२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको कैलाली जिल्ला कारागारमा रहस्यमय मृत्यु भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात पूर्णरूपमा ठप्प भएको छ। बैंकिङ कसुरमा पक्राउ परेका पालीको मृत्यु प्रहरीको कुटपिटका कारण भएको भन्दै उनका आफन्त र व्यवसायीहरूले सुदूरपहाडको यातायात बन्द गराएका हुन्।

प्रहरीका अनुसार, पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिनको कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५, तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउ परेको दुई दिनमै कैलाली कारागारमा उनको मृत्यु भएको हो।

पालीको मृत्युबारे प्रहरीले बिरामी भएर उपचारका क्रममा मृत्यु भएको दाबी गरेको छ। तर, मृतकका परिवार र आफन्तले यो मृत्यु पूर्वनियोजित र कुटपिटजन्य भएको गम्भीर आरोप लगाएका छन्। मृतकका काका पदमसिंह पालीले कारागारभित्रै हरिसिंहलाई यातना दिइएको र त्यसैका कारण मृत्यु भएको दाबी गरेका छन्।

यो घटनाले सुदूरपश्चिममा तनाव सिर्जना गरेको छ। आफन्त र व्यवसायीहरूको आन्दोलनका कारण डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, डोटी र बाजुरा जिल्लामा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।

सिक्किम विश्वविद्यालयको लिम्बू विभागमा अध्ययनरत विद्यार्थी सुनैना सुब्बाको सोरेङ जिल्लाको मजुवा गाउँ नजिकै अवस्थित हिडन फल्समा भएको दुखद दुर्घटनामा निधन भएको छ। सोरेङको टिम्बुरबोङ निवासी सुनैना प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिडन फल्स झरना अवलोकन गर्न गएकी थिइन्। प्राप्त जानकारीअनुसार, भिजेको र चिप्लो जमिनमा खुट्टा चिप्लिएर उनी झरनाको गहिरो खोंचमा खस्न पुगेकी थिइन्, जसका कारण यो दुर्भाग्यपूर्ण घटना भएको हो।

यो हृदयविदारक खबरले सुनैनाको परिवार, साथीभाइ, र सिक्किम विश्वविद्यालयको सम्पूर्ण समुदायमा गहिरो शोक र स्तब्धता छाएको छ। सिक्किम विश्वविद्यालयले सुनैनाको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनको आत्माको शान्तिको कामना गरेको छ।

 बारा जिल्लाको अमलेखगञ्जस्थित जंगलमा बाघको आक्रमणबाट एक जना गोठालाको मृत्यु भएको छ । मकवानपुर मनहरी घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा बस्दै आएका वीरबहादुर थिङको बाख्रा चराउने काम गर्ने चन्द्रबहादुर भुलनको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

५५ वर्षीय भुलन सोमबार चकरी जंगलमा बाख्रा चराउन गएका थिए । तर, साँझसम्म पनि घर नफर्किएपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार मंगलबार बिहान साढे ७ बजे खोजतलास गर्दा भुलनको शव दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा फेला परेको थियो ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा शव भेटिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

चितवनका सात वटा पालिकामध्ये सबैभन्दा कम बेरुजु कालिका नगरपालिकामा रहेको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार, कालिका नगरपालिकाको कुल बेरुजु रकम ५ करोड ६६ लाख ७९ हजार ३१७ रुपैयाँ रहेको छ। सो नगरपालिकाको गत आर्थिक वर्षको कुल बजेट १ अर्ब ७७ करोड ८६ लाख भएकोमा मात्र ०.८३ प्रतिशत बेरुजु देखिएको छ।

