पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा सम्पन्न हुन गैरहेको तेस्रो पर्वतीय खुला दौडको तयारी तिब्र पारिएको छ । प्रतियोगिताको पूर्वतयारी स्वरुप पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको आयोजकले जानाकारी दिएको छ । ८ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क ड्यामसाइडबाट सुरु भई रानीवन, शान्ति स्तुप, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’मा पुगेर छलफल कार्यक्रक्रम मा परिणत भएको थियो ।
उक्त छलफलकार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा पर्वतीय दौड प्रतियोगितालाई वडाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै भन्नुभयो ‘योजनाको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको र एडिबीको सहयोगमा पैदलमार्गसँगै विभिन्न स्थानमा प्रतिक्षालय, रेलिङलगायतका भौतिक संरचना निर्माण गरिने छ ।’ ड्यामसाइडदेखि पञ्चासेक्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म करिब ७ किलोमिटर पदमार्ग निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यस्ता गतिविधिबाट स्थानीय उत्पादन तथा वस्तुको समेत प्रवद्र्धन हुनेमा जोड दिनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका अधिकांश डाँडाकाँडा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएको बताउँदै गाउँ पर्यटनको विकासका लागि पदयात्रा र पर्वतीय दौडजस्ता गतिविधि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले आगामी दिनमा टुक्रे योजना र भौतिक पूर्वाधारभन्दा देखिने किसिमका कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमा जोड दिने नीति वोर्डको रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले पर्वतीय दौडले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । पुम्दीकोट कोट विकास समितिका कोषाध्यक्ष चण्डिका बरालले प्रतियोगितालाई सफल पार्न समिति आवश्यक समन्वय र सहयोगमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
ड्रिम सिटीका सञ्चालक युवा व्यवसायी राजु बरालले आफूहरूले करिब ३० जनालाई प्रत्यक्ष रोजगारी दिएर पुम्दीकोट आउने पर्यटकलाई थप केही घण्टा सो क्षेत्रमा रोक्ने वातावरण निर्माण गर्न आफूहरू सफल भएको बताउनुभयो । विभिन्न आकर्षण अवलोकनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क लिने गरिएको उहाँले जानकारी दिनुभयो । पोखरा–२२ पुम्दीकोटमा करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ड्रिम सिटीमा अम्ब्रेला पार्क, हट एयर बलुन फोटो बुथ, ग्लास स्काईवाक, पिङ, स्विङ तथा रेष्टुरेन्टलगायतका संरचना रहेका छन् । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमाल, फेवाताल, विश्वशान्ति स्तूप तथा कालावाङ घरेडी बुद्धपार्कलगायतका दृश्य अवलोकन गर्न सकिन्छ । कार्यक्रम संयोजक तथा पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दिननाथ बरालले असोज १० गते शनिबार आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारीस्वरूप हाइकिङ आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा खुलातर्फसहित विभिन्न छवटा इभेन्टमा प्रतिस्पर्धा हुने दौड पुम्दी–भुम्दी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यलाई जोड्दै विश्वशान्ति स्तूपबाट सुरु हुने मुख्य दौड विशाल महादेवको मूर्ति, पोखरा–२२ को वडा कार्यालय हुँदै कालाबाङ न्यालडाँडा हालै निर्माण भएको कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब ८ किलोमिटर दूरीमा सञ्चालन हुनेछ । गत वर्षको प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएका थिए । यस वर्ष पनि स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो ।