
गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटका कृषकहरूले पर्याप्त वर्षा नहुँदा सुक्खा खेतमै धान रोपेका छन्।
सामान्यतः धान रोप्नका लागि हिलो आवश्यक पर्ने भए पनि यसपालि समयमै वर्षा नभएकाले कोदो रोपेजस्तै सुक्खा जमिनमै धान रोप्नु परेको किसानहरूको गुनासो छ।
कृषक जंगबहादुर खत्रीले पानी नपरेको कारण धानलाई कोदो झैं रोप्न बाध्य भएको बताए। अर्का कृषक प्रकाश थापाले भने, “बीउ सुक्न थालेपछि जे जसरी भए पनि रोप्नै पर्ने भयो, त्यसैले सुक्खामै रोपाइँ गर्यौं।”
कृषकहरू अनुसार, यस्तो अवस्थामा रोपिएको धान उत्पादनमा ठूलो गिरावट आउने सम्भावना छ।
छल्दी फाँटका झन्डै ६० जना कृषकहरू करिब ५०० रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन्।
यस वर्ष बीउ सुक्न थालेपछि केही कृषकहरूले छल्दी खोलाबाट पानी तानेर धान रोपाइँ गरेका छन्।
श्यामलाल श्रेष्ठ, टीका रेश्मी, पूर्णप्रसाद श्रेष्ठ, राजन कुँवर, यादव पाण्डे, भविश्वर खत्री, लक्ष्मी थापा लगायतका किसानहरूले भाडामा जेनेरेटर ल्याएर खोलाको पानी तानेर रोपाइँ गरेका हुन्।
यद्यपि, पानी तानेर रोपाइँ गरे पनि वर्षा नहुँदा उत्पादन घट्ने चिन्ता यिनमा पनि उत्तिकै छ।
छल्दी खोलो खेत नजिकै बग्ने भए पनि कुलो व्यवस्थापन नहुँदा यहाँका कृषकहरू वर्षामा निर्भर भएर खेती गर्दै आएका छन्।
केही किसानहरू भने अझै पनि रोपाइँ गर्न असमर्थ छन्।
स्थानीय कृषकहरू इन्द्रबहादुर थापा, गंगा थापा, नटबहादुर खत्री, हिरा श्रेष्ठ, गोरबहादुर नेपाली, विष्णु कुँवर, ढालबहादुर खत्री, छन्दबहादुर कुँवर, प्रकाश थापा लगायतले जेनरेटर र ट्याक्टर भाडामा नपाउनु, साथै महँगीका कारण रोपाइँ गर्न नसकेको बताएका छन्।
उनीहरू अहिले पनि धान रोप्ने कि नगर्ने भन्ने दोधारमा छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशमा फेरि एकपटक क्रान्ति र नयाँ खालको विद्रोह आवश्यक रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मरण कार्यक्रममा, अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रको प्रतिरोध गर्न एकताबद्ध हुनुको आवश्यकता औंल्याए।
उनले भने,
“हामी फेरि बल गर्दैछौं। प्रतिक्रियावादीको षड्यन्त्रविरुद्ध एकताबद्ध भएर प्रतिरोध गर्ने कोसिस गर्दैछौं। हाम्रो वर्गसँग फेरि जोडिने प्रयास जारी छ। मलाई जनयुद्धको तयारी, जनयुद्धको प्रक्रिया, शान्ति सम्झौता, संविधानसभा हुँदै अहिले पनि जीवित रहनु परेको छ। यही कारणले म अझै पनि नेतृत्वमा छु, र फेरि एकपटक क्रान्ति र नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित अघि बढिरहेको छु। यही मेरो प्रतिबद्धता हो।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले हालको शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने कार्य अघि बढिरहेको उल्लेख गर्दै यसमा पनि चालबाजी भइरहेको दाबी गरे।
उनले भने,
“विषयहरू अघि बढिरहेका छन्, तर त्यसमा पनि चलखेल भइरहेका छन्। तिखो आँखाले हेर्नुपर्छ। हामीले एकता गर्न सकेनौं भने अप्ठेरो आउन सक्छ। म सबैलाई अपिल गर्छु – एकताबद्ध बनौं।”
प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा मनाउनु पर्नेमा पनि जोड दिए।
उनले स्पष्ट रूपमा भने,
“जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा नमान्नु पर्ने कुनै कारण छैन। यो अदालतले प्रवेश गर्ने विषय पनि होइन। त्यसैले हामीले यसलाई राष्ट्रिय दिवसकै रूपमा आत्मसाथ गरेर मनाउनु पर्छ।”
इस्लामी सशस्त्र समूह हमासले पुनः हतियार बिसाउन अस्वीकार गरेको छ। समूहले स्पष्ट रूपमा भनेको छ कि जबसम्म प्यालेस्टाइनलाई सम्प्रभू स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिइँदैन, तबसम्म उसले हतियार त्याग्ने छैन।
गाजा क्षेत्रमा इजरायल र हमासबीच चलिरहेको युद्ध अन्त्य गर्न विभिन्न पक्षबाट पहल भइरहेका बेला हमासले युद्धविराम स्वीकार नगर्ने स्पष्ट संकेत दिएको बीबीसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको प्रस्ताव अघि सारेका थिए। तर, त्यसमा इजरायलले प्रमुख सर्तको रूपमा हमासले हतियार त्याग्नुपर्ने माग राखेको थियो। इजरायलको अडानअनुसार, युद्धविरामको लागि हमासले आफ्नो सम्पूर्ण सशस्त्र गतिविधि अन्त्य गर्नुपर्छ।
तर, दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेकाले हालैसम्म भइरहेका वार्ता पनि अवरुद्ध भएका छन्।
केही दिनअघि, अरब राष्ट्रहरूले हमासलाई हतियार बिसाउन र गाजाको प्रशासनिक नियन्त्रण त्याग्न आग्रह गरेका थिए। त्यसअघि, फ्रान्स, क्यानडा, र बेलायतसहित केही पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने योजना बनाइरहेको समाचार सार्वजनिक भएको थियो।
बेलायतले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ– यदि इजरायलले सेप्टेम्बर महिनासम्म कुनै ठोस कदम चालेन भने, उसले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिने निर्णय गर्नसक्छ।





