२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इटुरी प्रान्तस्थित बुनिया सहरमा इबोला भाइरसको प्रकोप फैलिरहँदा नजिकैको विस्थापित शिविरमा रहेका हजारौँ मानिसहरू गम्भीर स्वास्थ्य जोखिममा परेका छन् । इबोला सङ्क्रमणको केन्द्रविन्दु बनेको बुनिया शहरमा जुन १५ सम्म ८३७ जना सङ्क्रमित भएका छन् भने १९६ जनाको मृत्यु भइसकेको छ ।
बुनियाको बाहिरी क्षेत्रमा अवस्थित किगोन्जे विस्थापित शिविरमा स्थानीय तथ्याङ्कअनुसार करिव ११ हजार ७०० मानिसले आश्रय लिइरहेका छन् । यद्यपि स्थानीय स्रोतहरूले शिविरमा बसोबास गर्नेको वास्तविक सङ्ख्या योभन्दा धेरै हुनसक्ने बताएका छन् । शिविरमा हालसम्म इबोलाका सङ्क्रमित फेला नपरे पनि त्यहाँको अत्यधिक भीडभाड, खानेपानीको चरम अभाव र कमजोर सरसफाइका कारण महामारीको जोखिम उच्च देखिएको छ ।
शिविरका बासिन्दाहरूले आधारभूत आवश्यकताको अभावमा आफूहरू रोगको चपेटामा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विस्थापित गेरारे म्बोचोकाअनुसार शिविरमा शौचालयको अवस्था दयनीय छ । 
त्यसैगरी, अर्की विस्थापित फुरहा जानेटले खानेपानीको अभावका कारण साबुन पानीले हात धुन समेत नपाएको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘बिहानैदेखि धाराहरू सुकेका छन् । पानी नभई हामीले कसरी हात धुने र सरसफाइ कायम गर्ने ?’
आवासको समस्या पनि उस्तै छ । वर्षा हुँदा अस्थायी टहराहरू हिलाम्मे हुने र पानी चुहिने भएकाले सङ्क्रमण फैलिने सम्भावना बढेको अर्की विस्थापित बी कान्जा काउडिनेले बताउनु भयो । 
शिविरका प्रमुख न्जोद्जो लुसी एटिएनले स्रोतसाधनको अभावका बाबजुद पनि मानिसहरूलाई शतर्क रहन आग्रह गरिरहेको बताउनु भयो । 
कङ्गो सरकारले गत मे १५ मा इबोला प्रकोपको औपचारिक घोषणा गरेको थियो । वर्षौँदेखिको द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरूका लागि इबोला अर्को ठूलो चुनौती बनेको छ । विश्व खाद्य कार्यक्रमका अनुसार कङ्गोमा ७८ लाख मानिस आन्तरिक रूपमा विस्थापित छन् भने २ करोड ६५ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तले कङ्गोको वर्तमान अवस्थालाई विश्वकै सबैभन्दा जटिल मानवीय सङ्कटमध्ये एक भएको चेतावनी दिएको छ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले यातायात क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि प्रविधिको प्रयोग र सबै सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी कार्कीले यस्तो बताउनुभएको हो । उहाँले यातायात व्यवस्थापन कुनै एक निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने स्पष्ट पार्नुभयो । यातायात क्षेत्रको विकास र व्यवस्थापनका लागि सबै सरोकारवाला पक्षहरूको सहकार्य जरुरी रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेमा मात्र यसले पूर्णता पाउनेछ जिकिर गर्नुभयो । एआईजी कार्कीले पछिल्लो समय यातायात क्षेत्रलाई पुरातन शैलीबाट मुक्त गरी प्रविधिमैत्री बनाउन महासंघको निःवर्तमान तथा वर्तमान नेतृत्वसँग समन्वय भइरहेको जानकारी दिनुभयो  यस सहकार्यले सकारात्मक परिणाम दिन थालेको उल्लेख गर्नुभयो । 
सवारी साधनको सुरक्षा र निगरानीका लागि प्रविधिको प्रयोगमा उल्लेख्य उपलब्धि हासिल भएको उहाँको भनाइ छ । हालसम्म दुई हजारभन्दा बढी सवारी साधनमा जीपीएस र ड्यास बोर्ड सीसी क्यामेरा जडान भइसकेको जानकारी दिँदै उहाँले अब सवारी धनीले आफ्नो सवारी साधन कहाँ र कुन अवस्थामा छ भन्ने विवरण मोबाइलबाटै प्रत्यक्ष हेर्नसक्ने वातावरण सिर्जना भएको बताउनु भयो । यो प्रविधिलाई देशभरका सबै सवारी साधनमा विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
