२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

२०८३ भदौ १२ गते

 
पोखरा । कास्कीको नयाँपुल–विरेठाँटी–घान्द्रुक–उरी सडकखण्डमा बाढी र पहिराले पुर्‍याएको क्षतिको मर्मत कार्यमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय चासो व्यक्त गरेको छ । मन्त्रालयले अवरुद्ध सडकमा अस्थायी रूपमा आवागमन सुचारु गर्न मर्मत कार्य अगाडि बढाउन स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरिरहेको बताएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस विषयलाई गम्भिरतापूर्वक लिएको जानकारी दिएको छ ।

साउन २८ गते रातिको अविरल वर्षा र मोदी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा सडक कटान र पहिरो निम्त्याएको थियो । सडक भासिएका कारण सो क्षेत्रका वडा नम्बर ८, ९, १० र ११ का बासिन्दाको नयाँपुल, पोखरा र पर्वततर्फको आवागमन पूर्ण रूपमा प्रभावित भएको छ । मन्त्रालयले यसबाट शिक्षा, स्वास्थ्य, रोजगारी र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा गम्भीर असर परेकाले पुनर्निर्माणका कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा साउन ३१ गते बसेको सर्वपक्षीय समन्वयवात्मक बैठकले सडक यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको थियो । सो बैठकले पूर्वाधार विकास कार्यालय कास्कीलाई तारजाली खरिद गर्न र अन्नपूर्ण गाउँपालिकालाई आवश्यक निर्माण सामग्री तथा मेसिनरी उपलब्ध गराउन निर्देशन दिएको थियो ।

मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गरी अहिले अस्थायी रूपमा सडक खुलाउने काम भइरहेको बताएको छ । ‘क्षतिग्रस्त सडकको पुनर्निर्माण गरी आवागमनलाई दिगो बनाउन वर्षादको समयपश्चात् आवश्यक प्राविधिक डिजाइन र प्राथमिकताका आधारमा क्रमिक रूपमा पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्य अगाडि बढाइनेछ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विपद्का कारण प्रभावित नागरिकको जीवन र सुरक्षालाई ध्यानमा राख्दै सडक आवागमनलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । स्थानीय तह, नेपाली सेना र अन्य सरोकारवाला निकायसँगको समन्वयमा पुनर्निर्माणका कार्यलाई तीव्रता दिने प्रतिबद्धता मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अवरुद्ध सडक मंगलबारदेखि बनाउन सुरु गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । बाढी पहिरोका कारण घान्द्रुक जाने विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । सबैभन्दा बढि असर गरेको बिरेठाँटी बजार नजिकबाट पुनः निर्माणको काम सुरु गरिएका उनले बताए ।

नेपाली सेना, गण्डकी प्रदेश सरकार, मोदी खोला जलविद्युत आयोजना र स्थानीयको सहकार्यमा पहिरो गएको ठाउँमा तट्बन्ध लगाउन (ग्याबिन जाली भर्ने काम) सुरु गरिएको गाउँपालिका अध्यक्ष केसीले बताए । ‘मंगलबारबाट जाली भर्ने काम सुरु भएको छ । यो काम सक्न १५ दिन जति त लाग्छ होला,’ उनले भने, ‘यहाँ जाली भर्ने काम नेपाली सेनाले गरिरहनुभएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा दुई सय २२ थान जाली आएको छ । अनि हाइड्रोले जेसिबी (डोजर) दिएको छ ।’
पुनः निर्माणमा ४० जना नेपाली सेनाले काम गरिरहेको अध्यक्ष केसीले बताए । डोजरमा तेल हाल्नेदेखि खाना, खाजालगायत अन्य खर्च गाउँपालिकाले गरिरहेको उनले सुनाए । प्रभावित क्षेत्रको पुननिर्माण, पीडित परिवारको राहत, उद्दार तथा पुनःस्थापनाका लागि अन्नपूर्ण गाउँपालिकाले विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको अध्यक्ष केसीले बताए । उक्त कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ ।

