
सार्वजनिक यातायात व्यवासायी र संघीय सरकार बीच सात बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राति सवा ११ बजेसम्म बसेको बैठकले ७ बुँदे सहमति गरेको हो ।
सहमति अनुसार संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा नियमन गर्न बनेको नियमावली स्थगन गर्न सिफारिस गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वको वार्ता समितिले स्थगनको सिफारिस पठाउने भएको छ ।
संघीय सरकारको अनुरोधमा गण्डकी प्रदेशले नियमावली स्थगन गरेपछि मात्रै यातायात व्यवसायीको आन्दोलन टुंगिने भएको छ ।
समिति संयोजक कृष्णराज पन्तले कार्यदलमा भएको सहमतिलाई नेपाल सरकारले प्रदेशलाई अनुरोध गरेसँगै मात्रै आन्दोलन फिर्ता हुने बताउनु भएको छ ।
यातायात व्यवसायीले समितिमा सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगरेसम्म आन्दोलन फिर्ता नहुने अडान जारी राखेका छन् ।
यस्तै, गण्डकी प्रदेशले नियमावली फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने यातायात व्यवसायीहरुले बताएका छन । नियमावली स्थगनको पत्र आएपछि मात्रै व्यवसायीले सवारी साधन सञ्चालन गर्ने बताएका हुन ।
राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् ।
राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने बताउनु भएको छ ।
हिजो नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् ।
उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए ।
राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।
यो आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना नभएसम्म जारी रहने बताउदै आएका छन् ।