उहाँले भन्नुभयो, ‘पछिल्लो समय हामीले यातायात व्यवस्थापन सुधारका लागि केही महत्वपूर्ण कामहरू गरेका छौँ । यातायात क्षेत्रको विकास र व्यवस्थापन कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ । यसका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य छ । यही सोचका साथ हामीले यातायात व्यवसायीहरूसँग मिलेर प्रविधिमैत्री व्यवस्थापनको सुरुवात गरेका छौँ । निःवर्तमान र वर्तमान नेतृत्वसँग सहकार्य गर्दै केही महत्वपूर्ण सुधारका काम अघि बढाइएका छन्, जसले सकारात्मक परिणाम दिन थालेका छन् । यात्रीहरूको सामान सुरक्षाका लागि ब्यागेज ट्याग प्रणाली लागू गर्ने काम शुरु गरिएको छ । साथै, सवारी साधनको निगरानी र सुरक्षाका लागि जीपीएस, ड्यासबोर्ड क्यामेरा तथा सीसी क्यामेरा जडान अभियान सञ्चालन गरिएको छ । हालसम्म करिव दुई हजारभन्दा बढी सवारी साधनमा यी उपकरण जडान भइसकेका छन् । यसबाट सवारी साधनको अवस्था, स्थान र गतिविधि मोबाइलमार्फत नै निगरानी गर्न सकिने अवस्था बन्दै गएको छ । त्यसैगरी, यातायात क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन अनलाइन टिकट प्रणाली लागू गर्ने विषयमा पनि हामीले आवश्यक पहल र बहस शुरु गरेका छौँ । हामी अब परम्परागत व्यवस्थापन प्रणालीबाट माथि उठेर प्रविधिमा आधारित यातायात व्यवस्थापनतर्फ जानुपर्छ भन्ने मान्यतामा छौँ । त्यसका लागि एकीकृत ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्न सरकारलाई निरन्तर सुझाव, छलफल र पहल गर्दै आएका छौँ ।’
एआईजी कार्कीले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन म्यानुअल टिकटिङको सट्टा अनलाइन टिकट प्रणालीमा जानुपर्ने र ट्राफिक व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । हालको परम्परागत ट्राफिक व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउन ‘इन्टिग्रेटेड ट्राफिक म्यानेजमेन्ट सिस्टम’ लागू गर्न सरकारलाई सुझाव दिइएको र यसका लागि विभिन्न सेमिनार तथा गोष्ठीहरूमार्फत ध्यानाकर्षण गराइएको उहाँले उल्लेख गर्नुभयो । 

जोर्डनको राष्ट्रिय फुटबल टोली नशामाले फिफा विश्वकपमा आफ्नो ऐतिहासिक पहिलो उपस्थिति जनाएसँगै देशभर उत्सवको वातावरण छाएको छ । बुधवार बिहानैदेखि हजारौँको सङ्ख्यामा जोर्डनी नागरिकहरू आफ्नो देशको खेल इतिहासकै यो महत्वपूर्ण क्षणको साक्षी बन्न भेला भएका थिए । लामो प्रतीक्षापछि पहिलो पटक फुटबलको महाकुम्भमा छनोट हुन सफल भएको यो उपलब्धिले जोर्डनमा अभूतपूर्व उत्साह जगाएको छ । यस उपलब्धिको सम्मानमा फुटबल खेल राष्ट्रिय गौरव र एकताको बलियो माध्यम बनेको छ । 
स्थानीय समय अनुसार बिहान ७ः०० बजे खेल सुरु हुने तालिका भए पनि समर्थकहरूको उत्साहका कारण देश बिहानैदेखि जाग्राम देखिएको थियो । जोर्डन सरकारले नागरिकहरूलाई खेल हेर्न र राष्ट्रिय टोलीको समर्थन गर्न सहज होस् भन्ने उद्देश्यले खेल हुने दिनहरूमा सरकारी कार्यालयहरू खुल्ने समय बिहान १०ः०० बजेसम्मका लागि सारेको छ ।
राजधानी अम्मानको मुटुमा रहेको ऐतिहासिक रोमन थिएटरलाई यस अवसरमा विशाल फ्यान जोनमा परिणत गरिएको छ । युवा मन्त्रालय, ग्रेटर अम्मान नगरपालिका र जोर्डन पर्यटन बोर्डको संयुक्त पहलमा आयोजित यस कार्यक्रममा प्राचीन ढुङ्गेली सिँढीहरूमा परिवार र युवाहरूको ठूलो उपस्थिति रहेको थियो । 
राजधानी बाहिरका समर्थकहरूका लागि पनि सरकारले देशका चार प्रमुख खेलकुद सहरहरू र ६० वटा युवा केन्द्रहरूमा ठूला डिजिटल स्क्रिनहरूको व्यवस्था गरेको छ । 
प्रतियोगिताको समूह चरणमा जोर्डनले अस्ट्रिया, अल्जेरिया र अर्जेन्टिनाको सामना गर्नेछ। यो ऐतिहासिक विश्वकप यात्राले जोर्डनको फुटबल विकासमा नयाँ अध्याय प्रारम्भ गर्ने विश्वास लिइएको छ । 