कोषमा आइतबार तमु धिंले ३ लाख, मंगलबार छोम्रोङ पर्यटन व्यवसाय समितिले साढे २ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष केसीले बताए । यस्तै कास्कीको मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाले ५/५ लाख रुपैयाँ कोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले सुनाए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पनि आर्थिक सहयोग गर्ने जानकारी दिएको उनले बताए । यसबाहेक पनि क्यूआर कोडमा स–साना रकम जम्मा भइरहेको उनले जानकारी दिए ।

प्राप्त सहयोग रकमलाई विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गर्ने गाउँपालिकाले जनाएको छ ।

२०८३ भदौ १२ गते १५:५३

पोखरा । पोखराको चिप्लेढुंगामा रहेको जी एण्ड के एजुकेशन कन्सल्टेन्टले प्राकृतिक विपद्मा परेका परिवारलाई आर्थिक सहयोग गरेको छ । देशका विभिन्न भागमा आएको बाढी र पहिरोबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि कम्पनीले १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको हो ।

कम्पनीका सञ्चालक राजन पन्थीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिए । भदौ ११ गते बिहीबार एनएमबी बैंकमार्फत सो रकम कोषमा पठाएको विवरण कम्पनीले सार्वजनिक गरेको छ । हालैको विनाशकारी भोटेकोशी बाढी र रसुवाका विभिन्न क्षेत्रमा गएको पहिरोबाट पीडित समुदायलाई लक्षित गरी यो सहयोग गरिएको पन्थीले बताए ।

प्राकृतिक विपद्का कारण संकटमा परेका परिवार र समुदायलाई तत्कालै सहायता पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको उनले उल्लेख गरे । ‘विपद्को यो समयमा समस्यामा परेका नागरिकलाई साथ दिनु हाम्रो दायित्व हो,’ पन्थीले भने । जी एण्ड के एजुकेशन कन्सल्टेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकको उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ ।

२०८३ भदौ १२

पोखरा। पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले राहतका लागि तत्काल सो रकम छुट्टयाउने निर्णय गरेको हो ।

संघले आफ्ना पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई थप रकम सहयोग गर्न आह्वान समेत गरेको छ । महासचिव शोभा गौतमका अनुसार वर्तमान कार्यसमितिबाट संकलन हुने थप रकम र संघको ७५ हजार रुपैयाँ एकमुष्ठ गरी हस्तान्तरण गरिने छ । उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने संघले जनाएको छ ।

यसअघि बुधबार भोटेकोशीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गरेको थियो । विपद्को यो घडीमा स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता संघको छ । उद्धार, राहत संकलन र पुनःस्थापनाका अभियानमा संघ प्रत्यक्ष सहभागी हुने अध्यक्ष गोकर्ण कार्कीले बताए ।

अध्यक्ष कार्कीले एक अपिल जारी गर्दै तत्काल उद्धार र राहत कार्यमा जुट्न उद्योगी, व्यवसायी तथा आम नागरिकसँग आग्रह गरेका छन् । ‘प्राकृतिक विपद्को सामना गर्न र प्रभावित परिवारलाई सहयोग गर्न हामी सबै एकजुट हुनुपर्छ,’ उनले भने । संघले विपद् प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ ।

२०८३ भदौ १२ 

पोखरा । मुक्तिनाथ विकास बैंकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूको सहयोगार्थ सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली र देवीघाट लगायतका स्थानमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । यसबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । विभिन्न उद्देश्यले ती क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी नागरिकले समेत क्षति व्यहोर्नुपरेको छ । विपद्मा परी ज्यान गुमाउनेहरूप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन घडीमा सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताइएको छ । बैंकले प्रदान गरेको ५० लाख रुपैयाँ सहयोगले राहत र पुनःस्थापना कार्यमा केही हदसम्म टेवा पुग्ने विश्वास लिइएको छ । विपद् प्रभावित नागरिकको साथमा रहँदै बैंकले आगामी दिनमा पनि समुदायको हित र सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

