
निजामती सेवाका अवकाशप्राप्त कर्मचारीहरूलाई पुनःसरकारी नियुक्तिमा ‘कुलिङ पिरियड’ लागू नगर्नुपर्ने मागसहित नेकपा (एमाले)का पाँच जना सांसदले राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले आफू सहित पाँच जना सांसदले कुलिङ पिरियडसम्बन्धी प्रावधान हटाउन संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिए। “कुलिङ पिरियड तत्कालका लागि आवश्यक छैन भन्ने निष्कर्षमा पुग्यौं,” भट्टराईले अनलाइनखबरसँग भने, “अवकाशपछि नियुक्तिमा यति वर्ष कुर्नुपर्ने व्यवस्था नराखौं भनेर समूहमा छलफल गरी प्रस्ताव दर्ता गराएका हौं। दफावार छलफलमा थप बहस हुनेछ।”
भट्टराईका अनुसार संशोधन प्रस्तावमा उनीसँगै इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बीसी र सोनाम गेल्जेन शेर्पा सहभागी छन्।
कुलिङ पिरियड भन्नाले, सरकारी सेवाबाट अवकाशपछि कर्मचारीले अर्को सरकारी पद वा नियुक्तिमा जानु अघि एक निश्चित समय कुर्नुपर्ने व्यवस्था जनाइन्छ। प्रतिनिधि सभाबाट पारित विधेयकअनुसार, नेपाल सरकारको पूर्वस्वीकृति बिना संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन अवकाश प्राप्त मितिले दुई वर्ष नपुगी सम्भव छैन।
नेपाल सरकारका सचिव वा सहसचिव पदबाट अवकाश पाएका व्यक्तिहरूले अन्तरसरकारी, अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायमा दुई वर्षभित्र सरकारी स्वीकृति बिना नियुक्ति लिन नपाउने व्यवस्था विधेयकमा गरिएको छ।
तर, उक्त व्यवस्थालाई नै असर पर्ने भाषासहितको संशोधन विधेयकमा समावेश गरिएकाले विवाद उत्पन्न भएको हो। सो विषयमा छानबिन गर्न नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा संसदीय विशेष छानबिन समिति गठन गरिएको छ।
अर्कोतर्फ, प्रतिनिधि सभाबाट पारित भइसकेको निजामती सेवा विधेयक राष्ट्रिय सभामा प्रक्रिया अगाडि बढ्दै छ। असार ३१ गते राष्ट्रिय सभामा विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न भएको थियो। छलफलपछि सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै सांसदहरूलाई संशोधन दर्ता गर्न ७२ घण्टाको समय दिएको थियो।
संसद् सचिवालयका सहसचिव मनोजकुमार गिरीका अनुसार, तोकिएको समयमा १६ समूहका ४३ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। ती सबै संशोधन प्रस्तावहरूलाई संसद् सचिवालयले एकीकृत गर्दैछ।
एमाले सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने तर्कसहित संशोधन दर्ता गरे पनि, सैद्धान्तिक छलफलका क्रममा उक्त विषयमा मौन बसेका थिए। छलफलमा एमालेका सांसद भगवती न्यौपाने, तुलसाकुमारी दहाल, इन्दिरादेवी गौतम र सोनाम गेल्जेन शेर्पासहितले धारणा राखेका थिए, तर कुलिङ पिरियडको विषयमा प्रत्यक्ष रूपमा टिप्पणी गरेनन्।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सांसद भगवती न्यौपानेले, “निजामती विधेयकको समग्र विषयमा छलफल हुने छ। कुलिङ पिरियडबारे एक धारणा बनाएको भए पनि सबै पक्षसँग सहमति जुटाएर अघि बढ्ने हाम्रो उद्देश्य हो,” भनेकी थिइन्।
न्यौपाने हाल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छिन्। एमालेबाट मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो।
तर, पार्टीकै सांसदहरूबाट कुलिङ पिरियडसम्बन्धी संशोधन प्रस्ताव परेसँगै उनीहरूको मौनता टुटेको छ। कुलिङ पिरियड आवश्यक नरहनु पर्ने तर्कबारे प्रश्न गर्दा सांसद भट्टराईले पुनः भने, “हामीलाई त्यस्तो लाग्यो, थप छलफल दफावार छलफलमै हुनेछ।”
