२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

 प्रदेश सरकारले आज (असार १५) प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको छ। जुम्ला जिल्लाबाहेक अन्य सबै जिल्लामा यो बिदा लागू हुनेछ।

प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत १७ गतेको निर्णयअनुसार राष्ट्रिय धान दिवसको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संस्था र संघसंस्थाहरूमा बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले जानकारी दिए।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक अन्य ९ जिल्लामा सरकारी तथा सार्वजनिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ। सम्बन्धित सबैलाई जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ।”

जुम्लामा चैत महिनामै धान रोपाइँ हुने परम्पराका कारण प्रदेश सरकारले हरेक वर्ष चैत १२ गते जुम्लामा सार्वजनिक बिदा दिने गरेको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले राष्ट्रिय धान दिवसमा औपचारिक कार्यक्रमसहित तामझामका साथ उत्सव मनाउँदै आएको छ।

 सर्भियाका राष्ट्रपति अलेक्जेन्डर बुचिचको राजीनामा माग्दै राजधानी बेलग्रेडमा विद्यार्थी नेतृत्वको प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले बुचिचको शासन अन्त्य गर्न र समयअगावै निर्वाचन गराउन माग गरेका छन्। बीबीसीका अनुसार करिब १ लाख ४० हजार मानिस सहभागी यो प्रदर्शन पछिल्ला महिनाहरूमा सर्भियामा भएको सबैभन्दा ठूलो प्रदर्शन हो।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। राष्ट्रपति बुचिचले प्रदर्शनकारीहरूमाथि देशलाई अस्थिर बनाउन खोजेको र विदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन्।

राष्ट्रपति बुचिच सन् २०१४ देखि २०१७ सम्म सर्भियाको प्रधानमन्त्री थिए र सन् २०१७ मे ३१ देखि राष्ट्रपति पदमा छन्। हाल उनको दोस्रो कार्यकाल चलिरहेको छ। विगत १२ वर्षदेखि सर्भियाको शासन सत्तामा रहेका उनको नेतृत्वविरुद्ध अहिले व्यापक असन्तुष्टि देखिएको छ।

आन्दोलनको कारण के हो?

सर्भियामा हाल चर्किएको आन्दोलनको प्रमुख कारण सन् २०२४ नोभेम्बरमा नोवी साद रेल स्टेसनमा भएको दुर्घटना हो। रेल स्टेसनको छाना भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो। यो दुर्घटना सरकारी भ्रष्टाचार र लापरबाहीको परिणाम भएको भन्दै जनमानसमा व्यापक आक्रोश फैलिएको छ।

उक्त दुर्घटनापछि विद्यार्थीहरूले देशव्यापी आन्दोलन सुरु गरेका थिए। पछि शिक्षक, कानुन व्यवसायी, यातायात कर्मचारी, कृषि मजदुर र नागरिक समाजका समूहहरूले पनि यो आन्दोलनलाई समर्थन गरे। यो आन्दोलनले सर्भियामा लोकतन्त्र र कानुनी शासन पुनर्स्थापना गर्ने महत्त्वपूर्ण मोडको रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन्।

घाम र वर्षाबाट जोगिन छाता बोक्नेहरूको संख्या बढेसँगै यसको व्यापार पनि फस्टाएको छ। बर्खायाम सुरु भएपछि बजारमा नयाँ–नयाँ डिजाइनका रंगीबिरंगी छाताहरू भित्रिएका छन्। नेपाली संस्कृति र परम्परासँग जोडिएको छाता नेपालमा भने उत्पादन हुँदैन, पूर्ण रूपमा आयातमा निर्भर छ।

