२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीवार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो । यस्तै ९ सय १० जना सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् । नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२, तथा रसुवामा २ वटा शव फेला परेको उहाँले जानकारी दिनुभयो । यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् । रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्यांक प्राप्त भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीका कारण ३५ देशका ५ सय १७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १ सय २७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मानवीय क्षतिको कुरा गर्दा अहिलेसम्म २५८ जनाको शव फेला परेको छ । धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोर्खामा २०, नवलपरासी पूर्वमा ६२ वटा, तनहुँमा १२, चितवनमा १०८ वटा र नवलपरासी पश्चिममा १५ वटा शव फेला परेको छ । ९१० जना व्यक्ति सम्पर्कविहीन भनेर हाम्रो तथ्यांकले देखाउँछ । हामीले आधिकारिक निकायहरूबाट प्राप्त तथ्यांकलाई एक्युमुलेट गरेर यहाँ राखेका छौँ। यसमा नेपाल प्रहरी २८ जना, नेपाली सेना ४४ जना, सशस्त्र प्रहरी बलबाट १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालय ४ जना, अन्य व्यक्तिहरू रसुवाको भनेर १६१ जना छ । नुवाकोटको १ जना छ । त्यहाँसँगै अब सम्पर्कविहीन भएका विदेशी नागरिक ५ सय १७ जना हुनुहुन्छ अहिलेसम्म ३५ वटा देशका ५१७ जना फरेनर्सहरू सम्पर्कविहीन हुनुहुन्छ । नेपाल घुम्न आएका विदेशमै रहने नेपाली नागरिक भनेर १२७ जना हुनुहुन्छ । त्यसैगरी हामीले खोज तथा उद्धारमा हाम्रो तीनटा सेक्युरिटी एजेन्सीका ९ हजार २६० जना सुरक्षाकर्मीहरू फिल्डमा खटिनुभएको छ । त्यसमा नेपाल प्रहरीबाट ३ हजार ३१८ जना, नेपाली सेनाबाट ४ हजार २०० जना, सशस्त्र प्रहरी बल नेपालबाट १ हजार ७४२ जना गरेर ९ हजार भन्दा बढी सुरक्षाकर्मीहरू चाहिँ प्राक्टिकल फिल्डमा खटेर उद्धारको कामहरू, खोजीका कामहरू भइराखेको छ । हामीले आज २ बजेसम्म ३५१ जना प्रभावितहरूलाई हेलिबाट उद्धार गरेका छौँ । आज उद्धारका लागि आज मात्रै ६९ वटा हवाई उडानहरू भएका छन् । विदेशी नागरिकको हकमा ४६ जना विदेशी नागरिकहरू रेस्क्यु गरिएको छ ।

उहाँकाअनुसार खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । प्रवक्ता महतकाअनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ । उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक समेत रहेका छन् । प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

रसुवा जिल्लामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठूलो क्षति पु¥याएको छ ।  प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौं स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन भएका छन् । सञ्चार सम्पर्क विच्छेद र भौगोलिक विकटताका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था –इप्पान) ले जनाएको छ । निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ७६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । एन्ड्रिज हाइड्रोका यी कर्मचारीहरूमध्ये आधा नेपाली र आधा विदेशी नागरिक हुन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी पनि सम्पर्कमा छैनन्, जसमा ८ जना कोरियन नागरिक रहेका छन् । यसैगरी, परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना कर्मचारी पनि बेपत्ता भएको सूचना प्राप्त भएको छ । आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना र विद्युतगृह (पावर हाउस) क्षेत्रमा २०० भन्दा बढी व्यक्तिहरू उद्धारको पर्खाइमा रहेका छन् । 

