आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पु¥याउँदा आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरले नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवाको सोमवार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुभारम्भ गर्नुभएको छ । मन्त्री मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन ल्याएर उदाहरणीय कामको शुरुवात गरेको बताउनुभयो । चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनले आकस्मिक बिरामीको उपचारमा थप प्रभावकारिता ल्याउने उहाँको भनाई छ । आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सकेमा धेरै गम्भीर क्षति रोक्न सकिने बताउनु भयो । ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्ने गरेको उहाँको भनाई छ । ललितपुर महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो । 
उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाले एउटा साँच्चिकै उदाहरणीय काम गर्न स्टार्ट गर्नुभएको छ । एम्बुलेन्स सर्भिस दिनु भनेको ठुलो कुरा होइन, धेरै नगरपालिकाहरुले पक्कैपनि प्रदान गरिरहनुभएको छ, तर एम्बुलेन्स सर्भिस विथ पारा–मेडिक्स मात्र होइन, एउटा अझै मेडिकल अफिसर या सुरक्षाकर्मीलाई नै स्वास्थ्यकर्मीलाई नै सँगै राखेर यो सर्भिस एडभाइस स्टार्ट गर्नु, सायद संसारमा फ्यु कन्ट्रिजहरुले मात्र यो स्टार्ट गरेको छ, त्यसमध्ये ललितपुर महानगरपालिकाले स्टार्ट गर्नु सबैका लागि गर्वको कुरा हो । जनप्रतिनिधि भइसकेपछि फस्र्ट प्रायोरिटी भनेकै हाम्रो पब्लिक हुनुहुन्छ । कसरी उहाँहरुलाई शत प्रतिशत आफ्नो सर्भिस दिन सक्छौ भन्ने नै हामी सबैको फस्र्ट प्रायोरिटी हुन्छ, त्यसैलाई आत्मसात गरेर हाम्रो मेयरज्यूले धेरै नै उदाहरणीय कामहरु गर्नुभएको रहेछ । स्वास्थ्य मन्त्रालयको पनि प्रायोरिटी भनेको त्यही नै हो । म यहीँबाट भन्न चाहन्छु, ललितपुर महानगरपालिकालाई मन्त्रालयबाट के कति सहजीकरण गर्न सक्छौ, सहयोग गर्ने प्रतिबद्धता गर्न चाहन्छु, म बाट हुने सहजीकरण पक्कैपनि हुन्छ र गर्नु पनि पर्छ । एम्बुलेन्स सर्भिस जस्ट सर्भिस मात्र होइन, एभ्री मोमेन्ट कुनैपनि स्ट्रकको केस होस, यो हरेक मोमेन्ट, हरेक सेकेन्ड कति गोल्डेन मोमेन्ट हुन्छ । अलिकति टाइम ड्युरेसन भयो हामी हस्पिटलसम्म पुग्नलाई भने तल माथि जे पनि हुन सक्छ । गोल्डेन मोमेन्ट हुन्छ, त्यसमा । अहिले जताततै हस्पिटल इन्स्टिच्युटहरु धेरै नै छ, हामीसँग तर पनि ट्राफिक जाम हुन सक्ला या केही न केही अवरोध आउन सक्ला, त्यसमा हामीलाई पुग्नलाई अलिकति ढिलो भयो भनेपनि ठूलो ड्रास्टिक, ठुलो दुर्घटना हुन सक्छ । त्यसमा एउटा हामीसँग हेल्पर्स कोही हुनुहुन्छ, हामीसँग स्वास्थ्यकर्मी हुनुहुन्छ भनेपछि त्यो मोमेन्टमा फस्ट एड मात्र हामीले प्रोभाइड गर्न सक्यौ भने हामी धेरै ठुलो दुर्घटना हुनबाट हामी जोगाउन सक्छौँ ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताउनु भयो । उहाँले यस्तो सेवा विश्वमै सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको उल्लेख गर्नुभयो । उहाँले महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै आएको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जना बिरामीले सेवा लिएका