२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

ललितपुरको कोणवहालस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनी प्रेम महर्जनसहित अन्य १० जना रहेका छन्।

२९ असार साँझ ६:३० बजे ललितपुर प्रहरीको टोलीले महर्जनको घरको तेस्रो तल्लामा कौडा खेलिरहेको गोप्य सूचना पाएपछि छापा मारेको थियो। त्यही क्रममा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ पर्ने अन्य व्यक्तिहरुमा ईमाडोलका ४८ वर्षीय रविन्द्र दहाल, ललितपुर–८ का ४७ वर्षीय शंखर माली, ललितपुर–११ का ६९ वर्षीय चौठीमुनी बज्राचार्य, खोटाङ घर भई हाल एकान्तकुना बस्दै आएका २२ वर्षीय पुर्वा शेर्पा, भैसेपाटीका ३६ वर्षीय कल्याण तामाङ, काभ्रे घर भई गोकर्णेश्वर बस्दै आएका ४५ वर्षीय केशव नेपाल, चितवन घर भई हाल ग्वार्कोमा बस्ने ५० वर्षीय वीरबहादुर वाइवा, ललितपुर–११ का ५६ वर्षीय दिलेक बज्राचार्य, गोकर्णेश्वरका ५१ वर्षीय गोकुलप्रसाद चौलागाईं र बूढानीलकण्ठकी ४८ वर्षीया लक्ष्मी सुब्बा रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले आ–आफ्नो सामु नगद राखी हारजित हुने गरी कौडा खेलिरहेका थिए। घटनास्थलबाट प्रहरीले पाँच लाख १९ हजार ९ सय रुपैयाँ नगद र कौडा बरामद गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

चाँदीको मूल्य इतिहासमै पहिलोपटक प्रतितोला २,३०० रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले बढी हो। यो अहिलेसम्मकै उच्च मूल्य हो।

सुनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र विद्यार्थीबीच तनाव सिर्जना भएको हो। केही विद्यार्थीलाई प्रहरीले बलपूर्वक भ्यानमा राखेर नियन्त्रणमा लिएको छ। उनीहरूलाई मुक्त गराउने प्रयासमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको हो।

निःशुल्क, समान र वैज्ञानिक शिक्षासहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिन अखिल क्रान्तिकारीले आज बिहान १० बजे माइतीघरमा भेला भई प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरू माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शनमार्फत अगाडि बढ्ने योजना बनाएका थिए। तर, प्रहरी प्रशासनले माइतीघर क्षेत्रबाटै प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरु गरेपछि अन्य विद्यार्थीहरूले विरोधमा नाराबाजी गरेका छन्।

बंगलादेशको राजधानी ढाकामा एक हिन्दू व्यापारीलाई भीडले कुटपिट गरी हत्या गरेको घटनाले सार्वजनिक चासो पाएको छ।

जुलाई ९ तारिखका दिन आक्रमणकारीहरूले ३९ वर्षीय व्यापारी लाल चन्द सोहागलाई पहिले इँटा र ढुङ्गाले कुटपिट गरे, र त्यसपछि मिटफोर्ड अस्पताल नजिकै उनको टाउको तथा शरीरलाई निर्ममतापूर्वक खुट्टाले कुल्चेर हत्या गरेका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार भीडले व्यापारीका कपडा समेत फुकालेर शारीरिक रूपमा अपमान गरेको थियो, र केही आक्रमणकारीहरू उनको शरीरमा उफ्रँदै नाचिरहेका थिए। प्रारम्भिक मिडिया रिपोर्टअनुसार घटना जबरजस्ती असुली र व्यापारिक विवादसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ, तर घटनाको वास्तविक कारण भने अझै पुष्टि भइसकेको छैन।

यो घटनापछि देशभर आक्रोश फैलिएको छ। वकिल युनुस अली अकंदले घटनाको उच्चस्तरीय छानबिनको माग गर्दै उच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