जापानी प्रधानमन्त्री सानाए ताकाइची र सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले पछिल्लो समय अघि सारेको सैन्य विस्तार सम्बन्धी नीतिको विरोधमा आइतबार टोकियोमा विशाल जनप्रदर्शन भएको छ । राजधानी टोकियोका सडकमा उत्रिएका ठूलो संख्याका प्रदर्शनकारीहरूले युद्ध विरोधी र शान्ति लेखिएका हेल्मेटहरू लगाएका थिए । उनीहरूले संविधान संशोधन खारेज गर र युद्ध रोक जस्ता नाराहरू लगाउँदै सरकारको कदमप्रति चर्को असन्तुष्टि व्यक्त गरे । प्रदर्शनका आयोजकहरूकाअनुसार जापान सरकारले आफूलाई शान्ति प्रेमी राष्ट्र भन्दै आएपनि व्यवहारमा जापान–अमेरिका सुरक्षा गठबन्धनलाई मजबुत बनाउने, आत्मरक्षा बल (एसडिएफ) को विस्तार गर्ने र पुनः सैन्यीकरणको प्रक्रियालाई तिब्रता दिने कार्य गरिरहेको छ । यस्ता गतिविधिले जापानलाई पुनः युद्धको बाटोमा लैजान सक्ने भन्दै उनीहरूले चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागी काशीमुराले मुलुकमा बढ्दो महँगी, करको भार र सामाजिक सुरक्षा खर्चको वृद्धिका बीच सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने र युद्ध विरोधी आवाजहरूलाई दबाउने कानुन ल्याउन खोजेको आरोप लगाए । 
पछिल्ला महिनाहरूमा जापानले ओकिनावा लगायतका क्षेत्रमा सैन्य तैनाथी बढाउनुका साथै सुरक्षा सम्बन्धी नीतिगत दस्तावेजहरूमा परिमार्जन गर्दै आफ्नो रक्षा क्षमता सुदृढ गर्ने रणनीति लिएको छ । 
गत जुन ९ मा सत्तारुढ एलडिपीले देशका तीन प्रमुख सुरक्षा दस्तावेजहरू संशोधन गर्ने प्रश्ताव स्वीकृत गरेको थियो । उक्त प्रश्तावमा रक्षा बजेटमा उल्लेख्य वृद्धि गर्ने र आकस्मिक अवस्थाका लागि आत्मरक्षा बलका जगेडा जनशक्तिको संख्या बढाउने विषय समावेश गरिएको छ । सरकारका यी कदमहरूले जापानी सर्वसाधारणमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा सडक सुरक्षा र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ट्राफिक सप्ताह २०८३’ को विधिवत शुभारम्भ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा, मधेस प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा एवं ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा सञ्चालित यस कार्यक्रमको अवसरमा नगरमा जनचेतनामूलक प्रभातफेरी समेत गरिएको छ । कार्यक्रममा सरोकारवालाहरुले बढ्दो सवारी चाप, सडक प्रयोगकर्ताको लापरवाही र ट्राफिक नियमको उल्लंघनका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सडक दुर्घटनाले मानव जीवन र समाजमा अपूरणीय क्षति पु¥याउने उल्लेख गर्दै यसको न्युनिकरणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याइएको छ । 
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सडक प्रयोगकर्ताहरूमा चेतना जगाउन अन्तक्र्रिया, सडक सुरक्षा अभियान, विद्यालय केन्द्रित कार्यक्रम र सञ्चारमूलक प्रचारप्रसारका गतिविधिहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । सवारी चलाउँदा हेलमेट र सिटबेल्टको अनिवार्य प्रयोग, गति सीमाको पालना, मादक पदार्थ सेवन गरी सवारी नचलाउने र जेब्रा क्रसिङको प्रयोग जस्ता आधारभूत नियमको पालनाले ठूला दुर्घटनाबाट बच्न सकिनेमा जोड दिइएको छ ।
कार्यक्रममा वर्तमान समयमा देखिएका नयाँ सुरक्षा चुनौतीहरूका बारेमा पनि चर्चा गरिएको थियो । विशेषगरी मिस इन्फर्मेसन, डिस इन्फर्मेसन, डिप फेक र हेट स्पिच जस्ता विषयले समाज र राज्यका संयन्त्रमा गम्भीर चुनौती थपेको बताइएको छ । साथै, सहकारी ठगी, हुण्डी, सम्पती शुद्धीकरण, मानव बेचबिखन र वैदेशिक रोजगारका नाममा हुने ठगी जस्ता संगठित अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरियो। अपराधको बदलिँदो स्वरूपलाई सामना गर्न डिजिटल फरेन्सिक, साइबर र सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोग र संयुक्त केन्द्रिय डाटाबेसको आवश्यकता महशुस गरिएको छ । 
पूर्वाधार विकासका सन्दर्भमा हुलाकी राजमार्गको कदम चोक र सद्भावपुर चोक क्षेत्रमा सडक साँघुरो भएका कारण सवारी दुर्घटनाको जोखिम बढेकाले बाइपास सडकको आवश्यकता रहेको स्थानीय स्तरबाट माग गरिएको छ । यस्तै, ई–रिक्सा सञ्चालन र चालकहरूको अनुमति पत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियालाई थप व्यावहारिक र सहज बनाउन कानुन संशोधनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । मधेस प्रदेश सरकारले नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेको बताउँदै प्रदेश सरकारका प्रतिनिधिले शान्ति सुरक्षा, विपद् व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा प्रविधिमैत्री प्रणाली अवलम्बन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । सडक सुरक्षा केवल प्रहरीको मात्र नभई चालक, यात्री, अभिभावक र सञ्चार माध्यमको साझा जिम्मेवारी भएको धारणा कार्यक्रममा व्यक्त गरिएको थियो ।

