२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र आज प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदैछ।

लामाले आइतबार साँझ पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर, प्रदेश प्रमुखको कार्यालय बन्द भइसकेकाले उनले राजीनामा पत्र तत्काल बुझाउन सकेनन्। उनले आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौँ प्रस्थान गरेका थिए। लामाको सचिवालयका एक सदस्यका अनुसार, आज राजीनामा पत्र दर्ता गरिनेछ।

आफ्नै पार्टी नेपाली कांग्रेसका बहुमत सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्ताव असफल बनाउन नसकेका तथा संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएका लामाले नैतिक संकटका कारण राजीनामा दिएका हुन्।

राजीनामाको केही समयअघि मात्र उनले तीन जना नयाँ मन्त्री नियुक्त गरेका थिए। मन्त्रीहरू गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङको सपथग्रहण कार्यक्रम १५ साउन दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा सपथग्रहणकै दिन बिहान ५ बजे उपचारका लागि काठमाडौँ गएकाले उक्त कार्यक्रम स्थगित भएको थियो।

देवकोटा हाल धापासीस्थित ग्राण्डी अस्पतालमा मूत्रप्रणालीको उपचार गराएर डिस्चार्ज भइसकेका छन् र ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा बसोबास गरिरहेका छन्। उनी आज सोमबार हेटौंडा फर्किने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नेछन्। सो क्रममा सरकार नेतृत्वको दाबी गर्न चाहने उम्मेदवारले ५६ जना बहुमत सांसदहरूको हस्ताक्षरसहितको समर्थन पेस गर्नुपर्नेछ। दाबी स्वीकृत भएपश्चात् नयाँ मुख्यमन्त्रीको नियुक्ति र पद तथा गोपनीयताको सपथ हुनेछ।

१४ साउनमा सम्पन्न नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा विजयी इन्द्रबहादुर बानियाँले नै मुख्यमन्त्री पदको दाबी पेस गर्ने तयारी गरेका छन्।

उनले सत्ता साझेदार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरिरहेको बानियाँ निकट एक नेताले जानकारी दिएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।