कास्कीमा असार १ गतेदेखि ३ महिनासम्म नदी तथा खानीजन्य सामग्रीको उत्खनन, बिक्री र व्यवस्थापनमा रोक लगाइने भएको छ । ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ बमोजिम गठन भएको जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बुधबार बसेको बैठकले असार, साउन र भदौ महिनामा उत्खनन गर्न नपाइने व्यवस्था अनुसार उक्त निर्णय गरेको हो ।
समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारअन्तर्गतका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । उनले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन र प्रचलित कानुन बमोजिम मात्र गर्नुपर्ने बताए । उनले अवैध उत्खनन, अवैध संकलन तथा अनाधिकृत ओसारपसार पूर्णरूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरी प्रहरीमार्फत नियन्त्रणमा लिइने बताए ।
बैठकले नदी, खोला, वन क्षेत्र, खेतीयोग्य जमिन, विपद् जोखिम क्षेत्र तथा बस्तीमा वातावरणीय विनाश नहुने गरी मात्र उत्खनन कार्य व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ । स्थानीय तहहरूले नदीजन्य वस्तुको उत्खनन समय बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म तोक्ने र समयको पालना नभएका क्षेत्रमा अनुगमन गरी रोक लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । उत्खननबाट प्राप्त राजस्व गुम्न नदिन वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने र बिलबिजकविना कारोबार गर्न रोक लगाइने निर्णयसमेत गरिएको छ ।
बैठकले पालिकाहरूले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन र संकलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थानमा मात्र गर्नुपर्ने र कार्ययोजना तयार गरी गाउँ तथा नगरपालिकाबाट स्वीकृत गरेर मात्र कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको क्षेत्रमा स्वीकृत परिणामभन्दा बढी उत्खनन र संकलन हुन नदिन सम्बन्धित पालिकाले अनुगमन गर्ने र अभिलेख राख्ने व्यवस्था पनि गरिएको छ । उत्खनन, संकलन वा ढुवानीकर्ताले दैनिक अभिलेख तथा दैनिक पटके बिक्री र ढुवानी अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।
फेवातालको जलाधार क्षेत्रबाट कानुन विपरित ढुंगा, बालुवा तथा अन्य प्रकारका माटो खन्ने, झिक्ने वा ओसारपसार गर्ने कार्य रोक्न लगाउने र त्यस्तो कार्य भए कानुन बमोजिम कारबाही गर्न लेखी आएकोमा उल्लेखित कार्य पूर्ण रूपमा रोक लगाउने निर्णय भएको समितिका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (संशोधन सहित) को दफा ९ बमोजिम २०८३ साल असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य पूर्ण रूपमा रोक लगाइने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । नियमविपरीत कार्य भए तत्काल समितिलाई जानकारी दिन पनि अनुरोध गरिएको छ । त्यसैगरी, स्थानीय तहले ठेक्का लगाएका घाटहरूको तोकिएको म्याद समाप्त हुनुअघि नै उत्खनन कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ । म्यादभित्र उत्खनन सम्पन्न नभएमा सम्बन्धित पालिकाले जफत गरी प्रचलित कानुन बमोजिम लिलाम बिक्री गरी स्थानीय संचित कोषमा आम्दानी दाखिला गर्नुपर्ने निर्णय गरिएको छ ।
स्थानीय तहले ठेक्का लगाएका घाटहरूको सामग्री अन्यत्र स्टक राखिएको अवस्थामा म्यादभित्रै पालिकाले स्टक प्रमाणित गरी सो विवरण अनिवार्य रूपमा जिल्ला अनुगमन समितिमा पठाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