वैज्ञानिकहरूले हिन्द महासागरमन ह्वेलका अवशेषहरूको विश्वकै सबैभन्दा गहिरो र विशाल सङ्कलन फेला पारेका छन् । दक्षिण–पूर्वी हिन्द महासागरको डायमान्टिना क्षेत्रमा करिव ७,००० मिटरको गहिराइमा यो स्थल फेला परेको हो । अनुसन्धानकाअनुसार यस क्षेत्रमा ५३ लाख वर्षदेखि निर्माण हुँदै आएका प्राचीन जीवावशेषका साथै सक्रिय ह्वेल–फल पारिस्थितिक प्रणालीहरू रहेका छन् । विशेषगरी ६,७८९ मिटरको गहिराइमा भेटिएका तीनवटा बिग्ड ह्वेलका मेरुदण्डका हड्डीहरूले हालसम्मकै सबैभन्दा गहिरो सक्रिय ह्वेल–फल इकोसिस्टमको कीर्तिमान कायम गरेका छन् । ह्वेल–फल भन्नाले मृत ह्वेलको शरीर समुन्द्रको पिँधमा थुप्रिएपछि त्यहाँ विकसित हुने विशेष पारिस्थितिक प्रणालीलाई बुझिन्छ । 

भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ । 
लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो । फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीहरूले बताएका छन् । तालमा दिनभर डुङ्गाको आवतजावत बाक्लो रहँदा व्यवसायीहरू उत्साहित बनेका छन् । त्यस्तै, अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ । पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटल भरिभराउ भएका छन् । होटलहरू पर्यटकले भरिएपछि व्यवसायीहरू खुशी देखिएका छन् । भारतिय पर्यटकको अत्याधिक चापका कारण लेकसाइड तथा मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सडक किनारमा सवारीसाधनको भीड बढ्दा ट्राफिक व्यवस्थापनमा समेत दबाब परेको छ । 
नेपालमा वर्षातको समय अर्थात ‘अफसिजन’ मानिने मा पनि भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । ट्रेकिङ एजेन्सी  एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा चित्रण गर्नभयो । छिमेकी मुलुक भारतमा बढ्दो गर्मी र त्यहाँ भइरहेको बिदाका कारण अहिले ठूलो संख्यामा भारतीयहरूले नेपाललाई आफ्नो प्रमुख गन्तव्य बनाएका छन् । विशेषगरी धार्मिक आस्थाका कारण मुक्तिनाथ र पशुपतिनाथ दर्शन गर्न आउनेहरूको संख्या उल्लेख्य रहेको छ । 
‘हिन्दु धर्ममा जन्मिएपछि एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने धार्मिक विश्वास र पछिल्लो समय मिडियाका कारण सिर्जित सकारात्मक सन्देशले पर्यटकको आगमन बढेको हो ।’ अध्यक्ष आचार्यले भन्नुभयो ।
अहिले नेपाल आउने भारतीय पर्यटकहरूमध्ये युवा पुस्ता विशेषगरी शाहसिक पर्यटनतर्फ आकर्षित देखिएका छन् । मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर (एबिसी) र उपल्लो मुस्ताङ जस्ता क्षेत्रमा भारतीय युवाहरूको बाक्लो उपस्थिति रहेको आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार पदमार्गहरूमा पर्यटकको चाप यति धेरै छ कि ‘अफसिजन’ मा पनि बास बस्नका लागि कोठा पाउन समेत कठिन भइरहेको छ । युवाहरू पदयात्रा र बाइकिङमा रमाउँदा पाको उमेरका पर्यटकहरू भने धार्मिक स्थलहरूको भ्रमणमा केन्द्रित छन् ।
पर्यटकको संख्या बढ्नु उत्साहजनक भएपनि उनीहरूको व्यवस्थापनमा देखिएका केही चुनौतीहरूतर्फ पनि आचार्यले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ । विशेषगरी बसमा सामूहिक रूपमा यात्रा गर्ने पर्यटकहरूले सडक किनारमै खाना पकाउने र खानपान गर्ने गर्दा दृश्य छरपस्ट देखिने गरेको उहाँले बताउनु भयो । 
