२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

२७ जेठ, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । ‘जथाभावी संसदीय छानबिन ! के संसद् त्यति सस्तो भयो ? संसदीय छानबिन भन्नलाई …’ बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वागलेले भने ।  करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेकै राजीनामा मागिरहेका छन् । आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखिरहेका छन् ।

यसबारे जवाफ दिँदै वाग्लेले अगाडि भनेका छन्, ‘माननीय सांसदहरू आज बिहान उठ्नुभयो। नुवाइधुवाइ गर्नुभयो, चिया खानुभयो, गाडी चढेर आउनुभयो । नर्मल । माइतीघर आउँदा पौने ८ बजेको रहेछ । छानबिनले पत्ता लगाउने त त्यही हो ।’ छानबिन समितिको काम कति हुन्छ भनेर उनले बुझाउने प्रयास गरे । ‘होइन अवैध काम गरेको छ, उजुरी परेको छ, फोन ट्याप गरेको छ, म्यासेज गरेको प्रमाण छ, पेपरमा केही कैफियत देखिन्छ त्यस्तो भएन न छानबिन गर्ने हो’ अर्थमन्त्री वाग्लेले भने । करको दर हेरफेर गरेको र करको दर हेरफेरको सूचना चुहावट गरेको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन् । जवाफमा अर्थमन्त्री वाग्लेले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको प्रष्टीकरण दिएका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो । संसद् पेस गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ । संसद्का जानकारहरूका अनुसार संसद्‍मा पेस भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ । संसद्‍मा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसद्‍मा संशोधन ल्याउनुपर्ने हुन्छ । संसद्‍मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।

यसबारे प्रश्न उठाउँदै नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा मागेको छ ।