गत वर्ष कालिकाको बेरुजु रकम १ करोड ४६ लाख ६९ हजार ६५९ रुपैयाँ थियो भने अघिल्लो वर्ष फर्स्यौट रकम १३ लाख ३४ हजार ३४२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०७९/८० मा कालिकाले १ करोड ३४ लाख फर्स्यौट गरेको थियो। पालिकाको स्थापना भएको आर्थिक वर्ष २०७४/०७५ मा बेरुजु १० करोड २८ लाख रुपैयाँ रहेको थियो भने त्यसयता बेरुजु घटाउने काम तीव्र बनाइएको छ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार, आगामी दिनमा हरेक आर्थिक वर्षको बेरुजुलाई शून्य बनाउने र बाँकी बेरुजुलाई क्रमिक रूपमा घटाउने नीति अनुरूप काम भइरहेको छ। नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले पनि नीति तथा कानुनको पालना गर्दै बेरुजु घटाउन प्राथमिकता दिइएको जानकारी दिए।

जिल्लाको एक मात्र महानगरपालिका भरतपुरको बेरुजु १ अर्ब ३ करोड ५३ लाख ८ हजार रहेको छ। आर्थिक वर्ष २०७९/८० मा मात्र ५ लाख १५ हजार बेरुजु थपिएको थियो। गत आर्थिक वर्षमा बेरुजु ०.९ प्रतिशत रहेको भए पनि फर्स्यौट रकम ० रुपैयाँ देखिएको छ।

रत्ननगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ६४ लाख बेरुजु फर्स्यौट गरेको छ। सो पालिकाको कुल बजेट २ अर्ब ९४ करोडको लेखापरीक्षण गर्दा ०.१७ प्रतिशत बेरुजु देखिएको थियो। आर्थिक वर्ष २०७९/८० सम्म १६ करोड १८ लाख बेरुजु रहेको र गत वर्ष थपिएपछि अब १० करोड २ लाख मात्र बेरुजु बाँकी छ।

राप्ती नगरपालिकामा भने आर्थिक वर्ष २०८०/८१ मा मात्र १६ करोड ७३ लाख ७७ हजार ८०८ रुपैयाँ बेरुजु थपिएर कुल बेरुजु ३६ करोड ३ लाख ७१ हजार पुगेको छ। गत वर्ष सो पालिकाले एक रुपैयाँ पनि फर्स्यौट गरेको छैन। यहाँको बेरुजु प्रतिशत ७.९८ रहेको छ।

खैरहनी नगरपालिकाको बेरुजु १२ करोड ८५ लाख ३ हजार रहेको छ भने गत वर्ष १ करोड १६ लाख ६० हजार बेरुजु थपिएको छ। माडी नगरपालिकामा ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ बेरुजु छ भने इच्छाकामना गाउँपालिकामा पनि ११ करोड भन्दा बढी बेरुजु रहेको छ।

समग्रमा चितवनका पालिकाहरूले बेरुजु घटाउन विभिन्न रणनीतिहरू अपनाइरहेको अवस्थामा कालिका नगरपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ।

स्थानीय बजारमा लसुनको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार लसुनको भाउ घटेको हो ।

 

चिनियाँ लसुनको भाउ किलोमा २१ रुपैयाँ घटेको छ । कालीमाटी बजारमा चिनियाँ लसुन प्रतिकिलो २ सय ७ रुपैयाँमा किनबेच भएको थियो । आज भने प्रतिकिलो १ सय ८६ रुपैयाँ कायम छ ।

यस्तै आज नेपाली लसुन प्रतिकिलो १ सय ५७ रुपैयाँमा किनबेच भइरहेको छ ।

 गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले ‘स्थानीय सरकार सारथी’ कार्यक्रम अन्तर्गत ५० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता दिने भएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा समाजका ज्येष्ठ नागरिक र एकल जीवन बिताइरहेका नागरिकलाई सम्मानसहित जीवन यापन गर्न सकिने वातावरण सिर्जना गर्ने उद्देश्य राखेको छ।

५० वर्ष उमेर नाघेका तर एकल महिला तथा पुरुषलाई लक्षित गरी ‘जीवननिर्वाह सारथी भत्ता’ उपलब्ध गराइनेछ, छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

अध्यक्ष पाण्डेका अनुसार, “सारथी कार्यक्रमले स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई सुदृढ पार्नेछ र एकल नागरिकहरूको जीवनमा सम्मान तथा आत्मबल थप गर्नेछ।”

गाउँपालिकाले यस कार्यक्रमलाई क्रमिक रूपमा विस्तार गर्दै आवश्यकताअनुसार सेवा समायोजन गर्ने योजना पनि बनाएको छ।