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले प्राकृतिक सम्पदामा मात्र निर्भर भएर पर्यटन व्यवस्थापन गर्न कठिन हुने भएकाले दिगो रूपमा अगाडि बढाउन र नयाँ आयाम थप्न मानव निर्मित पर्यटकीय गन्तव्यसँगै हाइकिङ तथा पदमार्गलाई व्यवस्थित गरी प्रकृतिसँग पर्यटनका पाइला जोड्नै पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले पुम्दी–भुम्दी क्षेत्रलाई धार्मिक पर्यटनसँगै गाउँ पर्यटन, पदयात्रा, खेल पर्यटन र मनोरञ्जनको वैकल्पिक गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । हाइकिङ कार्यक्रमको उद्घाटन पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही र गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बरालले संयुक्त रूपमा गर्नुभएको थियो । हाईकिङ कार्यक्रमलाई सफल पार्न ड्रिम सिटि, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले सहयोग गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, होटल सङ्घ पोखराका लक्ष्मण सुवेदी, पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराई, पोखरा माहानगरपाकिला आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, हाईकर्स क्लवका अध्यक्ष कृष्ण रानाभाट, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर, ड्रिम सिटिका संचालक मध्यका एक श्याम कुमार बजगाई लगायत पर्यटनकर्मी, सञ्चारकर्मी तथा स्थानीयको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन भएको थियो ।
२०८३ भदौ ५
पोखरा । पोखराका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हिजोआज केवल पाठ्यपुस्तकका सिद्धान्तमा मात्रै सीमित छैनन् । उनीहरू देशको शासन व्यवस्था, संघीयताको मर्म र कानुन निर्माणको जटिल प्रक्रियाबारे पनि उत्तिकै घोत्लिन थालेका छन् । शुक्रबार पोखराको लेकसिटी कलेजमा देखिएको दृश्यले यही संकेत गथ्र्यो, जहाँ ८० जनाभन्दा बढी विद्यार्थीहरू संसदीय अभ्यास र खुलापनका विषयमा गम्भीर विमर्श गरिरहेका थिए ।
संसदीय पत्रकार मञ्च गण्डकीको आयोजना तथा लेकसिटी कलेज र प्रदेश सभा सचिवालयको सहकार्यमा भएको ‘युवा लक्षित संसदीय पहुँच’ कार्यक्रममा विद्यार्थीहरूले राज्य सञ्चालनका भित्री पाटाबारे जानकारी लिने मौका पाए ।
प्रदेश सभा सचिवालयका कानुन अधिकृत रामबहादुर थापाले जब नेपालको संघीय शासन प्रणाली र तीन तहको सरकारको कार्यक्षेत्रबारे चर्चा सुरु गरे, विद्यार्थीहरू निकै ध्यान दिएर सुनिरहेका देखिन्थे । थापाले संघीय संसद र प्रदेश सभाको क्षेत्राधिकार मात्रै केलाएनन्, संसदीय कार्यविधि र प्रदेश सभाका विभिन्न विषयगत समितिले कसरी काम गर्छन् भन्ने कुरा पनि छर्लंग पारे । प्रदेश सभामा हुने गतिविधि र कानुन निर्माणका चरणहरू बुझेपछि विद्यार्थीहरूमा थप जिज्ञासा पलाएको देखिन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा एमालेकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीले अहिलेको व्यवस्था ल्याउन पुराना राजनीतिक दलले गरेको ठूलो संघर्षको स्मरण गराइन् । उनले विद्यार्थीहरूलाई राजनीति र संसदीय अभ्यासमा चासो दिन आग्रह गर्दै भनिन्, ‘लामो संघर्षबाट प्राप्त यो शासन व्यवस्थामा हाम्रा जनप्रतिनिधिले के गरिरहेका छन् भनेर निगरानी गर्ने जिम्मा अब तपाईँहरूको काँधमा छ ।’
त्रिपाठीले सरकार बाटो बिराएको खण्डमा सचेत गराउने दायित्व सांसदको हुने र सांसदलाई खबरदारी गर्ने दायित्व सचेत नागरिकको हुने उल्लेख गरिन् । उनले संसदीय व्यवस्थामा प्रमुख सचेतकको भूमिका र यसको महत्वबारे पनि विद्यार्थीलाई बुझाइन् ।
अभिमुखीकरण सकिएलगत्तै सुरु भएको अन्तरक्रियामा पश्चिमाञ्चल माविका विद्यार्थी कुवेर पाण्डेले कानुन निर्माणमा हुने ढिलाइप्रति प्रश्न गरे । ‘कानुन बनाउन धेरै प्रक्रिया त पूरा गर्नुपर्ला, तर प्रदेश र प्रतिनिधि सभा किन यति धेरै अलमलमा परेका होलान् ?’ उनको यो प्रश्नले हलमा उपस्थित सबैको ध्यान तान्यो । पाण्डे मात्र होइन, अन्य विद्यालयका विद्यार्थीहरूले पनि संघीयताको औचित्य र यसको प्रभावकारी कार्यान्वयनबारे जिज्ञासा राखे । किताबमा पढेको संघीयता र व्यवहारमा देखिरहेको अभ्यासबीचको अन्तर बुझ्न उनीहरू निकै उत्सुक देखिन्थे ।
लेकसिटी कलेजका अध्यक्ष प्राध्यापक डाक्टर विश्वकल्याण पराजुलीले कलेजले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन स्थापनाकालदेखि नै यस्ता कार्यक्रम गर्दै आएको बताए । ‘जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेका छन् कि छैनन् भनेर हेर्न पनि यस्ता कार्यक्रमले विद्यार्थीलाई सहयोग पुर्याउँछ,’ उनले भने । कलेजले नियमित रूपमा ‘लेकसिटी कचहरी’ समेत सञ्चालन गर्दै आएको जानकारी उनले दिए ।
