
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढ्दै गएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सुनसरीमा भएको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभयो । सांसद ओलीले सुनसरीको घटनालाई सत्तारुढ दलहरूले दुःखद् र संवेदनशील भने पनि घटनाको प्रकृति र पृष्ठभूमिका बारेमा मौन बसेको आरोप लगाउनु भयो । बोलबम धार्मिक यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरूमाथि गोली प्रहार भएको, ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ घाइते भएको तथ्यलाई सरकारले स्पष्ट रूपमा स्वीकार गर्न डराएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जालमार्फत गोली चलेको विषयमा दिएको अभिव्यक्ति अपरिपक्व भएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले मोरङ जिल्ला प्रशासन कार्यालयले धार्मिक अनुष्ठानका क्रममा ध्वनि नियन्त्रणका लागि जारी गरेको सूचनाप्रति पनि आपत्ति जनाउनु भयो । एउटा निश्चित धर्म र पुराणलाई मात्र लक्षित गरेर ल्याइएको यस्ता सूचनाले समाजमा इगो (अहंकार) पैदा गर्ने र यसले प्रशासनिक अपरिपक्वता झल्काउने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो । गोली कसले र कसको आदेशमा चलायो ? जिल्ला प्रशासन, प्रहरी र प्रधानमन्त्रीको अभिव्यक्तिमा किन विरोधाभास छ ? यो गम्भीर विषय हो । संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्र रहँदा नेपाल आजको तुलनामा बढी सहिष्णु र सन्तुलित थियो । यो तथ्यलाई भावनाले मात्र होइन, गम्भीर बहस र प्रमाणका आधारमा समीक्षा गरिनुपर्छ ।’ सांसद ओलीले नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेयता धार्मिक द्वन्द्व र असहिष्णुता बढेको दाबी गर्नुभयो । वाह्य स्रोतको लगानीमा भइरहेको धर्मान्तरण र रोहिंग्या तथा पाकिस्तानी शरणार्थीहरूको अनियन्त्रित प्रवेशले मुलुकको राष्ट्रिय सुरक्षामा चुनौती थपेको उल्लेख गर्नुभयो । सुरक्षा निकायका उच्च अधिकारीहरूले समेत यस विषयमा चिन्ता व्यक्त गरिसकेकाले सरकारले यस्ता संवेदनशील मुद्दामा ध्यान दिनुपर्ने उहाँको माग छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले बिमस्टेक गुरुयोजना (मास्टर प्लान) अन्तर्गतका ६० प्रतिशत आयोजनाहरू कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) द्वारा आयोजित ‘बिमस्टेक एट ३०ः क्षेत्रीय सहयोग, एकीकरण र साझा समृद्धिका लागि जनस्तरको सम्बन्ध अभिवृद्धि’ विषयक उच्चस्तरीय नीति संवादमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा महासचिव पाण्डेले बिमस्टेक सदस्य राष्ट्रहरूबीचको भौतिक तथा डिजिटल कनेक्टिभिटी, संस्कृति, ऊर्जा र विपद् व्यवस्थापनमा प्रगति भैरहेको बताउनु भयो । समुन्द्री यातायात सहयोग सम्झौता सम्पन्न भएको र छिट्टै ‘बिमस्टेक मोटर भेहिकल एग्रिमेन्ट’ लाई अन्तिम रूप दिइने उहाँले बताउनु भयो । भारतले दिगो समुन्द्री यातायात केन्द्र स्थापना गर्ने प्रश्ताव गरेको समेत उहाँले उल्लेख गर्नुभयो । नेपालले संस्कृति, पर्यटन र गरिबी निवारण जस्ता महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहेको चर्चा गर्दै महासचिव पाण्डेले जनस्तरको सम्बन्ध विस्तारमा नेपालको भूमिका प्रशंसनीय रहेको बताउनु भयो । नेपालले पर्यटन र संस्कृतिको क्षेत्रमा ‘सेन्टर अफ एक्सीलेन्स’ स्थापना गर्ने प्रश्ताव अघि सारेको छ, जसलाई क्षेत्रीय सहयोगको क्षेत्रमा महत्त्वपूर्ण योगदानका रूपमा हेरिएको छ । यस्तै, गरिबी निवारण र जनस्तरको सम्पर्क मञ्च (पिपुल टु पिपुल कन्ट्याक्ट फोरम) मा पनि नेपालले सक्रियतापूर्वक काम गरिरहेको छ महासचिव पाण्डेले बताउनु भयो ।