८ जेठ,
बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ । विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिए ।
उनका अनुसार पोखरा र भरतपुर आउने जाने यात्रुको संख्या ज्यादै न्यून हुनु, भाडा पनि बढ्नु, पोखरा–मुग्लिन सडकखण्ड राम्रो बन्नु जस्ता कारणले उडान रोक्नु परेको हो ।
पोखरा जाने वा चितवन आउने ग्रुपहरु भएमा उडान सक्ने गरी हाललाई सेवा रोकिएको स्टेशन म्यानेजर बस्नेतले बताए । ‘केही समय यतिकै पनि चलाइयो, तर सधैं जहाज खाली–खाली उडाउने कुरा पनि भएन,’ बस्नेतले भने, ‘…पोखरा र भरतपुर दुबै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई फोकस गरेर सञ्चालन गरिएको सेवा खासै राम्रो हुन सकेन ।’
चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरुको विशेष अनुरोधमा बुद्धले २०७४ भदौ ३० गतेदेखि भरतपुर पोखरा उडान गरेको थियो । बुद्धको जहाज कहिले भरतपुर आएर पोखरा त कहिले पोखराबाट भरतपुर आउने गरेको थियो ।
यसअघि, मुग्लिन नारायणगढ र आँबुखैरेनी पोखरा सडक विस्तारका कारणले भरतपुर–पोखरा आउन–जान असहज भएका बेला बुद्धले भरतपुरदेखि पोखरासम्म उडान गरेको थियो । तर, अहिले दुबै सडकखण्ड विस्तार भएकाले धेरैजसो मानिसहरु सडककै बाटो भएर यात्रा गर्न थालेका छन् । भरतपुरबाट पोखरा निजी सवारीमा साढे २ घण्टामा र सार्वजनिक सवारीमा ३ घण्टामा पुग्न सकिने भएको छ ।
पोखरा ।
गण्डकी मेडिकल कलेज जिएमसी मा पेट तथा कलेजो रोग विशेषज्ञ डा। शंकर बरालको नेतृत्वमा बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु गरिएको छ।
यो आधुनिक प्रविधिमार्फत पेट नचिरिकन मुखबाट ड्युडेनोस्कोपी प्रयोग गरी पित्त नली तथा प्यानक्रियाज नलीसम्बन्धी समस्याको उपचार गरिनेछ।
डा बरालका अनुसार, इआरसीपी सेवा जन्डिस, पित्त नली तथा प्यानक्रियाज क्यान्सर, साथै पित्त नली साँघुरिने समस्याबाट पीडित बिरामीका लागि प्रभावकारी हुनेछ। यसले ठूलो शल्यक्रियाको आवश्यकता घटाएर बिरामीलाई सहज र सुरक्षित उपचार उपलब्ध गराउने विश्वास गरिएको छ।
इआरसीपी सेवासँगै ग्यास्ट्रो विभागले थप आधुनिक उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ। ती सेवामा एपीसी इसोफेजियल कार्सिनोमा भएका बिरामीका लागि मेटालिक स्टेन्टिङ, नली साँघुरिएको भाग खोल्ने बेलुन डाइलेटेसन तथा पेटमा खाना खुवाउने नली राख्ने ‘पेग ट्युब प्लेसमेन्ट’ सेवा समावेश छन्।
यसैगरी, पोलिपेक्टोमी तथा भेरिसेस उपचारका लागि ग्लु इन्जेक्सन सेवा पनि उपलब्ध गराइएको जिएमसीले जनाएको छ।
जिएमसीका सिइओ डा। रविन्द्र श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा टुमाया घलेले यी सेवाबाट गण्डकी प्रदेशका पेट, आन्द्रा, प्यानक्रियाज तथा कलेजोसम्बन्धी रोगका बिरामीले आधुनिक र सहज उपचार सुविधा पाउने बताएका छन्।
उनीहरूका अनुसार अब उपचारका लागि बिरामीले देशका टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने र गण्डकी प्रदेशमै उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
जिएमसीले उपलब्ध गराएको इआरसीपीसहितका सेवा सरकारको स्वास्थ्य बीमा कार्यक्रम तथा भारतीय पेन्सनरअन्तर्गतको ईसीएचएस सेवामार्फत पनि उपलब्ध रहेको जनाएको छ।
पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले चालु आर्थिक वर्षमा मुख्य प्रकोप तथा विपद्का घटनामा १ सय २४ प्रभावितलाई राहत प्रदान गरेको छ । तीमध्ये सवभन्दा बढी यो वर्ष बाढी तथा पहिरोबाट प्रभावित ९० परिवारलाई राहत प्रदान गरेको रेडक्रस कास्कीका कोषाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनसिंह खड्काले जानकारी दिए ।
रेडक्रस कास्कीको आयोजना गरेको विपद् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी कार्यक्रममा कोषाध्यक्ष खड्काले चालु आर्थिक वर्षमा आगोलागी प्रभावित ६, चट्याङ ४, हावाहुरी १२, आन्दोलन प्रभावित १२ परिवारलाई राहात प्रदान गरेको बताए । ‘विपद्को अवस्थामा रेडक्रस कास्कीमा तत्काल १ सय प्रभावितलाई सहयोग गर्ने संस्थागत क्षमता छ,’ उनले भने, ‘अस्थायी आवासतर्फ १ सय परिवारलाई राख्न सक्ने टेन्टको क्षमता रहेको छ ।’ उनले कास्कीका ४८ उपशाखा मध्ये १२ उपशाखाले १० तथा १६ उपशाखाले ५ परिवारलाई राहत वितरण गर्ने क्षमता राख्ने जनाए ।
उनका अनुसार रेडक्रस कास्कीले हरेक वर्ष विपद् प्रभावितलाई तत्काल राहत सहयोग गर्छ । विपद् व्यवस्थापनका लागि पूर्व तयारी, न्यूनीकरण, विपद् प्रतिकार्य र उद्दार तथा राहात सेवा कायलाई रेडक्रसले अगाडी बढाएको हो रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितहरुको राहात तथा उद्दारको लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको उनले उल्लेख गरे । उनले प्राथमिक उपचार तालिम प्राप्त जनशक्ति सहित ८ सय स्वंय सेवक तयारी अवस्थामा राखेको बताए ।
कास्कीको मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले वडा स्तरमा विपद् व्यवस्थापन समिति गठन गरेर मनसुनजन्य विपद्को प्रतिकार्यको काम अगाडि बढाएको जानकारी दिए । उनले विपद् व्यवस्थापनको लागि बजेटको श्रोत सुनिश्चित गरेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वस्तुगत आधारमा विपद् व्यवस्थापनको लागि कार्ययोजना निर्माण गर्न आग्रह गरिन् ।
कार्यक्रममा रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको क्षेत्रलाई १० क्लष्टरमा विभाजन गरेर काम गर्ने जानकारी दिइन् । १० क्लष्टर मध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्य सामाग्री व्यवस्थापनको क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उनले एकद्धार प्रणालीबाट राहत वितरणको काम अगाडि बढाएको बताइन् । रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्माले सामाजिक संघ संस्थाको सहकार्यमा प्रभावितलाई उद्दार तथा राहत सेवा कार्य गरेको जानकारी दिए । रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले मनसुन जन्य विपद्को पूर्व तयारी र प्रतिकार्य योजना निर्माण गर्न, विपद् व्यवस्थापनका लागि समन्वय र सहकार्य गर्न र संस्थागत क्षमता विश्लेषण गर्न कार्यक्रम गरेको जाकारी दिए ।
कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति रमा कोइराला न्यौपाने, गैर सरकार संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कोषाध्यक्ष राजेन्द्र ओझा, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, पोखरा महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख किरण चौधरी लगायतले विपद् व्यवस्थापनको लागि दक्ष जनशक्ति,यन्त्र उपकरण तथा श्रोत र साधनको अभाव रहेको बताए ।
पोखरा ।