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङमा बुधवारदेखि ६० जना व्यक्ति थुनिएका छन् । सम्पर्कविहीन हुनेहरूमा २५ जना कर्मचारी र ३५ जना कामदार रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात छ । विकासकर्ता कम्पनीले उद्धारका लागि पहल गरे तापनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा कठिनाइ भइरहेको छ ।  १११ मेगावाटको रसुवागढी आयोजनामा कार्यरत ५१ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । तिमुरे क्षेत्रमा ३ जना कामदारले भने अग्लो स्थानमा उक्लिएर ज्यान जोगाउन सफल भएका छन् । हाल त्यस क्षेत्रमा कुनैपनि सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन ।  ५ मेगावाटको मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी बुधवारदेखि नै सम्पर्कविहीन छन् । उनीहरूको अवस्था बुझ्न हेलिकप्टरमार्फत अवलोकन गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ ।  १ सय २० मेगावाटको रसुवा भोटेकोशी आयोजनाका सिभिल कन्ट्रयाक्टर सिनो हाइड्रोका २ जना कामदार बेपत्ता भएका छन् । अन्य ५ जना कर्मचारी (३ चिनियाँ र २ नेपाली) भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरू हाल उद्धारको प्रतिक्षामा छन् र उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ । जिरोङ (केरुङ) काउन्टीस्थित सीमा नाकामा बुधवार बिहान पहिरो गएको हो । आधिकारिक जानकारीअनुसार पहिरो नेपाली भू–भागबाट शुरु भई सीमावर्ती नाका क्षेत्रमा ठोक्किएको थियो । बिहीवार बिहान ८ बजे आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीले घटनाबारे जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताएका छन् । सिजाङको जिरोङ काउन्टी नेपालसँगको व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण नाका मानिन्छ

त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पु¥याएको पृथ्वी राजमार्ग सञ्चालनका लागि हिलो र लेदो पन्छाउने कार्य तिब्र पारिएको छ ।  राजमार्गको बैरेनी खण्डमा थुप्रिएको लेदो हटाउन सुरक्षाकर्मीहरू स्थानीय नागरिकको सहयोगमा परिचालन भएका छन् । यद्यपि, सडकको अवस्था र क्षतिको प्रकृति हेर्दा आजै यातायात सञ्चालनमा आउने सम्भावना न्युन रहेको बताइएको छ । बुधवार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्मको क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्राप्त जानकारीअनुसार हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् । सुरक्षा निकाय र सरोकारवाला निकायहरू बेपत्ताको खोजी, राहत वितरण तथा उद्धार कार्यमा सक्रिय रूपमा खटिएका छन् । बाढीले विभिन्न स्थानमा पुल तथा सडक मार्गहरू बगाउँदा संघीय राजधानी काठमाडौंसँग कतिपय जिल्लाहरूको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । भौतिक संरचनामा पुगेको ठूलो क्षतिका साथै विद्युत आपूर्ति बन्द हुँदा धेरै स्थानमा सञ्चार सम्पर्क समेत अवरुद्ध भएको सरकारले जनाएको छ । सडक सञ्जालमा पुगेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ ।

देशमा आएको अप्रत्यासित प्राकृतिक विपद्को चपेटामा परिरहेकालाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्ने क्रम बढिरहेको छ । यसै बिच पोखराको नागढुंगामा संचालिन नमस्ते जनप्रिय थकाली भान्छाघरले पनि राहत कोषमा दश हजार रुपैया जम्मा गरेको भान्छाघरका जनरल म्यानेजर घनश्याम सापकोटाले जानाकारी दिनुभयो । देशमा यस्तो महाबिपत्ती आएको बेलामा सानो सानो सहयोगले पनि पिडितको घाउमा मलहम लगाउन सहयोग पुग्ने भन्दै सापकोटाले सानो सहयोग भएता पनि आफुहरुले पनि सहभागिता जनाएको बताउनुभयो ।

त्यसैगरी भान्छा घरका प्रबन्धक नाराएण पोख्रेलले बुधबार आएको भिषण बाढि पछि हराईरहेका ब्यक्तीहरुको खोजि तथा उद्धारमा कुनै कसुर बाकी नराख्न आग्रह गर्दे घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नूभयो । साथै पोख्रेलले देशमा आएको बिपत्तीमा सामाजिक उतरदयित्व स्वरुप देश दुखेको बेलामा सहभागि हुन सबैमा आग्रह गर्नूभयो । नागरिकको जीवनरक्षा, तत्काल उद्धार र राहतलाई प्राथमिकतामा राख्नुपर्ने बताउदै अहिले सबै मिलेर उद्धार र राहतमा जुट्नुपर्ने मा जोड दिनुभयो । साथै विपद्को घडीमा पीडित परिवारलाई सकेको सहयोग गर्नु हरेक नागरिक तथा व्यवसायीको दायित्व भएको बताउनुभयो ।