यस प्रकारका पर्यटकहरूलाई व्यवस्थित गर्न प्रमुख पर्यटकीय र धार्मिक मार्गहरूमा विश्राम केन्द्र (सेन्टर) हरू निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । पर्यटकहरूलाई उचित स्वागत र व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले धार्मिक र साहसिक दुवै प्रकारका पर्यटकलाई आवश्यक न्यूनतम पूर्वाधार र सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
‘धार्मिक पर्यटकहरूका लागि ठाउँ-ठाउँमा उचित व्यवस्थापन भएका केन्द्रहरू निर्माण गर्न सके उनीहरूले त्यहीँ खाना पकाउने, नुहाउने र कपडा धुने जस्ता कार्यहरू व्यवस्थित रूपमा गर्न सक्थे ।’ उहाँले भन्नुभयो ।
होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीकाअनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा बढी भारतीय पर्यटकहरू नेपाल भित्रिएका छन् । नेपाली नयाँ वर्षको आसपासदेखि शुरु भएको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ । यस अवधिमा पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुगेको संघले जनाएको छ । पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । अध्यक्ष सुवेदीकाअनुसार यस वर्ष भारतीय पर्यटक बढ्नुमा प्रवद्र्धन र सामाजिक सञ्जालको प्रभाव रहेको छ । गत वर्षदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत मुक्तिनाथ र नेपालका अन्य पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचारप्रसार भएकाले भारतीय पर्यटकहरूमा नेपाल भ्रमणको उत्साह बढेको पाइएको छ । भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकहरूले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् । 
उहाँले भन्नुभयो, ‘मेरो विचारमा मैले पर्यटन क्षेत्रमा ३२ वर्ष बिताएँ । यस अवधिमा यति धेरै भारतीय पर्यटक र यति विविध प्रकारका पर्यटकहरू आएको अवस्था सायद पहिलो पटक देखिएको जस्तो लाग्छ । किनभने यस समयमा हाम्रा होटलहरूको अकुपेन्सी दर ९० प्रतिशतभन्दा बढी, करिव ९० प्रतिशतको हाराहारीमा रहेको थियो । केही दिनयता केही कमी भए तापनि, बीचको समयमा एक महिनाभन्दा बढी अवधिसम्म भारतीय पर्यटकहरूको उल्लेखनीय आगमन रह्यो । हामी नेपाली नयाँ वर्षको समयबाट अहिले जेठ महिनाको अन्तिम चरणसम्म आइपुग्दा, एक महिनाभन्दा बढी समय भारतीय पर्यटकहरू पोखरामा मात्र नभई गण्डकी प्रदेशका विभिन्न स्थानहरू, मुक्तिनाथ लगायतका गन्तव्यहरूमा पुगेका छन् । साथै, पदयात्रामा जाने भारतीय पर्यटकहरूको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ । मैले धेरै भारतीय पर्यटकहरूसँग यो पटक यति धेरै पर्यटक किन आएका हुन् भन्ने विषयमा जिज्ञासा राखेँ । धेरैजसोले गत वर्ष मुक्तिनाथ लगायतका पर्यटकीय स्थलहरूको सामाजिक सञ्जाल–फेसबुक, टिकटक तथा अन्य माध्यमहरूबाट व्यापक प्रवद्र्धन भएको कारण आफूहरू ती स्थानहरू भ्रमण गर्न उत्साहित भएको बताए। साथै, गर्मी छल्न र बिदाको सदुपयोग गर्न नेपाल उपयुक्त गन्तव्य भएकाले यहाँ आएको प्रतिक्रिया पनि प्राप्त भयो ।’
भारत सरकारले विदेशी मुद्रा (डलर) सञ्चितिमा जोड दिँदै भारतीय मुद्रा सहजै चल्ने छिमेकी मुलुकहरूको भ्रमण गर्न आफ्ना नागरिकलाई प्रोत्साहित गरेकाले पनि पर्यटकको संख्या बढेको विश्लेषण गरिएको छ । भारतको बिहार लगायतका सीमावर्ती राज्यहरूबाट एकै दिनमा नेपाल प्रवेश गर्न सकिने र छोटो अवधिमा धेरै ठाउँ घुम्न सकिने भएकाले भारतीय युवा पुस्ता नेपालप्रति आकर्षित भएको देखिन्छ । विशेषगरी बिहारमा मदिरा निषेध गरिएकाले पनि त्यहाँका युवाहरू मनोरञ्जनका लागि नेपाल आउने गरेको पाइएको छ । भारत सरकारले ज्येष्ठ नागरिकहरूलाई तीर्थाटनका लागि उपलब्ध गराउने विभिन्न सहुलियतका कारण पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकहरूको संख्या पनि उत्तिकै रहेको छ । समग्रमा, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सहज यातायातका कारण भारतीय पर्यटकहरूका लागि नेपाल एक पहिलो रोजाइको गन्तव्य बनेको होटल संघ पोखराले जनाएको छ ।
