नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आफू व्यक्तिकेन्द्रित नभई संस्थाको गरिमा उच्च बनाउन केन्द्रित हुने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरूसँगको भेटमा उहाँले आफू संसदजस्तो गरिमामय संस्थाको नेतृत्व गरिरहेकाले यसको सम्मान र मूल्य–मान्यता जोगाउनु आफ्नो मुख्य जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो तर्फबाट कुनै गल्ती भएमा तुरुन्तै स्वीकार गर्न र माफी माग्न तयार रहेको बताउँदै आफ्ना कमजोरीहरू बेलैमा औंल्याइदिन पत्रकारहरूलाई अनुरोध गर्नुभयो ।
सभामुख अर्यालले भन्नुभयो, ‘विगतका सभामुखहरूबाट भएका राम्रा कामहरू म कपी गर्नेछु र ती नजिरहरूलाई अझ सुदृढ बनाउनेछु । तर, यदि कतै त्रुटि वा कमीकमजोरी भएको छ भने त्यसलाई नदोहो¥याउन म सचेत छु । मलाई कसैले प्रहार गर्दा क्षणिक फाइदा होला तर संस्थालाई प्रहार गर्दा समाजलाई ठूलो घाटा हुन्छ । त्यसैले संस्थालाई सुदृढ बनाउने गरी यहाँहरूको आलोचनात्मक साथको अपेक्षा गरेको छु ।’
नेपाली जनताले संसदबाट गरेको अपेक्षाभन्दा अझ बढी परिणाम दिन आफू क्रियाशील रहने उहाँको भनाइ छ । सभामुख अर्यालले संसद र संसदीय समितिका गतिविधिलाई व्यवस्थित बनाउन सञ्चारकर्मीहरूको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । संसदको सूचना प्रवाह र प्रश्नोत्तरको शैलीलाई अझ सुसंस्कृत बनाउनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय पत्रकारितामा देखिएको भीड र प्रश्न सोध्ने प्रक्रियाप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ एउटा प्रश्नको उत्तर आउन नपाउँदै अर्को प्रश्न गरिँदा वातावरण इरिटेटिङ बन्न सक्छ । कम्तिमा एकजनाले सोधेको प्रश्नको उत्तर आउन्जेल धैर्य गर्ने संस्कार बसाल्न सके अझ राम्रो हुने थियो ।’
सभामुख अर्यालले नयाँ र पुराना पत्रकारहरूबीचको व्यवस्थापन पत्रकार समाज आफैँले गरिदिए आफूहरूलाई सहजीकरण हुने बताउनु भयो । संसद भवनको साँगुरो संरचना र प्रवेशमा रहेका कठिनाइहरूबारे अवगत रहेको बताउँदै उहाँले नयाँ संसद भवनमा सरेपछि यी समस्याहरू हल हुने विश्वास दिलाउनु भयो । उहाँले पत्रकारको पहुँचलाई लिएर आफू सधैँ उदार रहने र सूचना लुकाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
सभामुख अर्यालले कानून निर्माण प्रक्रियालाई तिब्र गतिमा अघि बढाउने आफ्नो योजना रहेको बताउनु भयो । विकास, समृद्धि र नागरिकको खुसीका लागि कानुन निर्माणमा हुने ढिलाइले समाजलाई अपूरणीय क्षति पुग्ने उहाँको ठहर छ ।
‘हामीसँग पाँच वर्ष छ नि भनेर बिस्तारै काम गर्नु भनेको नागरिकले पाउने सेवा ढिलो बनाउनु हो । जति छिटो कानुन बनाउँछौँ, नागरिकले त्यति नै छिटो त्यसको लाभ प्राप्त गर्छन् । त्यसैले म विधि, प्रक्रिया र संविधानलाई अक्षरशः पालना गर्दै जतिसक्दो फास्ट काम गर्ने तयारीमा छु ।’ उहाँले भन्नुभयो ।
उहाँले बजेट अधिवेशनलाई अझ प्रभावकारी बनाउन स्टेकहोल्डरहरूसँग छलफल गरिरहेको जानकारी पनि दिनुभयो ।
सभामुखले भन्नुभयो, ‘मेरो हुटहुटी भनेको यो पुस्ताले नै परिणाम देख्न पाओस् भन्ने हो । अब परम्परागत शैलीको राजनीति होइन, परिणाममुखी काम गरेर जनताको अनुहारमा खुशी ल्याउनुपर्छ ।’