संसदीय पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक भरत कोइरालाका अनुसार मञ्चले युवाहरूलाई संसदीय प्रणालीसँग जोड्न निरन्तर काम गरिरहेको छ । यसअघि जनप्रिय कलेज र पश्चिमाञ्चल माविमा पनि यस्तै कार्यक्रम भइसकेका छन् । ‘भोलिको देश सम्हाल्ने भनेकै यी युवाले हो, त्यसैले उनीहरूलाई आजैदेखि संघीयता र संसदीय अभ्यासका बारेमा जानकार बनाउनु हाम्रो उद्देश्य हो,’ कोइरालाले बताए ।
कार्यक्रमको अन्त्यमा उत्प्रेरक उपेन्द्र पौडेलले युवाअवस्था करिअरका बारेमा हुने अलमलबाट कसरी उम्कने र उच्च शिक्षाका लागि कस्ता शैक्षिक संस्था रोज्ने भन्ने बारेमा उत्प्रेरण दिए ।
फेवा शिक्षा सदन, पश्चिमाञ्चल मावि, माउन्ट अन्नपूर्ण, न्यु ग्यालेक्सी र हिल प्वाइन्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूले यो अन्तरक्रियाबाट नयाँ अनुभव सँगालेका छन् । कार्यक्रममा लेकसिटी कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले विद्यार्थीलाई स्वागत गर्दै यस्ता छलफलले लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे । कक्षाकोठाको थ्योरीबाट बाहिर निस्केर संसदीय अभ्यासको अभ्यास बुझ्न पाउँदा विद्यार्थीहरू उत्साही देखिन्थे । उनीहरूको सक्रियताले भोलिको नेतृत्व थप सचेत र जिम्मेवार हुने आशा जगाएको छ ।
२०८३ भदौ ६ 
‘विद्यार्थी सचेत भए घर परिवार तथा समुदायमा सकारात्मक प्रभाव पर्ने देखियो,’ उनले भनिन्, ‘स्थानीय समुदाय सचेत र संगठित भएको डेंगी रोग रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी हुन्छ ।’ उनले पालिका, उपशाखा तथा विद्यालय स्तरमा सञ्जाल भएको रेडक्रसले युवा तथा जुनियर सर्कल मार्फत प्रभावकारी काम गर्न सक्ने जानकारी दिइन् ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले डेंगीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अन्तर सरकारी निकायको समन्वयमा जोड दिने बताए । डेंगीबाट बच्न लामखुट्टेबाट जोगिने र सरसफाइमा ध्यान दिन पर्ने उल्लेख गर्दै उनले डेंगीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
गण्डकी प्रादेशिक जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत समिक्षा गैरेले अहिलेसम्म गण्डकी प्रदेशमा १ हजार १० जना डेंगुबाट संक्रमित भएको जानकारी दिइन् । उनले सबभन्दा धेरै बागलुङमा ४ सय ७० र कास्कीमा २सय २२ संक्रमित भएको बताइन् । उनका अनुसार पोखरा महानगरमा २ सय १३ डेंगुबाट संक्रमित भएका छन् । वर्षातको मौसमको अन्त्यतिर डेंगीले महामारीको रुप लिने जानकारी दिदै उनले विशेष गरी भदौ, असोज र कात्तिक महिनामा डेंगी बढी देखिने बताइन् ।
रेडक्रस कास्कीका डेंगी रोग रोकथाम तथा नियन्त्रणका फोकल पर्सन नवराज भण्डारीले उनले रेडक्रसले ५ पालिकाका ४८ उपशाखा मार्फत वडा तथा समुदाय स्तरमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान गर्ने जानकारी दिए । विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमले समुदाय स्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले पर्चा पम्लेट वितरणका अलवा ठाउँ ठाउँमा हेल्प डेस्क राख्ने बताए । रेडक्रस कास्कीका उपसभापति रमा न्यौपाने कोइरालाले रेडक्रसको केन्द्रीय कार्यालयसँगको समन्वयमा सहयोगमा कास्की शाखाले डेंगी रोकथाम तथा नियन्त्रणको कार्यक्रम गर्ने जानकारी दिइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका निर्देशक पूजा कोइराला, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत तेजाखर लम्साल, मादी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बराल, नेपाल रेडक्रस सोसाइटी पोखरा, १७, १५, ८, ५, २ र ३का सभापतिहरु क्रमशः लक्ष्मी अधिकारी, शिवबहादुर भण्डारी, विष्णुप्रसाद बराल, कृष्णप्रसाद कोइराला, विन्दु शर्मा पराजुली, रेडक्रस सोसाइटी पोखरा २५का सचिव रमा त्रिपाठी लगायतले डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणको बारेमा बोलेका थिए ।