नेकपा एमाले सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनुभएको छ । 
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहो¥याउन नहुने बताउनु भयो । उहाँकाअनुसार अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ । तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छुट पाउँदैन । कँडेलले अर्थमन्त्री स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोगलगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अघिल्ला सबै निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने  बताउनु भयो । 
उहाँले भन्नुभयो–‘माननीय अर्थमन्त्रीज्युले बारम्बार अघिल्ला अर्थमन्त्रीहरूले ७३ ठाउँमा करका दर वा व्यवस्थाहरू परिवर्तन गरे, भ्रष्टाचार भयो भन्ने कुरा उठाइरहनुभएको छ । भ्रष्टाचारको विषय उहाँको अभिव्यक्तिमा निरन्तर रूपमा आइरहेको देखिन्छ । तर उहाँ स्वयं पनि विगतमा राज्यका महत्वपूर्ण निकायहरूमा संलग्न हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसक्नुभएको व्यक्ति हुनुहुन्छ, लामो समय विभिन्न नीतिगत प्रक्रियामा सहभागी हुनुभएको छ र बजेट निर्माण प्रक्रियासँग पनि प्रत्यक्ष रूपमा जोडिनुभएको छ । त्यसैले विगतका सबै कमजोरीबाट आफू पूर्णतः अलग रहेको सन्देश दिन खोज्नु उपयुक्त नहुन सक्छ । यदि अघिल्ला सरकारले ७३ स्थानमा हस्तक्षेप गरे वा गल्ती गरे भन्ने हो भने त्यो रेकर्डमा छँदैछ । तर नयाँ सरकार सुशासन, पारदर्शिता र सुधारको एजेन्डा लिएर आएको हो भने उसले विगतका कमजोरी दोहो¥याउनु हुँदैन । अघिल्लाहरूले गल्ती गरेका थिए भने पनि त्यसलाई आधार बनाएर अहिले गल्ती गर्ने छुट कसैलाई हुँदैन । यसपटक देखिएको त्रुटि किन भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ । अर्थमन्त्रीज्युको नियत खराब छ भन्ने आधार हामीसँग छैन । उहाँको नियत सफा नै होला । तर विगतका सबै व्यक्ति भ्रष्ट थिए र सबै समस्या भ्रष्टाचारकै कारणले भएका हुन् भन्ने निष्कर्ष पनि सही होइन । हिजो त्यो तर्क गलत थियो भने आज पनि गलत नै हुन्छ । राजनीतिमा आउने अधिकांश मानिसहरू सेवा गर्ने उद्देश्यका साथ नै आउँछन् भन्ने मेरो विश्वास छ । उनीहरू समाज र देशका लागि योगदान दिने सोचका साथ राजनीतिमा प्रवेश गरेका हुन्छन् । त्यसैले सबैलाई एउटै तराजुमा राखेर मूल्यांकन गर्नु उचित हुँदैन । अब म केही प्राविधिक विषयमा जान चाहन्छु ।  विशेषगरी मूल्य अभिवृद्धि करको दुई–दर प्रणाली  का सम्बन्धमा। मैले बुझेको र अध्ययन गरेको आधारमा नेपालको कर प्रशासनले विगतदेखि नै बहु–दर वा दुई–दर भ्याट प्रणालीलाई स्वीकार गरेको थिएन ।’
समितिको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा प्राविधिक त्रुटी देखिएकाले सच्चाइउनुपरेको र यसलाई विपक्षीले ठूलो इस्यु बनाएको भन्दै आक्रोश पोख्नुभएको थियो । बैठकमा कडेँलले मूल्य अभिवृद्धि कर प्रणालीबारे पनि प्रश्न उठाउनु भयो । नेपालको कर प्रशासनले विगतदेखि बहु–दर भ्याट प्रणालीलाई अस्वीकार गर्दै आएको स्मरण गराउँदै उहाँले अहिले बहुदर भ्याट प्रणालीतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भएको हो वा होइन भन्ने प्रश्न गर्नुभयो ।
उहाँकाअनुसार १३ प्रतिशतको एकल भ्याट दरका विकल्पका रूपमा केही वस्तु तथा सेवामा न्युन दर लागू गर्ने र विलासिताका वस्तुमा फरक दर निर्धारण गर्ने विषयमा विगतदेखि बहस हुँदै आएको भएपनि त्यससम्बन्धी नीतिगत परिवर्तन गर्दा स्पष्ट आधार र औचित्य प्रश्तुत गरिनुपर्छ । कँडेलले कर नीतिमा स्थायित्व, पूर्वानुमानयोग्यता र स्पष्टता कायम गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै कुनैपनि कर सुधार व्यापक अध्ययन र सरोकारवालासँगको परामर्शपछि मात्र कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनुभएको छ । 
प्रतिनिधि सभाको अर्थसमितिमा बोल्दै उहाँले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने बताउनु भयो । उहाँले देशको राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै सतर्क रहन आग्रह गर्नुभएको छ । वाग्लेकाअनुसार हाल केही विषयलाई मात्र उचालेर सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ । सुशासनको नारा लिएर आएको सरकारमाथि आधारहीन आरोप लगाएर हिलो छ्याप्ने प्रयास भइरहेको उहाँको आरोप छ । 
अर्थमन्त्री वाग्लेले करका दरहरुबारे लगाइएका आरोपहरू कुनै ठोस आधारविना आएको दाबी गर्दै ती प्रारम्भिक अवस्थामै खण्डित हुने प्रकृतिका रहेको बताउनु भयो । उहाँले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै नियतमा कुनै कमजोरी नरहेको स्पष्ट पार्नुभयो । 
अर्थमन्त्री वाग्लेले भन्नुभयो–‘नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको अहिले छानबिन चलिरहेको छ । त्यसमा संलग्न, देशलाई मुठ्ठीमा लिएर सिंगो राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्नेछन् । उनीहरूले संरक्षण दिएका र उनीहरूको आश्रयमा रहेका समूहहरू कतै यसमा सलबलाइरहेका त छैनन् भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । किन एउटा मात्रै विषयलाई बारम्बार उचालिँदै छ ? धेरैले राम्रो भनेको बजेट ल्याएको सरकार र अर्थमन्त्रीमाथि कुनै आधारबिना, कुनै प्रमाणबिना आरोप लगाइएको छ । जुन सरकार सुशासनको नारा लिएर आएको छ र सुशासनका लागि कडाइका साथ अघि बढिरहेको छ, त्यसैलाई लक्षित गरेर हिलो छ्याप्ने प्रयास गरिएको छ । यसप्रति माननीय सदस्यज्यूहरू सचेत रहनुहोला, किनकि हिलो छ्यापिएपछि जति धोए पनि केही दाग बाँकी रहन सक्छ । म ढुक्क छु, गल्ती गरिएको छैन, नियत पूर्ण रूपमा ठीक छ । लगाइएका आरोपहरू प्रथम दृष्टिमै खण्डित हुने खालका छन्, प्राइमा फेसि  नै । तर सेतो कपडामा हिलो छ्यापेपछि केही न केही दाग बाँकी रहन सक्छ । त्यो दाग बाँकी रहोस्, छवि केही हदसम्म भए पनि धुमिल बनोस्, र सरकारलाई कमजोर बनाउने प्रयास सफल होस् भन्ने उद्देश्यले नै यस्तो प्रहार गरिएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।’
सेतो कपडामा हिलो छ्यापेपछि केही दाग बाँकी रहनसक्ने उदाहरण दिँदै उहाँले त्यसै प्रकारले सरकारको छवि धुमिल पार्ने उद्देश्यसहित गलत प्रचार भइरहेको हुन सक्ने आशंका पनि व्यक्त गर्नुभयो ।–