काठमाडौंको नयाँ बानेश्वर बस्ने रियाशा गोले फागुन महिनादेखि नै ब्यागमा छाता बोक्न छुटाउँदिनन्। घामको ताप र वर्षाको झरीबाट जोगिन उनको लागि छाता अनिवार्य भएको छ। “जाडो सकिएपछि मेरो ब्यागमा छाता कहिल्यै छुट्दैन। मलाई त छाताको सौख नै छ,” कालो–सेतो बुट्टा भएको छाता ओढेर बिजुलीबजारतर्फ हिँडेकी रियाशाले भनेकी छन्, “मैले हरेक वर्ष नयाँ छाता किन्छु। अहिले मेरो संग्रहमा लुगाको रङसँग मिल्ने ६ वटा स्टाइलिस छाता छन्।”

रियाशालाई छाता केवल घामपानीबाट जोगिन मात्र होइन, फेसनका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। विशेषगरी जापानी युवतीहरूले बोक्ने गुलाबी रङमा सेता बुट्टा भएका छाताहरू उनलाई निकै मनपर्छ। “मैले जापानमा बस्ने मामालाई त्यहाँको स्टाइलिस छाता पठाइदिन भनेकी छु,” उनले हाँस्दै भनिन्, “डिजाइन, रङ र बुट्टा मेरो रोजाइअनुसारको छ।” रियाशासँग न्युरोड, असन र बानेश्वरबाट २५० देखि ७५० रुपैयाँसम्ममा किनिएका छाताहरू छन्।

काठमाडौं कोटेश्वरकी सविना शाही पनि छाता बोक्न छुटाउँदिनन्। बर्खा सुरु हुनुअघि नै उनले बौद्धबाट ५८० रुपैयाँमा छाता किनेकी छन्। “यो मौसममा कहिले घाम चर्किन्छ, कहिले पानी दर्किन्छ, थाहै हुँदैन,” उनी भन्छिन्, “छाता बोकेपछि यी दुवै समस्याबाट छुटकारा पाइन्छ।”

छाता व्यापारमा वृद्धि

काठमाडौं उपत्यकामा छाता बोक्नेहरूको संख्या बढेसँगै यसको व्यापार पनि उकालो लागेको छ। बानेश्वरमा छाता बेच्ने सुशीला महर्जनले फागुनदेखि नै छाताको बिक्री सुरु भएको बताइन्। “यो वर्ष फागुनदेखि गर्मी बढेकाले त्यतिबेलैदेखि छाता किन्ने ग्राहक आए,” उनले भनिन्, “अहिले त बर्खा सुरु भइसकेको छ, व्यापार राम्रो छ।” उनले हालसम्म ७०० थान छाता बिक्री गरिसकेकी छन्। उनको पसलमा २५० देखि १,००० रुपैयाँसम्मका छाताहरू छन् र दैनिक औसत २० वटा बिक्री हुने गरेको उनले बताइन्।

नेपाली समाजमा छाता विवाह, व्रतबन्ध, जात्रा, स्वागत, सम्मान र मृत्यु संस्कारजस्ता शुभकार्य तथा धार्मिक कार्यमा अनिवार्य मानिन्छ। सडक र रेस्टुरेन्टलाई आकर्षक बनाएर ग्राहक तान्ने रणनीतिमा पनि छाताको प्रयोग हुन्छ। चितवनको अम्ब्रेला स्ट्रिट र काठमाडौंको न्युरोड गेटदेखि संकटा मन्दिरसम्मको रंगीचंगी छाताले सजिएको सडक यसका उदाहरण हुन्।

सुशीलाको अनुभवमा युवतीहरूले छातालाई फेसनका रूपमा रुचाएका छन्। उनीहरू बलियो र टिकाउभन्दा चिटिक्क र आकर्षक छाता रोज्छन्। फोल्ड गर्न मिल्ने, बुट्टा र जाली भएका वा प्रिन्टेड छाताहरू उनीहरूको रोजाइमा पर्छन्। भारत, चीन र हङकङबाट आयात हुने यस्ता छाताहरू बजारमा लोकप्रिय छन्।

