२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

गत भदौ २३ र २४ गते भएको ‘जेन जी’ प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ । प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले माईतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । भदौ २३ र २४ गते युवाहरू (जेन–जी) ले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप र झडप भएपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक नहुँदा आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ । प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर कारबाही र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

इनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै युवा, विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘इनिशा विकलाई न्याय दे’, ‘दोषीलाई उम्काउन पाइँदैन’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । शान्तिपूर्ण रूपमा भेला भएका प्रदर्शनकारीहरूले राज्य प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।

मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको आन्तरिक मामिला अधिकारीहरूले बताएका छन् । स्थानीय स्रोतहरूकाअनुसार इजरायली ड्रोनले हमासद्वारा सञ्चालित आन्तरिक मामिला अधिकारीहरूको प्रहरी गाडीलाई लक्षित गरेको थियो । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएअनुसार यस हवाई आक्रमणमा वरपर रहेका अन्य धेरै व्यक्तिहरू पनि घाइते भएका छन् । प्रत्यक्षदर्शीहरूकाअनुसार आईतवार नै मध्य गाजाको नुसेरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवरहा क्षेत्रमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोनले कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो । शिविरमा रहेको अल–अवदा अस्पतालले उक्त आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूका छोराको मृत्यु भएको जनाएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले आईतवार आफ्नो दैनिक अपडेटमा रिपोर्ट गरेअनुसार विगत २४ घण्टामा गाजा पट्टीका अस्पतालहरूमा पाँच जनाको शव र आठ जना घाइतेहरू आइपुगेका छन् । अधिकारीहरूकाअनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता मृत्यु हुनेको सङ्ख्या ६ सय ६३ पुगेको छ भने १ हजार ७ सय ६२ जना घाइते भएका छन् । यससँगै अक्टोबर ७, २०२३ यता मृत्यु हुनेको कुल सङ्ख्या ७२ हजार २ सय ३९ र घाइते हुनेको सङ्ख्या १ लाख ७१ हजार ८ सय ६१ पुगेको छ । 

अमेरिका र इजरायलले हालै इरानमाथि गरेको सैन्य आक्रमणको विरोध गर्दै सिड्नी टाउन हल नजिकै सयौं मानिसहरू भेला भएर ¥याली र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले इरानलाई छोडिदेऊ जस्ता नारा लगाउँदै द्वन्द्व अन्त्य गर्न र सरकारहरूलाई कुटनीतिक बाटो अपनाउन आग्रह गरेका थिए । कुनै पनि युद्ध हुनु नहुने उनीहरुको भनाइ छ । विद्यालय, अस्पताल र नागरिक क्षेत्रहरूलाई लक्षित गर्ने कुनै बम प्रहार हुनु नहुने प्रदर्शनकारीहरुले बताए । 

चलिरहेको मध्यपूर्वको द्वन्द्वको बीच राजधानी नयाँ दिल्लीलगायत भारतभरका विभिन्न शहर र नगरहरूमा निजी लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वितरण एजेन्सीहरू अगाडि मानिसहरूको लामो लाइन देखिएको छ । घरायसी एलपीजी सिलिण्डर भर्नका लागि अनलाइन बुकिङ गर्न मानिसहरूले कठिनाइ भोगिरहेको रिपोर्टहरू आएका छन् । केही शहरहरूमा घरायसी एलपीजी सिलिण्डरहरू प्रतिसिलिन्डर ९ सय १३ भारतीय रुपैयाँ (करिव ९.८७ अमेरिकी डलर) को अधिकतम खुद्रा मूल्यभन्दा धेरै उच्च मूल्यमा विक्री भइरहेको थियो । धेरै रेस्टुरेण्ट र होटलहरू विशेष गरी आर्थिक राजधानी मुम्बईमा, व्यावसायिक एलपीजी सिलिण्डरहरू पाउन निरन्तर कठिनाइको सामना गरिरहेका छन् । खाना पकाउने ग्यासको अभावलाई लिएर देशमा व्याप्त अनिश्चितताको बीचमा, प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तक्षेप गर्दै एलपीजी सिलिण्डरको कालोबजारी वा जम्माखोरी नहोस् भनेर सुनिश्चित गर्न हरेक प्रयास भइरहेको बताउनुभएको छ । यसैबीच, आधिकारिक स्रोतहरूका अनुसार, सम्भावित एलपीजी अभावलाई पूरा गर्ने प्रयासमा गत हप्ताको तुलनामा देशमा घरेलु उत्पादन ३० प्रतिशतले बढेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।