
मेची राजमार्ग र तमोर करिडोरमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध भएको छ। पाँचथरको हेवा खोलामा आएको बाढीले मेची राजमार्गमा डाइभर्सन भत्काउँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। निरन्तर वर्षाका कारण खोलाको पानीको बहाव बढ्दा डाइभर्सनमाथि पानी बग्न थालेको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए। उनले भने, “पानीको बहाव घट्ने क्रममा छ, बहाव कम भएपछि डाइभर्सन मर्मत गरी यातायात सुचारु गरिनेछ।” हाल यो राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात सेवा प्रभावित भएको छ।
यसअघि २०८० असारमा हेवा खोलाको पुल बाढीले बगाएको थियो। त्यसपछि बनाइएको बेलिब्रिज पनि २०८१ असोज १२ मा आएको बाढीले बगायो। बेलिब्रिज भत्किएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। तर, गत जेठ ३१ मा पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलाको बेलिब्रिज निर्माण सम्पन्न हुने दिन नै भाँचिएको थियो।
यसैगरी, तमोर करिडोर पनि पहिरोका कारण अवरुद्ध भएको छ। धनकुटाको साँघुरीगढी गाउँपालिका–९ मा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
यी दुवै राजमार्गमा यातायात सुचारु गर्न पानीको बहाव कम हुने प्रतीक्षा र सडक मर्मतको काम भइरहेको छ। बाढी र पहिरोका कारण देशका अन्य राजमार्गहरूमा समेत अवरोध भएको र सडक खुलाउन सम्बन्धित निकायहरूले प्रयास गरिरहेको जानकारी प्राप्त भएको छ।