नेपालमा छाता उत्पादन शून्य, आयातमा निर्भरता

नेपाली संस्कृति र परम्परासँग जोडिएको छाता देशमा उत्पादन हुँदैन। भन्सार विभागको तथ्यांकअनुसार नेपालले वार्षिक करोडौँ रुपैयाँको छाता आयात गर्छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्म ६२ करोड १ लाख ५५ हजार रुपैयाँको ४६ लाख ५६ हजार थान छाता आयात भएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा ६० करोड ३७ लाख १ हजार रुपैयाँको छाता आयात भएको थियो, जुन यो वर्षको तुलनामा २ करोड कम हो। आव २०७९/८० मा ६० करोड ३१ लाख रुपैयाँको ४९ लाख २७ हजार थान र आव २०७८/७९ मा ३६ करोड ३० लाख रुपैयाँको ३३ लाख ६३ हजार थान छाता आयात भएको थियो। यी तथ्यांकले छाता आयातमा क्रमिक वृद्धि भएको देखाउँछ।

कुन देशबाट आउँछ छाता?

भन्सार विभागका अनुसार नेपालमा सबैभन्दा धेरै छाता चीनबाट आयात हुन्छ। त्यसपछि हङकङ, भारत, थाइल्यान्ड र मलेसियाबाट आयात हुने गरेको छ। अस्ट्रेलिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएएई), बेलायत, कम्बोडिया, इजरायल, कतार र अमेरिकाबाट पनि केही मात्रामा छाता भित्रिन्छ।

विगतमा न्युरोड र असनमा छाता मर्मत र एसेम्बल गर्ने पसलहरू थिए, तर अहिले ती पसलहरू हराएका छन्। उद्योगीहरूका अनुसार नेपालमा छाता उत्पादन गर्नुभन्दा आयात गर्न सस्तो पर्ने भएकाले उत्पादनमा कसैको ध्यान गएको छैन।

विश्व बजारमा छाता

विश्व छाता बजारको आकार सन् २०२४ मा ५ अर्ब ६० करोड अमेरिकी डलर (७ खर्ब ६७ अर्ब २० करोड रुपैयाँ) रहेको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएका छन्। यो बजार वार्षिक २ प्रतिशतले बढ्दै सन् २०३७ सम्ममा ७ अर्ब ४३ करोड डलर (१० खर्ब १७ अर्ब १९ करोड रुपैयाँ) पुग्ने अनुमान छ। विश्वका प्रमुख छाता उत्पादक कम्पनीहरूमा चीनको सन्नी ग्रुप, अमेरिकाको टोटस आइसोटोनर र बेलायतको फुल्टन अम्ब्रेलाज छन्।

 गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको आरोपमा अमेरिकाले सुडानमाथि प्रतिबन्ध लगाएको छ। शुक्रबार अमेरिकी सरकारले फेडरल रजिस्टरमा प्रकाशित सूचनामा सुडानको सरकारलाई निर्यात, हातहतियार बिक्री र आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षसम्म कायम रहने उल्लेख गरेको छ।

न्यूयोर्क टाइम्सले गत जनवरीमा प्रकाशित समाचारमा सुडानको सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको दाबी गरेको थियो। नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँसजस्तो भएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याएर मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ।

यद्यपि, सुडानको सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ। अमेरिकी प्रतिबन्धअन्तर्गत अत्यावश्यक मानवीय सहायता, खाद्यान्न र कृषिजन्य वस्तुबाहेक अन्य सहायता बन्द गरिने जनाइएको छ। तर, अमेरिकी विज्ञप्तिमा ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितका लागि आवश्यक’ भएकाले केही सुविधामा आंशिक छुट प्रदान गरिने उल्लेख छ।

सन् २०२३ को अप्रिलमा सुडानको सेना र आरएसएफबीचको शक्ति संघर्ष गृहयुद्धमा परिणत भएको थियो। यो युद्ध गरिब मुलुक सुडानका लागि अभिशाप बनेको छ। यस द्वन्द्वका कारण दशौँ हजार मानिसको ज्यान गएको छ भने करिब एक करोड ३० लाख व्यक्ति विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघले सुडानको यो गृहयुद्धलाई विश्वकै सबैभन्दा खराब मानवीय संकटमध्ये एकको रूपमा वर्णन गरेको छ।