विधेयकमाथि परेका सबै संशोधन प्रस्तावहरूलाई संसद् सचिवालयले एकीकृत गरेपछि दफावार छलफल हुनेछ। उक्त छलफल संसद्को पूर्ण बैठकमै गरिने कि विधायन व्यवस्थापन समितिमा पठाइने भन्ने निर्णय सोही क्रममा हुनेछ। त्यसक्रममा प्रतिनिधि सभाबाट पारित विधेयक, संशोधन प्रस्तावहरू र सरकारद्वारा दर्ता गरिएको विधेयकलाई एकैपटक राखेर छलफल गरिनेछ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को पार्टी कार्यालय च्यासल पुगेकी छन्।
उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न च्यासल पुगेकी हुन्। यद्यपि अध्यक्ष ओली भने अहिलेसम्म पार्टी कार्यालय नपुगेका छन्। दिउँसो ३ बजे तय गरिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण केही समयका लागि पछाडि धकेलिएको हो।
एमालेभित्र सक्रिय राजनीतिक गतिविधिको घोषणा र लगातार भइरहेका बैठकहरूपछि हुन लागेको यो भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ।
पार्टी कार्यालय च्यासलमा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको छ।
नेपाल र भारतबीचको गृह सचिवस्तरीय बैठक आगामी साउन ६ र ७ गते भारतको नयाँ दिल्लीमा हुने भएको छ।
बैठकमा सहभागी हुन गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की, सशस्त्र प्रहरीका एआईजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, तथा गृहमन्त्रालयका सहसचिव रामचन्द्र तिवारी दिल्ली प्रस्थान गर्ने भएका छन्।
सन् २०१६ यता स्थगित रहँदै आएको सो बैठकमा यसपटक गृह सचिवको नेतृत्वमा नेपालबाट १२ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ। परराष्ट्र मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिवहरू तथा नापी विभागका महानिर्देशक प्रकाश जोशी पनि बैठकमा सहभागी हुनेछन्।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामचन्द्र तिवारीका अनुसार, दुईपक्षीय बैठकमा सीमा पार अपराध, मनी लाउन्डरिङ र जाली नोट नियन्त्रणसम्बन्धी विषयमा छलफल हुनेछ। साथै, नेपाल–भारत सीमा नाकामा स्थानीय प्रशासनहरूले गर्ने निर्णय र तिनलाई दिइने निर्देशनबारे पनि छलफल हुने एजेन्डा तय गरिएको छ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार, मानव तस्करी, लागुऔषध तथा हातहतियारको ओसारपसार नियन्त्रणसम्बन्धी विषयमा समेत बैठकमा विस्तृत छलफल हुनेछ।
बैठकमा सहभागी अधिकारीहरूसँग गृहमन्त्री गोकर्णमणि दुवाडीले आइतबार विशेष छलफल गरेका थिए। छलफलमा सहभागी एक अधिकृतका अनुसार, “अपराधीहरू एकअर्काे देशमा लुकेर बस्ने प्रवृत्ति देखिएकाले, तिनीहरूलाई कसरी छिटो नियन्त्रणमा ल्याउने भन्ने विषयमा पनि छलफल हुनेछ।”
सीमामा देखिएका भू–भागसम्बन्धी समस्या र समाधानका उपायहरूबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको एक कारमाथि ढुंगा खस्दा तीन जना गम्भीर घाइते भएका छन्।
घटनामा परेका कारमा पाँच जना सवार थिए। तीमध्ये पछाडिको सिटमा बसेका तीन जना गम्भीर घाइते भएका हुन्। घाइतेहरूलाई तत्कालै उपचारका लागि अस्पताल पठाइएको चितवन प्रहरीले जनाएको छ।
उक्त कार भारतीय नम्बर प्लेटको रहेको र बिहानदेखि लगातार वर्षा भइरहेको अवस्थामा एक्कासि माथिबाट खसेको ढुंगाले कारमा ठोक्किएको जनाइएको छ। हाल वर्षा रोकिएको भए पनि घटनास्थल वरिपरि चट्याङ र ढुंगा खस्ने जोखिम कायमै रहेको स्थानीयले बताएका छन्।
दुर्घटनापछि प्रहरी घटनास्थलतर्फ पुगेको छ। चितवन प्रहरीका अनुसार, घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदहरूलाई छलफलका लागि डाकेका छन्।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूलाई छलफलका लागि कोइरालाले बोलाएको हो। संस्थापन इतर पक्षका एक नेताले बैठकको आयोजना कोइरालाले नै गरेको पुष्टि गरेका छन्। उनका अनुसार, हाल बैठक जारी छ।
पछिल्ला दिनमा डा. कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि भेटघाट र छलफलको क्रम तीव्र बनाएका छन्। उनले हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनीहरूको निवासमै पुगेर भेटेका थिए।
