२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

झापा जिल्लाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगी भित्री सडक खण्डमा स्कुल भ्यान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

दुर्घटना पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको भ्यान मागुरमाडीबाट स्कुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो। भ्यानमा सवार विद्यालयका बालबालिका, शिक्षक र चालकसमेत घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटना स्थल इलाका प्रहरी कार्यालयबाट करिब चार किलोमिटर उत्तरमा पर्दछ।

दुर्घटनापछि प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा धुलाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइते विद्यार्थी, शिक्षक र यातायात मजदुरको उद्धार गरेको थियो।

घाइतेमध्ये तीन जना विद्यार्थीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने अन्य धेरैजसोको अवस्था सामान्य छ।

प्रहरीका अनुसार भ्यान चालकसँग वैध सवारी चालक अनुमतिपत्र थियो र उनले मदिरा सेवन नगरेको पुष्टि भएको छ। तर भ्यानको प्रविधिगत अवस्था कमजोर रहेको र नियमित मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको देखिएको छ।

झापामा अधिकांश सामुदायिक तथा निजी विद्यालयहरूले जीर्ण र पुराना सवारीसाधन प्रयोग गर्दै आएका छन्, जसले विद्यार्थीको ज्यान जोखिममा पारेको अभिभावकहरूको गुनासो छ।

स्थानीयवासीहरूले विद्यालय सवारीसाधनको नियमित निरीक्षण, समयमै मर्मत तथा दक्ष चालकको व्यवस्था अनिवार्य गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम गरिएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै यो व्यवस्था लागू भएको हो।

यस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाइएको हो। ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब लाइसेन्स १० वर्षका लागि मान्य हुनेछ।

साथै, लाइसेन्स नवीकरणपछि मान्य हुने अवधि पनि अब १० वर्ष नै हुने व्यवस्था गरिएको छ। यसअघि नवीकरण हुँदा अधिकतम ५ वर्षको अवधि मान्य हुने प्रावधान थियो।

नयाँ व्यवस्थामा सवारी जाँचपास र प्रदूषण परीक्षण केन्द्रको सञ्चालनका लागि निजी क्षेत्रलाई समेत अनुमति दिने व्यवस्था उल्लेख गरिएको छ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजन गर्नु गलत निर्णय भएको स्वीकार गरेका छन्।

इमेज टेलिभिजनमा पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा बोल्दै खनालले भने,

“जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म।”

उनका अनुसार एमालेमा गरिएको विद्रोह हालसम्म पुष्टि हुन सकेको छैन।

“एमालेमा जुन विद्रोह गरियो, त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म। पुष्टि नहुनुको अर्थ, त्यो विद्रोह गलत थियो भन्ने हो,” उनले प्रष्ट पारे।

यद्यपि खनालले तत्काल एमालेमा फर्किने सम्भावना नरहेको र त्यसका लागि चारवटा स्पष्ट सर्तहरू रहेको बताएका छन्।

उनले भनेका सर्तहरू यस्ता छन्ः

  1. माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तको पुनः स्वीकारोक्ति,

  2. २०६२/०६३ को जनआन्दोलनले पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरिसकेकाले अब समाजवादी क्रान्तिमा अघि बढ्नुपर्ने निष्कर्ष,

  3. “जबज” (जनताको बहुदलीय जनवाद) परित्याग,

  4. समाजवादी कार्यक्रम र वैज्ञानिक समाजवादलाई पार्टीको अन्तिम लक्ष्य बनाउने प्रतिबद्धता।

खनालले यिनै आधारमा मात्र आफू एमालेमा पुनः फर्कन सक्ने बताएका हुन्।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन्। इकोसकको अध्यक्ष पदमा नेपाल पहिलोपटक निर्वाचित भएको हो, जुन ऐतिहासिक उपलब्धि मानिएको छ।

बिहीबार औपचारिक रूपमा अध्यक्षता सम्हाल्दै राजदूत थापाले यसलाई नेपालको लागि ऐतिहासिक क्षणको संज्ञा दिएका छन्। उनका अनुसार, संयुक्त राष्ट्रसंघमा नेपाल सहभागी भएको ७० वर्षको इतिहासमा देशले बहुपक्षीयताप्रतिको प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको छ, र यो निर्वाचन त्यसैको प्रतीक हो।

थापाले समसामयिक वैश्विक संकटहरू उल्लेख गर्दै भने, “संसार आज द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक अनिश्चितता र असमानताबाट गुज्रिरहेको छ। पुनः चर्किएको महाशक्तिहरूको प्रतिस्पर्धा, साइबर जोखिम, दिगो विकासको दिशाविहीनता, बढ्दो मानवीय सहयोग आवश्यकताहरू र विकासशील देशका लागि ४० खर्ब अमेरिकी डलरको वार्षिक वित्तीय अभावजस्ता चुनौतीहरू छन्।”

