२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएको छ । 
आईतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो । निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्नेगरी प्रतिनिधि सभामा समानुपातिकतर्फको सांसदहरु टुंगो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनु भयो । त्यसैगरी बैठकले मधेस प्रदेशमा पनि रिक्त रहेको प्रदेश सभा सदस्य नियुक्ति गर्नका लागि एक जनाको नाम सिफारिस गरेको छ । 
अध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो विषम परिस्थितिमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने र एक मात्र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजय गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिने निर्णय गरेको छ। र उहाँलाई बधाई दिन दिइएको छ । त्यसै गरेर मधेस प्रदेश सभामा रिक्त रहेको प्रदेश सभा सदस्यमा समानुपातिक सूचिमा प्राथमिकता क्रममा रहेको दोस्रो नामलाई प्रदेश सभा सदस्यामा नियुक्त गर्ने सिफारिस गरिएको छ । अहिले समानुपातिकतर्फको ४ जनालाई प्रतिनिधि सभामा सिफारिस गर्ने निर्णय पनि गरेको छ । त्यो नाम अहिले आयोगमा पठाएपछि मात्रै सार्वजनिक गर्ने भन्ने निर्णय पनि भएको छ ।’
प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचन हुने पार्टीका नेता ज्ञानबहादुर शाहीलाई बधाई दिँदै पार्टीको पक्षमा मतदान गर्नुहुने सबै मतदाताहरुलाई धन्यवाद दिइएको राप्रपाले जनाएको छ ।

पोखरा ।  नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ । आईतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसदहरु छानेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकोले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताउनु भयो । उहाँले विभिन्न कलष्टर मिलाएर समानुपातिक सांसद छानेको र आईतवार नै निर्वाचन आयोगमा बुझाइने जानकारी दिनुभयो । उहाँकाअनुसार आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरिएको छ । १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर सांसद चयन गरिएको उहाँले जनाकारी दिनुभयो । उहाँले पार्टीले पठाएको नामलाई निर्वाचन आयोगले रुजु गरेर सार्वजानिक गर्ने बताउनु भयो ।  
उहाँले भन्नुभयो, ‘संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्छ । राष्ट्रिय सभा सबै हिसाव गर्दा अहिले हामीले २० जना प्रतिनिधि छान्दा १५ जना महिला अनिवार्य छ । त्यस्तै ती महिलामध्ये सबै क्लष्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५, जम्मा २० मध्ये १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर हामीले पठाउने हो । हामीले यसलाई निर्णय गरिसेकेका छौँ । यो बन्दसूची निर्वाचन आयोगमा आजै पठाउँछौँ । त्यसपछि त्यहाँ केही कलष्टरहरुमा तलमाथी परेमा सच्याउने सुविधा पनि पाईन्छ, यहाँभन्दा अगाडी जे समानुपातिक सूची पठाइएको थियो, त्यसमा धेरै फेरबदल गर्ने सुविधा प्राप्त हुँदैन । यसैमा आधारित भएर हामीले निर्णय गरेका छौँ । यो आजै निर्वाचन आयोगमा बुझाउँछौ र निर्वाचन आयोगले सार्वजानिक गर्छ ।’ उहाँले निर्वाचनको समिक्षाको लागी केही दिन भित्रै केन्द्रिय कार्य समितिको बैठक बोलाउने जानकारी दिनुभयो ।

पोखरा । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । 
चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व संकलन गरेको हो । गत आ.व.को सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो । समीक्षा अवधीमा भ्याट, अन्तःशुल्क भन्सार महशुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शिर्षकमा भने सरकारले राजश्व सोचेअनुसार उठाउन सकेको छैन । अर्थ मन्त्रालयकाअनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजश्व उठाउन सकेको छैन । आयकरतर्फ फागुनसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ । गत आवको फागुनसम्म भने १ खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो । गत आ.व.को फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख ब्याज कर संकलन भएको थियो । जबकि चालु आ.व.मा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ । भन्सार महशुल चालु आ.व.को फागुन मसान्तसम्ममा  १ खर्ब ५५ अर्ब ९० करोड संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब ५३ करोड संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । 