भाद्र ११, २०८३ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी–पहिरो जस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले विपद् व्यवस्थापन र उद्धारका लागि ६ बुँदे सुझाव प्रश्तुत गर्नुभएको हो । शाहीले रसुवा लगायतका क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गर्नुभयो । विशेष गरी त्रिशूलीस्थित हाकु २१६ (जेबी) को सुरुङभित्र ३०० भन्दा बढी व्यक्तिहरू फसिरहेको जानकारी दिँदै उहाँले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । आज बिहानैदेखि सशस्त्र प्रहरीको हेलिकप्टरमार्फत उद्धार कार्य शुरु भएको र सुरुङमा फसेकाहरूलाई जीवितै उद्धार गर्न निर्देशन दिइएको उहाँले बताउनु भयो । राहत वितरणलाई व्यवस्थित बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्नुपर्ने र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई थप व्यापक, प्रचारमुखी र पारदर्शी बनाउनुपर्ने, बाढी प्रभावित क्षेत्रमा टेलिकम र नेटवर्क अवरुद्ध हुँदा हराइरहेका व्यक्तिहरूको अवस्था अज्ञात रहेकाले सञ्चार सुविधा तत्काल सुचारु गर्नुपर्ने, विपद्को समयमा मृतकको शरीरबाट गरगहना लुट्ने जस्ता अमानवीय कार्यमा संलग्नहरूलाई भिडियो प्रमाणका आधारमा तत्काल पहिचान गरी कडा कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

नेता शाहीले नेपालका प्रमुख नदीहरूको स्रोत हिमतालहरू रहेको र ती फुट्ने जोखिम सधैँ रहने हुनाले हिमतालहरूको निरन्तर अनुगमन र वैज्ञानिक अध्ययनका लागि एक स्थायी सरकारी निकाय गठन गर्नुपर्ने, विपद् व्यवस्थापनमा सबै दललाई एकै ठाउँमा ल्याउन संसदीय समिति बनाउनुपर्ने, राहत कार्यमा बाधा पुग्ने गरी नेताहरूले कार्यक्षेत्रमा अनावश्यक भिडभाड नगर्न र प्रचारभन्दा सहयोगमा केन्द्रित हुन अपिल समेत गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रमा खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्न समस्या भइरहेकाले तत्काल काठेपुल, झोलुङ्गे पुल र ट्रस ब्रिजहरू निर्माण गर्नुपर्ने माग गर्नुभयो । 

नेता शाहीले भन्नुभयो, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी भयौँ। बैठकमा विशेषगरी रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार र राहतबारे छलफल भयो । हामी अहिले सरकारको साथमा छौँ। विपद्को यो समयमा कुनै दल, व्यक्ति वा समूहभन्दा माथि उठेर राष्ट्र र नेपाली नागरिकको पक्षमा एकतावद्ध हुनुपर्नेमा जोड दिएका छौँ । प्रधानमन्त्री राहत कोषमार्फत ‘वान डोर सिस्टम’ लागू गरी राहतलाई व्यवस्थित र पारदर्शी बनाउने, उद्धार तथा राहतसँगै सञ्चार सेवा तत्काल सञ्चालन गर्ने, विपद्का बेला लुटपाट तथा अमानवीय गतिविधिमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्ने, हिमताल फुट्ने जोखिमलाई मध्यनजर गर्दै अध्ययन, अनुसन्धान र अनुगमनका लागि छुट्टै निकाय गठन गर्नुपर्छ । विपद् व्यवस्थापनका लागि संसदीय समिति गठन हुनुपर्छ । प्रभावित क्षेत्रमा अनावश्यक राजनीतिक भीडभाड नगरी उद्धारमा सहयोग गर्ने तथा काठेपुल, झोलुङ्गे पुल र ट्रस ब्रिजलगायत आवश्यक भौतिक संरचना तत्काल निर्माण गर्ने विषय उठाएका छौँ । विशेषगरी सुरुङभित्र फसेका नागरिकको उद्धारमा कुनै ढिलाइ नगरी सबै संयन्त्र परिचालन गर्न गृहमन्त्रीसमक्ष आग्रह गरेका छौँ । अहिलेको प्राथमिकता जीवन रक्षा, उद्धार र राहत हो ।नेता शाहीले यतिबेला कुनै दल वा समूह नभई सिङ्गो देश एकजुट हुनुपर्ने उल्लेख गर्दै सरकारको सकारात्मक कदममा आफूहरूको पूर्ण समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