‘हप्ताको एक दिन, एक घण्टा हुदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको वासस्थान तथा लार्भा नष्ट’ भन्ने नाराका साथ डेंगी रोग रोकथाम तथा नियन्त्रणको कार्यक्रम भएको हो ।
२०८३ भदौ ६

जिल्ला अदालतको क्षतिग्रस्त भवन
पोखरा । ‘जेन्जी आन्दोलन’ का क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडले खण्डहर बनेको कास्की जिल्ला अदालत अब नयाँ स्वरूपमा तंग्रिने भएको छ । एकातिर सर्वोच्च अदालतले स्थायी भवनका लागि करोडौँको बजेट स्वीकृत गरेको छ भने अर्कोतिर भवन नबनुन्जेलका लागि पोखरा महानगरपालिकाले ‘स्टिल ट्रस्ट’को अस्थायी संरचना बनाइदिने भएको छ ।
भग्नावशेष र टेन्टमुनि बसेर न्याय सम्पादन गर्न बाध्य न्यायाधीश र कर्मचारीका लागि यो खबर राहत बनेर आएको छ । आन्दोलनकारीको आक्रोशको सिकार बनेको अदालतको मुख्य भवन अहिले पनि प्रयोगविहीन छ । स्रेस्तेदारको कार्यकक्षलाई इजलास बनाइएको छ भने कतै पहेंलो स्टिकर टाँसिएका जोखिमपूर्ण कोठामै सुनुवाइ भइरहेको छ । सुरुमा त अदालत परिसरमा टेन्ट टाँगेर फाँटको काम चलाइएको थियो । हाल जिल्ला बार एसोसिएसनको भवन र न्यायाधीशको आवासलाई समेत इजलासका रूपमा प्रयोग गरी जेनतेन काम चलाइएको छ । ८ वटा इजलास भएको यो अदालतमा अहिले भौतिक अभावकै कारण सबै न्यायाधीशले पूर्ण रूपमा काम गर्न सक्ने अवस्था छैन ।
अदालतको यो संकट टार्न पोखरा महानगरपालिकाले हात अगाडि बढाएको छ । मेयर धनराज आचार्यले निर्माणको काम तत्कालै सुरु हुने प्रतिबद्धता जनाइसकेका छन् । बिरामी भएर आराम गरिरहेका मेयर आचार्यले समाधानसँग भने, ‘मुद्दा मामिला पनि हाम्रे हुन, हाम्रो सहयोगले अदालतलाई सहज हुन्छ भने सहयोग गर्न तयार छौं भनेका हौं ।
महानगरका कानुनी सल्लाहकार सुकदेव गौतमका अनुसार वडा प्रहरी कार्यालय बैदामको पश्चिमतर्फ रहेको नगर विकास समितिको जग्गामा १६ वटा कोठासहितको अस्थायी संरचना बन्नेछ । यसमा ८ वटा इजलास र ८ वटा कार्यकक्ष (चेम्बर) हुनेछन् ।
‘यो दुई तलाको स्टिल बिल्डिङ हुनेछ,’ गौतमले भने, ‘नक्सा पास भएको १५–२० दिनमा काम सुरु हुन्छ र ५ महिनाभित्र हामीले हस्तान्तरण गर्ने सकिने प्राविधिकहरुले बताएका छन् ।’ अदालतको आफ्नै जग्गामा नयाँ स्थायी भवन निर्माण सुरु हुँदा इजलासहरू विस्थापित हुने भएपछि यो अस्थायी विकल्प खोजिएको हो । अदालतका प्रमुख न्यायाधीश हिमलाल बेलबासेले महानगरसँगको यो सहकार्यलाई ‘मौखिक सहमति’ भन्दै अगाडि बढाएका छन् । ‘हाम्रो भवन नबनुन्जेल हामी त्यहाँ बस्छौँ, भवन बनेपछि महानगरले नै सो संरचना प्रयोग गर्ने गरी सल्लाह भएको छ,’ बेलबासेले भने ।
फेवातालको ६५ मिटर मापदण्डको विषय पोखरामा सधैँ चर्चा र विवादको केन्द्रमा रहन्छ । प्रस्तावित अस्थायी भवन बन्ने जग्गा पनि तालकै आसपासमा पर्ने भएकाले केही सुरुवाती आशंकाहरू उब्जिएका थिए । तर, महानगरका कानुनी सल्लाहकार गौतमले तालको मापदण्ड मिचेर कुनै पनि संरचना नबन्ने प्रस्ट पारेका छन् ।
उनका अनुसार ६५ मिटरको दायराभन्दा बाहिरकै जमिनमा यो भवन निर्माण हुनेछ । ‘तालको मापदण्डभित्र हामी पनि बनाउन भन्दैनौँ, मापदण्ड बाहिर त सार्वजनिक सम्पत्तिको सदुपयोग गर्नुपर्यो,’ गौतमले भने । जिल्ला अदालतमा प्रधानन्यायाधीश मनोजकुमार शर्माको उपस्थितिमा भएको समन्वय बैठकमा कास्की बार पूर्व अध्यक्ष अधिवक्ता भगवती पहारीले फेवाको मापदण्ड मिचेर टहरा बनाउन नहुने भनाइ राखेकी थिइन् ।
अस्थायी व्यवस्थापनसँगै सर्वोच्च अदालतले कास्की जिल्ला अदालतको स्थायी भवनका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्ला न्यायााधीश बेलबासेका अनुसार अनुसार माटो परीक्षण र नक्सा निर्माणका लागि थप १५ लाख रुपैयाँ छुट्याइएको छ । चालु आर्थिक वर्षबाटै पुरानो भवन भत्काएर नयाँ निर्माणको प्रक्रिया सुरु हुनेछ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शुक्रबार पोखरामा आयोजित एक बैठकमा भवन निर्माण कार्यलाई जतिसक्दो छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । उनले महानगरले गर्न लागेको सहयोगप्रति आभार व्यक्त गर्दै फेवाको मापदण्ड छाडेर बनाइएको अस्थायी संरचनामै इजलाश सञ्चालन हुने विश्वास व्यक्त गरे ।