काठमाडौँ टोखा नगरपालिका-०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भई आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बुधबार बिहान अन्दाजी ०२:५२ बजे लागेको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा अन्य निकायको सहयोगमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ । साथै लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको छ ।
घटनामा कुनै मानवीय क्षति भएको छैन भने थप अनुसन्धान भइरहेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको स्पष्ट पार्नुभएको छ । 
बुधवार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनु भयो । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको बताउनु भयो । रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको उहाँको भनाइ छ । उहाँकाअनुसार यि मानवीय र प्राविधिक विषय मात्रै हुन् । उहाँले अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको दाबी गर्नुभयो । सञ्चारमाध्यममा आएका समाचारहरूले भ्रम सिर्जना गरेको उल्लेख गर्दै उहाँले अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको खण्डन गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘गत वर्ष नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको मात्र हो । विशेष गरी रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको छ, जुन विशुद्ध मानवीय र प्राविधिक विषय हो । हप्ताभरि पत्रिकाहरूले यसलाई उचालेर भ्रम सिर्जना गरे, जसका कारण सम्मानित सांसदहरूमा समेत संशय पैदा भएको देखिन्छ । तर वास्तविकता त्यस्तो होइन । ४५७ पानाको डकुमेन्टमा १ मिलिमिटर मात्रै कोलम तन्काइदियो भने पानाको संख्या बढेर ५०० पुग्न सक्छ वा घटाउँदा घट्न सक्छ । कन्टेन्टमा एउटा थोप्लो, एउटा कमा वा पूर्णविराम पनि परिवर्तन भएको छैन । त्रुटिसहित यहाँहरूको हातमा परेपछि हामीले एउटा थोप्लो पनि चलाएका छैनौँ । आम जनतालाई केही समय भ्रमित पार्न सकिएला, तर सत्य लुक्दैन ।’
त्यस्तै, प्रतिवेदनबाट १६ पाना गायब भएको भन्ने आरोपका सम्बन्धमा उहाँले माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षबारे स्पष्ट पार्नुभयो । उहाँकाअनुसार ४ सय ५० भन्दा बढी पानाको डकुमेन्टमा कोलमको साइज थोरै मात्र घटबढ गर्दा पनि समग्र पानाको संख्यामा उल्लेख्य परिवर्तन देखिन सक्छ । सार्वभौम संसदमा विधेयक पेश गरिसकेपछि त्यसमा कुनैपनि अनधिकृत परिवर्तन नगरिएको उहाँले दृढताका साथ व्यक्त गर्नुभयो । उहाँले यो विवादलाई ‘चियाको कपमा तुफान’ ल्याउने प्रयासको संज्ञा दिँदै आफू यसको डटेर सामना गर्न तयार रहेको बताउनु भयो । राष्ट्रहित र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिएका कामलाई गलत अर्थमा नबुझ्न समेत उहाँले आग्रह गर्नुभयो । कुनैपनि विषयमा थप शङ्का भएमा आफू त्यसलाई थप स्पष्ट पार्न सदैव तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