भाद्र ११, २०८३ बिहीबार

श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिमा सबै राजनीतिक दलहरू एक ढिक्का भएर राहत र उद्धार कार्यमा जुट्नुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले पीडितको घाउमा मलम लगाउन मानवीय हिसावले सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो । सांसद राईले विगत ६ महिनाको अवधिमा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सदनमा पनि सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाइएको जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टीले हिजोदेखि नै फिल्डमा युवा स्वयंसेवकहरू परिचालन गरी उद्धार कार्य शुरु गरिसकेको बताउनु भयो । 
राहत संकलनका लागि पार्टीले सार्वजनिक गरेको क्यूआर कोडका विषयमा स्पष्ट पार्दै उहाँले भन्नुभयो,‘हामीले संकलन गरेको रकम पारदर्शी ढङ्गले सरकारको निगरानीमा नै खर्च गर्नेछौँ । जसलाई विश्वास लाग्छ, उहाँहरूले सहयोग गर्न सक्नुहुन्छ । शङ्का लाग्ने महानुभावहरूले सिधै सरकारको खातामा सहयोग जम्मा गर्दा पनि हुन्छ । हाम्रो प्राथमिकता क्यास बाँड्ने भन्दा पनि आवश्यक सामग्रीहरू जुटाएर पीडितसम्म पु¥याउने र श्रममार्फत सहयोग गर्ने हो ।’
सांसद राईले विपत्तिको समयमा भएका केही अमानवीय घटनाहरूप्रति कडा आक्रोश व्यक्त गर्नुभयो । विपद्मा परेका मृतक तथा घाइतेका शरीरबाट सुनका गहना लुट्ने जस्ता कार्य भइरहेकोतर्फ संकेत गर्दै उहाँले त्यस्ता कार्यमा संलग्नहरूलाई तत्काल कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरेको समेत जानकारी दिनुभयो । सांसद राईले विगतका विपद्हरूमा जस्तै केही समयपछि पुनर्निर्माणका काम सुस्ताउने प्रवृत्ति दोहोरिन नहुने बताउनु भयो । उहाँले भोटेकोशी र सुनकोशी क्षेत्रका पुलहरू अझै निर्माण नभएको उदाहरण दिँदै अहिलेको क्षतिलाई वैज्ञानिक ढङ्गबाट चाँडोभन्दा चाँडो पुनर्निर्माण गर्नुपर्ने र यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भाद्र ११, २०८३

नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनितिक दल सरकारसँगै रहेको बताउनुभएको छ । 

बिहीवार बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विपत्तिको समयमा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताउनुभएको हो । उहाँले विपतको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई समेत परिचालन गर्नुपर्ने बताउनु भयो । हाल बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पु¥याउन सबै पक्ष जुट्नुपर्ने उहाँको भनाई छ ।

बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले राजनितिक दलका कार्यकर्तालाई परिचालन गर्न तयार रहेको बताउनु भयो । उहाँले सबै राजनितिक दलहरुलाई सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले सरकारले गरेको आग्रहअनुसार नेपाली काँग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने जानकारी दिनुभयो । विपत्तिमा सरकारसँग उपलब्ध स्रोत साधनबाट मात्रै उद्धार तथा राहतमा सम्भव नहुने उहाँको भनाई छ । उहाँले सबै सहयोगीहरुलाई राज्यले तोकेअनुसार एकद्वार प्रणालीमार्फत आवश्यक सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो तर्फबाट आज भनेका छौँ, यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिर गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेका नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरूभन्दा बाहेकका सबै पनि राज्यकै हो । हामी सबै पनि राज्यकै हो । त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ, त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौँ । हाम्रो यही प्रस्तावमा माननीय गृहमन्त्रीज्यूले अहिले तत्कालै विपत् ग्रस्त भएको क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खासगरीकन सडक सफा गर्नका निम्ति र अरू केही खोज र उद्धारका निम्ति त्यहाँ हाम्रो संख्याले पुगेको छैन, संख्याहरू परिचालित गरिदिनुप¥यो भनेर भन्नुभएको छ । हामी यहाँ भएको छलफलको आधारमा अहिले जे आवश्यकता छ, त्यही आवश्यकता अनुसार हामी आफ्नो आफ्नो पार्टीभित्र जुन विपत्का हाम्रा आफ्ना संरचनाहरू बनाएका छौँ, ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूसँग समन्वय गरिकन हामी आफ्ना कुराहरू परिचालित गरिहाल्छौँ । हामीले यही नै भनेका छौँ कि यतिखेर स्टेट भन्दै गर्दाखेरि स्टेटले ‘नन–स्टेट’ भनेर भनिएको त्यो सबैलाई आफ्नो ठान्नुपर्छ ।

हामी सबै यो बेलामा राज्यका हौँ । चाहे निजी क्षेत्र होला, चाहे राजनीतिक दल होला, चाहे सामाजिक संघ–संस्थाहरू होला, यो सबै मेरो शक्ति हो, यो सबैलाई मैले परिचालित गर्नुपर्छ । किनकि सरकारसँग भएको स्रोत र साधनबाट मात्रै यत्रो ठूलो प्राकृतिक विपत्तिपछिको अवस्थामा काम गर्ने कुरा सम्भव नै हुँदैन । हामी भए पनि सम्भव हुँदैन, जो भएपनि सम्भव हुँदैन। यसरी गर्नुपर्छ भनेर भनेका छौँ र मलाई विश्वास छ यसलाई सरकारले पनि त्यो अनुरूपले लिन्छ ।’
उहाँले काँग्रेसले पनि बाढी प्रभावित क्षेत्रमा उद्दार, राहत तथा पुनस्थापनको लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिनुभयो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइलागेको प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  बिहीवार सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुनर्निर्माणका योजनाबारे जानकारी दिनुभएको हो । अर्थमन्त्री वाग्लेले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तिब्र पारिएको बताउनु भयो । उहाँकाअनुसार, भौगोलिक र मौसमी प्रतिकूलताका बाबजुद हाल २२ वटा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी राखिएको छ । विपदपछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘घटनाको लगत्तै विश्व बैंकसँगको समन्वयमा करिव २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित गरिएको छ । यसका साथै चीन, भारत, जापान, एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । चालु आर्थिक वर्षको बजेटमा विपद व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात छ । त्यसैले तत्काल राहत र उद्धारमा साधन–स्रोतको कमी हुने छैन । यो संकट समाधानका लागि होल अफ द सोसाइटीको अवधारणाअनुरूप सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत रूपमा लाग्नुपर्ने आवश्यकता छ ।’

प्रारम्भिक तथ्यांकअनुसार विपद्बाट २५ वटा पक्की पुल र निजी क्षेत्रका ७०० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ । अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । अर्थमन्त्रीले राष्ट्रिय संकटको घडीमा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिने नेपाली राजनीतिको मौलिक चरित्रको प्रशंसा गर्नुभयो । नवलपुर र चितवन लगायतका क्षेत्रमा भेटिएका शवहरूको व्यवस्थापन र बेपत्ताहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत उहाँले जानकारी दिनुभयो 

भाद्र ११, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक शुरु भएको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीवार बिहानदेखि बैठक जारी रहेको हो ।

बैठकमा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतका शिर्ष नेताहरूको उपस्थिति रहेको छ ।

बुधवार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सोही सन्दर्भमा छलफल गर्न यो बैठक डाकिएको हो । बाढीमा परी हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् । बेपत्ताहरूको खोजी कार्य जारी रहेकै अवस्थामा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन र उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नेताहरू छलफलमा जुटेका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।