पोखराको लेकसाइडबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको ग १ ख ७७८९ नम्बरको बसले यति ठूलो कालो धुँवा छोड्छ कि त्यसपछि मोटरसाइकल र स्कुटरमा यात्रा गरिरहेका सबै मुस्लोमा हराउँछन्। त्यो बसको पछाडि साना सवारी साधनमा यात्रा गरिरहेका र पैदल हिँडिरहेका मानिसहरूले सास फेर्नै अप्ठेरो महसुस गर्छन्। केही दिनअघि पोखराको यस्तो नगर बसको कालो धुँवाले भरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो।

पर्यटकीय शहर पोखरामा यो अवस्था नयाँ होइन। हरियो रङले रंगिएका नगर बसहरूले धुँवाको मुस्लो छोड्दै कुद्ने दृश्य सडकमा दैनिक रूपमा देखिन्छ। पोखराका नगर बसहरूले जनजीवनमा आतंक मच्चाइरहेका छन्। एकातिर सडकमा ठेलमठेल गर्दै ओभरटेक गर्ने प्रतिस्पर्धा, अर्कोतिर कालो धुँवा छोड्दै कुद्ने यी बसहरूले नागरिकलाई अत्याचार गरिरहेका छन्। ‘पोखरालाई सबैभन्दा बढी प्रदूषित गर्ने, ट्राफिक व्यवस्थापन अस्तव्यस्त पार्ने काम यिनै सवारीहरूले गरिरहेका छन्,’ पोखराका कला, संस्कृति तथा संगीत अभियन्ता मनकुमार श्रेष्ठ भन्छन्, ‘रङ मात्र हरियो पोतेर के हुन्छ र?’

पोखराका नगर बसहरूले कालो धुँवा निकाल्दा सहरको बदनाम मात्र गर्दैनन्, प्रदूषण पनि बढाइरहेका छन्। तर, नियमन, व्यवस्थापन र कारबाही गर्ने अधिकार पाएको प्रदेश सरकारले यस्ता बसहरूलाई कारबाही गर्न सकिरहेको छैन। पोखरामा साना सवारी तथा पैदल यात्रुहरूले अनलाइनखबरसँग आफ्नो तीतो अनुभव बाँडेका छन्। ‘दुई दिनअघि लेकसाइडको हलनचोक अगाडि, फेवाताल जाने बाटोमा म र मेरा दुई छोरीहरूलाई ग १ ख ४०४८ नम्बरको नगर बसले कालो धुँवाले छोप्यो। हामी कपडा फेर्न घर फर्किन बाध्य भयौं,’ पोखराका व्यवसायी मीन गुरुङले बताए, ‘नगर बसको आतंक कहिले टुङ्गिन्छ?’

सरकारी नियमन गर्ने निकायको भूमिकामा नागरिकहरू प्रश्न उठाउँछन् भने व्यवस्थापनमा निकम्मापनप्रति आक्रोश पनि पोखिरहेका छन्। पोखराका नगर बसहरूले सहरमा आतंक मच्चाउँदै गर्दा ट्राफिक प्रहरी, पोखरा महानगर तथा प्रदेश सरकार सबै मौन रहेको अर्को व्यवसायी जीवन गुरुङको भनाइ छ।

‘ट्राफिक प्रहरीले हेर्दैन वा देख्दैन, बसको पछाडि परियो भने कुहिरोभित्र परेको जस्तो हुन्छ। यस्तै समिति फेरि ‘इनड्राइभ’ र ‘राइडसेयरिङ’ जस्ता सेवा प्रतिपक्ष गर्छन्,’ गुरुङको गुनासो छ। पोखराका समीर रामदामले भने, नगर बसहरूले जहाँ मन लाग्यो त्यहीँ रोक्ने, जथाभावी लेन परिवर्तन गर्ने गरेको बताउँदै असन्तुष्टि व्यक्त गरे। ‘साइडमा रोकेको बसपछि कोही आउँछ कि छैन हेर्ने फुर्सदै छैनन्, फस्ट लेनमा आउँछन्,’ रामदामले भने।