क्षेत्रीय सुरक्षा र विपद् व्यवस्थापनका लागि ‘बिमस्टेक सेन्टर अफ एक्सीलेन्स इन डिजास्टर म्यानेजमेण्ट’ स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । यसका लागि छ सदस्य राष्ट्रले समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् र बाँकी एक देशको स्वीकृतिपछि यो पूर्ण रूपमा सञ्चालनमा आउनेछ । वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा भुटानले नेतृत्व गरिरहेको जानकारी दिँदै महासचिव पाण्डेले पर्वतीय अर्थतन्त्रको महत्वबारे जोड दिनुभयो । उहाँले ‘बिमस्टेक मौसम र जलवायु केन्द्र’ क्षेत्रीय सहकार्यको एक सफल र जीवित उदाहरण भएको बताउनु भयो । यस केन्द्रले सदस्य राष्ट्रहरूका मौसम विज्ञान विभागहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको मागको आधारमा अनुकूलित मौसम पूर्वानुमान गर्दछ र पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धिमा काम गरिरहेको छ ।’ उहाँले भन्नुभयो, ‘यो केन्द्र अहिले पूर्ण रूपमा कार्यात्मक छ र क्षेत्रीय सहकार्यमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ । नेपालका लागि ऊर्जा क्षेत्र अत्यन्त महत्त्वपूर्ण रहेको औँल्याउँदै महासचिव पाण्डेले ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ सम्झौता केवल एउटा योजना मात्र नभई सदस्य राष्ट्रहरूको ठोस प्रतिवद्धता भएको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार केही सदस्य राष्ट्रहरूबीच ग्रिड जोडिसकिएको छ भने अब नीतिगत पक्षहरूमा सहमति जुटाएर यस प्रस्तावलाई पूर्ण रूपमा वास्तविकतामा परिणत गरिनेछ ।
ग्रिड अन्तरसम्बन्धभन्दा अगाडि बढेर अब नवीकरणीय ऊर्जातर्फ ध्यान केन्द्रित गरिएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसँग मिलेर सौर्य ऊर्जा प्रवद्र्धन गर्ने योजना रहेको उल्लेख गर्नुभयो । बिमस्टेक ऊर्जा केन्द्रले सञ्चालन गर्ने क्षमता अभिवृद्धि तालिमको उपयोगिताबारे बोल्दै उहाँले भन्नुभयो, ‘यो केन्द्रले आयोजना गर्ने तालिम कार्यक्रमहरूमा सहभागी हुन कतिपय देशहरूले ३० देखि ४० जनासम्म मनोनयन गर्ने गरेका छन्, यसैबाट यस केन्द्रले खेलेको महत्त्वपूर्ण भूमिका स्पष्ट हुन्छ । यस्तै, श्रीलङ्कामा स्थापना हुन लागेको ‘बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फ्यासिलिटी’ को सञ्चालन ढाँचा तय गर्न आगामी सेप्टेम्बरमा महत्त्वपूर्ण समझदारी हुने उहाँले उल्लेख गर्नुभयो । बिमस्टेकका हरेक कार्ययोजनामा महिलाको प्रतिनिधित्व र नेतृत्वलाई मूलप्रवाहीकरण गर्न विज्ञ समूह गठन गर्ने प्रश्ताव सचिवालयले अघि सारेको छ । स्वास्थ्य क्षेत्रमा श्रीलङ्काको नेतृत्वमा महामारी पूर्वतयारी र प्रतिकार्यका योजनाहरू कार्यान्वयन भइरहेका छन् । थाइल्याण्डले यसअघि नै ‘बिमस्टेक सेन्टर अफ एक्सीलेन्स अन ट्रपिकल मेडिसिन’ सञ्चालनमा ल्याइसकेको छ । महासचिव पाण्डेले एशियाली विकास बैंकको सहयोगमा तयार पारिएको यातायात कनेक्टिभिटी गुरुयोजनालाई कोलम्बो शिखर सम्मेलनले अनुमोदन गरेयता सदस्य राष्ट्रहरू बाँकी आयोजनाहरू सम्पन्न गर्न प्रतिवद्ध रहेको बताउनु भयो । बिमस्टेकको ३० औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने र यसले क्षेत्रीय एकतालाई थप बल पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा शक्तिशाली भूकम्पपछि एक सपिङ मलमा भएको विस्फोटमा परी दुई महिलाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार उक्त घटनामा अन्य एक व्यक्ति गम्भीर अवस्थामा रहेका छन् । कुमामोतो प्रान्तीय सरकारलाई उद्धृत गर्दै सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार काशिमा शहरस्थित इयोन मल कुमामोतोबाट बुधवार बिहान स्थानीय समयअनुसार ४ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलालाई मृत घोषित गरिएको छ भने अर्का एक व्यक्तिको हृदयघातका कारण अवस्था चिन्ताजनक रहेको छ । अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ । भूकम्पका कारण ग्यास चुहावट भई विस्फोट भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । यद्यपि, विस्फोटको यकिन कारणबारे अनुसन्धान भइरहेको छ। जापान मौसम विज्ञान एजेन्सीकाअनुसार मंगलबार स्थानीय समयअनुसार दिउँसो ४ः२७ बजे कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो । कुमामोतो प्रान्तीय प्रहरीका अनुसार भूकम्प लगत्तै मलमा रहेका करिव २०० ग्राहक र कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निस्किएका थिए । विस्फोटको घटना मानिसहरू बाहिर निस्किएपछि भएको थियो । प्रहरीले केही कर्मचारीहरू अझै पनि भवनभित्र फसिरहेको हुनसक्ने बताएको छ, तर उनीहरूको यकिन संख्या भने अझै खुल्न सकेको छैन । अहिले सो क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।





