
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित एक समारोहकाबीच उहाँलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरुलगायत नेपालका सरकारका विशिष्ट तहका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित हुनुभएको थियो । उहाँ ७८ वर्षको हुनुहुन्छ ।
राष्ट्रपतिबाट शपथ लिनुभएका केसीले ज्येष्ठ सदस्यको हैसियतले बिहीवार (भोली) चैत्र १२ गते प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउनुहुनेछ । सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभामा ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता गर्नुहुनेछ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना गरी जम्मा २ सय ७५ जना सांसदहरु निर्वाचित हुनुभएको छ ।
अफगानिस्तानको केन्द्रिय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ (मार्च २०) मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४ मा स्थानीय मुद्रा ‘अफगानी’ अमेरिकी डलरको तुलनामा ९.९३ प्रतिशतले मजबुत भएको घोषणा गरेको छ । बैंकद्वारा कार्यान्वयन गरिएका विवेकपूर्ण, सन्तुलित र प्रभावकारी मौद्रिक नीतिहरूको परिणाम स्वरूप मुद्राको मूल्यमा यो वृद्धि भएको बैंकका प्रवक्ता हसिबुल्लाह नूरीले स्थानीय सञ्चार माध्यम एरियाना न्युजलाई बताउनुभएको हो । ती अधिकारीकाअनुसार यी कदमहरू र वैदेशिक मुद्रा बजारमा गरिएको रणनीतिक हस्तक्षेपले राष्ट्रिय मुद्रालाई स्थिर र सुदृढ बनाउन मद्दत पु¥याएको छ । यसैबीच, मुद्राको अवमूल्यन रोक्न केन्द्रिय बैंकले वर्षभर मुद्रा विनिमय बजारमा लाखौँ अमेरिकी डलर प्रवाह (इन्जेक्ट) गरेको थियो ।
म्यानमारले मार्च २५ देखि अर्को सूचना नभएसम्म इन्धन खपत घटाउन मद्दत गर्न सरकारी विभागहरूका लागि बुधवार घरबाटै काम गर्ने व्यवस्था शुरु गरेको छ । सोमवार राज्यको स्वामित्वमा रहेको दैनिक ‘द मिरर’ मा प्रकाशित एक विज्ञप्तिअनुसार यो जानकारी दिइएको हो । राष्ट्रिय रक्षा र सुरक्षा परिषद्को सूचना टोलीले अखबारमा भनेको छ कि यस उपायको प्राथमिक उद्देश्य इन्धन संरक्षण हो । तसर्थ अधिकारी र कर्मचारीहरूले यी तोकिएका घरबाटै काम गर्ने दिनहरूमा कुनैपनि गैर–अत्यावश्यक यात्रा वा सवारी साधनको प्रयोगबाट टाढा रहनुपर्छ । यसले निजी संस्थाहरू र व्यवसायहरूलाई पनि सम्भव भएसम्म समान व्यवस्था अपनाउन प्रोत्साहित गरेको छ । मध्यपूर्वमा चलिरहेको द्वन्द्वसँग सम्बन्धित सम्भावित इन्धन अभावको प्रतिक्रियामा, सरकारले यसअघि सवारी साधनको जोर–बिजोर प्रणाली र इन्धन रासन लागू गरेको थियो । यसका साथै सरकारले निरन्तर आपूर्ति सुनिश्चित गर्न विभिन्न च्यानलहरूमार्फत इन्धन आयात सुरक्षित गर्न काम गरिरहेको छ ।