गण्डकी प्रदेश सरकारको आर्थिक अनुशासन कमजोर देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आठौं वार्षिक प्रतिवेदन अनुसार प्रदेशको बेरुजु २ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा गरिएको लेखापरीक्षणका क्रममा प्रदेशका विभिन्न मन्त्रालय र निकायहरूमा आर्थिक अनियमितता र प्रक्रिया नपु¥याई खर्च गर्ने प्रवृत्ति बढेको देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक श्यामप्रसाद भण्डारीले बिहीबार प्रदेश प्रमुख डिल्ली राज भट्ट समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरे । प्रतिवेदन ग्रहण गर्दै भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताए । उनले बेरुजु बढ्नु सुशासनका लागि ठूलो चुनौती भएको भन्दै सार्वजनिक सम्पत्तिको सदुपयोगमा सबै निकाय सजग हुनुपर्नेमा जोड दिए । ‘आर्थिक अनुशासन कायम गर्न राज्यका तीनै तह जिम्मेवार हुनुपर्छ र कर्मचारीहरू जवाफदेही बन्नुपर्छ,’ उनले भने । नेपालको संविधानको धारा २९४ (३) र लेखापरीक्षण ऐन २०७५ को प्रावधान अनुसार यो प्रतिवेदन प्रदेश प्रमुख समक्ष बुझाइएको हो ।
१ सय ८० निकायको ४१ अर्बभन्दा बढीको लेखापरीक्षण महालेखाले यो वर्ष गण्डकी प्रदेशका १ सय ८० वटा निकायको आर्थिक कारोबारको लेखापरीक्षण गरेको छ । जसमा १ सय ५९ वटा प्रदेश मन्त्रालय तथा सरकारी कार्यालय र २१ वटा समिति एवं अन्य संस्था छन् । ४१ अर्ब ४५ करोड ८१ लाख ३२ हजार रुपैयाँको लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
Advertisement
लेखापरीक्षण गरिएको कुल रकममध्ये मन्त्रालय तथा सरकारी कार्यालयहरूको हिस्सा ३७ अर्ब ३२ करोड ६६ लाख ७७ हजार रुपैयाँ छ । यस्तै समिति तथा अन्य संस्थाहरूको ४ अर्ब १३ करोड १४ लाख ५५ हजार रुपैयाँको लेखापरीक्षण गरिएको छ । कारोबारको प्रकृति हेर्दा विनियोजनतर्फ २२ अर्ब ४५ करोड ५० लाख ६७ हजार, राजस्व १० अर्ब ७५ करोड २४ लाख ४३ हजार, धरौटी २ अर्ब १३ करोड २ लाख ९ हजार र अन्य कारोबार १ अर्ब ९८ करोड ८९ लाख ५८ हजार रुपैयाँ छ ।
एकै वर्ष थपियो ५९ करोड बेरुजु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणबाट मात्रै ५९ करोड ५० लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो कुल लेखापरीक्षण अंकको १.४४ प्रतिशत हो । गत वर्षको तुलनामा यद्यपि कुल बेरुजु ५.०७ प्रतिशतले घटेको देखिए पनि नयाँ बेरुजु थपिने क्रम भने रोकिएको छैन ।
Advertisement
यस वर्ष देखिएको कुल बेरुजुमध्ये सरकारी कार्यालयहरूको मात्रै ५० करोड ७० लाख ८१ हजार रुपैयाँ छ भने समिति तथा अन्य संस्थाको ८ करोड ७९ लाख ३८ हजार रुपैयाँ रहेको छ । बेरुजुको वर्गीकरण गर्दा असुल गर्नुपर्ने रकम ४ करोड ३४ लाख ४१ हजार रुपैयाँ देखिएको छ । यस्तै नियमित गर्नुपर्ने बेरुजु ४९ करोड ६९ लाख ३९ हजार रुपैयाँ छ भने पेस्की बाँकी ५ करोड ४६ लाख ३९ हजार रुपैयाँ रहेको प्रतिवेदनले देखाएको छ ।
भौतिक पूर्वाधारको सबैभन्दा बढी मन्त्रालयगत रुपमा हेर्दा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सबैभन्दा बढी बेरुजु निकाल्ने निकाय बनेको छ । प्रदेशको कुल बेरुजुमध्ये यसै मन्त्रालयको मात्रै ५७.२९ प्रतिशत हिस्सा छ । यस्तै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको २९.११ प्रतिशत, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको ६.७१ प्रतिशत र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको २.३६ प्रतिशत बेरुजु रहेको छ ।
आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बेरुजु भने तुलनात्मक रुपमा कम छ । प्रदेश नीति तथा योजना आयोग, लोक सेवा आयोग र प्रदेश सभा सचिवालयमा भने बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ । भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयमा ठूला ठेक्कापट्टा र निर्माणका काम हुने भएकाले त्यहाँ आर्थिक अनुशासनको पालना कमजोर देखिएको विश्लेषण गरिएको छ ।
राजश्वमा कमजोर गण्डकी प्रदेश सरकारले यो वर्ष राजस्व संकलनमा पनि लक्ष्य भेटाउन सकेको छैन । १५ अर्ब २६ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १२ अर्ब ४४ करोड २३ लाख ५७ हजार रुपैयाँ मात्र असुली भएको छ । यो लक्ष्यको ८१.५२ प्रतिशत मात्र हो । कर राजस्वबाट १० अर्ब ५४ करोड ७० लाख ३७ हजार र गैरकर राजस्वबाट १ अर्ब ७४ करोड १४ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ ।
बजेट कार्यान्वयनतर्फ प्रदेश सरकारले २२ अर्ब ८९ करोड २२ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ । यो संशोधित बजेटको ६९.४१ प्रतिशत हो । जसमा चालु खर्च ७ अर्ब ९० करोड १३ लाख र पुँजीगत खर्च १४ अर्ब ९९ करोड ९ लाख रुपैयाँ छ । बजेटको ठूलो हिस्सा अन्तिम समयमा आएर मात्र खर्च गर्ने प्रवृत्ति अझै कायम रहेको प्रतिवेदनले औंल्याएको छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानमा पनि गण्डकी प्रदेशको निर्भरता उच्च देखिएको छ । कुल खर्चको ४१.४७ प्रतिशत हिस्सा संघीय सरकारको अनुदानले ओगटेको छ भने प्रदेशको आन्तरिक राजस्वको हिस्सा ५८.५३ प्रतिशत छ ।
४ अर्ब ४१ करोडको लेखापरीक्षण नै भएन प्रतिवेदनले अर्को गम्भीर पक्ष पनि सार्वजनिक गरेको छ । कुल ४ अर्ब ४१ करोड ११ लाख ३५ हजार रुपैयाँको लेखापरीक्षण नै हुन सकेको छैन । २०८२ भदौमा भएको आन्दोलन र विभिन्न घटनाका कारण ७ वटा कार्यालयको स्रेस्ता र कागजात पेस नहुँदा यति ठूलो रकमको लेखापरीक्षण हुन नसकेको हो । यस्तै समिति तथा अन्य संस्थाहरूको पनि स्रेस्ता पेस नभएका कारण २ अर्ब १७ करोड ८१ लाख ९५ हजार रुपैयाँ लेखापरीक्षण अंकमा समावेश गरिएको छैन ।
महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकार र सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न विभिन्न सुझावहरू दिएको छ । प्रतिवेदनमा औंल्याइएका बेरुजुहरू असुल उपर गर्न र आर्थिक कार्यविधि अनुसार कारोबार गर्न निर्देशन दिइएको छ । यो प्रतिवेदन अब मुख्यमन्त्रीमार्फत् प्रदेश सभामा पेस भई त्यहाँको सार्वजनिक लेखा समितिमा विस्तृत छलफल हुनेछ ।
नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक केही बेरमा बस्दैछ । ४ दिनअघिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्यविभाजन प्रस्ताव गरेका थिए । मङ्सिरमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी छ ।
तर, ओलीको प्रस्तावलाई लिएर नेताहरू असन्तुष्ट सुनिएका छन् । केही नेताले त सामाजिक सञ्जालमा समेत असन्तोष व्यक्त गरेका छन् । अध्यक्षको प्रस्तावमा आजको बैठकमा कसरी अघि बढ्ने रणनीति बनाइरहेको एक पदाधिकारीले बताए ।
‘अध्यक्षले एकपक्षीय रूपमा ल्याउनुभएको छ, कसैलाई दोहोरोतेहेरो जिम्मेवारी छ, कसैलाई वास्ता गरिएको छैन, उहाँको आलोचना गर्नेलाई बाइपास गरेको देखिन्छ, कसरी जाने भन्नेबारे सल्लाह हुँदैछ’ उनले भने ।
पार्टी पुनर्गठनको कुरा उठिरहँदा नयाँ ढंगले अघि बढ्नुपर्ने दबाबसहित कार्यविभाजनलाई अहिले थाती राख्नुपर्ने उनीहरुको तर्क छ ।