२०८३ भदौ १२messenger sharing button

पोखरा । पोखराका पर्यटन व्यवसायीलाई धम्की दिएर रकम माग गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पोखरा महानगरपालिका-६ डिहीकोपाटनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनकुटाको मारेक कटहरे गाउँपालिका-६ स्थायी घर भई हाल पोखरा लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापा रहेका छन् । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-२५ स्थायी घर भई लेकसाइड बस्ने २९ वर्षीय पंकज खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले विगत १ महिनादेखि पोखराको पृथ्वीचोक र लेकसाइड लगायतका क्षेत्रमा व्यवसायीलाई त्रसित बनाउँदै आएका थिए ।

‘द फायर ग्याङ’ नामको ह्वाट्सएप नम्बर प्रयोग गरी उनीहरूले व्यवसायीलाई जनधनको क्षति पुर्‍याउने धम्की दिने गरेका थिए । उनीहरूले व्यवसायीलाई अपहरण गर्ने र दुर्घटना गराउने त्रास देखाई रकम माग गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूको पहिचान गरी शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको जिप्रका कास्कीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपकप्रसाद रिजालले जानकारी दिए ।
 

१२ भदौ,

गण्डकी प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वक्तव्य जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

धार्मिक यात्रा तथा अन्य कामका लागि रसुवा पुगेर सम्पर्कविहीन भएका गण्डकी प्रदेशका नागरिकहरूलगायत सबैको खोजी र उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायहरूसँग तीव्र समन्वय गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

उनले संकटको यस घडीमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन उद्योगी, व्यवसायी, राजनीतिक दल र नागरिक समाजलाई अपिल गरेका छन् । साथै, विपद्को समयमा भ्रामक र अपुष्ट सूचनाको प्रचारप्रसार नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न पनि मुख्यमन्त्रीले विशेष आग्रह गरेका छन् ।

रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीवार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो । यस्तै ९ सय १० जना सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् । नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२, तथा रसुवामा २ वटा शव फेला परेको उहाँले जानकारी दिनुभयो । यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् । रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्यांक प्राप्त भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीका कारण ३५ देशका ५ सय १७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १ सय २७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मानवीय क्षतिको कुरा गर्दा अहिलेसम्म २५८ जनाको शव फेला परेको छ । धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोर्खामा २०, नवलपरासी पूर्वमा ६२ वटा, तनहुँमा १२, चितवनमा १०८ वटा र नवलपरासी पश्चिममा १५ वटा शव फेला परेको छ । ९१० जना व्यक्ति सम्पर्कविहीन भनेर हाम्रो तथ्यांकले देखाउँछ । हामीले आधिकारिक निकायहरूबाट प्राप्त तथ्यांकलाई एक्युमुलेट गरेर यहाँ राखेका छौँ। यसमा नेपाल प्रहरी २८ जना, नेपाली सेना ४४ जना, सशस्त्र प्रहरी बलबाट १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालय ४ जना, अन्य व्यक्तिहरू रसुवाको भनेर १६१ जना छ । नुवाकोटको १ जना छ । त्यहाँसँगै अब सम्पर्कविहीन भएका विदेशी नागरिक ५ सय १७ जना हुनुहुन्छ अहिलेसम्म ३५ वटा देशका ५१७ जना फरेनर्सहरू सम्पर्कविहीन हुनुहुन्छ । नेपाल घुम्न आएका विदेशमै रहने नेपाली नागरिक भनेर १२७ जना हुनुहुन्छ । त्यसैगरी हामीले खोज तथा उद्धारमा हाम्रो तीनटा सेक्युरिटी एजेन्सीका ९ हजार २६० जना सुरक्षाकर्मीहरू फिल्डमा खटिनुभएको छ । त्यसमा नेपाल प्रहरीबाट ३ हजार ३१८ जना, नेपाली सेनाबाट ४ हजार २०० जना, सशस्त्र प्रहरी बल नेपालबाट १ हजार ७४२ जना गरेर ९ हजार भन्दा बढी सुरक्षाकर्मीहरू चाहिँ प्राक्टिकल फिल्डमा खटेर उद्धारको कामहरू, खोजीका कामहरू भइराखेको छ । हामीले आज २ बजेसम्म ३५१ जना प्रभावितहरूलाई हेलिबाट उद्धार गरेका छौँ । आज उद्धारका लागि आज मात्रै ६९ वटा हवाई उडानहरू भएका छन् । विदेशी नागरिकको हकमा ४६ जना विदेशी नागरिकहरू रेस्क्यु गरिएको छ ।