सभामुख अर्यालले नेपाली समाजमा नेताको पुरानो छवि बदल्न आवश्यक रहेको धारणा राख्नुभयो । राजनीतिज्ञ भनेपछि एउटा विशेष लुगा लगाउने र विशेष शारीरिक बनावट हुनुपर्ने परम्परागत चिनारीलाई परिवर्तन गर्नुपर्ने उहाँको तर्क छ ।
‘हामीले चप्पल लगाउने हरेक नागरिकलाई जुत्ता लगाउने बनाउनु छ, साइकल चढ्नेलाई मोटरसाइकल र गाडी चढ्ने बनाउनु छ । देश र जनता दुवै धनी हुनुपर्छ । गिटी कुट्नेले पनि गर्वका साथ मेरो सरकार छ भन्न सकोस् र अर्बपतिले पनि राज्यको सेवा सहजै पाउन सकोस् ।’
सभामुख अर्यालले आफू आम नागरिकजस्तै‘फ्यामिलियर’ हुन चाहेको बताउँदै आवश्यकभन्दा बढी ‘सभामुख’ भनेर आफूलाई समाजभन्दा टाढाको पात्र नबनाउन आग्रह गर्नुभयो । अस्पतालमा पहुँचको आधारमा नभइ नागरिकको अधिकारको आधारमा बेड पाइने र विद्यालयमा पहुँचको आधारमा भर्ना हुने प्रथा अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभामुख अर्यालले संसदको नयाँ नियमावली मस्यौदामा पत्रकारहरूको सल्लाह र सुझावलाई महत्व दिइने बताउनु भयो । संसदीय समितिहरूमा पत्रकारहरूको पहुँच र रिपोर्टिङ सहज बनाउने विषयमा उहाँले गम्भीर रहेको उल्लेख गर्नुभयो ।
‘हामी लोकतन्त्रमा छौँ, जहाँ वाक स्वतन्त्रता र सूचनाको हक प्रमुख हुन्छ । म त सबै कार्यक्रम लाइभ गराउनुपर्छ भन्ने मान्यताको मान्छे हुँ, त्यसैले सूचना लुकाउने वा लुकाउनुपर्छ भन्ने मेरो उद्देश्य छैन ।’
नियमावली मस्यौदा समितिमा पत्रकारहरूको जिज्ञासा र पहुँचबारे उहाँले उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो । विगतका कयौँ नजिरहरू प्रविधि र नयाँ पुस्ताको अपेक्षाअनुसार सुधार्दै लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले संसद सचिवालयका सानातिना समस्यादेखि ठूला नीतिगत विषयसम्म पत्रकारहरूसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले ढकालको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले संसदीय समितिहरू दलगत सीमाभन्दा माथि उठेर काम गर्ने थलो भएको भएको भन्दै सोहीअनुसार जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समिति सदस्यहरूको सिर्जनात्मक सुझाव र खबरदारीलाई आत्मसात गर्दै आफ्नो विगतको अनुभवका आधारमा जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । विगतमा सरकारको बारम्बार परिवर्तन र राजनीतिक अस्थिरताका कारण समितिहरू प्रभावकारी हुन नसकेको बताउनु भयो । अहिले स्थिर सरकार बनेकाले सरकारलाई सहयोग गर्ने गरी समितिको भूमिका अझ सशक्त हुने उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘संसदीय समितिमा दलहरुभन्दा बाहिर निस्किएर बहसहरु हुने गर्दछ । त्यसकारण माननीयज्यूहरुको सिर्जनात्मक सुझाव र खबरदारीलाई ग्रहण गर्दै मेरो विगतको अनुभवको आधारमा यो समितिको सभापतिको जिम्मेवारी कुशलतापूर्वक निभाउने छु । विगतमा संसदीय समितिहरुले प्रभावकारी रुपमा काम गर्न नसक्नुको मुख्य कारण ९–९ महिनामा सरकार परिवर्तन हुनु र राजनीतिक अस्थिरताको कारण थियो होला नि त । अहिले स्थिर सरकार बनेको छ । त्यसकारण सरकारलाई सघाउनको लागि समितिको भूमिका महत्वपूर्ण हुन्छ । यसअघि जस्तो समिति छायाँमा बस्दैन ।’
मुलुकमा सुशासन कायम गर्नको लागि राज्यका सम्पूर्ण निकायहरुको प्रभावकारी अनुगमन गरिने पनि उहाँको भनाइ छ ।
