२०८३ बैशाख १५ मंगलवार
२०८३ बैशाख १५ मंगलवार

काठमाडौ उपत्यकाको नदी किनारा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ ।  सरकारले सुकुम्बासी हटाउने क्रमलाई सोमवार पनि जारी राखेको हो । सोमवार गरिगाउँ र मनोहरा नदी किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ । सरकारले शनिवारबाट सुकुम्वासी बस्ती हटाउन शुरु गरेको थियो । काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा किनार क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएर त्यहाँ बसोबास गर्दै आएका परिवारलाई दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखि विवरण टिप्ने तथा स्क्रिनिङको कार्य पनि सँगै भइरहेको छ । स्क्रिनिङपछि वास्तविक सुकुम्बासीको पहिचान गरि उनीहरूलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायहरूले व्यवस्था गरेका विभिन्न स्थानका भवनहरूमा खाने–बस्ने सुविधासहित अस्थायी रूपमा स्थानान्तरण गरिने जनाइएको छ । सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने अभियानअन्तर्गत शनिवार र आईतवार थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाएको थियो भने हटाउन बाँकी रहेको क्षेत्रहरुमा सोमबार पनि हटाउने कार्य जारी राखेको छ ।

१४ वैशाख, सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएका छन् ।

स्थानीयसँगको विवाद, भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग लगायतका विषयमा छानबिनका लागि उनलाई बाहिनी तानिएको सशस्त्र प्रहरी प्रवक्ता एवम् डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

 

हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयसँग विवाद भएको थियो । सोही विवादका क्रममा डिएसपी हमाल आक्रोशित शैलीमा प्रस्तुत भएका थिए ।

सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सो भिडियोमा डिएसपी हमाल आक्रोशित हुँदै ‘तिमीहरु तस्कर हौ’ भनेको सुनिन्छ ।

 

सशस्त्र प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै प्रतिवाद उत्रिएका स्थानीयले ‘भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गर्ने तपाईं तस्कर होइन, अनि हामी कसरी तस्कर ?’ भन्दै प्रश्न गरेको देखिन्छ ।

भिडियोमा डिएसपी हमाल हेलमेट लगाएर बीआर ०६ डीवाई ३०४१ नम्बरको मोटरसाइकलमा आएको पनि देखिन्छ ।

विवादपछि स्थानीयहरूले सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए । स्थलगत निरीक्षणपछि सांसद यादवले सम्पूर्ण स्थानीयलाई तस्करको संज्ञा दिनु गैरकानुनी र अनुचित भएको बताएका छन् ।

उनले प्रहरीको पोशाकमा भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरी नागरिकलाई त्रसित पार्ने काम स्वीकार्य नभएको भन्दै घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउनुपर्ने बताए ।

स्थानीयवासीहरूले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।

यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले स्थानीय र प्रहरीबीचको विवादका कारण डिएसपी हमाललाई सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरी हेडक्वाटर तानिएको जानकारी दिएका छन् ।

डिएसपी हमाल सशस्त्र प्रहरी बल माडर अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत थिए ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले, सुकुमबासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् ।

थापाथलीस्थित बागमती किनारमा निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले र यसपछि खाली गराइने ठाउँहरूको सुरक्षा र संरक्षण गर्न भनेकी हुन् ।

 

ती क्षेत्रमा तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम सुरू हुने महानगरले जनाएको छ ।
 

डंगोलले सुकुमबासीका लागि बनाइएको नागार्जुनको इचङ्गुस्थित कोलोनीको आइतबार निरीक्षणसमेत गरेकी थिइन् ।

 

सरकारले प्रस्ताव गरेको ‘संघीय निजामती सेवा ऐन’ को मस्यौदामा निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गर्न खोजिएको भन्दै ६ वटा कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् । संयुक्त प्रेस विज्ञप्तिमार्फत उनीहरूले उक्त प्रस्ताव तत्काल फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विधेयकको मस्यौदामा कर्मचारीहरूले पाउँदै आएको संगठित हुने र सामूहिक सौदाबाजी गर्न पाउने अधिकार कटौतीको प्रावधान राखिएकोमा उनीहरूको विरोध छ ।

ट्रेड युनियन खारेजीको सरकारी कदम नेपालको संविधान २०७२ को धारा १७ (संघ संस्था खोल्ने स्वतन्त्रता) र धारा ३४ (उचित श्रम अभ्यास र ट्रेड युनियनको अधिकार) को विरुद्धमा रहेको दाबी गरिएको छ । नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिहरूले सार्वजनिक सेवामा पनि ट्रेड युनियन अधिकारलाई मौलिक हकको रूपमा स्वीकार गरेको स्मरण गराइएको छ ।

 

कर्मचारी संगठनहरूले विधेयकबाट ट्रेड युनियन अधिकार कटौतीको प्रावधान खारेज गर्नुपर्ने, सबै कर्मचारीलाई संगठित हुन पाउने र पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्नुपर्ने, सरोकारवाला ट्रेड युनियनसँगको पर्याप्त परामर्श र सहमतिबिना कुनै पनि कानुनी व्यवस्था अघि नबढाउन माग गरेका छन् ।

 

आफ्ना मागहरूलाई बेवास्ता गरी विधेयक अगाडि बढाइएमा संयुक्त ट्रेड युनियन सञ्जालमार्फत देशभर चरणबद्ध आन्दोलन सुरू गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

संयुक्त विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहाल, कर्मचारी युनियनका अध्यक्ष उत्तमकुमार कटुवाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्वादत्त भट्ट, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष यामबहादुर खत्री, नेपाल मधेशी निजामती कर्मचारी मञ्चका का.वा. अध्यक्ष विजयकुमार यादव र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालकी अध्यक्ष सीता गुरुङले हस्ताक्षर गरेका छन् ।

 

News Summary

  • कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ सुरु हुँदैछ।
  • ४ लाख १८ हजार ८ परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा दिनेछन्।
  • राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

१४ वैशाख, कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो । परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।