२०८३ भदौ ६
पोखरा । कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा सञ्चालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ ।
पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता सञ्चालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरािसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।
अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, सिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् । प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए ।
खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्रसमेत उपलब्ध गराउनु पर्ने आयोजकले बताएको छ । एउटा टिममा ८ जना खेलाडी र २ जना अफिसियल गरी १० जनाको सहभागिता रहने नियम बनाइएको छ ।
खेलाडीको विवरण फर्म दर्ता गरेपछि कुनै परिवर्तन गर्न नपाइने आयोजकको भनाइ छ । प्रतियोगिता मिडियामैत्री भएकाले पत्रकार वा सञ्चारकर्मी मात्र सहभागी हुनुपर्नेछ । यस प्रदेशको जुनसुकै जिल्लामा कार्यरत पत्रकार वा संचारकर्मीले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
बाहिरी जिल्लाबाट आउने खेलाडीका लागि आयोजकले २ छाक खाना र १ रात बस्ने व्यवस्था भएको श्रेष्ठले जानकारी दिएका छन् । खेल सुरु हुनु २ दिनअघि नै प्रत्यक्ष प्रसारणमार्फत ‘टाइसिट’ सार्वजनिक गरिनेछ । सहभागी टिमले खेल सुरु हुनु १ घण्टाअघि नै आयोजकलाई सम्पर्क गर्नुपर्ने र प्रतियोगितामा अनुशासन कायम गर्नुपर्ने नियम तय गरिएको आयोजकले जनाएको छ ।
भदौ ११ गते बिहान ११ बजेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।
प्रदेश सभा नियमावलीमा व्यवस्था भएबमोजिम मुख्यमन्त्रीसँगको प्रश्नोत्तरलाई प्राथमिकता दिइएको सचिवालयले जनाएको छ ।
यसका लागि भदौ ८ गते कार्यालय समयभित्र प्रश्न टिपाउन प्रदेश सभा सचिवालयले सांसदहरुका नाममा सूचना जारी गरेको छ । कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने भदौ ९ गते बस्ने भएको छ । भदौ ९ गते बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर थप कार्यसूची तय गरिने सचिव गोविन्द पौडेलले जानकारी दिए ।
भाद्र ५, २०८३
सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसासम्बन्धी घटनामा महिलाको कन्याजालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौनसम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ । २०८३ असार १८ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा यौन अपराधका मुद्दामा पीडितको ‘कौमार्य परीक्षण’ गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै कन्याजाली परीक्षणलाई फरेन्सिक प्रमाणको एउटा सीमित आशंकाका रूपमा मात्र ग्रहण गर्नुपर्ने महत्वपूर्ण सिद्धान्त प्रतिपादन गरिएको हो ।
बलात्कार पीडित १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण गर्दा कन्याजालीमा देखिएको घाउ लुकाएर ‘सामान्य’ प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका तत्कालीन दुई चिकित्सकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सर्वोच्चले यो दूरगामी फैसला सुनाएको हो । सार्वजनिक पूर्णपाठअनुसार अदालतले तत्कालीन मेडिकल अधिकृतद्वय डा. रम्भा गोइत र डा. विजयकुमार सिंहलाई पदको दुरुपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।
सर्वोच्चको फैसलामा कन्याजाली च्यातिएको वा त्यसमा पुरानो घाउ देखिँदैमा त्यसको निश्चित कारण, समय वा संलग्न व्यक्तिको पहिचान स्वतः स्थापित हुन नसक्ने उल्लेख छ । त्यस्तै, कन्याजाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमै यौनसम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने अदालतको ठहर छ । अदालतले यस्तो चिकित्सकीय निष्कर्षलाई पीडितको बयान, घटनाको प्रकृति, स्वास्थ्य परीक्षण गरिएको समयावधि, शरीरमा देखिएका अन्य चोटपटक तथा घटनासँग सम्बन्धित प्रत्यक्ष र परिस्थितिजन्य प्रमाणहरूसँग जोडेर समग्रतामा मूल्यांकन गर्नुपर्ने स्पष्ट पारेको छ ।