गण्डकी प्रदेश सरकारले इनड्राइभ र सेल्फ ड्राइभ सेवाहरूलाई नियमन गर्न नियमावली ल्याएपछि व्यवसायीहरूले पोखरा मात्र होइन, गण्डकी प्रदेश र देशैभर सार्वजनिक यातायात ठप्प पारेका थिए। गुणस्तर सुधार्न नसक्ने, अर्काको विरोध गर्न मात्रै सक्ने व्यवसायीहरू प्रति नागरिक असन्तुष्ट छन्।

हरेक सार्वजनिक सवारी साधनले ६ महिनामा र निजी सवारीले प्रत्येक वर्ष प्रदूषण जाँच पास गर्नुपर्ने नियम भए पनि, प्रदूषण जाँच नगरी ‘हरियो स्टिकर’ दिने गरेको आरोप नागरिकहरू लगाउँछन्।

‘यातायात व्यवस्था कार्यालयले प्रदूषण जाँच नगरी कसरी हरियो स्टिकर दिन्छ? यो गम्भीर प्रश्न हो,’ पोखराका नागरिक राजेश केसीले भने, ‘नियमन र कारबाही नहुँदा नगर बसको आतंक झन् बढेको छ।’

ट्राफिक प्रहरी नै पीडित

पोखरामा कालो धुँवा निकाल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले समातेर यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा पठाउँछ। तर, त्यहाँ सर्भिसिङ गरेर छोडिदिँदा समस्या ज्यूँकै छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख शोभा पाण्डेले निरन्तर जाँच गरेर यस्ता बसहरूलाई कार्यालयमा बुझाउने गरेको बताइन्।

धुँवा फाल्ने ग १ ख ७७८०, ग २ ख १००० र ग १ ख ६०९२ नम्बरका बस नियन्त्रणमा लिई कारबाहीको लागि पठाइएको छ। ‘ट्राफिक प्रहरी नै पीडित छौं,’ पाण्डेले भनिन्, ‘सडकमा बस्नुपर्नेले आठ घन्टा सेवा दिँदा हामी पनि प्रभावित हुन्छौं।’

मेसिन बिग्रिएपछि समस्या

यातायात कार्यालयका अनुसार प्रदूषण जाँच उपकरणको अभावले समस्या उत्पन्न भएको छ। तर हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई नयाँ मेसिन हस्तान्तरण गरेको छ, जसले सडकमै प्रदूषण मापन गर्नेछ। मेसिनले ३० भन्दा कम देखाए पास, बढी भए फेल हुने बताइएको छ।

२०८१ साल वैशाखमा एकै दिन ३५ वटा गाडीमा जाँच गर्दा ३० वटा फेल भएका थिए। ‘मर्मत गरेर नल्याएमा कागजात राख्ने र रुट इजाजत खारेज गर्ने प्रक्रिया छ,’ कार्यालयले जनाएको छ।

२०५५ सालदेखि सरकारले प्रदूषण जाँच गरेर वातावरणमैत्री हरियो स्टिकर वितरण गर्दै आएको छ, तर यसको प्रभावकारिता न्यून हुँदा वायु प्रदूषण र जनदुख कम हुन सकेको छैन।

पोखरामा बढ्दो सवारी चाप

देशकै दोस्रो ठूलो सहर पोखरामा सवारी चाप तीव्र रूपमा बढ्दैछ। हाल करिब ३ सय ५२ वटा नगर बस र अन्य कम्पनीका सवारी गरी लगभग ४ सय बस पोखरामा सञ्चालनमा छन्। यसबाहेक ३ लाखभन्दा बढी सवारी साधन दर्ता भइसकेका छन्।

पृथ्वीचोक, चिप्लेढुंगा, पालिखेचोक, सभागृह जस्ता चोकमा यस्ता गाडीका कारण दैनिक जाम हुन्छ र पैदल यात्री तथा साना सवारी चालकले कठिनाइ भोग्नुपर्छ।

