२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटाले संक्रमणकालीन न्यायसम्बन्धि थाँति रहेका काम छिटो टुंगो लगाउन सरकारसँग आग्रह गर्नुभएको छ ।  बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बास्कोटाले संक्रमणकालीन न्याय निरुपण लगायतका मानव अधिकारसँग सम्बन्धित थाँति रहेका सबै कामहरु सम्पन्न गर्न सरकारलाई सचेत गराउनुभएको हो । उहाँले उक्त कामलाई सम्पन्न गर्नका लागि कानूनमा सुधार ल्याउने काममा समितिले संयोजनकारी भुमिका निर्वाह गर्न तयार रहेको पनि बताउनु भयो । सरोकारवालाहरुसँग बसेर संक्रमणकालीन न्याय निरुपणमा देखिएका समस्या समाधान हुनेगरी कानून निर्माण गर्ने काम समिति लागिपर्ने सभापति बास्कोटाको प्रतिवद्धता छ । उहाँले सरकारले संक्रमणकालीन न्याय निरुपणका लागि प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई छिटो निष्कर्षमा पु¥याउनुपर्ने बताउनु भयो ।   सभापति बास्कोटाले भन्नुभयो,‘हामीले विभिन्न मानव अधिकारमा हाम्रो कमिटमेन्ट हन्ड्रेड पर्सेन्ट हो । विभिन्न टाईमदेखि मानव अधिकारका विषयहरु थाँति रहेका छन् । चाहे त्यो सत्य निरुपणको विषय होला, चाहे त्यो बेपत्ता पारिएका विषय होला । त्यो सबैलाई अहिलेको सरकारले टुंगो लगाएर जान सकेन भने अब कुनैपनि सरकारले टुंगो लगाउन सक्दैन । त्यसमा हाम्रो हन्ड्रेट पर्सेन्ट कमिटमेन्ट गोभरर्मेन्टको तर्फबाट, कानून मन्त्रालयको तर्फबाट पनि त्यो लेवलको कमिटमेन्ट आएको छ । लहरुमा प्रबलम छ । त्यसमा हामी सोलुशन बेस पोलिटिक्स गर्न चाहन्छौँ । के हो त सोलुशन ? त्यसमा काम गर्न चाहन्छौँ । केही साथीहरुलाई मेले यहीबाट जानकारी पनि गराएँ–कानून, न्याय तथा मानव अधिकार समितिमा धेरै विकास साझेदारका साथीहरु आउनुहुन्छ । र विभिन्न फोरमहरुमा आएर पोलिसीमा सुधार गरौँ भनेर भन्नुहुन्छ । मैले आएदेखि यो समितिको हल छ । त्यसमा हामी सम्बन्धित पक्षसँग छलफल गर्न तयार छौँ । हामी तपाईहरुलाई नै इन्भाईट गरेर कहाँ कहाँ समस्या छन्, समाधान गरौँ । हाम्रो कानून निर्माण गर्न आएको हौँ । त्यसमा काम गर्छौं ।’ सभापति बास्कोटाले मुलुकमा विद्यमान समस्याहरुलाई सम्बोधन हुनेगरी कानून निर्माण गर्ने काममा आफूहरु लागि परेको जिकिर पनि गर्नुभयो 

पार्टी परित्याग गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा आफूपक्षीय नेता कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै जबराले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई सही दिशा र एजेण्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गरेको भएपनि पार्टी नेतृत्व नै वाधक भएर उभिएको आरोप पनि लगाउनु भयो । उहाँले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको आरोप पनि लगाउनु भयो । उहाँले पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेण्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा शुरु गर्नुपर्ने निष्कर्षमा पुगेको बताउनु भयो । डा. जबराले राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’सँग तुलना गर्दै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको बताउनु भयो । 
उहाँहरुले भन्नुभयो, ‘पाँच वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौँ । तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो । त्यो सुखको दिन होइन दुःखको दिन हो आज । तर आफ्नो राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ । मक्किसकेको, चर्किसकेको त्यो गाडी होस् वा घर होस् हिम्मत गरेर अर्को बनाउने जमर्को गर्नुपर्छ । त्यही जमर्कोमा आज हामीहरु लागेका छौँ । यो चार वर्ष मेरो राजनीतिक जीवनको सबैभन्दा दुःखी भयो । मैले राप्रपालाई सही र एजेण्डा प्राप्तिकबो बाटोमा लग्न खाजेको थिएन कि ? आन्दोलनको नेतृत्व गरेको थिएन कि ? पार्टीलाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिइन कि, तर ती सबै मेरा प्रयासहरुलाई अगाडि बढ्न दिएनन् ।’ महामन्त्री डा. राणाको नेतृत्वमा एक सय ८३ जना नेताहरुले राप्रपाबाट सामूहिक राजीनामा घोषणा गरेका छन् । राणापक्षीय नेताहरुले बिहीवार काठमाडौंमा एउटा भेला गरी यस्तो घोषण गरेका हुन् ।