यस मुद्दामा हालसम्म १९ जनालाई अभियुक्तको रूपमा नाम उल्लेख गरिएको छ भने अन्य १५–२० जना अज्ञात व्यक्तिहरूको संलग्नता रहेको आशंका गरिएको छ। प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा महमुदुल हसन मोहिन, तारेक रहमान रबिन, आलमगीर, मोनिर र एक अन्य व्यक्ति रहेका छन्। घटनाको सुनुवाइ सोमबार हुने जनाइएको छ।

लाल चन्द सोहागकी ४२ वर्षीया बहिनी मञ्जुआरा बेगमले बिहीबार प्रहरी चौकीमा आधिकारिक उजुरी दर्ता गराएकी छिन्।

हत्यामा संलग्न दोषीहरूलाई कडा कारबाहीको माग गर्दै देशका विभिन्न विश्वविद्यालय तथा जिल्लाहरूमा विरोध प्रदर्शन भएका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रमुख विपक्षी दल बीएनपीले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रण गर्न नसकेको आरोपसमेत लगाएका छन्।
                    – एजेन्सी

भारतको कर्नाटक राज्यअन्तर्गत उत्तरा कन्नडको दुर्गम क्षेत्रमा प्रहरी गस्ती टोलीले गुफाभित्र दुई साना छोरीसहित एक रुसी महिलालाई फेला पारेको छ। गस्ती टोलीले गुफामा ४० वर्षीया रुसी नागरिक निना कुटिनालाई उनका दुई छोरीहरू—६ वर्षीया प्रेमा र ४ वर्षीया एम्मासहित फेला पारेको हो।

प्रारम्भिक अनुसन्धान अनुसार निना कुटिना अक्टोबर १८, २०१६ मा व्यापार भिसामा भारत आएकी थिइन्। उनलाई गोवास्थित विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले अप्रिल १९, २०१८ मा एक्जिट परमिट जारी गरेको थियो। त्यसपछि उनी नेपाल आएकी थिइन् र पुनः सेप्टेम्बर ८, २०१८ मा भारत फर्किएको खुलेको छ।

बीच बी२०० सुपर किंग एयर यात्रु विमान आइतबार दिउँसो करिब ४ बजे एसेक्सको लन्डन साउथेन्ड विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

यो विमान नेदरल्यान्ड्सतर्फ जाँदै थियो। यो जेटमा १३ यात्रु र दुई चालक दलका सदस्य अटाउन सक्छन्।

एम्बुलेन्स टोली र एसेक्स प्रहरी घटनास्थलमा पुगेका छन्।

सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा एक किशोरीको गोली प्रहार गरी हत्या गरिएको छ।

आइतबार राति करिब १ बजे, १८ वर्षीया अर्सी खातुनको टाउकोमा गोली प्रहार गरिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार, प्रारम्भिक अनुसन्धानबाट किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको छ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान भारतको पत्राहा पञ्चायत–१६, घुर्ना निवासी २९ वर्षीय आजात मिया जटका रूपमा खुलेको छ।

प्रहरीका अनुसार, घटनापछि मिया फरार छन् र उनको खोजी कार्य जारी रहेको छ। घटनास्थलमा एउटा गोलीको खोका समेत फेला परेको छ।

प्रहरी उपरीक्षक तिम्सिनाले घटनाको कारण हालसम्म खुल्न नसकेको जानकारी दिएका छन्।

यस घटना भएको स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ, जसले अनुसन्धानमा थप चुनौती सिर्जना गरेको छ।

लगातारको वर्षाका कारण अवरुद्ध बनेको कोदारीस्थित अरनिको राजमार्ग चार दिनपछि पुनः सञ्चालनमा आएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, इकु क्षेत्रमा खसेको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले पहिरो पन्छाएपछि सडक खुला गरिएको जानकारी दिए।