डिजेल र पेट्रोलबाट चल्ने गाडीको कालो धुँवा वायु प्रदूषणको मुख्य स्रोत हो। यसले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पुर्‍याउँछ। २०८१ साल माघ ३० गते पोखरा नेपालको सबैभन्दा बढी प्रदूषित शहरहरूको सूचीमा परेको थियो।

विश्व बैंकको रिपोर्ट अनुसार वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजार जनाको अकाल मृत्यु र नेपालीको औसत आयु ३ वर्ष ४ महिना घटाएको छ।

वीर अस्पताल, जहाँ देशभरका बिरामीको भीड छ, सबै विभागहरू प्रायः भरिपूर्ण हुन्छन्। तर, मुटुरोग विभाग शल्यक्रिया सेवा प्रदानमा पूर्ववत् अपवाद थियो। वीर अस्पतालमा मुटुरोगको सामान्य उपचार मात्र हुन्थ्यो र जटिल शल्यक्रियाका लागि बिरामीहरू अन्यत्र रिफर गरिन्थे। यो कुरा अहिले पुरानो भयो। अहिले विभागमा ठूलो परिवर्तन आएको छ।

१२ वर्षमा खोलो पनि फर्कन्छ भनेझैं, वीर अस्पतालको मुटुरोग विभाग पनि तंग्रिएको छ। नयाँ-नयाँ उपकरण थपिएका छन्, दक्ष चिकित्सक टोली खटिएका छन् र यस विभागको केन्द्रमा छिन् डा. दिक्षा जोशी।

‘मुटुरोगका लागि पनि वीर अस्पताल पुग्नुपर्छ’ भन्नेहरूको संख्या बढ्दै गएको छ। विभाग अहिले गतिशील मात्र नभई प्रभावकारी पनि छ। हप्तामा सात-आठ जटिल शल्यक्रिया यहाँ हुने गरेका छन्।

डा. दिक्षा जोशी नेपालको पहिलो महिला मुटु शल्यचिकित्सक हुन्। नेपालमा कार्डियाक सर्जनहरू हातगिन्ती मात्र छन् र महिला सर्जन जम्मा ६ जना मात्रै छन्।

उनले प्रारम्भिक चरणदेखि नै मुटु शल्यक्रिया क्षेत्रमा निरन्तर काम गर्दै आएकी छन्। डा. दिक्षाको लागि हरेक मुटु केवल एक अंग होइन, त्यो बिरामीको जीवन, परिवारको आशा र सम्पूर्ण संसारको धड्कन हो।

‘एव्री हार्ट म्याटरस्—हेर्नेहरूका लागि एउटा मुटु होला, तर हाम्रोमा आउने हरेक मुटु हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छ’, उनी भन्छिन्, ‘जुन दिन चिकित्सकलाई मुटुले छोँदैन, त्यो दिनदेखि शल्यक्रिया गर्न छाड्नुपर्छ।’

यो भावनाले उनलाई हरेक शल्यक्रियामा पूर्ण समर्पणका साथ लाग्न प्रेरित गर्छ।

प्रारम्भिक जीवन र अध्ययन यात्रा

ललितपुरको ठूलो संयुक्त परिवारमा जन्मिएकी दिक्षा एक दाई र चार दिदीकी कान्छी बहिनी हुन्। उनका बाबा रिटायर्ड बैंककर्मी र आमा गृहिणी हुनुहुन्छ। परिवारमा कुनै रोकटोक थिएन र पढाइ सधैं राम्रो भयो।

उनले नृत्य, क्रिकेट, साइक्लिङ र कार्यक्रम सञ्चालन जस्ता विविध गतिविधिमा सक्रिय सहभागिता जनाउँथिन्। एसएलसीमा प्रथम श्रेणी हासिल गरेपछि उनले विज्ञान पढ्ने निर्णय गरिन् र त्यसपछि चीनको थियानजिन मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन सुरु गरिन्।

चीनमा भाषा, संस्कृति र कठिन पाठ्यक्रमका कारण चुनौतीपूर्ण समय बित्यो। पाँच वर्षको एमबीबीएस र एक वर्षको इन्टर्नशिपपछि कार्डियाक सर्जरीमा रुचि जाग्यो। इन्टर्नशिपका क्रममा शल्यचिकित्सकहरूसँगको निकट सम्बन्धले उनलाई यो क्षेत्रको महत्त्व बुझ्न मद्दत गर्‍यो।

