
काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीको सडक छेउमा रहेको एक बिजुलीको पोलमा आज आगलागी भएको छ।
आगलागी सुरु भएपछि तत्कालै काठमाडौं महानगरपालिकाको दमकल (वरुण यन्त्र) टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो।
नगर प्रहरीसहितको टोलीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
साथै, घटनापछि विद्युत् तार व्यवस्थापनको कार्य पनि भइरहेको काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ।
नेपाल एथलेटिक्स संघको निर्वाचन रोक्न सरोकारवालाहरूले माग गरेका छन्। संघविरुद्ध दायर रिटको फैसला र निष्पक्ष छानबिन पूरा नभएसम्म निर्वाचन प्रक्रिया अगाडि नबढाउन उनीहरूको आग्रह छ।
पूर्वपदाधिकारीहरूद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उच्च अदालत पाटनमा दायर रिटको निर्णय नआएसम्म निर्वाचन स्थगन गर्न माग गरिएको हो। उनीहरूले निष्पक्ष छानबिनपछि मात्र निर्वाचन गर्नुपर्ने तर्क प्रस्तुत गरे।
नेपाल एथलेटिक्स संघको निर्वाचनका लागि राजीव विक्रम शाहको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो। उक्त समितिले यही साउन १४ गते निर्वाचन गराउने तयारी गरिरहेको छ।
तर २०८० जेठ ३० गते गठन भएको उक्त तदर्थ समितिका बहुमत सदस्यहरूले हालको समिति अबैधानिक भएको दाबी गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिसकेको जानकारी गराएका छन्।
शाह संयोजक रहेको समितिले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ विपरीत कार्य गर्दै आएको आरोप समेत लगाइएको छ। उनीहरूका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट विधान स्वीकृत नगराइ विभिन्न जिल्ला तथा प्रदेशका पदाधिकारीलाई भ्रम र प्रलोभनमा पारी अबैध समिति गठन गरिएको छ।
पोखरा, साउन ११ – क्षेत्री समाज नेपाल, पोखरा महानगरपालिका–२७ को वडा समिति गठन गरिएको छ। रीठेपानीमा आयोजित कार्यक्रममा तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न गरिएको हो।
कार्यक्रमको सञ्चालन रीठेपानी इकाइ समितिका संस्थापक सचिव तुल बहादुर क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक चित्र बहादुर क्षेत्रीले गर्नुभएको थियो।
प्रमुख अतिथि पोखरा–२७ का वडा सदस्य तथा क्षेत्री समाज पोखरा–२७ का संस्थापक अध्यक्ष जितेन्द्र बहादुर क्षेत्री रहनुभएको थियो।
कार्यक्रममा पोखरा–२७ का वडा सदस्य सूर्य बहादुर वाग्ले, क्षेत्र शक्ति बचत तथा ऋण सहकारीका अध्यक्ष सप्त बहादुर जि.सी., क्षेत्री समाज पोखरा महानगर अध्यक्ष कृष्ण बहादुर थापा, र सामाजिक तथा राजनीतिक व्यक्तित्व गोबिन्द वाग्लेले मन्तव्य व्यक्त गर्नुभएको थियो।
नवगठित वडा समितिमा ९ सदस्य चयन गरिएका छन्। जसको अध्यक्षमा लक्ष्य बहादुर खत्री चयन हुनुभएको छ। साथै, महिला समिति पनि गठन गरिएको छ, जसमा ९ सदस्य छन् र अध्यक्ष शर्मिला अधिकारी क्षेत्री रहनुभएको छ।
भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको प्रसिद्ध मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ६ भक्तजनको मृत्यु भएको छ।
घटनामा कैयौँ घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार मन्दिर जाने बाटोमा उच्च भोल्टेज तार खस्दा त्रास फैलिएको थियो।
ठूलो भीडभाडका बीच स्थिति नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको हो।
उद्धार कार्य जारी रहेको छ भने मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति शोक व्यक्त गरेका छन्।
काठमाडौँको बुढानीलकण्ठ र पोखराको लेकसाइड क्षेत्रबाट जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँमा ७ जना र पोखरामा ९ जनालाई नगद रकम तथा ताससहित नियन्त्रणमा लिइएको हो।