राजमार्ग सञ्चालनमा आएपछि कोदारी नाकामा रोकिएका कन्टेनरहरू नाका पार गरेका छन्।


असार २६ गतेदेखि सडक अवरुद्ध थियो

असार २६ गते बिहान ५ बजे, वर्षासँगै माथिबाट आएको ठूलो पहिरोले इकु खण्डको सडक पूर्ण रूपमा अवरुद्ध बनाएको थियो। त्यसले गर्दा यात्रु तथा तातोपानी नाका क्षेत्र हुँदै आवतजावत गर्ने सवारीसाधनहरू लामो समयसम्म रोकिएका थिए।

सडक केही समयका लागि मर्मतपश्चात सञ्चालनमा आए पनि पुनः पहिरोले अवरुद्ध बनाएको थियो। त्यसपछि चार दिनसम्म लगातार प्रयास गरी पहिरो पन्छाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका–३ चनौटेका ४१ वर्षीय इन्द्र आले मगरको रुखबाट लडेर मृत्यु भएको छ।

चनौटेको तीनअंके डाँडा सामुदायिक वनमा खस्रोको रुखमा चढी घाँस काट्ने क्रममा उनी खसेर गम्भीर घाइते भएका थिए। उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिएका छन्।

घटनापछि उनलाई स्थानिय चनौटे अस्पतालमा सामान्य उपचार दिइएको थियो। थप उपचारका लागि दोलखा चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल लगिएको थियो। तर, त्यहाँ पुग्दा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।


सडक अबरुद्ध भएपछि वैकल्पिक बाटो हुँदै अस्पताल

आइतबार साँझ करिब ६:३० बजे देखिको लगातारको वर्षाका कारण आएको लेदोले बीपी राजमार्ग अवरुद्ध भएको थियो। रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार, बिरुवाडाँडा तथा वडा नम्बर ९ र ११ को सीमाना कालढुंगा क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएपछि बिरामीलाई खुर्कोटबाट मन्थली–चरिकोट मार्ग हुँदै काठमाडौंतर्फ लैजाँदै गरिएको थियो।

तर, दुर्भाग्यवश उपचारका लागि चरिकोट लगिँदै गर्दा बाटोमै मृत्यु भएको हो। बीपी राजमार्ग सोमबार बिहानदेखि मात्रै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन समयमै जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ।

महासंघले विगतमा भएका सहमति समेटेर विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र संसदमा पेस गरी पारित गर्न माग गरेको छ। अन्यथा, संवाद र छलफलको बाटो त्यागेर सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

“संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि भइरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमति समेटिएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरी पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं। अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनको बाटो अपनाउने छौं।”

महासंघले गत वर्ष चैत २० गतेदेखि २९ दिन लामो सडक आन्दोलन गरेको थियो। त्यसपछि, २०८२ सालको वैशाख १७ गते सरकार र महासंघबीच असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति भएको थियो। तर, तोकिएको समयावधिमा विधेयक नआएको भन्दै महासंघले फेरि आन्दोलनको चेतावनी दिएको हो।

विज्ञप्तिमा राज्यप्रतिको आक्रोश, निराशा र अविश्वासको जगबाट उठ्न सक्ने आन्दोलनले उत्पन्न गर्ने सम्भावित गम्भीर अवस्थाप्रति सतर्क रहनुपर्ने पनि महासंघले स्पष्ट पारेको छ।

“त्यसबाट उत्पन्न हुने असहज परिस्थिति र त्यसका परिणामप्रति राज्यपक्ष नै पूर्ण रूपमा जिम्मेवार हुनेछ,” विज्ञप्तिमा उल्लेख छ।


सरकारप्रति महासंघको गम्भीर आरोप

महासंघको ठहर अनुसार, निम्न विषयहरूमा सरकार गम्भीर छैन:

महासंघले सरकारलाई ती सबै विषयमा गम्भीर भएर छिटो निर्णय लिन र सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ, अन्यथा शिक्षा क्षेत्र फेरि संकटमा पर्न सक्ने चेतावनी दिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।