करियर र संघर्ष

स्नातकोत्तर अध्ययनका लागि उनलाई अमेरिकामा फेलोशिपको अवसर थियो, तर उनले नेपालमै रहन रोजिन्। परिवारको नजिक रहन उनलाई चाहियो।

सन् २०१२ मा नेपाल फर्किएर उनले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मेडिकल अफिसरको रूपमा काम सुरु गरिन्। दिनहुँ ६-७ सर्जरीको तालिका हुने र १२–१५ घण्टा काम गर्ने उनको दिनचर्या निकै व्यस्त थियो।

‘व्यस्तता पनि एक किसिमको नशा हो,’ उनी भन्छिन्।

नेपालमा महिला कार्डियाक सर्जन हुनुमा दिक्षालाई गर्व छ तर उनी आफूलाई ‘महिला भएर होइन, आफ्नो कामले’ गर्व लाग्छ भन्छिन्। शल्यक्रिया थिएटरमा लिंगको कुनै भेदभाव हुँदैन, यहाँ केवल सीप र आत्मविश्वासले काम गर्छ।

गर्भावस्थामा पनि उनले आफ्नो पेशाप्रति समर्पण कम गरिनन्। तर, व्यस्तताका कारण छोरीको बाल्यकालका केही महत्वपूर्ण क्षण छुटेको महसुस गर्छिन्।

उनका श्रीमान् इन्जिनियर हुन् र उनी उनको सबैभन्दा ठूलो सहयोगी हुन्।

वीर अस्पतालमा सफलताको यात्रा

सात वर्ष गंगालालमा बिताएपछि दिक्षा वीर अस्पतालमा कार्डियोथोरासिक सर्जनको रूपमा कार्यरत छिन्। वीरमा मुटु शल्यक्रिया सेवा १२ वर्षदेखि स्थगित थियो। उनले आफ्नो टोलीसहित स्क्र्याचबाट काम सुरु गरिन्।

उनको नेतृत्वमा विभागले नयाँ उचाइमा पुगेको छ। १५ वर्षमुनिका र ७५ वर्षमाथिका बिरामीको सर्जरी निःशुल्क सेवा उपलब्ध छ। महँगा भल्भहरू डोनेसनबाट ल्याएर बिरामीलाई निःशुल्क प्रदान गरिन्छ।

नेपालमा कार्डियाक सर्जन जम्मा ३० जना मात्र छन्, तर बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। स्रोतसाधन अभाव, पुरानो प्रविधि र चुनौतीका बाबजुद पनि उनले टिमवर्क र जोशले धेरै सम्भव बनाएको बताउँछिन्।

चुनौती र तितामिठा अनुभव

कोरोना महामारीका बेला उनले एउटा बिरामीको जीवन बचाउन प्रयास गर्दा त्यस बिरामीको मृत्युले उनको मनमा गहिरो छाप छोड्यो।

एक २९ वर्षीय मोटरसाइकल दुर्घटनामा परेकाको ६ घण्टा लामो जटिल सर्जरी सफलतापूर्वक सम्पन्न गरेर जीवन बचाइएको अनुभव पनि छ।

७ वर्षीया बालिकाको जन्मजात मुटु रोगको निःशुल्क सफल सर्जरीले उनलाई ठूलो सन्तोष दिएको छ।

नेपालको मुटु उपचारमा चुनौती

नेपालमा जन्मजात मुटु रोग, रियुमेटिक हृदय रोग र कोर्नरी आर्टरी रोगको प्रकोप बढ्दो छ। विकसित देशहरूमा रियुमेटिक हृदय रोग लगभग समाप्त भइसकेको छ, तर नेपालमा यो अझै मुख्य समस्या हो।

स्रोतसाधनको अभाव, सीमित जनशक्ति र पुरानो प्रविधिले उपचारमा चुनौती थप्छ।

तर, डा. दिक्षाको टिम वीर अस्पतालमा दिनहुँ २-३ जटिल शल्यक्रिया गर्ने गरेको छ। राति पनि इमर्जेन्सीमा काम गर्न तयार हुन्छन्।