उनले यस्तो अवस्थामा इकोसकको भूमिका इतिहासमै सबैभन्दा सान्दर्भिक र महत्वपूर्ण भएको बताएका छन्।

🔸 अध्यक्षता हस्तान्तरण

इकोसकको पूर्व अध्यक्ष तथा क्यानडाका स्थायी प्रतिनिधि बब रेले समारोहमा थापालाई औपचारिक रूपमा अध्यक्षता हस्तान्तरण गरे। थापासँगै आगामी कार्यकालका लागि चार उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्:

🔹 इकोसक के हो?

इकोसक संयुक्त राष्ट्रसंघका छवटा प्रमुख अङ्गमध्ये एक हो। यो निकायले अन्तर्राष्ट्रिय आर्थिक, सामाजिक, र विकास सम्बन्धी नीति, योजना र सहकार्यमा केन्द्रित भूमिका खेल्छ। यसमा ५४ सदस्य राष्ट्र रहन्छन्, जसलाई महासभाले क्षेत्रीय आधारमा तीन वर्षको कार्यकालका लागि चयन गर्छ।

इकोसकले मानवअधिकार, विकास, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरूमा कार्य गर्ने विभिन्न आयोग, विशेष एजेन्सी र संस्थाहरूको समन्वय र निर्देशनको काम गर्दछ।

🔹 अल्पविकसित मुलुकको स्तरोन्नति पनि यसैले तय गर्छ

विकास नीति केन्द्रले गरेको सिफारिसको आधारमा अल्पविकसित राष्ट्रको स्तरोन्नतिको निर्णय गर्ने अधिकार पनि इकोसकसँगै रहन्छ। अन्तिम निर्णय भने महासभाले लिन्छ।

राजदूत थापाले अन्त्यमा भने, “इकोसक हामी सबैको साझा मञ्च हो। यसमा सदस्य राष्ट्रहरू, सरोकारवाला निकायहरू, नागरिक समाज र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ। कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्दै हामीले विश्वको विकास एजेन्डा अगाडि बढाउनु पर्छ।”

महान् चित्रकारहरूको चित्रकला प्रायः अमूल्य मानिन्छ। तर सबै चित्र अमूल्य हुन्छन् भन्ने होइन। कतिपय चित्रकलाहरू हराएको वा बेपत्ता भएको वर्षौंपछि मात्र पहिचानमा आउँछन्। यस्तै एक घटना हालै क्याम्ब्रिज (बेलायत) मा घटेको छ।

स्पेनी सर्रियलिस्ट कलाकार साल्भाडोर डालीको एक दुर्लभ चित्र ‘भेक्कियो सुल्तानो’ हालै क्याम्ब्रिजको एउटा घर सफा गर्ने क्रममा फेला परेको हो। जलरङ र फेल्ट टिप प्रयोग गरेर बनाइएको उक्त चित्रमा द अरेबियन नाइट्स (मध्यपूर्वका लोककथाहरूको श्रृंखला) को एउटा दृश्य चित्रण गरिएको छ।

यो चित्र सन् १९६३ मा इटालियन जोडी, ज्युसेप्पे र मारा अल्बारेटोले डालीलाई चित्र बनाउन आग्रह गरेका थिए। प्रारम्भमा बाइबलका कथाहरूको चित्र बनाउने भनिए पनि डालीले त्यसको सट्टा मध्यपूर्वका लोककथाहरू चित्रण गर्न थाले।

उक्त परियोजनामा डालीले झन्डै १०० चित्र बनाएका थिए, जसमा आधा हराए वा नष्ट भए। बाँकी करिब ५० चित्र अल्बारेटो परिवारसँग रहेका थिए। अल्बारेटोको मृत्युपछि ती चित्र उनकी छोरी क्रिस्टिना, जो डालीकी धर्मपुत्री समेत थिइन्, को स्वामित्वमा गएका थिए।

फेला परेको चित्र पनि त्यही संग्रहबाट हराएको हुनसक्ने अनुमान गरिएको छ। यो चित्र एक अज्ञात कला व्यापारीले जम्मा १५० पाउन्ड (झन्डै २५ हजार रुपैयाँ) मा खरिद गरेका थिए। अब उक्त चित्र ३० हजार पाउन्ड (करिब ४८ लाख रुपैयाँ) सम्ममा बिक्री हुने अपेक्षा गरिएको छ।