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ ।  मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सतकर्ता अपनाउन आग्रह गर्नुभयो । उहाँले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरुमा जोखिम न्युनिकरण गर्न सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी बताउनु भयो । उहाँले तातो लहर (लू)बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिनुभयो । डा. अधिकारीले तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्नसक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताउनु भयो । उहाँले तातो लहरको जोखिमबाट बच्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मनसुन शुरु भएसँगै हामी तातो हावाको जोखिममा पर्नसक्ने पूर्वानुमान समेत आइरहेका छन् । तापलहर (लू)को जोखिमबाट बँच्नको लागि हामी सबै आआफ्नो ठाउँबाट पूर्वतयारी गर्नुपर्ने छ । यसको लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गरिरहेको छ । हामीले ‘हिट वेभ’को सम्बन्धमा हामी अलि बढी तापक्रम हुने ठाउँमा बस्ने नागरिकले अलि बढी ध्यान दिनुपर्छ ।  हामीले आफ्नो दैनिकीमा गर्ने कामहरुमा पनि त्यहीअनुसारको तादम्यता मिलाउनुपर्ने हुन्छ । हामीले दिउँसो काम गर्दै आएका छौँ भने तापक्रम बढेको समयमा बिहान वा साँझको समयमा काम गर्ने, दिउँसोको समयमा घरमै बस्ने, झोलिलो खानेकुरा खाने, त्यसैअनुसारको आराम गर्नुपर्ने हुन्छ । हिट वेभको कारण हाम्रो आँखा तथा छालाको समेत दीर्घकालीन समस्याहरु हुनसक्छन् । त्यही भएर हामीले तापक्रम बढी भएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा सन्तुलन मिलाउनुपर्ने हुन्छ । बालबालिका तथा ज्येष्ठ नागरिक अलि बढी जोखिममा पर्ने भएको कारण उहाँहरुले अलि बढी साबधानी अपनाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा हामीले स्वास्थ्यलाई असर पर्ने खालका धुम्रपान तथा मद्यपानको सेवन नगर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ । यी सबे कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ । यदि केही अफ्ठ्यारो भएको खण्डमा तत्कालै स्वास्थ्यकर्मीसँग परामर्श गर्न समेत सबैमा आग्रह गर्दछौँ ।’
‘लू’ भनेको के हो ?
तापलहर (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आद्र्रता सँगै देखिन्छ । कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गर्ने गरिन्छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेका कारण तापलहरको जोखिम बढ्दै गइरहेको छ । तापलहर (लू)का केवल शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोको जोखिम हुने गर्दछ । हिट वेभले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरुको चेतावनी छ ।
लू लाग्नुका कारणहरू के के हुन् ?
जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा लूको लाग्ने गरेको पाइएको छ । पछिल्लो समय अव्यवस्थित शहरीकरणका कारण पनि लूको जोखिम बढ्दै गएको छ । कंक्रीटका भवन र सडकहरूले ताप सोस्ने भएकाले शहरहरूमा लूको जोखिम अत्याधिक हुने गर्दछ । वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेर समेत तातोलहर चल्छ ।

तापलहर (लू)का लक्षणहरू
डिहाइड्रेसनः अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु, थकान महसुस हुनु
गर्मीजन्य थकानः रिंगटा लाग्नु, पसिना आउनु, कमजोरी महशुस हुनु
हिटस्ट्रोकः शरीरको तापक्रम अत्यधिक बढ्नु, अन्योल हुनु, बेहोस हुनु
मुटुमा दबाबः मुटुको धड्कन बढ्नु, छातीमा असहजता हुनु
तापलहर (लू)लाग्नबाट बच्न के गर्ने ?