भविष्य र सपना

डा. दिक्षाले नयाँ पुस्ताका चिकित्सकलाई प्रशिक्षण दिइरहेकी छन्। उनको सपना नेपालमा यस्तो स्वास्थ्य प्रणाली बनाउनु हो जहाँ कुनै बिरामी पैसाको अभावमा उपचारबाट वञ्चित नहोस्।

‘हरेक मुटुको धड्कन महत्त्वपूर्ण छ’ उनको विश्वास हो जसले उनलाई हरेक दिन नयाँ ऊर्जा दिन्छ।

व्यक्तिगत जीवन र दिनचर्या

उनको दिन बिहान ५ बजे योग र ध्यानबाट सुरु हुन्छ। छोरीलाई स्कूल पठाउने, दुई वर्षे छोरालाई खुवाउने र अस्पतालका विभिन्न कार्यहरूमा व्यस्त रहने गर्छिन्।

‘कहिलेकाहीँ २४ घण्टा पनि पर्याप्त हुँदैन’ उनी हाँस्दै भन्छिन्।

उनले परिवारसँग समय बिताउने प्रयास गर्छिन् तर इमर्जेन्सीका लागि सधैं तयार रहनुपर्छ।

पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ।

९० वर्षीय शास्त्रीको सोमबार बिहान काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारको क्रममा निधन भएको थियो।

पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन्। कार्यक्रममा पार्टीका पदाधिकारी, नेतृवर्ग, कार्यकर्ता लगायतले सानेपा पुगेर शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

शास्त्रीको पार्थिव शरीर बिहान ११ बजेसम्म पार्टी कार्यालयमै राखिने कार्यक्रम रहेको छ।

गण्डकी प्रदेशका खेल पत्रकार दिननाथ बराल सहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।मन्त्रालयले प्रकाशित गरेको आधिकारिक सूचना अनुसार, आर्थिक वर्ष २०८१÷८२ का लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर छनोट गरिएको हो ।

पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । बराल पोखरामा केन्द्रित रही विगत २३ वर्षदेखि निरन्तर खेलकुद पत्रकारितामा क्रियाशील छन् ।

उनी रेडियो नेपाल, कारोबार दैनिक, पोखरा क्लिक, पोखरापत्र जस्ता सञ्चारमाध्यमसँग आबद्ध छन्। ८ देशमा भ्रमण गरेका बराल हिमाल खबर पत्रिका, रेडियो अन्नपूर्ण, आर्थिक अभियान, हट्लाइन दैनिक, जनमत दैनिक, रेडियो तनहुँ, रेडियो स्याङजा, प्राप्ती त्रैमासिक, ग्लासिफाइड साप्ताहिक, फेवा टेलिभिजन, पोखरा न्यूज डटकम, वर्तमान सहकारी आवाज लगायतका संचार माध्यममा काम गरेका थिए ।

पत्रकार बराल अमेरीकी दुतावास र शेय रकास्टको फेलोसिप रिपोटीङमा गण्डकी प्रदेशमा ७ जना भित्र छनौट (२०७६) भई नगद ३० हजार नगद प्राप्त, सहारा खेलकुद पत्रकार पुरस्कार २०६८, साविक जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकार सम्मान, जिल्ला खेलकुद विकास समितिबाट उत्कृष्ट पत्रकार पुरस्कार, सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान, रेडियो अन्नपूर्णको बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार (२०७२), नेपाल पत्रकार महासंघ कास्कीबाट २०७९ मा आर्थिक पत्रकारिता पुरस्कार ( नगद २०,०००) , शुभम सहकारी पत्रकारिता सम्मान (२०७६), रत्न ज्योति माविबाट बाल प्रतिभा सम्मान, लायन्स क्लव पोखरा सेती गण्डकी उत्कृष्ट पत्रकार सम्मान (२०७४) लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

खेलकुद पत्रकारितामा लामो अनुभव र योगदानका आधारमा उनलाई यसपटकको सम्मानका लागि छनोट गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।