 उज्बेकिस्तानमा आजदेखि सुरु हुने एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ। खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

यो खेल नेपाली महिला फुटबल टोलीको १००औँ अन्तर्राष्ट्रिय खेलसमेत हो। ऐतिहासिक यो खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न आतुर छ। नेपाली खेलाडीहरू पनि उत्साहित रहेको बताइएको छ।

नेपाली महिला टोलीले लाओससँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। फिफा वरीयतामा नेपाल १००औँ र लाओस १०७औँ स्थानमा छन्। पुरुष फुटबलमा नेपाल र लाओसबीच पछिल्लो समय प्रतिस्पर्धा भए पनि महिला फुटबलमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन्। त्यसैले दुवै टोली एकअर्काका लागि नयाँ प्रतिद्वन्द्वी हुन्।

यो खेल नवनियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डको नेपाली राष्ट्रिय महिला टोलीसँगको पहिलो आधिकारिक खेल हुनेछ। दुई दशक लामो अन्तर्राष्ट्रिय अनुभव भए पनि उनले कुनै राष्ट्रिय टोलीको सिनियर टिमको प्रशिक्षण पहिलोपटक सम्हाल्दैछन्।

यद्यपि, छनोटको पहिलो खेलको दिनसम्म पनि नेपाली टोलीको कप्तान घोषणा भएको छैन। यसअघि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले टोलीको कप्तानी गर्दै आएकी थिइन्। प्रशिक्षक वाइल्डले अन्तिम समयमा कप्तान चयन गर्ने बताएका छन्। उनले पहिलो रोजाइमा मैदान प्रवेश गर्ने खेलाडीमध्येबाट कप्तान छनोट गर्ने सम्भावना छ। यदि एन्जिलाले कप्तानीको अवसर नपाएमा नेपालले नयाँ कप्तान पाउन सक्छ।

लाओसका प्रशिक्षक चोङ सोङ चोङले छनोटमा सहभागी सबै टोली बलिया रहेको र प्रतिस्पर्धा रोमाञ्चक हुने बताएका छन्। उनले हालै लाओसको पुरुष टोलीले नेपाललाई पराजित गरेको उल्लेख गर्दै महिला टोलीबाट पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरेको बताए। “हाम्रो पुरुष टोलीले भर्खरै नेपाललाई हराएको छ। अब महिला टोलीलाई पनि त्यस्तै अवसर छ। खेल रोमाञ्चक हुने विश्वास छ,” उनले भने।

समूह ‘एफ’ मा नेपालसहित आयोजक उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। नेपालले श्रीलंकासँग ८ खेलमा अपराजित रेकर्ड राखेको छ, तर उज्बेकिस्तानलाई भने पराजित गर्न सकेको छैन। समूहमा उज्बेकिस्तान सबैभन्दा बलियो टोली मानिन्छ।

समूहको शीर्ष स्थानमा रहने टोली सन् २०२६ मा आयोजना हुने एएफसी महिला एसियन कपका लागि छनोट हुनेछ। यो छनोटले अन्य प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको ढोका पनि खोल्नेछ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्नुपर्ने लिखित निर्णय गरेको छ। साथै, कांग्रेस–एमालेको दुई दलीय संयन्त्रको औचित्य समाप्त भएको ठहर पनि गरेको छ। लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको ३८ अर्ब १९ करोड रुपैयाँको बजेटप्रति सत्ता साझेदार दल नेपाली कांग्रेस र विपक्षी दलहरूको असन्तुष्टि कायमै छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको हालै बसेको बैठकले बजेट निर्माणपूर्व सुझाव संकलनका लागि आयोजित छलफलमा पार्टीका नेता र सांसदहरूले दिएका सुझाव तथा भावनाविपरीत बजेट आएको निष्कर्ष निकाल्दै संशोधनको माग गरेको हो। बैठकले सत्ता सञ्चालनका लागि केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस र नेकपा एमालेले बनाएको दुई दलीय संयन्त्रको उद्देश्यअनुरूप बजेट नआएको, प्रभावकारी बैठक र भूमिका नभएको भन्दै उक्त संयन्त्रको औचित्य समाप्त भएको ठहर गरेको छ।