दिउँसोको अत्यधिक गर्मी हुने समयमा बाहिर ननिस्कनुहोस् ।
हल्का र खुकुलो कपडा लगाउनुहोस् ।
चिसो वा छायाँयुक्त स्थानमा बस्नुहोस् ।
सम्भव भए पंखा वा एयर कन्डिसनर प्रयोग गर्नुहोस् ।
हल्का तथा पौष्टिक खाना खानुहोस् ।
चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्नुहोस् ।
शरीरमा पानीको मात्रा पर्याप्त राख्नुहोस् ।
रक्तचाप र रक्तशर्कराको नियमित निगरानी गर्नुहोस् ।
अत्यधिक शारीरिक श्रम नगर्नुहोस् ।
गर्मी बढेको समयमा घरभित्र वा चिसो स्थानमा बस्नुहोस् । 

परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र दु्रत आर्थिक विकासको काममा प्रतिवद्ध भएर लागि परेको बताउनुभएको छ ।  बिहीवार ललितपुरमा आयोजित विकास बहस सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले उक्त दाबी गर्नुभएको हो । मन्त्री खनालले नागरिकहरुमा परिवर्तनप्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासहरुलाई अघि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताउनु भयो । विकास साझेदारहरूसँग साझेदारीलाई सुदृढ पार्नु, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नु र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने काममा सरकार लागि परेको मन्त्री खनालको भनाई थियो । उहाँले भन्नुभयो, ‘हाम्रा नागरिकका अपेक्षाहरू फेरिएका छन्, ती आकांक्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । सरकार एआईएनसँग नयाँ ऊर्जाका साथ सहकार्य गर्दै समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार छ ।’
मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै सामाजिक संघ, संस्थाहरुको कामलाई प्रभावकारी बनाउन सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउने राष्ट्रिय प्रयासहरूलाई सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरुले काम गर्नुपर्ने बताउनु भयो । 

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताउनुभएको छ । 
अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गर्नुभएको हो । संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ । उहाँले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गर्नुभयो । ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘गत भाद्र २३ र २४ गतेको घटनालाई कसैले आन्दोलन भन्छन्, कसैले क्रान्ति । गर्नेहरूले त क्रान्ति भन्ने नै भए । युवाहरू तथा नवयुवाहरूको हत्याको प्रपञ्च गराउने क्रियाकलापलाई पनि उनीहरूले क्रान्ति भन्ने नै भए । आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने, काँक्रो खाइसकेपछि बियाँ अर्काको गालामा टाँसेर आरोप लगाउने काम उनीहरूले त गर्ने नै भए । तर त्यो एउटा षड्यन्त्रपूर्ण, पूर्वनियोजित घटना थियो । यो मेरो भनाइ होइन । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा भाद्र २३ र २४ गतेको घटना पूर्वनियोजित, पहिल्यै षड्यन्त्र गरिएको तथा प्रायोजित घटना थियो भन्ने कुरा उल्लेख गरिएको छ । त्यो यथार्थ हो । त्यो षड्यन्त्र हाम्रा विरुद्ध त थियो नै । हामी संवैधानिक र लोकतान्त्रिक हिसावले बलियो अवस्थामा थियौँ । हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौँ र त्यो सरकार अत्यधिक बहुमतको सरकार थियो। त्यस सरकारलाई संवैधानिक, कानूनी तथा संसदीय बाटोबाट अनेक पटक ढाल्ने र ध्वस्त पार्ने प्रयास गरियो । तर त्यो सम्भव भएन । सम्भव नभएपछि अवैधानिक र आपराधिक मार्गबाट सरकारलाई विस्थापन गर्ने षड्यन्त्र भयो । त्यसका निम्ति पहिलेदेखि नै तालिमहरू सञ्चालन गरिए। आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशील वस्तुहरू कसरी बनाउने, पेट्रोल बम कसरी तयार गर्ने, प्रज्वलनशील पदार्थलाई अझ बढी प्रज्वलनशील तथा उच्च तापक्रममा बल्ने कसरी बनाउने, छिटो आगो लाग्ने विधि कसरी