उक्त चित्रकला अक्टोबर महिनामा लिलामीमा राखिनेछ। लिलामीको व्यवस्थापन बेलायतको चेफिन्स नामक लिलामी गृहले गर्नेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष जनसम्पर्क र नागरिक–पार्टी नेतृत्वबीच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ ‘खुला आँगन’ कार्यक्रम प्रारम्भ गर्न लागेको छ।

पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रम आज (साउन १ गते) देखि प्रत्येक दिन अपराह्न ४ बजेदेखि ६ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सञ्चालन हुनेछ।

उनका अनुसार कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, शुभेच्छुक, पार्टी सदस्य तथा आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विषयमा खुला छलफल र संवाद गर्नेछन्।

आजको कार्यक्रम पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता रमेश प्रसाईलगायत नेताहरूको सहभागितामा सुरु हुनेछ।

पार्टीले सदस्य, शुभचिन्तक तथा आम नागरिकहरूलाई आफ्ना विचार, सुझाव र जिज्ञासासहित कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

काठमाडौं प्रहरीले बिहीबार मध्यराति राजधानीको विभिन्न क्षेत्रमा अपरेसन सञ्चालन गर्दै गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।

प्रहरीले विशेष सूचना प्राप्त भएपछि ठमेल र महाराजगञ्ज क्षेत्रमा सादा पोशाकमा अपरेसन चलाएको हो। सूचना अनुसार, चक्रे मिलनको जन्मदिनको अवसरमा आयोजित ‘बर्थडे पार्टी’मा विभिन्न समूहका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू भेला भएका थिए।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले अपरेसन सञ्चालन गरेको थियो। एक प्रहरी अधिकारीका अनुसार, ठूलो संख्यामा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, “गुण्डागर्दीमा संलग्न थुप्रै व्यक्तिहरूलाई पक्राउ गरिएको छ र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।”

यसअघि, बुधबार राति ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङलाई पनि प्रहरीले पक्राउ गरिसकेको थियो।

पक्राउ परेका सबैमाथि अनुसन्धान जारी रहेको जनाइएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरदेखि कुवेती दिनारसम्मका प्रमुख मुद्राहरूको खरिद र बिक्री दर यसप्रकार रहेका छन्:

बाराको बारागढी गाउँपालिका–३, सुन्दरपुरमा ऐलानी जग्गा विवादका क्रममा एक व्यक्तिमाथि कोदालो प्रहार गरी ज्यान मार्न खोजिएको आरोपमा सात जनाविरुद्ध उजुरी दर्ता गरिएको छ।

४० वर्षीय नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिँदै २० वर्षदेखि जोतभोग गर्दै आएको ऐलानी जग्गामा जबर्जस्ती घेरा हालेर हत्या प्रयास गरिएको दाबी गरेका हुन्।

उनीहरूले बारागढी–३, नयका टोलका ४७ वर्षीय बिहारी पण्डित, ४० वर्षीय गोरख पण्डित, ६० वर्षीय ओकिल मिया, ३० वर्षीय जमिल अख्तर मिया, ४१ वर्षीय शिवचन्द्र यादव, ३० वर्षीय सलाउद्दीन मिया र २५ वर्षीय अलाउद्दीन मियाविरुद्ध उजुरी दिएका छन्।

जाहेरीअनुसार घटना असार २५ गते दिउँसो साढे १२ बजे भएको हो। रामएकवाल चौधरी सुन्दरपुरस्थित ऐलानी जग्गामा पुगेका बेला जमिल अख्तर मियाले उक्त जग्गा आफ्नो दाबी गर्दै विवाद सुरु गरेका थिए। त्यसक्रममा उनले अन्य व्यक्तिहरूलाई बोलाएर रामएकवाललाई घेरा हालेका थिए।

विवादको दौरान, जाहेरी अनुसार शिवचन्द्र यादवले रामएकवाल चौधरीको टाउकोमा कोदालो प्रहार गरेका थिए। घटनामा रामएकवालका छोरा दिपेन्द्र चौधरीसमेत घाइते भएका छन्।

गम्भीर घाइते रामएकवाल हाल काठमाडौंको न्युरो अस्पतालमा उपचाररत छन्। उनका दाजु चन्देश्वर चौधरीका अनुसार आर्थिक अभावका कारण औषधि किन्नसमेत समस्या भएको छ।

“प्रहरीले प्रतिवादीहरूसँग दुई लाख रुपैयाँ उठाएर उपचारमा सहयोग गर्ने भनेका थिए, तर अहिलेसम्म कुनै सहयोग प्राप्त भएको छैन,” चन्देश्वरले गुनासो गर्दै थपे, “यस्तो गम्भीर घटनामा संलग्न व्यक्तिहरू खुलेआम हिँडिरहेका छन्, तर अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।”

यसबारेमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।