४ वैशाख, पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भैरहेको आमा तथा महिलाहरुको अकालमृत्यु रोक्न आफूले अघि बढाएको कार्यक्रम परिस्कृत रुपमा निरन्तरता दिन सरकारसँग अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै समयमै परीक्षण नहुँदा कैयौं आमा तथा महिलाहरुले मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य गर्न निःशुल्क क्यान्सर परीक्षण स्क्रिनिङ थालेको स्मरण गरे ।
मातातीर्थ औंसीको अवसरमा आमाहरुलाई शुभकामना दिंदै उनले यस्तो अनुरोध गरेका हुन् ।
‘समाजमा महिलाको स्वास्थ्य दोश्रो प्राथमिकतामा परिरहेको सन्दर्भमा हामीले समयमै परीक्षण नहुँदा कैयौं आमा, महिलाहरुले मृत्युवरण गर्नु पर्ने त्रासद अवस्था अन्त्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहँदा अघि बढाएको निःशुल्क क्यान्सर परीक्षण स्कृनिङ सेवा शुरु गरेको आजको महत्त्वपूर्ण दिनमा स्मरण गर्दै वर्तमान सरकारले यसलाई अझ परिस्कृत रूपमा निरन्तरता दिनेछ भन्ने विश्वास व्यक्त गर्दछौं,’ उनको सन्देशमा छ ।
पौडेल मन्त्री रहँदा सबैभन्दा धेरै महिलाको ज्यान जाने कारण पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुको रक्षाका लागि एचपीभी खोप अभियान तथा महिलाहरुको पाठेघर परीक्षणका लागि स्क्रिनिङ राष्ट्रिय कार्यक्रममा समावेश गरेर अभियान थालिएको थियो ।
दुवै अभियानको उद्देश्य क्यान्सरका कारण बढिरहेको महिला मृत्यु रोक्नु थियो ।
मातातीर्थ औंसीको अवसरमा त्यो निर्णय स्मरण गरेका पौडेलले यसलाई वर्तमान सरकारको प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।
‘स्वस्थ महिलाबाट स्वस्थ परिवार अनि समुन्नत राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न हामी सदैव प्रतिबद्ध छौं,’ पूर्वमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रशारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गर्नुभयो । उहाँले सञ्चारकर्मीहरुलाई आफूले संसदमा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पार्नुभयो । संसदमा कुनैपनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिवद्धता थियो । उहाँले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरु स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाउनु भयो ।
सभामुख अर्यालले भन्नुभयो,‘नयाँ नजिरहरु स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अवको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ । तर तपाईंहरुले भनेको कुरामा म गम्भिर छु । मलाई यसबारेमा जानकारी छ । त्यसकारण हामी कुनैपनि कुरालाई लाईभ गरेर सबै कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आएको मान्छेहरु हो । त्यसकारण हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन । म त विधेयक ड्राफ्ट गर्दा हन्ड्रेट पर्सेन्ट विधेयक ड्राफट गर्नु भन्दा अघि स्टेकहोल्डरसँग बसौ, पटक पटक बसौ । म यसै पटकको बजेटको अधिवेशनलाई नै हामीले अलिकति फरक के गर्न सकिन्छ ? भनेर त्यसमा काम गरिराखेको छु । यस्ता कुरामा हामी सचेत छौँ ।’
सभामुख अर्यालले कानून निर्माणको कामलाई आफूले छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताउनु भयो ।
पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम बढिरहेको छ । उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