सचिवालय बैठकबाट अनुमोदनका लागि प्रस्तावित प्रदेश इञ्चार्जदेखि जिल्ला इञ्चार्जसम्म अध्यक्ष ओली इतरबाट कोही नपरेको असन्तुष्ट पक्षको गुनासो छ । एक प्रदेशमा सबभन्दा कनिष्ठ केन्द्रीय सदस्य र अर्को प्रदेशमा एकै व्यक्तिलाई तीन पदसम्म दिइएकाले पनि यो व्यवहारिक नभएकाले प्रतिवाद गर्नुको विकल्प नरहेको नेताहरूले बताएका छन् ।
प्राप्त विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा दामोदर भण्डारी इञ्चार्जमा प्रस्तावित छन् । त्यहाँ उनीभन्दा अरू थुप्रै वरिष्ठ केन्द्रीय सदस्य छन् । भण्डारी १० औँ महाधिवेशनपछि केन्द्रीय सदस्य मनोनीत भएका हुन् । त्यहाँ पार्टी उपमहासचिव लेखराज भट्ट, आठौँका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना, पोलिटब्युरो सदस्य भइसकेका कर्णबहादुर थापा, लालबहादुर थापाहरु प्रदेश इञ्चार्जका रूपमा छनौटमा भएनन् । भण्डारीसँगैका अन्य केन्द्रीय सदस्यले जिल्ला इञ्चार्ज पनि पाउन सकेका छैनन् ।
कर्णाली प्रदेशको इञ्चार्जमा यामलाल कँडेल प्रस्तावित छन् । उनी मुख्यमन्त्री र पार्टीको केन्द्रीय सचिवसमेतको जिम्मेवारीमा छन् । उनीभन्दा अगाडिका प्रदेश इञ्चार्ज गोरख बोगटी थिए । एक नेताका अनुसार मान्छे नै नपाएर एकै व्यक्तिलाई तीन जिम्मेवारी बोकाइएको होइन । उक्त प्रदेशबाट नवौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका राजबहादुर बुढा, सोही कार्यकालमा मनोनीत निरज आचार्य, विष्णु रिजालसहितका नेता छन् ।
कोशी प्रदेशको इञ्चार्जमा पुनः शेरधन राई प्रस्तावित छन् । उनी ११ औँ महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटीको सचिव निर्वाचित भएका थिए । प्रस्तावित कार्यविभाजनमा उनले दुई जिम्मेवारी पाएका छन् । कोशी प्रदेशका बहुसंख्यक केन्द्रीय सदस्यले मुख्यमन्त्रीसमेत रहेका सचिव हिक्मत कार्कीलाई इञ्चार्ज बनाउन अध्यक्ष ओलीसमक्ष सिफारिस गरेका थिए । त्यस्तो सिफारिस सुनेर ओलीले ‘एउटालाई तीनवटा पद कसरी हुन्छ ?’ भनेका थिए ।
तर, कर्णालीबाट मुख्यमन्त्री एवं पार्टी सचिव नै इञ्चार्ज प्रस्तावित छन् । अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेशको इञ्चार्ज रहेकी पद्मा अर्याललाई यस पटक त्यस्तो जिम्मेवारी दिइएन । उनी प्रतिनिधिसभा सदस्य एवं पार्टीकी केन्द्रीय सचिव पनि हुन् । लुम्बिनीमा छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ । मधेश इञ्चार्जमा लीलानाथ श्रेष्ठ प्रस्तावित छन् । बागमतीमा महेश बस्नेत र उपत्यकामा डा. राजन भट्टराई इञ्चार्जमा प्रस्तावित छन् ।
गण्डकी प्रदेशको इञ्चार्ज प्रस्तावित खगराज अधिकारीबारे खासै प्रश्न उठेको छैन । उक्त प्रदेशका जिल्लामध्ये बाग्लुङमा मना केशी, पर्वतमा पदम गिरी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, लमजुङमा जमिन्द्रमान घले, तनहुँमा भगवती न्यौपाने र स्याङ्जामा सीमा क्षेत्री जिल्ला इञ्चार्ज प्रस्तावित छन् । कास्की इञ्चार्जका दावेदार रश्मि आचार्यले अन्य जिम्मेवारी पाएका छन् ।
यता प्रेस चौतारीमा नेतृत्वको विवाद भइरहँदा यसको जिम्मेवारी लिन नेताहरू आकांक्षी देखिएका छैनन् । प्रचार विभागको जिम्मेवारी दिइए पनि चौतारीको इन्चार्ज कसैलाई नदिइएको संगठनका एक पदाधिकारीले जनाए ।
अध्यक्षको प्रतावित कार्यविभाजनको असन्तुष्ट पदाधिकारीले खुलेर विरोध गर्न नसके पनि एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत् बास्कोटाले उस्तै उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि राखिएको टिप्पणी गरेका छन् । आफूले जिम्मेवारी नमागेको, सुनेपछि लागेको कुरा भनेको उनको प्रष्टोक्ति छ । बास्कोटालाई भूमि व्यवस्था विभाग प्रमुखमा प्रस्ताव गरिएको छ । उनले कामकाजी नहुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? भन्दै प्रश्न सोधेका छन् ।
एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू अध्यक्ष ओलीले मार्गप्रशस्त गर्ने लाइनमा उभिएपछि उनले नयाँ रणनीति बनाएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गराएर त्यो समूहका नेताहरुलाई हात लिन खोजेको आन्तरिक आँकलन छ ।
पोखरा ।
नेकपा एमालेले गण्डकीमा दलको उपनेता चयन गरेको छ । दलका नेता खगराज अधिकारीले बागलुङका लीलबहादुर थापालाई उपनेता नियुक्त गरेका हुन् ।
यसैगरी, प्रमुख सचेतकमा यस अघिकी सचेतक देवका पहारीलाई नियुक्त गरिएको छ ।
प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री बनेपछि रिक्त पदमा पहारीलाई जिम्मा दिइएको हो । सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् ।
७ जेठ,
बाजुरामा सीमा विवादको विषयलाई लिएर पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्प हिँडेको टोली फर्किएको छ ।
‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प गइरहको थियो ।
तर, बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा एक समूहले मेयर हमाल नेतृत्वको टोलीलाई अघि बढ्न दिएन । ढुंगामुढा गर्दै उनीहरु आक्रमणमा उत्रिएपछि पर्यटन प्रवर्द्धनका लागि पुगेका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाले भागेर ज्यान जोगाए ।
झन्डै तीन सयको संख्यामा रहेका हुम्लाको खार्पुुनाथ गाउँपालिका–२ थालीका स्थानीयले ढुुंगामुढा गरेपछि भ्रमणमा हिँडेकाहरु भागिरहेको दृष्य सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ ।
थालीका बासिन्दाले विगतदेखि नै लाम्पाटा क्षेत्रमा दाबी गर्दै आएका थिए । सोही कारण त्यहाँ विवाद थियो ।
सुदूूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेपछि थप विवाद बढेको थियो । कुनै पनि हालतमा प्रहरी चौकी निर्माण गर्न नदिने अडानमा खार्पुनाथका बासिन्दा थिए । धनगढीबाट टोली आउँदैछ भन्ने थाहा पाएपछि स्थानीयबासिन्दा त्यहाँ जम्मा भएको पाइएको छ ।
वडा सदस्यको परिवारमाथि मरणासन्न हुनेगरी कुटपिट
हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका थिए । त्यसपछि उनी हुम्लाको खार्पुनाथको थाली गाउँको नजरमा परे ।
लाम्पाटा क्षेत्र आफ्नो दाबी गर्दै आएका थालीपासीको योजनामा गुरुङको परिवारमाथि आक्रमण गरिएको स्थानीय बताउँछन् ।
२ जेठदेखि नै दुई जिल्लाको सीमामा पर्ने लाम्पाटास्थित वडा सदस्यको घरमा उनीहरु जम्मा भएका थिए । प्रहरी चौकी बनाउन जग्गा दिएको निहुँमा उनीहरुले ३ जेठमा गुरुङको घरमा आक्रमण गरेका थिए । गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङलाई घरमै कुटपिट गरिएको थियो ।
यो पनि पढ्नुहोस
हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा सदस्यको परिवारमाथि कुटपिट गर्दै घर कब्जा गरी लुटपाट समेत गरेको पाइएको बताए ।
सोही क्रममा हिमालीका प्रमुुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि पनि आक्रमण भएको उनी बताउँछन् । तर, सञ्चार सम्पर्क नभएका कारण त्यहाँको वस्तुस्थितिबारे यथेष्ट सूचना प्राप्त गर्न सकिएको थिएन ।
धनगढीका मेयर हमालसहितको टोलीलाई साइपाल लैजान सहजीकरण गरेका अध्यक्ष मल्लले प्रहरी प्रशासनले समेत पर्याप्त सूचना नदिएपछि दोस्रो आक्रमणको स्थिति बनेको सुनाए ।
