२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजा महेन्द्र बन्ने सपना नदेख्न चेतावनी दिएका छन् । उनले केपी ओलीले सी जिनपिङ बन्ने सपना देख्दा देशले मूल्य तिर्दातिर्दै थाकिसकेको स्मरण गराउँदै अब नयाँ प्रधानमन्त्री बालेन शाहले पनि राजा महेन्द्र बन्ने सपना देखेको भन्दै आलोचना गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । उनले फेशबुकमा लेखेका छन्- केपी शर्मा ओलीज्यूले ‘सि जिङपिङ’ बन्ने सपना देख्दा, देशले मूल्य तिर्दै–तिर्दै थाकिसक्यो । आशा बोक्ने काँधहरू भारी भइसके। अब बालेन्द्र शाहज्यु, ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्नुस् , किनकि यो देश अबमहेन्द्रपथ´को तपाईँको सपनाको भारी बोक्न सक्दैन । भदौ २३ मा र २४ एउटै सिक्काका दुई पाटा हुन् । एउटा पाटो नविर्सिइयोस् । ओलीको सपनाको मूल्य देशले तिर्नुपर्‍यो बालेनको कथित नायकी सपनाले देश अभिसप्त नबनोस् । देशमहेन्द्र´ होइन यतिबेला बिपीपथ खोजिरहेको छ ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै मुलुकको राजनीतिक परिस्थिति तरंगित बनेको छ । 
अध्यक्ष ओली पक्राउ परेसँगै एमालेका भ्रातृ संगठनहरू र समर्थकहरू राजधानीलगायत देशभरका प्रमुख शहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन् । अध्यक्ष ओलीलाई गुण्डुस्थित निवासबाट शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । ओली पक्राउ परेलगत्तै काठमाडौंको भृकुटीमण्डप र पार्टी केन्द्रिय कार्यालय च्यासलसहित देशभरका विभिन्न स्थानमा एमाले निकटका युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरू ठूलो संख्यामा भेला भएका छन् । प्रदर्शनकारीहरूले सरकार विरोधी नाराबाजी गर्दै तत्काल ओलीको रिहाइको माग गरेका छन् । पार्टी केन्द्रिय कार्यालय अगाडि टायर बालेर सडक अवरुद्ध गरिएको छ भने जेन–जी प्रदर्शनको अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ प्रतिवेदन जलाएर विरोध गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च शतर्कतामा रहन निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्री र ठूलो राजनीतिक दलको अध्यक्ष पक्राउ पर्नुले नेपाली राजनीतिमा दूरगामी असर पार्ने निश्चित देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाले सत्ता पक्ष र प्रतिपक्षबीचको दूरीलाई चरम सीमामा पु¥याउनेछ । एमालेले संसदको आगामी बैठक पूर्ण रूपमा ठप्प पार्ने र सरकारलाई असहयोग गर्ने रणनीति लिन सक्छ । यो घटनाले राजनीतिक दलहरूबीच थप ध्रुवीकरण बढाउनेछ । प्रतिपक्षी दलहरूले सरकारको यो कदमलाई निरंकुशताको संकेतका रूपमा चित्रण गर्दै कार्यगत एकता गर्नसक्ने सम्भावना छ । मुलुकमा लामो समयदेखि चल्दै आएको राजनीतिक अस्थिरता यो घटनापछि थप जटिल मोडमा पुग्नसक्छ । जसले आम नागरिकमा निराशा पैदा गर्ने देखिन्छ । सरकारले कानूनी राज्यको दुहाई दिइरहँदा प्रतिपक्षले यसलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको छ । 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताउनुएको छ ।
पार्टी कार्यलय च्यासलमा शनिवार पत्रकारहरुसँग कुरा गर्दै उहाँले गैरसंवैधानिक र गैरकानूनी रुपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने बताउनुभएको हो । उहाँले एमालेले कानूनी र संवैधानिक सीमाभित्र रहेर संयमित तर प्रभावकारी विरोध कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । उहाँले सरकारलाई जनमतको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो । प्रतिशोध र आवेगबाट प्रेरित निर्णयले समाधान नदिई झन् द्वन्द्व बढाउने उहाँको भनाई छ । 
उहाँले भन्नुभयो, ‘यो गैरसंवैधानिक र गैरकानूनी रहेको छ । गैरसंवैधानिक र गैरकानूनी भएकोले यसलाई हामी संसदमा पनि उठाउँछौँ । सडकबाट पनि हामी यसको प्रतिरोध गर्नेछौँ । कानूनी हिसावले हाम्रा कानून व्यवसायीहरुसग समन्वय गरेर न्यायलयमा पनि जान्छौँ । कानूनी र सडक दुबै मोर्चाबाट हामी विरोधमा उत्रिन्छौँ । हाम्रो विरोध संयमित हुन्छ । एमाले जिम्मेवार पार्टी हो, हाम्रा सबै विरोधका कार्यक्रमहरु संयमित हुन्छन्, उछृङ्खल हुँदैनन् । कानुनी र संवैधानिक घेरा भन्दा बाहिर हामी जाँदैनौ । कानूनप्रति, संविधान, न्यायलयप्रति हामीलाई विश्वास छ । हामी यो सरकारलाई पनि जुन जनमत प्राप्त गरेको छ, त्यो जनमतको दुरुपयोग नर्गन आग्रह गर्छु । प्रतिशोध र आवेगले निष्कर्ष निस्किँदैन, त्यसले आगो बाल्छ ।’ 
उहाँले जेन–जी आन्दोनलको घटना छावविन गर्न गठित कार्की आयोगको प्रतिवेदन त्रुटीपूर्ण रहेको बताउनु भयो । उहाँले भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष र न्यायिक छानबिन गर्नको लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताउनु भयो । न्यायिक समितिबाट आउने निष्कर्ष स्वीकार्य हुने उहाँको भनाई छ । कार्की आयोगको प्रतिशोधपूर्ण प्रतिवेदनलाई एमालेले मात्रै नभई पूरा देशले नै अस्वीकार गरेको उहाँको भनाई छ । 

कपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गर्नुभएको छ । 
पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव बस्नेतले देश समृद्धि, विकास, सुशासन र रोजगारीको दिशामा अघि बढ्नुपर्ने युवाहरूको चाहनामाथि सरकारले प्रहार गरेको दाबी गर्नुभएको हो । एमाले अध्यक्ष ओली र काँग्रेस नेता रमेश लेखकलाई सरकारले शनिवार बिहान निवासबाट पक्राउ गरेको थियो । त्यसको विरोधमा एमालेले सडक संघर्ष शुरु गरिसकेको छ । उहाँले बालुवाटारबाट भइरहेका पछिल्ला निर्णयहरूलाई ‘घृणायुक्त’ र ‘प्रतिशोधपूर्ण’ भएको बताउनु भयो । सरकारले तत्काल यि निर्णयहरु फिर्ता लिनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अब देश समृद्धि, विकास र सुशासन र रोजगारीतर्फ जानुपर्छ भन्ने हामी युवाहरुको चाहना माथि स्वस्ति शान्ति गर्दै त्यो चाहना पूरा गर्दै बेलुका फेरि दलहरु माथि प्रतिशोध गर्दै त्यो अलि अलि जागेको आगोमा पानी खन्याउने काम जुन बालुवाटार सरकारले गरेको छ यो एकदम यो घृणायुक्त काम छ र यो एकदम यो प्रतिशोधपूर्ण काम छ । सरकारले तत्कालै यो निर्णय फिर्ता गरोस् तत्कालै हाम्रो अध्यक्षज्यू र पूर्वगृह मन्त्री ज्यूलाई रिहा गरोस् भन्ने हाम्रो माग छ र कार्यदलको प्रतिशोधपूर्ण रिपोर्टलाई नि हामी स्वीकार गर्दैनौँ ।’
उहाँले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन स्वीकार नगर्ने पनि स्पष्ट पार्नुभयो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल  भर्ना गरिएको छ । सनिवार विहान उहाँलाई पक्राउ गरिएसँगै स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएकोमा केही स्वास्थ्य परीक्षणको रिपोर्टहरू आधारमा उहाँलाई अस्पाताल भर्ना गरिएको हो । अस्पतालमा अहिले उहँको आधारभूत स्वास्थ्य परीक्षणको रिपोटहरुका साथै  र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले चिकित्सको निगरानीमै राख्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए पनि आजै बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको छ। लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको  जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।

नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो । अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनको सुझावको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज पक्राउ परेका छन् । अध्यक्ष ओली पक्राउ परेलगत्तै उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले गौरी बहादुर कार्की नेतृत्वको आयोगले गरेको छानबिन निष्पक्ष नरहेको निष्कर्ष पार्टीले निकालेको बताए । यसआधारमा एमालेले छुट्टै आयोग गठन गर्न माग गरेको हो । ‘उक्त घटनाको निष्पक्ष र न्यायीक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दछ,’ महासचिव पोखरेलले पार्टीको निर्णयबारे जानकारी दिए । नेकपा एमालेले अध्यक्ष ओली र कांग्रेस नेता लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।

 पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक प्रकाउ परेसँगै राजधानी काठमाडौंको सुरक्षा सतर्कता बढाइएको छ। विशेषगरी ओली निवास आसपासको क्षेत्र भक्तपुरमा बाक्लो संख्यामा शुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले ओलीको पक्राउ विरुद्ध देशभर आन्दोलन गर्ने, भातृ संगठनलाई सडकमा उतार्ने चेतावनी दिएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार बसेको पार्टी सचिवालय बैठकले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै चारवटा निर्णय गरेको हो। निर्णय अनुसार एमालेले ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक रूपमा कडा प्रतिवाद गर्नेछ। साथै, आज दिउँसो ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गरिनेछ।त्यसैगरी, भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा ठूलो प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति शुरु गरेको आरोप लगाउनुभएको छ । 
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको पछिल्लो कदमलाई उहाँले पूर्वाग्रहपूर्ण र निन्दनीय भएको बताउनुभएको हो । नेता भट्टराईकाअनुसार कार्की आयोगको प्रतिवेदन आफैँमा विवादित छ । एमालेले यस कदमको कानूनी र संसदीय दुवै मोर्चाबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ । भट्टराईले महाराजगञ्ज प्रहरी चौकीमा भएको अमानवीय हत्याका बारेमा प्रतिवेदन मौन रहेकोमा पनि प्रश्न उठाउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो प्रतिवेदनले २३ गतेको घटनालाई मात्रै दोषी ठहर्याएको छ तर २४ गते भएको ठूलो विध्वंशप्रति पुरै बेखबर छ । कसैलाई किटानी ठहर गर्न नसकेको प्रतिवेदनलाई सरकार बन्नासाथ कार्यान्वयनमा लैजानु भनेको सिधै प्रतिशोध साँध्नु हो । आयोगका संयोजक गौरीबहादुर कार्की आफैँ विवादित हुनुहुन्छ । उहाँले पहिले नै पक्रनुपर्छ, थुन्नुपर्छ भन्दै फैसला सुनाइसक्नुभएको थियो । यस्तो पूर्वाग्रही व्यक्तिको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्नु भनेको राजनीतिक प्रतिशोध बाहेक अरु केही होइन ।’
उहाँले राज्य सधैँ प्रतिशोधमा लाग्नु दुःखद भएको बताउँदै यसले देशमा स्थायी शान्ति र स्थिरता नदिने उल्लेख गर्नुभयो । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलाई सरकारले ज्यान सम्बन्धी कसुरमा शनिवार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ ।

 नेकपा एमालेको सचिवालय बैठकले विभिन्न चार निर्णय गरेको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार केपी शर्मा ओलीको पक्राउविरुद्द आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ । यस्तै, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई कार्यालयमा विरोधपत्र बुझाउने र  लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने निर्णय पनि गरेको छ । 

गृहमन्त्री सुधन गुरूङले न्यायको सुरूआत भएको बताएका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले कसैप्रति प्रतिशोध नसाँधिएको बताएका हुन्। ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरूआत हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,’ उनले भनेका छन्। भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरू दुवै जनालाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै गरेको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।  यसअघि ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि अध्यक्ष ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका थिए। वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई उनले बोलाएका थिए।  एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी एकाबिहानै जरूरी पुर्जीसहित गिरफ्तार गर्न आएको बताइन्। एमालेका नेता कार्यकर्ताले प्रहरीलाई निवासभित्र प्रवेश गर्न अवरोध गरेका थिए। केहीबेर धकेलाधकेलसमेत भएको थियो। धकेलाधकेलका क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको एमालेका कार्यकर्ताले बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुखसँग छलफल गरेका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।