गत साउनदेखि चैत मसान्तसम्म ६१५ परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको हो, जसमार्फत २२ हजार ३१६ जनालाई रोजगारी दिने पनि प्रतिवद्धतामा आएको छ ।
विभागकाअनुसार पछिल्लो चैत महिनामा मात्र विभिन्न ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
उद्योग विभागकाअनुसार परियोजनाका आधारमा सबैभन्दा बढी कृषिमुलक परियोजनाका लागि वैदेशिक लगानी भित्रिएको छ । विभागकाअनुसार चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ ।
पर्यटन उद्योगको क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । सेवामुलक क्षेत्रमा ४७ वटा परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमुलक क्षेत्र (औद्योगिक) तर्फ ३८ वटा परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, सूचना तथा प्रविधिको क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्राप्त भएको छ ।
यसैगरी, समीक्षा अवधिमा ऊर्जा क्षेत्रमा हालसम्म दुई वटा परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । भने खनिजमुलक क्षेत्रमा पनि दुइवटा परियोजनाका लागि जम्मा ११ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि वैशाख ५ गतेदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम शुरु गर्ने भएको छ ।
‘जीवन्त र समृद्ध असन’ नाम दिइएको यो कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीलाई जीवन्त राख्ने लक्ष्य लिएको हो । मानवीय तथा सवारी आवागमन चापका कारण भित्री शहरी क्षेत्रमा बढेको चुनौतीलाई सम्बोधन गर्न महानगरले यो कदम चालेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनु भयो । यस कार्यक्रम अन्तर्गत असन क्षेत्रमा परम्परागत ज्ञान, सीपको प्रदर्शनी, गायन, वादन र नृत्य जस्ता क्रियाकलापहरू सञ्चालन गरिनेछन् । वैशाख ५ गते शनिवारदेखि शुरु हुने यस कार्यक्रम अवधिमा असन क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइनेछ । महानरकाअनुसार शनिवारको निश्चित समयमा कमलक्षी, भोटाहिटी र महाबौद्धबाट असनतर्फ आउने सवारी साधनहरू निषेध गरिनेछ ।सवारी धनीहरूले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ भने पर्यटक तथा आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ वा जमल बोहरा भवनमा पार्किङ गर्न सक्ने प्रवक्ता मानन्धरले बताउनु भयो ।
यस पहलले असन बजारको मौलिकता बढाउन, वायु प्रदुषण नियन्त्रण गर्न र स्थानीयवासीको उद्यमशीलता विकासमा टेवा पुग्ने महानगरको विश्वास छ । वडा नं २७ बाट शुरु गरिएको यो कार्यक्रम वडा नं २५ (केलटोल) क्षेत्रमा पनि विस्तार गर्ने तयारी भइरहेको पनि उहाँले बताउनु भयो ।
त्यस्तै वैशाख ५ गतेबाटै निःशुल्क वाटर एटिएम मेसिन शुभारम्भ गरिने पनि उहाँले जानकारी दिनुभयो । कामनपाभित्र करिव २ करोड ६० लाख रुपैयाँको लागतमा ८ वटा वाटर एटिएम बुथ निर्माण भएका छन् । यि बुथहरु निःशुल्क गुणस्तरीय पिउने पानी उपलब्ध हुने महानगरले जनाएको छ । मौलिक शैलीमा निर्माण गरिएका बुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको उहाँले बताउनु भयो । बुथहरु खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कुल बाहिर, वडा नम्बर १७ को लिङ्क रोड ढल्को चोक, वडा नम्बर ५ नरःदे (हाँडीगाउँ), वडा नम्बर २६ परिसर र वडा नम्बर ३१ को परिसरमा जडान गरिएको बताउनु भयो ।