अपनाउने भन्ने जस्ता विषयमा प्रशिक्षण दिइयो । राष्ट्रव्यापी रूपमा आगलागीका घटना कसरी गराउने भन्ने योजना बनाइयो । गुगलको माध्यमबाट कुन–कुन नेताका घर कहाँ छन् भन्ने जानकारी सङ्कलन गरियो । संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत त सबैलाई देखिएकै थिए । विभिन्न व्यापारिक प्रतिष्ठान तथा उद्योगधन्दा पनि देखिएकै थिए । तर नेताहरूका घर, निवास र सम्पत्तिहरू गल्ली तथा बस्तीभित्र हुने भएकाले तिनीहरूलाई गुगलमार्फत पहिचान गरी जानकारी वितरण गरिएको थियो । यो कुरा आकस्मिक रूपमा त्यतिबेला भएको होइन । यो अघिल्ला दिनहरूदेखि नै भइरहेको थियो । भाद्र २३ र २४ गतेको घटना त्यतिबेलाकै उपज मात्र पनि थिएन। यसका लागि लोकप्रिय नेताहरूलाई अलोकप्रिय कसरी बनाउने, उनीहरूका विरुद्ध झुट्टा आरोप कसरी लगाउने, बनावटी आरोपहरू सिर्जना गरेर जनमत प्रभावित कसरी पार्ने भन्ने योजनाहरू पनि बनाइएका थिए ।’
आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने र दोष भने अरूलाई थोपर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले सो घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको रूपमा चित्रण गर्नुभयो ।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गर्नुभएको छ । 
पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै उहाँले आन्दोलनले ठूलो क्षति भोगेको बताउनुभएको हो । उपाध्यक्ष पौडेलले वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेका घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो धक्का बेहोर्नुपरेको टिप्पणी गर्नुभयो । उपाध्यक्ष पौडेलले वर्तमान परिस्थितिलाई एउटा शिक्षाको रूपमा लिँदै पार्टी पुनः सङ्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । आगामी कार्यदिशाबारे प्रष्ट पार्दै उहाँले अबको बाटो जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो, ‘स्वाभाविक रूपमा यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनले एउटा गम्भीर धक्काको सामना गरेको छ । खासगरी भदौ २३–२४ हुँदै फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का र क्षति व्यहोरेका छौँ । हाम्रो आन्दोलनले निकै ठूलो क्षति व्यहोरेको छ । कतिपय मानिसहरूलाई लागेको छ कि अब यो आन्दोलन उठ्न सक्दैन, नेपालको कम्युनिष्ट आन्दोलन सदा–सदाका निम्ति समाप्त भएर जान्छ । कतिपयले यस्तो अनुमान गरेका छन् भने कतिपयले त्यस प्रकारको कामना पनि गरेका छन् । म यहाँहरूसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु—हो, हाम्रो आन्दोलनले धेरै ठूलो धक्का व्यहोरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई २००६ सालदेखि आजसम्म समग्र रूपमा मूल्याङ्कन गर्ने हो भने, यो धक्का इतिहासकै सबैभन्दा ठूलो धक्का हो । यो पराजय इतिहासकै सबैभन्दा ठूलो पराजय हो । तर म कमरेडहरूसँग आग्रह गर्न चाहन्छु कि हामी यो धक्कालाई चिर्नेछौँ, यो असफलताबाट शिक्षा लिनेछौँ र फेरि उठ्नेछौँ । हामी धुलो टकटकाउनेछौँ र अगाडि बढ्नेछौँ । हामी जनतातिर फर्किएर, कार्यकर्तातिर फर्किएर र देशको समग्र राष्ट्रिय हिततर्फ उन्मुख हुँदै नयाँ ऊर्जा र दृढताका साथ अघि बढ्नेछौँ ।’
जनताको विश्वास जितेर र आन्तरिक कमजोरीहरू सुधार्दै कम्युनिस्ट आन्दोलनलाई पुनः उचाईमा पु¥याउने उहाँको प्रतिवद्धता छ ।