कोइराला निकट नेताहरूका अनुसार, उनी अन्य दलका शीर्ष नेताहरूसँग पनि निरन्तर संवादमा छन्।
“”बुद्धचित्त चोरी गर्न पुगेको समूहले ललितपुरमा बुद्धचित्तका धनीमाथि खुकुरी प्रहार गरेको छ।
खुकुरी प्रहार गरेको आरोपमा ललितपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेका छन्। ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रराज जोशीका अनुसार, उनीहरू गोदावरी नगरपालिका–७ मा कृष्णबहादुर मार्फाले लगाएको बुद्धचित्त चोर्न गएका थिए।
राति करिब २ बजेतिर कुकुर भुकेपछि धनी कृष्णबहादुर घरबाहिर निस्केका थिए। त्यति बेलामा उक्त समूहले उनलाई खुकुरी प्रहार गरेको प्रहरी उपरीक्षक (एसपी) जोशीले जानकारी दिए।
खुकुरी प्रहारबाट मार्फाको दायाँ हातमा चोट लागेर पाँच वटा टाँका लगाउनुपरेको प्रहरीले जनाएको छ। बुद्धचित्तको सुरक्षाका लागि मार्फाले सीसी क्यामेरा समेत जडान गरेका थिए। तर, समूहले सीसी क्यामेराको तार काटेर चोरीको प्रयास गरेका थिए। उनीहरूले बुद्धचित्तका दाना टिपेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूको साथबाट ९९ वटा बुद्धचित्तका दाना बरामद गरिएको ललितपुर प्रहरीले जनाएको छ।
दोलखाको लाङदी क्षेत्रमा आएको पहिरोमा एक जनाको शव फेला परेको छ भने एक जना अझै वेपत्ता रहेका छन्।
स्थानीय प्रशासनका अनुसार, निरन्तर वर्षापछि गएको पहिरोले घर बगाउँदा एक जना व्यक्तिको ज्यान गएको पुष्टि भएको हो। उद्धार टोलीले घटनास्थलबाट एक जनाको शव फेला पारेको छ। भने अर्का एक जना पहिरोमा पुरिएको आशङ्कामा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य चलिरहेको छ। मौसममा सुधार आएपछि थप उद्धार कार्यलाई तीव्रता दिइने जनाइएको छ।
प्रशासनले स्थानीयवासीलाई सतर्क रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)विरुद्ध आन्दोलित बनेका छन्।
कार्यशैलीका कारण पटक–पटक विवादमा आइरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख, उपरीक्षक विश्वराज खड्काविरुद्ध जनप्रतिनिधि पहिलोपटक आन्दोलनमा उत्रिएका हुन्। जनप्रतिनिधिमाथि भएका आक्रमणका घटनामा संलग्नहरूलाई एक महिना बितिसक्दासमेत पक्राउ गर्न नसकेको भन्दै हेटौंडाका मेयर, उपमेयर र १९ वटै वडाका वडाध्यक्षहरू आन्दोलनमा उत्रिएका हुन्।
प्रशासन र प्रहरीको लापरवाही तथा निष्क्रियता विरुद्ध आन्दोलन गर्नुपरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सविन न्यौपानेले जानकारी दिए। उनका अनुसार आन्दोलनको कार्यक्रम अन्तर्गत जनप्रतिनिधिहरूले वडाको काम जिल्ला प्रशासन कार्यालय परिसरबाटै सञ्चालन गर्ने निर्णय गरेका छन्।
‘वडामा बसेर काम गर्न असुरक्षित महसुस भएकोले अब प्रशासन कार्यालयमै बसेर काम गर्छौं। वडाको सेवा प्रवाह रोकिन्न, हामी यहीँबाट जनतालाई सेवा दिन्छौं’, प्रवक्ता न्यौपानेले भने।
गत असार ४ गते वडा कार्यालयमै पुगेको चार जनाको समूहले न्यौपानेमाथि आक्रमण गरेको थियो। सार्वजनिक जग्गा अतिक्रमण रोक्न खोज्दा आक्रोशित समूहले कार्यालयमै पुगेर उनको टाउकोमा चोट लाग्ने गरी आक्रमण गरेको हो।
वडा नं. १ को राप्ती किनार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै आएको गिरोह विगतदेखि नै सक्रिय रहेको जनप्रतिनिधिहरूको दाबी छ। ‘जिल्लाको प्रहरी र प्रशासन पूर्ण रूपमा निष्क्रिय देखियो। यस्ता निकायबाट जनताले शान्ति र सुरक्षाको अपेक्षा गर्न सक्दैनन्’, वडाध्यक्ष न्यौपानेले भने, ‘घटना भएको एक महिना बितिसक्यो। एक साताभित्र दोषीहरूलाई कानुनी दायरामा ल्याउने भनिएको थियो। जनप्रतिनिधिले पनि न्याय पाउँदैन भने सर्वसाधारण जनताको अवस्था के होला?’