आठ महिनामा कति भयो खर्च ?
सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब २६ अर्ब कुल बजेट खर्च गरेको छ । चालु आ.व.का लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । चालुतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये  सरकारले ६ खर्ब ४२ अर्ब खर्च गरेको छ । यता विकास बजेट भने सरकारले खर्च गर्न सकेको छैन् । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेटमध्ये सरकारले ७८ अर्ब खर्च गरेको छ  ।  सार्वजनिक ऋणको सावा ब्याजसहितको दायित्व व्यवस्थापनमा सरकारले ३ खर्ब ७५ अर्ब बजेट छुट्याएकोमा हालसम्म २ खर्ब ५ अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि सरकारलाई ऋण व्यवस्थापनमा चुनौती थप्दै गएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिनुभएको हो । उहाँले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाई भएको बताउनु भयो । उहाँले संसदीय दलको नेता बालेन्द्र साह नै हुने जानकारी दिनुभयो । पूर्वसहमति र प्रतिवद्धताबाट दायाँबायाँ नहुने उहाँको भनाई छ । उहाँले संसदीय दलको नेता छान्ने प्रक्रियाको लागी केन्द्रिय समितिको बैठक नै बस्नुपर्ने बताउनु भयो । दलको नेता छान्न आन्तरिक र अनौपचारिक रुपमा भने छलफल भईरहेको उहाँले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, ‘हामीले केन्द्रिय समितिको बैठक कुनुपर्छ, आन्तरिक र अनौपचारिक हामीले त्यसमा छलफल गरेका छौँ । अझै पनि दलको नेता बनाउनको लागि हामीले प्रक्रियागत रुपमा अगाडी बढाउनको लागि केही नेताहरुको उपस्थितिको प्रतिक्षामा रहेको हुनाले स्वास्थ्य अवस्थाको कारण केही नेताहरुको उपस्थिति अझै पनि पर्खिनुपर्ने भएकोले हामीले कुरिरहेका छौँ । तर एउटा विषय स्पष्ट पारौँ, सोसंग सम्बन्धित, हामी त्यसमा जिम्मेवार छौँ र प्रतिवद्धता हामीले बिर्सेका छैनौ । त्यसैले केही तलमाथी होला की भन्ने आशंका नगरियोस् ।’ उहाँले दलको नेता चयनमा कुनै आशंका नगर्न पनि आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ट नेता साहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेर पार्टीमा भित्र्याएको थियो । उक्त सहमति कार्यन्वयन गर्ने प्रवक्ता झाको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फको ५७ जना सांसदको नाम टुंग्याएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । बैठकले ५७ जना सांसदको नाम टुंग्याएर आईतवार नै निर्वाचन आयोगमा नामावली बुझाउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँकाअनुसार ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिकतर्फबाट सांसद बनाइनेछ । जसअन्र्तगत खसआर्यमा १७ जना, जनजाती १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ५ जना गरी ५७ जना रहेका छन् । उहाँले पार्टीले निर्वाचन आयोगमा बुझाएका नामवली भने तत्काल सार्वजानिक नगर्ने जानकारी दिनुभयो । निर्वाचन आयोगमा नामावली बुझाएपछि आयोगले रुजु गर्ने र ठीक भएका नामावलीहरु आयोगले नै सार्वजानिक गर्ने उहाँको भनाई छ । पार्टीले सिफारिस गरेका नामहरु राजनितिक र कानुनी प्रक्रियाअनुसार आयोगले स्वीकृत नगरेसम्म त्यसलाई प्रस्तावित मात्र मान्न सकिने भएकोले तत्काल नामावली सार्वजानिक नगरेको उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले निर्वाचन आयोगलाई आज नै तोकिएको समयसीमाभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गरेका छौँ । जसअन्र्तगत खसआर्यमा १७ जना, जनजाती १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ५ जना गरी ५७ जना र यसमा विधिले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष रहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सचिवालयले जिम्मेवारी दिएर सचिवालय सदस्यहरुको नेतृत्वमा आज नै तोकिएको समयभित्र निर्वाचन आयोगमा यो नामावली बुझाइनेछ । तपाईहरुको उत्सुकता हुनुसक्छ, को को हुनुहुन्छ, हामीले निर्वाचन आयोगमा नामावली बुझाउँछौँ, उहाँहरुले रुजु गर्नुहुन्छ । रुजु र प्रमाणितको प्रक्रिया भएपछि निर्वाचन आयोगले नै त्यो नामहरु सार्वजनिक गर्नेछ । राजनितिक र कानूनी प्रक्रिया अन्तर्गत जबसम्म निर्वाचन आयोगले सो नामहरु स्वीकृत गर्दैन, रुजु गर्दैन, तबसम्म त्यसलाई हामीले हाम्रो तर्फबाट प्रस्तावित मात्र मान्न सकिने भएकोले हामी त्यो नामहरु निर्वाचन आयोगको तर्फबाट नै सार्वजानिक होस् भनेर त्यतिन्जेलसम्म हामी कुर्नेछौँ ।’ 
बैठकले निर्वाचन सम्पन्न गरेकोमा सरकार, प्रहरी, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीलाई धन्यावाद दिने निर्णय पनि गरेको उहाँले बताउनु भयो । बैठकले अस्वस्थ रहेका पार्टी सभापति रवी लामिछाने लगायतका नेताहरुको स्वास्थ्यलाभको कामना गर्ने निणय पनि गरेको छ । 

चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाएका छन् ।  वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ४.५६ प्रतिशत रहेकोमा चैतमा घटाए ४.४९ प्रतिशतमा झरेका हुन । यसरी औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् । संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि चैतमा ०.०३ प्रतिशत बिन्दुले घटेको छ ।चैत महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत बिन्दुले घटाएको हो । त्यस्तै कृषि विकास बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड ले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् । 

चैत महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको ब्याजदर ४.१५ प्रतिशत कायम गरेको छ । फागुन महिनामा यस्तो मुद्दतिको ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत महिनाका लागि ४.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि यो बैंकको यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । नेपाल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतिमा ४.५ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा ५.१ प्रतिशत रहेको थियो । त्यस्तै चैत महिनाका लागि कुमारी बैंकको ब्यजदर ४.१२ प्रतिशत निर्धारण गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।  ग्लोवल आईएमई बैंकले चैत महिनाका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा यो बैंकको यस्तो ब्याजदर ४.७५ प्रतिशत रहेको थियो । त्यस्तै प्राइम बैंकले चैत महिनाका लागि ४.१५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो ।

त्यस्तै चैत महिनाका लागि नेपाल एसबिआई बैंकले ४.२५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । फागुन महिनामा पनि यो बैंकले सोही दरमा व्यक्तिगत मुद्दतिमा ब्याज दिएको थियो । त्यस्तै एभरेष्ट बैंकको चैत महिनाका लागि ४.२५ प्रतिशत, सिद्धार्थ बैंकको ४.२५ प्रतिशत रहेको छ । यी बैंकको पनि फागुन महिनामा सोही दरको ब्याजदर रहेको थियो । त्यस्तै चैत महिनाका लागि माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइनज बैंक, सानीमा बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर चैत महिनाका लागि ४.५ प्रतिशत निर्धारण गरिएको छ । यी बैंकको फागुन महिनामा पनि व्यक्तिगत मुद्दतिमा सोही दरको ब्याजदर तोकेका थिए त्यसैगरी चैत महिनामा प्रभु बैंक र नबिल बैंकले ब्याजदर ४.५५ प्रतिशत तोकेका छन् । फागुन महिनामा पनि यी दुई वटा बैंकको ब्याजदर सोही दरमा थियो ।  त्यस्तै चैत महिनाका लागि हिमालय बैंक, राष्ट्रि वाणिज्य बैंक, एनआइसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दतिमा ५ प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनामा पनि यी बैंकहरुको व्यक्तिगत मुद्दतिको ब्याजदर ५ प्रतिशत नै रहेको थियो ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका र इजरायली आक्रमणविरुद्ध जतिसुकै समय लागे पनि आफ्नो रक्षा गर्ने बताउनुभएको छ । फेब्रुअरी २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण शुरु गरेका थिए । यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी आधार शिविर तथा सम्पत्तिहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमणको लहर शुरु गरेको थियो । इरानको आणविक कार्यक्रमलाई सन्दर्भ गर्दै बघाईले अमेरिका र इजरायली पक्षहरूलाई देशको आणविक गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण छन् भन्ने राम्ररी थाहा रहेको बताउनु भयो । बघाईले इरानले फारसको खाडी क्षेत्रका कुनै पनि राज्यप्रति कुनै दुश्मनी नराख्ने स्पष्ट पार्नुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।