मनसुन शुरु हुन तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकायहरूसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको छ । उक्त कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उहाँको भनाइ छ । उहाँले बढ्दो तापक्रम, आद्र्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका संक्रामक रोग फैलिने सम्भावना उच्च रहने उल्लेख गर्दै त्यसको प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहेको बताउनु भयो । उहाँले मनसुनको समयमा खानेपानीका स्रोतहरू दुषित हुनसक्ने, बाढी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुनसक्ने भएकाले स्वास्थ्य चुनौती थप जटिल बन्नसक्ने बताउनु भयो । उहाँले यी जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायहरूसँग सहकार्य गरी राष्ट्रिय स्तरमा मनसुन पूर्वतयारी कार्ययोजना लागू गरिसकिएको बताउनु भयो । उहाँले मनसुनजन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा अन्य आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सरकारले मनसुनको समयमा रोग नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको बताउनु भयो । व्यक्तिगत सरसफाई, परिवार तथा समुदायको स्वच्छता, खाद्यान्नको सुरक्षित भण्डारण, स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाइका विषयमा नागरिकलाई सचेत गराउन स्थानीय तहसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालन भइरहेको समेत अधिकारीको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी मनसुन सक्रिय हुने अवस्थामा छौँ । पानी परिरहेको छ । तापक्रम समेत बढ्दै गएकोे अवस्था छ । आद्रता आउँदै गर्दा हाम्रा खानाहर समेत बिग्रिएर खाद्य बिषाक्तता हेन खालका जोखिमहर छन् । हामीले समग्रतामा जनस्वास्थ्यका हिसावले हेर्ने हो भने पानीको संक्रमणको कारण हुने समस्याहरु, किटजन्य संक्रमणको समस्याहरु, तापक्रमका कारणले हुने समस्याहरु आउनसक्ने भएको कारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापनसँग काम गर्ने सम्बन्धीत अरु निकायहरुसँग समन्वय गरेर राष्ट्रिय रुपमै मनसुनको पूर्वतयारी कार्ययोजना बनाएको छ । सरकारका सबै निकायहरु यसमा सामले हुनुहुन्छ । त्यसैअनुसार विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि आवश्यक सामानहरुको जो हो गर्ने, सचेतनाका कार्यक्रमहरु अगाडि बढाउने, समन्वयका कार्यक्रमहरु गर्ने लगायतका तयारीहरु भएका छन् । त्यो आपत पर्दाका सम्बन्धमा हुन् । त्यो भन्दा अगाडि हामी नागरिकको आफ्नो व्यक्तिगत सरसफाई, परिवारको सरकसफाई र तथा खाद्यान्न किन्दादेखि पाइसकेपछिसम्मको अवस्था, पानीका मुहानको सरसफाई, पानी पर्दा मुहान फोहोर हुनसक्ने लगायतका कुराहरुलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सचेतना अभिवृद्धि गर्ने र आफ्नो स्वास्थ्यको बारेमा आफू अलि बढी जिम्मेवार भएर आफ्नो र आफू वरिपरिको वातावरणको सरफाई गर्ने, लामखुट्टेको वृद्धि विकास हुन नदिने, पोषिलो खानेकुराहरुमा केन्द्रित हुनुपर्छ भनेर सचेतना अभियान समेत चलाइरहेका छौँ । स्थानीय तहहरुसँग समेत यस समबन्धमा आवश्यक समन्वय भइरहेको छ । हरेक स्थानीय तहको आवश्यक प्रशिक्षण र अभिमुखिकरण तालिम दिएर द्रुत प्रतिकार्य टोलीहरु खटाइएका छन् । उनीहरुले आवश्यक काम समेत गरिरहेका छन् । मनसुनको समयमा आउनसक्ने विपद्पछि आपतकालीन स्वास्थ्य सेवाको लागि समेत विभिन्न अस्पतालहरुसँग समन्वय एवं सहकार्य भइरहेको छ । यसबाहेक मनसुन आउन लागेको समय भएकोले नागरिक आफैंले व्यक्तिगत र आफू वरिपरिको वातावरण सफा राख्न सकेनौँ भने संक्रमण र रोगको जोखिम धेरै हुने भएकोले सरसफाईमा विशेष ध्यान दिन समेत हामीले सबै नागरिकलाई विशेष आग्रह पनि गर्न चाहन्छौँ ।’
सहायक प्रवक्ता अधिकारीले नागरिकलाई उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र सेवन गर्न तथा कुनैपनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

संयुक्त राज्य अमेरिका र इरानबीच सम्भावित सम्झौताको अपेक्षासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएपछि टर्कीमा इन्धनको मूल्य घटाइएको छ । टर्की सरकारले  मंगलवार  मध्यरातदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्यमा कटौती गरेको हो । 