फैसलाको पूर्णपाठमा चिकित्सा विज्ञान र न्यायिक प्रक्रियामा लामो समयदेखि चल्दै आएको ‘कौमार्य परीक्षण’ को अवधारणामाथि गम्भीर प्रश्न उठाइएको छ । फरेन्सिक परीक्षणको उद्देश्य कुनै महिला वा बालिका ‘कुमारी’ हो वा होइन भनी जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट, जैविक संकेत र चिकित्सकीय तथ्यको वैज्ञानिक अभिलेखीकरण गर्नु मात्र भएको सर्वोच्चको निष्कर्ष छ । कन्याजालीको अवस्थालाई नै जबरजस्ती करणीको एक मात्र मानक बनाउँदा पीडितको व्यक्तिगत मर्यादा, गोपनीयता र चरित्रमाथि अनुचित आघात पुग्ने अदालतले औँल्याएको छ ।
यद्यपि, कन्याजाली बलात्कारको निर्णायक प्रमाण होइन भन्दैमा परीक्षणका क्रममा देखिएका वस्तुगत तथ्यलाई प्रतिवेदनमा उल्लेख नगर्ने छुट चिकित्सकलाई नहुने फैसलामा प्रस्ट पारिएको छ । चिकित्सकलाई आफ्नो विशेषज्ञता र अनुभवका आधारमा चिकित्सकीय राय दिने स्वतन्त्रता भएपनि परीक्षणमा देखिएको वास्तविक तथ्यलाई नै लुकाउने, गलत विवरण लेख्ने वा प्रतिवेदनलाई विकृत बनाउने अधिकार नहुने सर्वोच्चको ठहर छ । बालिकाको परीक्षण गर्दा कन्याजालीमा स्पष्ट रूपमा घाउ देखिएको अवस्थामा पनि त्यसलाई अनदेखा गरी ‘सामान्य’ भनी प्रतिवेदन दिनु पेशागत मतभिन्नता नभई अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने बदनियतपूर्ण कार्य भएको अदालतले स्पष्ट पारेको छ ।
यो फैसला २०७५ भदौ ८ गते धनुषामा भएको १२ वर्षीया बालिका बलात्कारको घटनासँग सम्बन्धित छ । घटनाको भोलिपल्ट जनकपुर अञ्चल अस्पतालमा डा. गोइत र डा. सिंहले स्वास्थ्य परीक्षण गरी बलात्कारका महत्वपूर्ण प्रमाण लुकाएर ११ दिनपछि मात्र प्रहरीलाई सामान्य अवस्थाको प्रतिवेदन दिएका थिए । पछि सिराहा जिल्ला अस्पतालमा गरिएको पुनः परीक्षण र नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले बालिकाको कन्याजालीको दुई स्थानमा पुरानो च्यातिएको घाउ रहेको तथा चिकित्सकहरूले न्युनतम आचरणविपरीत विवरण लुकाएको पुष्टि गरेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यसअघि विशेष अदालतले २०७६ पुस १ गते दुवै चिकित्सकलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गरेकोमा सर्वोच्चले कसुर सदर गर्दै सजायको मात्रा भने घटाएको थियो । दुवै चिकित्सक नियमित सेवाका मेडिकल अधिकृत रहेको, विशेषज्ञ नरहेको, नेपाल मेडिकल काउन्सिलबाट व्यावसायिक कारबाही भोगिसकेको र अन्य आपराधिक पृष्ठभूमि नदेखिएको आधारमा सजाय घटाइएको फैसलामा जनाइएको छ । आर्थिक लाभ वा घुस लिएको प्रत्यक्ष प्रमाण नभए पनि सार्वजनिक पदमा बसेर बदनियतपूर्वक गलत प्रतिवेदन तयार गर्नु भ्रष्टाचारको दायरामा आउने सर्वोच्चको व्याख्या छ ।
यौन हिंसाका घटनामा स्वास्थ्य परीक्षणलाई वैज्ञानिक, तथ्यपरक र मर्यादित बनाउन सर्वोच्च अदालतले सरकारका नाममा महत्वपूर्ण निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । अदालतले यौनजन्य अपराधका पीडितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्दै सूचित सहमतिका आधारमा आवश्यक परीक्षण मात्र गर्न निर्देशन दिएको छ । साथै, चिकित्सा कानूनी परीक्षण, नमूना संरक्षण, अभिलेखीकरण र प्रतिवेदन लेखनका लागि तत्काल स्पष्ट मानक कार्यविधि (क्इएक) र निर्देशिका निर्माण गरी कार्यान्वयन गर्न आदेश दिइएको छ । चिकित्सा शिक्षाको पाठ्यक्रममा फरेन्सिक मेडिसिनलाई प्रभावकारी बनाउन र सरकारी अस्पतालहरूमा आवश्यक पूर्वाधार, बजेट तथा विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ ।
सार्वजनिक भएको यो फैसलाको पूर्णपाठले महिलाको शारीरिक मर्यादा र आत्मसम्मानको संरक्षण गर्दै फरेन्सिक परीक्षणलाई ‘कौमार्यको परीक्षा’ बनाउने गलत अभ्यासको अन्त्य गरिदिएको छ । यसले न्यायिक प्रक्रियामा संवेदनशील प्रमाण मानिने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गर्दा चिकित्सकको जवाफदेहिता, वैज्ञानिक निष्पक्षता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ ।
भाद्र ६, २०८३ शनिबार
जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका गुठी संस्थानका अतिक्रमित जग्गा तथा पोखरीहरू खाली गराउने अभियान शुरु भएको छ ।
गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले शनिवारदेखि डोजर प्रयोग गरी अनधिकृत संरचनाहरू भत्काउन थालेको हो । पहिलो चरणमा पोखरीका डिलहरूलाई अतिक्रमणमुक्त बनाउने योजना अनुरूप जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित गिरनारी पोखरीबाट कार्य प्रारम्भ गरिएको छ । गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्यसचिव जनक पोखरेलकाअनुसार सोमबार जनकपुरका सातवटा पोखरीको अतिक्रमण हटाइनेछ । जसमा गोरधोई, विषहरा, रत्नसागर र दीर्घिका सर लगायतका पोखरीहरू समावेश छन् ।
सदस्य सचिव पोखरेलले गत साउन १ गते नै अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले सूचनामार्फत स्वतःस्फूर्त रूपमा संरचना हटाउन आग्रह गरेका थियौँ । केही व्यक्तिहरूले आफैँ हटाउनुभयो भने बाँकी रहेका ६५ वटा कच्ची तथा पक्की संरचनाहरू आज हटाइनेछ ।’
यो अभियान वि.सं. २०६२ मा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको हो । उक्त प्रतिवेदनमा पहिचान गरिएका ४९ वटा पोखरीमध्ये पहिलो चरणमा मुख्य पोखरीहरूलाई अतिक्रमणमुक्त गराइनेछ । समितिको कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्रकृतिका अतिक्रमित जग्गाहरू खाली गराइने वर्गीकरण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले संघीय सरकारको निर्णय र समन्वयमा यो अभियान अगाडि बढेको बताउनु भयो । उहाँले स्थानीय प्रशासन, मालपोत, नापी कार्यालय र उपमहानगरपालिकाको सहभागितामा समिति बनेको जानकारी दिँदै नागरिकहरूलाई सहयोग गर्न अपिल गर्नुभयो ।
नगर प्रमुख साहले भन्नुभयो, ‘२०४४ सालको नापीमा आफ्नो हकभोग प्रमाणित नभएका र गुठीको जग्गामा रहेका संरचनाहरू खाली गरी सरकारलाई सहयोग गर्न म सबैमा आग्रह गर्दछु ।’
अभियान अन्तर्गत जानकी मन्दिर, राम मन्दिर, रत्न सागर, गिरनारी कुटी जस्ता राज्य गुठी अन्तर्गतका महत्वपूर्ण क्षेत्रको जग्गा संरक्षणमा विशेष ध्यान दिइने बताइएको छ । सार्वजनिक र गुठीको सम्पती संरक्षण गर्ने उद्देश्यले शुरु गरिएको यो कार्यले जनकपुरको ऐतिहासिक र सांस्कृतिक स्वरूपलाई पुनस्र्थापना गर्ने विश्वास लिइएको छ ।
भाद्र ६, २०८३ शनिबार
पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृङ्खलाले घेरिएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६, अस्ताम गाउँ शुक्रवार एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुशी र कौतुहलता छायो भने अर्कोतिर वर्षौंदेखि थाती रहेका आधारभुत समस्याहरू प्रधानमन्त्रीसमक्ष पु¥याउने व्यग्र उत्कण्ठा देखियो । शुक्रवार बिहानैदेखि अस्तामको उकालो बाटोमा सुरक्षाकर्मीहरूको आवागमन बाक्लिएपछि मात्र स्थानीयले आफ्नै गाउँमा प्रधानमन्त्री आउँदै गरेको सुइँको पाएका थिए । स्थानीय बासिन्दाहरू आफ्ना घरआँगन र सडक छेउछाउ भेला भएर देशका कार्यकारी प्रमुखलाई प्रत्यक्ष देख्न र आफ्ना मनका कुरा सुनाउन व्यग्र प्रतिक्षा गरिरहेका थिए ।
प्रधानमन्त्री बालेन अस्तामको प्रसिद्ध ‘अन्नपूर्ण इको भिलेज’ मा बस्ने तालिका रहेको जानकारी पाएपछि स्थानीयहरू गाउँको मुहार फेरिने आशामा उत्साहित देखिए ।
बाटो छेउमा भेटिनुभएकी स्थानीय ज्ञानु अधिकारीले भन्नुभयो, ‘बिहान सुरक्षाकर्मी आएपछि मात्र थाहा भयो । पुराना दलहरूलाई वर्षौं भोट दियौँ तर केही भएन। अब नयाँ नेतृत्वले देश र जनताका लागि केही राम्रो गर्छन् कि भन्ने ठूलो आश छ । उहाँलाई गाडीबाटै भएपनि एक नजर देख्न पाउँ भनेर कुरिरहेका छौँ ।’
उहाँले नयाँ राजनीतिक दलहरुले राम्रो काम गर्नुपर्ने बताउनु भयो । अपराध गर्नेलाई विदेशमा जस्तै कडा भन्दा कडा कारबाही गर्नुपर्ने उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो, ‘पुरानालाई अब फालियो, नयाँहरुले राम्रो गर्नुहुन्छ कि भन्ने आशा छ । तर अपराध गर्नेलाई विदेशमा जस्तै कडाभन्दा कडा कारबाही गर्ने कानून बन्नुपर्छ ।’
अस्ताम गाउँ भौगोलिक रूपमा उच्च डाँडामा अवस्थित भएकाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिंचाइको अभाव हो । विश्वविद्यालयका प्राध्यापक तथा स्थानीय होटल व्यवसायीका अभिभावक नन्दलाल अधिकारीकाअनुसार यहाँका बहुसंख्यक बासिन्दाहरू किसान हुन् तर पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको छ ।