छिमेकी मुलुक भारतमा बढेको अत्यधिक गर्मी छल्न नेपाल आउने पर्यटकका कारण पर्यटकीय नगरी पोखरामा चहलपहल निकै बढेको हो । विशेषगरी फेवातालमा डुङ्गा सयर गर्ने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीय व्यवसायीहरूले राहत महशुस गरेका छन् । फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीकाअनुसार हाल पोखरामा भारतीय पर्यटकको चाप उच्च रहेको छ । भारतबाट आउने पर्यटकहरू पोखरा भ्रमण, फेवातालमा डुङ्गा सयर र मुक्तिनाथ दर्शनका लागि जाने क्रम बढेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष गिरीकाअनुसार अहिले फेवातालका आठवटै स्टेशनहरूबाट दैनिक ५ हजारदेखि ७ हजार जनासम्मले डुङ्गा सयर गरिरहेका छन् ।
‘पर्यटकको यो बाक्लो उपस्थितिले डुङ्गा व्यवसायीहरूलाई आर्थिक रूपमा ठूलो राहत मिलेको छ र यहाँको चहलपहल पनि निकै उत्साहजनक छ ।’ गिरीले भन्नुभयो ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमनमा वृद्धि भएको व्यवसायीहरूको अनुभव छ । भारतका विभिन्न सहरहरूमा तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुगेका कारण त्यहाँका नागरिकहरू शीतल र रमणीय वातावरणको खोजीमा नेपाल आउने गरेका हुन् । 
पोखरा आइपुग्ने पर्यटकहरू यहाँको हिमालका श्रृङ्खला, पहाडी दृश्य र फेवातालको वातावरणबाट निकै प्रभावित हुने गरेको गिरीले बताउनु भयो । भारतको अत्यधिक गर्मीबाट उम्किएर पोखराको शीतल मौसममा रमाउन पाउँदा पर्यटकहरूले खुशी व्यक्त गर्ने गरेको व्यवसायीहरूले जानकारी दिएका छन् ।

कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा पोखरा महानगरपालिका वडा नं. ७ स्थित हुलाक कार्यालय बाहिरबाट उक्त सामग्री बुझ्न आएका भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीकाअनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ हजार पत्ता एलएसडी बरामद गरिएको छ । पर्यटकका रूपमा पोखरा आएका ती नागरिक लेकसाइडस्थित एक होटलमा बस्दै आएका थिए । उहाँले होटलकै ठेगानामा हुलाकमार्फत उक्त लागुऔषध मगाएको अनुसन्धानबाट खुलेको बताउनु भयो ।  
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद लागुऔषधको परिमाण, यसको सम्भावित कारोबार र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिइएको एसपी कार्कीले बताउनु भयो । 
अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपालमा लागुऔषध भित्र्याउने प्रयास बढ्दै गएको भन्दै प्रहरीले यस्ता अवैध गतिविधि विरुद्ध कडा निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँडने सत्ता पक्षका सांसदहरु देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ । 
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त भनाई राख्नुभएको हो । नेता आङदेम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँडनुपर्नेमा सत्ता पक्ष केही सांसदहरुले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडी राखेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरुलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताउनु भयो । उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कुटनीतिक सम्वादमार्फत टुंगो लगाउनुपर्ने पनि स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो,‘दुनियाँलाई थाहा छ सभामुख महोदय लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेशले होइन । संयमित ढंगले गहन सम्वादको माध्यमबाट कुटनीतिक प्रक्रिया बाट हुनु पर्दछ । हामी सबै यही चाहन्छौ । त्यसका लागि हामी पक्ष, प्रतिपक्ष सबैनै सरकारको साथमा नै थियौं । र छौँ । तर सरकार र सत्तारुढ दलको रवैया यो गम्भिर विषयप्रति गम्भिर देखिएन सभामुख महोदय । सरकार अगल कुरा हो । पार्टी अलग हो । मन्त्री, प्रधानमन्त्री पद अलग हो । संसद अलग । यो तथ्य बुझेर अघिल्लो संसदमा जुन बेला नेपाली काँग्रेसका वर्तमान पार्टी सभापति र उपाध्यक्ष तत्कालीन अवस्थामा महामन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रोष्टममा उभिएर आफनै सरकारको पनि कमजोरीहरु केलाउनुभएको