पेट्रोलको मूल्यमा प्रतिलिटर १.३८ लिरा (०.०३० अमेरिकी डलर) र डिजेलको मूल्यमा प्रतिलिटर १.८१ लिराले कमी आएको छ । विश्वव्यापी इन्धनको मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रति ब्यारेल करिब ९४.४० डलरमा झरेको छ । अमेरिका र इरानबीचको शान्ति वार्तालाई लिएर लगानीकर्ताहरूमा छाएको अन्योलका बीच तेलको यो मूल्य पछिल्लो दुई हप्तायताकै न्युन बिन्दु हो । 
गत फेब्रुअरीको अन्त्यतिर द्वन्द्व शुरु भएयता उत्पन्न भू–राजनीतिक तनाव र इन्धनको मूल्यमा आएको उतारचढावलाई मध्यनजर गर्दै टर्कीले मार्च महिनाको शुरुमा ‘स्लाइडिङ–स्केल’ कर प्रणाली लागू गरेको थियो । यो अस्थायी व्यवस्थाले उपभोक्ताहरूलाई केही राहत प्रदान गरे तापनि ऊर्जाको उच्च लागतका कारण देशमा मुद्रास्फीतिको चाप भने कायमै छ । 
हाल टर्कीमा वार्षिक मुद्रास्फीति दर ३२ प्रतिशतभन्दा माथि रहेको छ । बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण केन्द्रिय बैंकले मे महिनामा आफ्नो वर्ष–अन्तको मुद्रास्फीति लक्ष्यलाई समेत परिमार्जन गरेको थियो । 
मध्यपूर्वको संकट र विश्व बजारमा आएको परिवर्तनका कारण इन्धनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । हालै गरिएको मूल्य कटौतीका बाबजुद टर्कीमा पेट्रोल र डिजेलको मूल्य अझै पनि उच्च स्तरमै रहेको छ ।

नेपाल प्रहरीले ट्राफिक व्यवस्थापनका लागि अहिले सबैभन्दा उपयुक्त समय भएको टिप्पणी गरेको छ । 
सोमवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले उक्त कुरा बताउनुभएको हो । अहिलेको सरकारले बजेटमा पनि ट्राफिक व्यवस्थापनको विषयलाई यथोचित ढंगले सम्बोधन गरेकाले त्यसैलाई मध्यनजर राखेर समयले खोजेअनुसार ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । ट्राफिक व्यवस्थापनको क्षेत्रमा पर्याप्त प्रविधिको अभाव भएको र त्यसलाई पूर्ति गर्न पनि अहिलेको समय सबैभन्दा उपयुक्त भएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीको भनाई छ । उहाँले ट्राफिक व्यवस्थापनको सन्दर्भका ऐन, नियमहरु पनि सरकारले सामयिक बनाउने कामलाई अघि बढाएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘डिजिटल्ली हामी केही अगाडि बढेका छौ । तर पर्याप्त छैन । यो अपर्याप्त प्रविधिको सन्दर्भमा यसलाई अहिले जुन राईट समय छ । श्रीमान सचिवज्यूले भन्नुभएको छ–केही पोलिसीहरु चेन्ज छन् । केही ऐन, कानूनहरु निर्माणाधिन छन । र, अहिलेको सरकारले बजेटमा पनि सम्बोधन गरेको छ । यो समयालाई हामीले मध्यनजर गर्दै हामीले यही बेला खोजेको ट्राफिक व्यवस्थापन, समयले डिमान्ड गरेको ट्राफिक व्यवस्थापनमा डिपाचर गर्नुपर्ने अवस्था छ । केही चेन्जेजहरु ट्राफिक प्रहरीले ल्यायो ।’
त्यस अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ट्राफिक प्रहरीले यसको व्यवस्थापनमा अतुलनीय योगदान पु¥याउँदै आएको भन्दै प्रशंशा समेत गर्नुभयो ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) ले इरानी बन्दरगाहतर्फ अघि बढिरहेको गाम्बियाको झण्डा अङ्कित एक व्यापारिक जहाजलाई कारबाही गरी निष्कृय बनाएको छ । शुक्रवार ओमानको खाडीमा भएको उक्त कारबाहीबारे सेन्ट्रकमले शनिवार औपचारिक जानकारी दिएको हो । सेन्ट्रकमकाअनुसार ‘एमभी लियान स्टार’ नामक उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानी बन्दरगाहतर्फ अघि बढिरहेको थियो । सो क्रममा अमेरिकी सेनाले उक्त जहाजलाई अमेरिकी नाकाबन्दी उल्लंघन गरिरहेको भन्दै रोकिनका लागि २० पटकभन्दा बढी चेतावनी दिएको थियो । उक्त आक्रमणपछि जहाज हाल इरानतर्फ जान असमर्थ रहेको बताइएको छ । अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको नौसैनिक नाकाबन्दीका क्रममा अहिलेसम्म कुल पाँचवटा व्यापारिक जहाजहरूलाई निष्कृय पारिएको र ११६ वटा जहाजहरूको मार्ग परिवर्तन (रिडाइरेक्ट) गरिएको सेन्ट्रकमले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।