्त्रालयस्थित कन्ट्रोल रूमबाट प्रत्यक्ष अनुगमन गरिनेछ।
कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अनुगमन सुरु भइसकेको छ। साउन १ बाट अरु आयोजनाको कार्यप्रगति पनि मन्त्रालयबाट नियमित रूपमा अनुगमन गरिनेछ।