दुवै घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।
अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको उडान ३०२३ मा शनिबार आगलागी भएको छ।
विमानको पछाडिको भागमा आगो लागेपछि त्यसभित्र रहेका १७३ यात्रु र ६ चालक दलका सदस्यलाई आपतकालीन स्लाइडमार्फत सुरक्षितरूपमा बाहिर निकालिएको हो।
बालबालिकासहित यात्रुहरू डराउँदै निस्किएको भिडियो सार्वजनिक भएको छ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आइतबार ११०० रुपैयाँ घटेर १ लाख ९३ हजार ६०० कायम भएको छ।
चाँदी पनि ५० रुपैयाँ घटेर तोलामा २ हजार २९० मा झरेको छ।
भारतको बिहारमा अचम्म र अविश्वसनीय लाग्ने घटना सार्वजनिक भएको छ। एक वर्षे बालकको हातमा करिब दुई फिट लामो कोब्रा सर्प बेरिएपछि बालकले सर्पलाई टोकेर मारिदिएका छन्।
घरको आँगनमा खेलिरहेका बालकले सर्पले आक्रमण गरेपछि डर नमानी इँटाले हान्दै सर्पको टाउकोमा चोट पुर्याएका थिए। चोटकै कारण सर्पको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
सर्प विषालु भए पनि बालक सकुशल छन् र अहिले चिकित्सकीय निगरानीमा राखिएको छ।
यस घटनाले स्थानीय समाजमा ठूलो चासो र बहस निम्त्याएको छ।
संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थाबारे गडबडीको छानबिन भइरहेको विशेष संसदीय समितिसँग संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन्।
महासचिव पाण्डेयले प्रमुख सचिव एकनारायण अर्यालको अनुरोधमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग भेटका लागि समय मिलाउन र सहजीकरण गर्न आग्रह गरिएको जानकारी दिएका छन्। उनले भने, “मलाई प्रमुख सचिवले फोन गरेर ‘दुवैजना माननीयसँग भेट्नुपर्यो, समय मिलाइदिनुपर्यो’ भन्नुभयो। त्यसपछि मैले सहजीकरण गरेको हुँ।”
पाण्डेयको यो भनाइ संसद्को विशेष छानबिन समितिले बुधबार गरेको गोप्य सोधपुछका क्रममा आएको हो। सो समितिले संघीय निजामती सेवा विधेयक राज्यव्यवस्था समितिबाट दुई वर्षे कुलिङ पिरियडको प्रावधानसहित पारित भए पनि प्रतिनिधि सभाबाट पारित हुँदा उक्त व्यवस्था हटाइएको विषयमा छानबिन गरिरहेको छ।
सो क्रममा समितिले पाण्डेयलाई सोधपुछ गर्दै कुलिङ पिरियड हटाउन शीर्ष नेतासँग लबिङ भएको आशंका गरेका छन्। खासगरी सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानमन्त्रीसँगको भेटवार्ता यसै सन्दर्भमा गरिएको हो कि भनेर प्रश्न गरिएको थियो। पाण्डेयले प्रधानमन्त्री ओलीसँग भेटेको स्वीकार गर्दै भने, “त्यहाँ म गएको हो, हजुर।”
सांसदहरूले उनलाई “किन जानुभयो?” भनेर प्रतिप्रश्न गर्दा पाण्डेयले जवाफ दिन मानेनन्। साथै, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटको विषयमा पनि प्रश्न उठाइए पनि उनले भेटको पुष्टि गरेनन्।
पदीय जिम्मेवारी पालना नगरेको आरोपका बारेमा पाण्डेयले पूर्वाग्रही ढंगले प्रश्न गरिएको भन्दै असन्तोष व्यक्त गरेका छन्। उनले भनेका छन्, “मैले सहजीकरण मात्र गरेको हुँ, कुनै प्रकारको निर्णयमा म संलग्न थिइनँ।”
विशेष समितिले विधेयक लेखन प्रक्रियामा भएको संशोधन कसरी, किन, र कसका दबाबमा भयो भन्ने विषयमा गम्भीर छानबिन गरिरहेको छ। कुलिङ पिरियड हटाइनुको कारण, प्रक्रिया, र जिम्मेवार पक्षबारे थप अनुसन्धान हुने समिति स्रोतले जनाएको छ।
पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।
सडक खुलाउन सडक डिभिजन कार्यालयको उपकरण परिचालन भइरहेको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख, प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए।
सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा सडक सम्पर्क टुटेको छ। साथै, प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द भएको छ।





