
अघिल्लो दिन उच्च रेकर्ड मूल्य कायम गरेको चाँदी आज घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ पुगेको चाँदी आज ४० रुपैयाँले घटेर २ हजार २७५ रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य घट्दा सुन भने स्थिर छ। प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमै सुनको कारोबार भइरहेको छ।
अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको ज्यान गएको छ। लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको सो दुर्घटनामा मृत्यु भएको हो।
यद्यपि दुवै जना नेपालका नागरिक रहेको पुष्टि भए पनि उनीहरूको नेपालको स्थायी ठेगाना खुल्न सकेको छैन।
लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै एक स्थानीय अनलाइन सञ्चारमाध्यमले दिएको जानकारीअनुसार असार २९ गते राति करिब ९ बजे दुर्घटना भएको थियो। अर्काे स्थानीय अनलाइन माईआर्कलामिस डटकमले पनि दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको खबर प्रकाशित गरेको छ। तर सो समाचारमा समेत उनीहरूको नेपालको ठेगाना उल्लेख गरिएको छैन।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार यादवले चलाइरहेका थिए। उक्त कारमा ओलीसहित अरू दुई जना पनि सवार थिए। भीषण वर्षाका कारण कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगलागी भएको बताइएको छ। प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो।
कारमा सवार अन्य दुई जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको पनि जानकारी दिइएको छ।
विश्वविद्यालयबाट शोक व्यक्त
लुइजियाना टेक विश्वविद्यालयले शोक विज्ञप्ति जारी गर्दै दिवंगत विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। तर सो विज्ञप्तिमा मृतक विद्यार्थीहरूको नाम र ठेगाना भने समावेश गरिएको छैन।
विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले घटनाबारे फेसबुकमा लेखेका छन्, “हामीले हेरचाहलाई मूल्यवान आदर्शका रूपमा अँगालेका छौं। सधैं एकअर्काको हेरचाह गरिरहनुहोस्।”
विश्वविद्यालयका अनुसार प्रभावित विद्यार्थीहरूलाई परामर्श सेवा समेत उपलब्ध गराइएको छ।