थियो । काँग्रेसका सांसदहरु काँग्रेसकै मन्त्री, प्रधानमन्त्रीका विरुद्ध आवश्यक विषयमा प्रश्न उठाउनु हुन्थ्यो । प्रहार गर्नु हुन्थ्यो । त्यसैले दम राखेर आजको मितिमा यो भन्न सकियो काँग्रेस लास र दासको पार्टी होइन । त्यही हिम्मतमा, त्यही नैतिक धरातलमा उभिएर हामीहरुले बोल्न सकिराखेका छौ । तर आजको मितिमा यो संसदमा प्रश्न गर्ने क्षमताले आत्माहत्या गरिराखेको बडो कारुणिक दृष्य मैले देखिराखेको छु । सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान । मेरो देशले कसेको सीमा कहाँ मिचेको छ ?भनेर प्रश्न गर्लान भनेको त सभामुख महोदय म आफैँ लज्जित छु । उल्टै कतिपय सांसद मित्रहरु नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म यो शब्द प्रयोग गर्न चाहन्थ्ये तर भन्छु न्वारनदेखिकै बल लगाएर दौडी राख्नु भएको छ । नेपालले मिचेको भूमि खोजी राख्नु भएको छ । यस्तो खालको जनताले देख्दाखेरी पनि नरुचाउने खालको हर्कत गर्ने मित्रहरुलाई वीर भक्ति थापाको त्यो आत्माले धिर्कालान कि ।’  
नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्माहत्या भइराखेको कारुणिक दृष्य देख्नुपरेको गुनासो पनि गर्नुभयो । 

नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धर्ना कार्यक्रम आयोजना गरेको छ । 
महासंघको आह्वानमा बुधवार काठमाडौंसहित देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको हो । काठमाडौं शाखाले बबरमहलमा आयोजना गरेको धर्ना कार्यक्रममा पत्रकारहरूले मिडियाविरोधी नीति फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । धर्नालाई सम्बोधन गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले सरकारले गत चैत १८ गते गरेको सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी निर्णय संविधान, विज्ञापन ऐन, सूचनाको हकसम्बन्धी कानून तथा अन्तर्राष्ट्रिय मान्यताविपरित रहेको बताउनु भयो । सरकारको निर्णयले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने र देशभरका मिडिया संस्थालाई बन्द गर्ने सरकारको उद्देश्य रहेको उहाँको आरोप छ । महासचिव दाहालले सरकारले निर्णय तत्काल फिर्ता नलिए महासंघले सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिनुभयो । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप जारी रहे देशव्यापी आन्दोलन थप चर्किने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकारले घरेलु कानुनसँग मात्रै सम्बन्धित नभएर संयुक्त राष्ट्रसंघबाट घोषणा गरिएको विश्वव्यापी मानव अधिकारको घोषणा, युनेस्कोको मिडिया विकास सूचकाङ्कको उल्लंघन, हाम्रो संविधानमा भएका संघीयता, निजी लगानीदेखि प्रेस स्वतन्त्रताका कुराहरुको उल्लंघनदेखि हाम्रो विज्ञापन ऐन, सूचनाको ऐन लगायतका धेरै कानुनहरु उल्लंघन हुनेगरी राज्यले गत चैत १८ गते अपारदर्शी ढंगले, छापामार शैलीमा र देशभरिको मिडियालाई बन्द गर्ने ध्येयका साथ जुन निर्णय गरेको छ, त्यसप्रति हाम्रो आपत्ति छ, हामी आज यो सिंहदरबारको छेउमा त्यसको विरुद्धमा आएका छौं । अब सरकारलाई लाग्न सक्छ, यिनीहरु काठमाडौंमा सय–पचास जना भेला भएका थिए, केही होइन भनेर । आज देशको सबै सीडीओ कार्यालयमा हाम्रा साथीहरु यसैगरी बस्नुभएको, हामी अब निरन्तर रुपमा यो चिजलाई अगाडि लान्छौं । यो आन्दोलन अब सडकमा पोखिँदैछ, सरकारले ध्यान दिनुपर्छ । अब हामी देशभरिका साथीहरुको भावना अनुसार सिंहदरबार केन्द्रित आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेका छौं । सरकारलाई अहिले पनि लोकतान्त्रिक चरित्र देखाउन र यो अवस्था सिर्जना हुन नदिन म आह्वान गर्न चाहन्छु । यो कस्तो बेलामा हामी आन्दोलित हुनुपरेको छ भने सत्तामा राष्ट्रिय स्वतन्त्र पार्टी छ, जसका सभापति पूर्व पत्रकार हुनुहुन्छ । के एउटा पत्रकारको पार्टीले दुई तिहाई नजिकको सत्ता लिने बित्तिकै हामीलाई न्याक्ने ? यो आश्चर्यजनक घटना हो, त्यसकारण म रवि