छन् । त्यसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘चिकित्सक सहितको एम्बुलेन्स भन्ने नयाँ कन्सेप्ट हो । यो सायद संसारभरी २–३ वटा देशमा मात्रै होला, अरु सबैमा इएमटी भनेर पारामेडिक्सहरु हुन्छन् तर हामीले यो ललितपुर महानगरपालिकाले शुरु गर्न लागेको त्यो एकदमै सराहनीय छ । त्यसले गर्दा बिरामीको हाम्रो प्री हस्पिटल केयर जुन अस्पताल पुग्नु अगाडीको केयर हुन्छ, त्यसमा उल्लेखनीय सुधार हुनेछ भन्ने मलाई विश्वास लाग्दछ ।’
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकातीमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा शुरु गर्ने अवधारणा अघि बढाइएको बताउनु भयो । उहाँकाअनुसार महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि बजेट व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याइएको हो । एम्बुलेन्स सेवा आपत्कालीन अवस्थाका बिरामीका लागि केन्द्रित हुने उहाँले जानकारी दिनुभयो । चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पताल पु¥याउने व्यवस्था गरिएको उहाँको भनाई छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको छ ।
उहाँले भन्नुभयो, ‘ फिलिपिन्सको माकाती शहर भ्रमण गर्ने अवसर प्राप्त भयो । माकातीमा डाक्टरसहितको एम्बुलेन्स सेवा अत्यन्तै राम्रोसँग सञ्चालन भइरहेको रहेछ । ठ्याक्कै यस्तै सेवा त्यहाँ देखेपछि मलाई लाग्यो—हामीले पनि ललितपुर महानगरपालिकामा यस्तो सेवा किन शुरु नगर्ने ? त्यहाँबाट फर्किएपछि हामीले हाम्रा वडा अध्यक्ष साथीहरूसँग छलफल ग¥यौँ । यो सेवा शुरु गर्ने विषयमा सहमति भयो । यसका लागि केही समय लाग्यो तर हालै सम्पन्न हाम्रो नवौँ नगरसभाबाट यो प्रस्ताव करतल ध्वनिका साथ पारित भयो र आवश्यक बजेटको व्यवस्थापन पनि ग¥यौँ । नगरसभा असारमा सम्पन्न भएपछि श्रावण १ गतेदेखि नै सेवा शुरु गर्ने हाम्रो योजना थियो । तर यो काम सोचेजति सहज रहेनछ, यसका लागि धेरै तयारी र गृहकार्य गर्नुपर्ने रहेछ । हामीले शुरुमा सोचेजस्तो तयारी गर्न सकेनौँ । त्यसैले सेवा शुरु गर्नुअघि आवश्यक गृहकार्य गर्नुपर्ने कुरा महशुस भयो । हामीले एउटा कार्यविधि तयार ग¥यौँ र अब यही कार्यविधिलाई अक्षरशः पालना गर्दै सेवा सञ्चालन गर्नेछौँ । आजदेखि यही कार्यविधिअन्तर्गत हाम्रो डाक्टरसहितको एम्बुलेन्स सेवा औपचारिक रूपमा शुरु भएको छ । यो सेवा सञ्चालन गर्नु आफैँमा एउटा अत्यन्त चुनौतीपूर्ण काम हो। धेरै गाह्रो काम हो । पैसा भएर मात्र, जनशक्ति भएर मात्र यस्तो सेवा सहज रूपमा सञ्चालन गर्न सकिँदैन । सेवा सञ्चालनका क्रममा विभिन्न समस्या आउन सक्छन्, कमजोरीहरू देखिन सक्छन्, केही त्रुटिहरू हुन सक्छन् । तर काम नै नगरी त हामी कसरी सफल हुन सक्छौँ र ? त्यसैले आजदेखि हामीले यो सेवाको शुरुवात गरेका छौँ । अब काम गर्दै जाँदा जहाँ–जहाँ समस्या देखिन्छ, त्यहाँ सुधार गर्दै जानेछौँ ।’
एम्बुलेन्स सञ्चालनको लागि महानगरपालिका र  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको हो । एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ । बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको छ । नगरप्रमुख महर्जनले महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको बताउनु भयो ।