‘यो ठाउँ एकदम उच्च भागमा भएकाले मुख्य रूपमा खानेपानीकै ठूलो समस्या छ । हामीले पोखराको नजिकै भएर पनि सिंचाई अभावमा तरकारी खेती विस्तार गर्न सकेका छैनौँ । यदि सरकारले यहाँ व्यवस्थित खानेपानी र सिंचाई योजना ल्याइदिने हो भने कृषकहरूले उत्पादन गरेको ताजा तरकारी यहीँका होटल र नजिकैको पोखरा बजारमा सहजै बेचेर आत्मनिर्भर बन्न सक्छन् ।’ अधिकारीले स्पष्ट पार्नुभयो ।
खानेपानी नभएको ठाउँमा पानी बिना तरकारी खेती सम्भव नरहेको बताउनु भयो । उहाँले पोखराको नजिकै रहेकाले पानीको व्यवस्थापन भए कृषक आर्थिक रुपमा समृद्ध हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘खानेपानी त पुग्दैन भने पानी नभई तरकारी खेती सम्भव नै छैन । पोखराको नजिकै भएकाले यहाँ पानीको व्यवस्थापन भए कृषकहरू आर्थिक रूपमा समृद्ध बन्नेछन् ।’
पोखराबाट छोटो दूरीमै रहेको भएपनि अस्ताम पुग्ने मुख्य सडक अत्यन्तै कच्ची र अप्ठ्यारो अवस्थामा छ । स्थानीय रामप्रसाद अधिकारी र शोभाखर अधिकारीले सडक र पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
स्थानीय अधिकारीले भन्नुभयो, ‘हाम्रो मुख्य अपेक्षा भनेको बाटो नै हो । बर्खामा त पानीको जोहो हुन्छ तर हिउँदमा काकाकुल हुनुपर्छ । अप्ठ्यारो बाटोले गर्दा बिरामी पर्दा अस्पताल पु¥याउन समेत गाह्रो छ ।’
अर्का स्थानीय शोभाखर अधिकारीले भन्नुभयो, ‘अहिलेसम्म यहाँ कुनै प्रधानमन्त्री आउनुभएको थिएन । अहिले बालेनज्यू आउनुभएको छ, उहाँले हाम्रो यो अप्ठ्यारो बाटो कालोपत्रे गरिदिए र पानीको धारा जोडिदिए हामी गाउँलेको ठूलो कल्याण हुनेथियो । प्रधानमन्त्री हाम्रो गाउँमा आएर नजर राखिदिनुभएकोमा हामी ज्यादै खुशी छौँ । उहाँले हाम्रो बाटो र पानीको समस्या बुझेर काम गरिदिए हामी सधैँ आभारी रहनेछौँ ।’
अस्ताम केवल समस्याको गाउँ मात्र होइन, यो प्रकृतिको अनुपम वरदान पाएको स्वर्ग जस्तै पर्यटकीय गन्तव्य हो । यहाँबाट माछापुच्छ्रे हिमाल ऐनामा जस्तै छर्लङ्ग र नजिकै देखिन्छ । यसका साथै अन्नपूर्ण रेन्ज, मनास्लु रेन्ज र धौलागिरी हिमशृङ्खलालाई एकै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ । प्राध्यापक नन्दलाल अधिकारीकाअनुसार पोखरामा चर्को गर्मी हुँदा पनि अस्ताममा वर्षैभरि शीतल हावापानी रहने भएकाले यो विदेशी तथा आन्तरिक पर्यटकका लागि योग, ध्यान र प्रकृतिको आनन्द लिने उत्कृष्ट केन्द्र बनेको छ । यहाँ रहेका प्राकृतिक ओडार र गुफाहरूको संरक्षण गर्दै उच्च पर्वतीय खेलकुदको पूर्वाधार निर्माण गर्नसके यसले समग्र देशकै अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने स्थानीयको दृढ विश्वास छ ।
प्रधानमन्त्रीको भ्रमणमा विकास निर्माणका माग मात्र उठेनन्, गाउँले महिलाहरूले देशको शान्ति सुरक्षा र न्याय प्रणालीप्रति समेत गम्भीर चासो व्यक्त गरे । स्थानीय ज्ञानु अधिकारीले देशमा बढ्दो अपराध, बालिका तथा महिला हिंसाप्रति आक्रोश पोख्दै कडा कानुन कार्यान्वयनको माग गर्नुभयो ।
‘देशमा साना नानीहरूको बलात्कार र हत्या जस्ता जघन्य अपराध गर्नेहरूलाई जेलमा मात्र थुनेर पुग्दैन, विदेशमा जस्तै कठोरभन्दा कठोर सजाय दिने कानून बनोस् । बालेनज्यूबाट हामीले सुशासन र कानूनी कडाइको ठूलो आशा राखेका छौँ ।’ उहाँले भन्नुभयो ।
पोखराको काखमा रहेको अस्ताम गाउँले प्रधानमन्त्री बालेन्द्र साहको बसाइबाट नयाँ आशाको किरण देखेको छ । प्राकृतिक रूपमा धनी तर पूर्वाधारमा पछाडि परेको अस्तामबासीको यो आवाज–‘पानी, बाटो र न्याय’–सिंहदरबारको नीति तथा कार्यक्रममा कसरी प्रतिविम्बित हुन्छ, त्यो भने आगामी दिनमा प्रधानमन्त्रीको कदमले नै प्रष्ट पार्नेछ ।
भाद्र ५, २०८३ शुक्रबार
प्रधानमन्त्री बालेन्द्र साह शुक्रवार (आज) पोखरा भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्नुहुने कार्यक्रम तय भएको छ । पोखराबाट करिव साढे ४ किलोमिटरको दूरीमा अवस्थित उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ । प्रधानमन्त्री साहको यस भ्रमणको औपचारिक उद्देश्य र प्रयोजनबारे प्रधानमन्त्रीको कार्यालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।