हेटौंडा उपमहानगरपालिकाको कार्यालय तथा जिल्लाका विभिन्न राजनीतिक दलहरूको सहयोग भए पनि प्रहरी प्रशासनले ठोस परिणाम दिन नसक्नु दुर्भाग्यपूर्ण रहेको न्यौपानेले बताए। उनले आफूमाथि आक्रमण गर्नेहरू पक्राउ पर्नेमा आशंका व्यक्त गरे।
वडा अध्यक्षहरूले आगामी दुई दिन जिल्ला प्रशासन कार्यालय परिसरमै टेबल राखेर सेवा दिने र त्यसपश्चात थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन्। ‘एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु प्रशासनको लाचारीपन हो’, हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘जनप्रतिनिधि नै सुरक्षित छैनन् भने सर्वसाधारण जनताले सुरक्षा कसरी पाउने?’
मकवानपुर प्रहरीले यसअघि घटनामा संलग्न भएको आरोपमा रुम्बा थरका एक जनालाई पक्राउ गरेको थियो। तर, परीक्षा दिनुपर्ने कारण देखाउँदै उनलाई हिरासत मुक्त गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार, आरोपितले अन्य संलग्नहरूको बारेमा कुनै जानकारी दिएका छैनन्।
आक्रमणमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी निरन्तर परिचालित रहेको डिएसपी अर्यालले बताए। ‘उनीहरू लुकेर बसेको सम्भावित स्थानहरूमा खोजी भइरहेको छ। म पनि फिल्डमै खटिएको छु। आरोपितहरू भागिरहेकोले पक्राउ गर्न कठिनाइ भइरहेको छ’, उनले भने।
पटक–पटक विवादमा सिडिओ
मकवानपुर आफ्नै माइती जिल्ला भएको कारण यहाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आएकी स्किम श्रेष्ठ कार्यशैलीका कारण पटक–पटक विवादमा तानिएकी छन्। कमजोर समन्वय, संवादहीनता र रवाफिलो शैलीले उनलाई निरन्तर आलोचित बनाएको जनप्रतिनिधिहरूको आरोप छ।
हेटौंडा अस्पतालविरुद्ध भएको रचनात्मक आन्दोलनलाई दबाउन उनले राज्यशक्तिको प्रयोग गरेर धरपकड गरेकी थिइन्। यस घटनामा सडकमा टायर बालेर विरोध गरिएको थियो। नेपाली कांग्रेससहितका दलहरूले पनि उनको विरुद्ध प्रशासन कार्यालय अगाडि नाराबाजीसहित आन्दोलन गरेका थिए।
पत्रकारहरूलाई कार्यकक्षमै फोटो तथा भिडियो खिच्न रोक्दै अभद्र व्यवहार गरेपछि पत्रकार महासंघ, मकवानपुर शाखाको बैठकले उनलाई क्षमायाचना गर्न अनुरोध गर्ने निर्णय गरेको थियो। उनले प्रशासन कार्यालयको गेटमै फोटो तथा भिडियो खिच्न मनाही गरिएको सूचना टाँस्न लगाएकी थिइन्।
दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक पहिरोका कारण अवरुद्ध भएका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार, दोलखाको बिगु गाउँपालिका–१ स्थित सोल्टीमोडमा पहिरो खसेपछि सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको हो। अहिले सडक खुलाउने प्रयास जारी भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने उनले बताएका छन्।
त्यसैगरी, कालिन्चोक गाउँपालिका–६ मा पर्ने लापिलाङतर्फ जाने सडक पनि अवरुद्ध भएको छ। गोदुङ भन्ने स्थानमा राति खहरे खोलाको पानी एकैचोटि बग्दा सडकमा क्षति पुगेको हो।
सडकको भागमा माटोको लेदो र ढुंगा थुप्रिएर आवागमन प्रभावित भएको छ। साथै, सडकको ढलान मुनि समेत भत्किएको हुँदा हाल चारपांग्रे सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ । असार ३० गते चाँदीको भाउले २ हजार ३१५ रुपैयाँको रेकर्ड बनाएको छ ।