२६ जेठ,  आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् ।

दिउँसो ३ बजेका लागि शपथको तयारी भए पनि झन्डै डेढघण्टा ढिला गरी शपथ सुरु हुन लागेको छ । शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

जिल्ला तनहुँ व्यास नगरपालिका-१२ देउराली स्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
मंगलबार करिब १३:०० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको BR10AB7739 नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार ५ जना मध्ये ३ जना घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ ।
घाइतेहरुको विवरणः
१) देश भारत बिहार राज्यको मधुबनी १० बस्ने ३७ वर्षीया आशा देवी
२) ऐ.ऐ. बस्ने ४० वर्षीया मनिका देवी
३) कार चालक, भारत बिहार भगलपुर बस्ने २८ वर्षीय सोनु

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साहलाई इतिहासको अध्ययन गर्न सुझाव दिनुभएको छ । 
प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरु ३५ वर्ष यताको हुन् भनि उल्लेख गर्नुभएकोप्रति आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराउनुभएको हो । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले प्रधानमन्त्री साहको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने पनि बताउनु भयो । प्रधानमन्त्रीले सीमा सम्बन्धि दिएको आपत्तिजनक अभिव्यक्ति परराष्ट्रमन्त्री वा आफूले दिँदा हुने धारणा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएपछि उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने स्पष्ट पार्नुभएको हो । नेता केसीले प्रधानमन्त्रीले आफनो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि भरिया लगाएर अर्कोले जवाफ दिएर हुँदैन । तपाईमाथि प्रश्न उठाएको कुनै प्रतिनिधि राखेर अथवा कोही मान्छेमार्फत जवाफ दिएर हुन्छ ? हुँदैन । उहाँको अभिव्यक्तिबाट जे आयो, त्यसलाई सच्याउनुपर्ने अथवा त्यसमा गल्तीभए फिर्ता लिनुपर्ने । अथवा कुन मनसायले भनेको हो, उहाँले आएर भनिदिँदा के हुन्छ ? आज मैले उहाँको स्टाटस हेरेको थिएँ नक्कली हो कि के हो ? थाहा छैन । ३५ वर्षदेखि यो समस्या रहेको हो भनेर भन्नुभएको छ । मैले सम्माननीय प्रधानमन्त्रीजीलाई विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने अलि इतिहासलाई अध्ययन गरौँ । यो ३५ वर्षयताको समस्या मात्रै होइन ।’
नेता केसीले संसदलाई सुचारु गराउने जिम्मेवारी सरकारको भएकाले उसले पहल गर्नुपर्ने पनि बताउनु भयो । 

२६ जेठ,  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन निर्देशन दिएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन् ।

उनले पार्टीलाई अझ संगठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन अपिल गरेका छन् ।

बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

२६ जेठ, । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंक घटेको हो । सो कमीपछि नेप्से २७३३ अंकमा झरेको छ । दिउँसो १ : २२ बजे नेप्से आजको न्यूनतम अंक २७०२ अंकसम्म झरेकोमा त्यसपछि सम्हालिएको हो । अघिल्ला तीन कारोबार दिन बजार लगातार घटिसकेको छ । बिहीबार १३, शुक्रबार ११ तथा सोमबार २० अंकले नेप्से घटेको थियो ।आज कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४४ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो। १०५ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने १५ को स्थिर रह्यो । फाइनान्स सबैभन्दा धेरै १.०१ प्रतिशत घट्यो । अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.०३ अंक मात्रै घट्यो । विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार ०.३८ प्रतिशत घटे । अन्य ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१, होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढे । सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । यी दुवै हालै बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढ्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।