‘त्यहाँ पहिले नै वडा सदस्यको परिवारलाई कुटपिट गरेर हुुम्लाको खार्पुुनाथका स्थानीयले नियन्त्रणमा लिइसकेका रहेछन् । जिल्लाका प्रहरी प्रमुखलाई बुझ्दा घटना समान्य हो । साम्य भइसक्यो भन्नुभयो,’ अध्यक्ष मल्लले अनलाइनखबरसँग भने, ‘त्यसपछि धनगढीको टोली अघि बढेको हो । तर त्यहाँ पुग्दा अवस्था अर्कै देखियो । बल्लतल्ल ज्यान जोगाएर फर्कियौँ ।’
उनका भनाइमा लाम्पाटा पुुगेपछि मात्र वडा सदस्यको परिवारलाई मरणासन्न हुने गरी कुटपिट भएको थाहा भएको थियो । धनगढीको टोली पुगेपछि मात्र उनीहरु आक्रोशित समूहको नियन्त्रणबाट मुुक्त भएका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्युनिकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा राख्नुभएको हो । उहाँले विपदको समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो । यस्ता जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद व्यवस्थापन र न्युनिकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभयो । नेपालको पर्यटकीय राजधानी पोखरा तालैतालको शहरका रूपमा परिचित रहेको स्मरण गराउँदै मुख्यमन्त्रीले यहाँका तालहरूले पर्यटन र आर्थिक गतिविधिमा ठूलो योगदान पु¥याएको बताउनु भयो । साथै पर्यटकीय क्षेत्रमा हुने सम्भावित दुर्घटनाहरू रोक्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमता अभिवृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, भौगोलिक बनावटका कारण त्यति नै संवेदनशील पनि छ । विविध भूगोल, नदी र तालतलैयाका कारण यहाँ बर्सेनि बाढी, पहिरो, डुबान र हावाहुरी जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्दो छ ।’
सम्भावित विपद्को समयमा तत्काल उद्धार कार्यमा खटिने सुरक्षा निकाय र सरोकारवालाहरूको मनोबल उच्च बनाउन यस्ता कृत्रिम अभ्यासहरू प्रभावकारी हुने उहाँको विश्वास छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको शान्ति सम्झौताका लागि भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले दुवै पक्ष सैन्य कारबाहीलाई निरन्तरता दिन इच्छुक नरहेको उल्लेख गर्नुभयो । भान्सकाअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम अमेरिकाले इमानदारीपूर्वक वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ । उपराष्ट्रपति भान्सले वार्ता सफल नभएमा विकल्प बी समेत तयार रहेको चेतावनी दिनुभयो । वार्ताको मुख्य एजेण्डाबारे प्रष्ट पार्दै भान्सले इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाउने अमेरिकी अडान दोहो¥याउनु भयो । रुसले इरानको संवर्धित युरेनियम आफ्नो नियन्त्रणमा लिने भनी सार्वजनिक भएका केही प्रतिवेदनहरूलाई भान्सले अस्वीकार गर्नुभएको छ । उहाँले यस्तो विषय अमेरिकी सरकारको हालको योजनामा नरहेको र इरानी पक्षले पनि यसमा चासो नदेखाएको प्रष्ट पार्नुभयो । यसअघि मंगलवार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको मध्यस्थतामा भइरहेको वार्तामा प्रगति भएको जानकारी खाडी क्षेत्रका सहयोगी मुलुकहरूबाट प्राप्त भएको बताउनुभएको थियो । वार्तालाई तार्किक निष्कर्षमा पु¥याउनका लागि ट्रम्पले थप दुई देखि तीन दिनको समय उपलब्ध गराउनुभएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले मंगलबारका लागि तय गरिएको इरानविरुद्धको सैन्य आक्रमणको योजनालाई स्थगित गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।