लामिछानेजीलाई यहींबाट आग्रह गर्न चाहन्छु, तपाइँको सत्ताले, तपाइँको सरकारले के गर्न खोजेको हो ? तपाइँले प्रधानमन्त्रीलाई तुरुन्त निर्देशन दिएर यो निर्णय फिर्ता गराउन आग्रह गरिदिनुस् । दोस्रो, अब संसद छ, अरु पार्टीहरु छन्, तिनीहरु पनि वास्तवमा अहिले पार्टीहरु बिचरा भएका छन् । हामी ६२–६३ साललाई सम्झौं, यसैगरी कुनै निषेधाज्ञा तोडेको पहिलोचोटि पत्रकारले हो । फेरि पनि पत्रकारले नै पहिलोचोटि निषेधाज्ञा तोड्नुपर्ने स्थिति आयो । मिडिया बन्द हुने भनेको एउटा सानो लोतन्त्रमाथिको प्रहार सानो हो । अब क्रमशः पार्टीहरु बन्द गर्ने हुँदैन भन्ने के छ ? नागरिक समाज हुनुहुन्न भन्ने के छ ? त्यो स्थितिमा सरकार जान सक्ने अवस्था छ ।’
महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण बढाउन खोजेको आरोप लगाउनु भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रमार्फत सरकारी विज्ञापन र सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था गरिएको उहाँको भनाई छ । त्यसले संविधानले प्रत्याभुत गरेको नागरिकको सूचनाको हकमाथि आघात पुगेको उहाँले बताउनु भयो । पत्रकारहरूलाई समाचारका विषयमा सोधपुछ गर्ने, समाचारको स्रोत खुलाउन दबाब दिने तथा सामग्री हटाउन लगाउने प्रवृत्ति बढेको उहाँको भनाई छ । उहाँले सञ्चार माध्यमलाई सूचना र सार्वजनिक विज्ञापनहरू प्रकाशन र प्रसारणमा रोक लगाएर सरकारले मिडियाको मुख थुन्ने प्रयास गरेको आरोप लगाउनुभयो । साथै उहाँले सरकारले संविधान संशोधन गर्न बनाएको कार्यदलप्रति पनि आपत्ती जनाउनु भयो । संसद बाहिरबाट कार्यदल बनाएर सरकारले संविधानले दिएका सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी हस्तक्षेप गर्न खोजिएको उहाँको आरोप छ । उहाँले संसदभित्रबाट नै सबै राजनीतिक दलको सहमतिमा संविधान सुझाव आयोग बन्नुपर्ने र उक्त आयोगलाई मात्रै महासंघले संविधान संशोधनमा सुझावहरू दिने बताउनु भयो । उहाँले वर्तमान कार्यदललाई पत्रकार महासंघले मान्यता नदिने उल्लेख गर्नुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रता र संविधान संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘विशेषतः यो पछिल्लो दुई तिहाइको सरकार बनिसकेपछि नेपाल पत्रकार महासंघले देशमा केही स्थायित्व आउँछ, कतिपय नबनेका कानूनहरू बन्छ र स्थायी सरकार भएको सकारात्मक रूपमा लिएको थियो । तर केही समय यता यो सरकारले मिडियामाथि नियन्त्रण गर्ने, निरंकुशता जुन खालको हावी देखिएको छ, त्यसका विरुद्ध पत्रकार महासंघले आन्दोलन गरिराखेको छ । संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नियन्त्रण गर्ने प्रयास गरेको छ, जसको उदाहरण पछिल्लो समय नेपाल सरकारको प्रधानमन्त्री कार्यालयबाटै भएको एउटा परिपत्र हो, जसले चाँही सरकारी विज्ञापन र सरकारी सूचनाहरू सरकारी सञ्चार माध्यमलाई मात्रै प्रसारण र प्रकाशन गर्न दिने नीति लिएको छ । यो यतिमा मात्रै सीमित छैन । संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नियन्त्रण गर्ने प्रयास गरेको छ । त्यस विरुद्ध पनि पत्रकार महासंघले आन्दोलन गरेको छ । अहिले मिडियाहरूमाथि धेरै बन्देज लगाएको छ, अहिले हामीले हेर्यौँ भने मिडियामाथि नियन्त्रण भइराखेको छ, पत्रकारले स्वतःस्फूर्त रूपमा लेख्न सक्ने अवस्था छैन । पत्रकारहरूलाई समाचार लेखेकै कारण साइबर ब्युरोमा लगेर कतिपय अवस्थामा समाचारको स्रोतहरू भन्न लगाउने र आइन्दादेखि यस्ता समाचार नलेख्ने वाचा गराउँदै समाचार डिलिट गराएको पनि हामीसँग धेरै उदाहरणहरू छन् ।’
महासंघले लोकतन्त्र, संविधान र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आन्दोलन जारी रहने जनाएको छ । साथै, असार ५ गते विभिन्न नागरिक समाज, मानवअधिकारकर्मी तथा सरोकारवालासँग ऐक्यवद्धता कार्यक्रम आयोजना गरी आन्दोलनलाई थप विस्तार गर्ने तयारी गरेको महासंघले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।