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री वित्रम खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई दलीय संयन्त्र जुन उद्देश्यले गठन भएको थियो, त्यसको भावना र मर्मअनुरूप बजेट आएन। बैठकहरू प्रभावकारी रूपमा सञ्चालन भएनन् र संयन्त्रले अपेक्षित भूमिका निर्वाह गर्न सकेन। तसर्थ, दुई दलीय संयन्त्रको औचित्य करिब समाप्त भएको छ।”

बजेटको विवाद र असन्तुष्टिका विषयमा छलफल गर्न बोलाइएको उक्त बैठकमा संस्थापन पक्षका मन्त्री र सांसदहरू भने पूर्वनिर्धारित अन्य कार्यक्रमको कारण देखाउँदै सहभागी भएनन्।

लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की (नेपाली कांग्रेस) ले असार १ गते उक्त बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। तर, नेकपा एमालेबाट मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार कांग्रेसका नेताहरू र विपक्षी दलहरूको असन्तुष्टिका कारण बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन। बजेटमाथि छलफलका लागि असार ७ गते बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। अब असार १६ गते प्रदेश सभाको बैठक बस्ने तयारी छ।

नेकपा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले असार १६ को बैठकमा सांसदहरूका छुटेका योजना समेटेर बजेट संशोधनसहित पारित गर्ने बताएका छन्। बजेटमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, शहरी विकास मन्त्री सरोज थापा (रोज राणा) र भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल हावी भएको आरोप लागेको छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले आर्थिक वर्ष २०८२/०८३ को बजेट व्यक्तिकेन्द्रित भएको ठहर गर्दै संशोधनसहित पारित गर्न संसदीय दललाई निर्देशन दिएको छ।

सुनसरीको रामधुनी नगरपालिका–७ बासबिटीमा भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

शनिबार साँझ करिब ७:३० बजे चतरा–कान्छी चोक भित्री सडकखण्डमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र अर्को मोटरसाइकलका चालक इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको छ। सुनसरी प्रहरीका अनुसार उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको हो।

दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीया प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। घाइतेहरूको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले घाइते प्रतीक्षा मृतक इनर्चन चौधरीकी पत्नी भएको जानकारी दिए।

प्रहरीका अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विद्यालय शिक्षा ऐन जारी गर्न नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिको म्याद आज (असार १५ गते) सकिँदैछ। गत वैशाख १७ गते महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले असार १५ गतेभित्र ऐन जारी गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको थियो।

यद्यपि, सहमति अनुसार आजै ऐन जारी हुने सुनिश्चितता भने कायम भएको छैन। पछिल्लो समय प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकका बाँकी विषयहरूमा गहन छलफल गरिरहेको छ। समितिमा धेरैजसो विषयहरूमा सहमति भइसकेको भए पनि केही महत्त्वपूर्ण बुँदाहरूमा टुंगो लाग्न बाँकी छ।

आज सहमतिको अन्तिम दिन भएकोले नेपाल शिक्षक महासंघको टोलीले बिहानैदेखि सिंहदरबारस्थित शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेको छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकहरूको टोली सिंहदरबार पुगेको हो। समितिको बैठक पनि आज बिहानका लागि बोलाइएको छ।

महासंघले सरकारसँग भएको सहमति कार्यान्वयन नभएमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। शिक्षकहरूले विद्यालय शिक्षा ऐनले शिक्षक तथा विद्यालय कर्मचारीहरूको सेवा, सुविधा, स्थायित्व र पेशागत हकहित सुनिश्चित गर्नुपर्ने माग राख्दै आएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।