२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम घट्दै जाने बताएको छ ।
पछिल्लो केही दिनदेखि तराईलगायत देशभर तापक्रम उच्च रहेकाले जनजीवन कष्टकर बनेको थियो । तर आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत महसूस हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ ।
अहिले कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन फैलिएको भए पनि त्यो अझै पूर्ण सक्रिय भएको छैन । महाशाखाले देशभर मनसुन फैलिन अझै ५ देखि ७ दिन लाग्न सक्ने अनुमान गरेको छ ।
आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँका लागि वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने र विशेषगरी पहाडी तथा हिमाली भेगका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई फ्रान्सको पेरिसमा भएको ७७औं कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

आयोग स्रोतका अनुसार, मेयर र उनका सचिवालयका सदस्यको वैदेशिक भ्रमणका क्रममा भएको खर्चबारे प्रश्न उठाउँदै उजुरी परेपछि यसबारे प्रारम्भिक छानबिन गरिएको थियो ।त्यसक्रममा थप कैफियत देखिएपछि अनुसन्धान अघि बढाइएको आयोगका एक अधिकारीले बताउनु भएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०८२ मा समेत काठमाडौं महानगरले भ्रमण खर्चवापत ५२ लाख ५४ हजार ७७ रुपैयाँ बराबर खर्च गरेको देखिएको भन्दै अधिकांश भुक्तानी नियमसंगत नभएको उल्लेख गरेको थियो ।

स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ अनुसार कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र प्रथम श्रेणीबोहक अन्यको हकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ ।

स्रोतका अनुसार, आयोगले बयानका लागि महानगरका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकारलाई बोलाएको छ । आयोगका एक अधिकारीले भने तत्काललाई यो विषय मुद्दा चल्ने किमिसको नदेखिए पनि उनीहरुको बयानले थप विषयहरु निर्धारण हुने बताउनु भएको छ ।

आगामी तीन दिनसम्म अत्यावश्यक ड्राइभिङ लाइसेन्स छपाइको काम नहुने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक लाइसेन्स छपाइको काम बन्द गर्न लागिएको जानकारी दिएको हो ।

विभागका अनुसार तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीले २५ जेठ भन्दा अगाडि नै निवेदन पठाएर स्वीकृत गराइसक्नु पर्नेछ ।

यसअघि गत वैशाख अन्तिम सातामा पनि प्रिन्टरमा समस्या आउँदा एक हप्तासम्म लाइसेन्स छपाइको काम रोकिएको थियो । उक्त समस्या समाधान भएको एक महिना पनि नपुग्दै प्रिन्टर पुनः मर्मत गर्नुपर्ने अवस्था आएको हो ।

विपक्षी दलहरूले संसद्मा अवरोध कायमै राख्ने अडान नछाडेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि तोकिएको बैठक सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेपछि दिउँसो सवा ३ बजेसम्मका लागि सारिएको थियो ।

तर विपक्षी दल विशेषगरी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान छाडेन ।
सहमति नजुटेपछि संसद् सचिवालयले सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । हिजो पनि बैठक शुरू नै नभई आजसम्मका लागि स्थगित भएको थियो ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौथो बैठक अवरुद्ध भएको हो ।

 

सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा १हजार १ सय २० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा भेटिएको थियो ।

बरामद गाँजा १हजार १ सय २० किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिनु भएको ।

सुनसरीको हरिनगरा गाँउपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगर गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो । गाँजा बरामद भएको स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको कारागारमा थुनामा रहनु भएका राष्ट्रिय स्वतन्त्र रास्वपा पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं जान चाहेको इच्छा व्यक्त गर्नु भएको छ ।

लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं जान चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको बताएको छ ।जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गर्नु भएको जनाएको हो ।

यस अघि पनि लामिछानेलाई सरुवा हुन चाहे÷नचाहेको बारे सोधिएको थियो । त्यसबेला उनले आफूलाई रुपन्देहीमै ठिक भएको बताएका थिए ।आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।

विभागबाट निर्णय भएलगत्तै लामिछानेलाई डिल्लीबजार कारागार पठाइने बताइएको छ । डिल्लीबजार कारागार स्रोतले पनि पूर्वगृहमन्त्री समेत रहनु भएका लामिछाने सरुवा भएर आउने भएपछि बस्ने व्यवस्थाका लागि तयारी थालिएको बताएको छ ।

डिल्लीबजार कारागारमा अहिले ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङेले समेत कैद सजाय काटिरहेका छन् ।
लामिछानेलाई पनि मनाङ्गे रहेको ‘ख’ ब्लकमा राख्ने गरी तयारी गरिएको डिल्लीबजार कारागार स्रोत बताउँछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने हालसम्म लामिछानेलाई काठमाडौंमा ल्याउनेबारे निर्णय भइसकेको बताइएको ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २२ चैत २०८१ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
जिल्ला अदालतले १३ माघ २०८१ मा एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर गरेपछि लामिछाने काठमाडौंस्थित निवासबाटै पक्राउ पर्नुभएको थिए ।

सार्वजनिक यातायात व्यवासायी र संघीय सरकार बीच सात बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राति सवा ११ बजेसम्म बसेको बैठकले ७ बुँदे सहमति गरेको हो ।

सहमति अनुसार संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा नियमन गर्न बनेको नियमावली स्थगन गर्न सिफारिस गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वको वार्ता समितिले स्थगनको सिफारिस पठाउने भएको छ ।
संघीय सरकारको अनुरोधमा गण्डकी प्रदेशले नियमावली स्थगन गरेपछि मात्रै यातायात व्यवसायीको आन्दोलन टुंगिने भएको छ ।

समिति संयोजक कृष्णराज पन्तले कार्यदलमा भएको सहमतिलाई नेपाल सरकारले प्रदेशलाई अनुरोध गरेसँगै मात्रै आन्दोलन फिर्ता हुने बताउनु भएको छ ।
यातायात व्यवसायीले समितिमा सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगरेसम्म आन्दोलन फिर्ता नहुने अडान जारी राखेका छन् ।

यस्तै, गण्डकी प्रदेशले नियमावली फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने यातायात व्यवसायीहरुले बताएका छन ।  नियमावली स्थगनको पत्र आएपछि मात्रै व्यवसायीले सवारी साधन सञ्चालन गर्ने बताएका हुन ।

राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् ।

राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने बताउनु भएको छ ।
हिजो नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् ।
उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए ।
राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।

यो आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना नभएसम्म जारी रहने बताउदै आएका छन् ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।

दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।
कोशी र गण्डकीका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।मनसुनी प्रणाली अबको केही दिन कोशी प्रदेशबाट अघि नबढ्ने सङ्केत देखिएको मौसमविदले बताएका छन् ।

एक हप्तासम्म वर्षा कम र गर्मी धेरै हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ ।
तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।