उहाँकाअनुसार खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । प्रवक्ता महतकाअनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ । उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक समेत रहेका छन् । प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

रसुवा जिल्लामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठूलो क्षति पु¥याएको छ ।  प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौं स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन भएका छन् । सञ्चार सम्पर्क विच्छेद र भौगोलिक विकटताका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था –इप्पान) ले जनाएको छ । निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ७६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । एन्ड्रिज हाइड्रोका यी कर्मचारीहरूमध्ये आधा नेपाली र आधा विदेशी नागरिक हुन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी पनि सम्पर्कमा छैनन्, जसमा ८ जना कोरियन नागरिक रहेका छन् । यसैगरी, परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना कर्मचारी पनि बेपत्ता भएको सूचना प्राप्त भएको छ । आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना र विद्युतगृह (पावर हाउस) क्षेत्रमा २०० भन्दा बढी व्यक्तिहरू उद्धारको पर्खाइमा रहेका छन् । 

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङमा बुधवारदेखि ६० जना व्यक्ति थुनिएका छन् । सम्पर्कविहीन हुनेहरूमा २५ जना कर्मचारी र ३५ जना कामदार रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात छ । विकासकर्ता कम्पनीले उद्धारका लागि पहल गरे तापनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा कठिनाइ भइरहेको छ ।  १११ मेगावाटको रसुवागढी आयोजनामा कार्यरत ५१ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । तिमुरे क्षेत्रमा ३ जना कामदारले भने अग्लो स्थानमा उक्लिएर ज्यान जोगाउन सफल भएका छन् । हाल त्यस क्षेत्रमा कुनैपनि सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन ।  ५ मेगावाटको मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी बुधवारदेखि नै सम्पर्कविहीन छन् । उनीहरूको अवस्था बुझ्न हेलिकप्टरमार्फत अवलोकन गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ ।  १ सय २० मेगावाटको रसुवा भोटेकोशी आयोजनाका सिभिल कन्ट्रयाक्टर सिनो हाइड्रोका २ जना कामदार बेपत्ता भएका छन् । अन्य ५ जना कर्मचारी (३ चिनियाँ र २ नेपाली) भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरू हाल उद्धारको प्रतिक्षामा छन् र उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ । जिरोङ (केरुङ) काउन्टीस्थित सीमा नाकामा बुधवार बिहान पहिरो गएको हो । आधिकारिक जानकारीअनुसार पहिरो नेपाली भू–भागबाट शुरु भई सीमावर्ती नाका क्षेत्रमा ठोक्किएको थियो । बिहीवार बिहान ८ बजे आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीले घटनाबारे जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताएका छन् । सिजाङको जिरोङ काउन्टी नेपालसँगको व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण नाका मानिन्छ

त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पु¥याएको पृथ्वी राजमार्ग सञ्चालनका लागि हिलो र लेदो पन्छाउने कार्य तिब्र पारिएको छ ।  राजमार्गको बैरेनी खण्डमा थुप्रिएको लेदो हटाउन सुरक्षाकर्मीहरू स्थानीय नागरिकको सहयोगमा परिचालन भएका छन् । यद्यपि, सडकको अवस्था र क्षतिको प्रकृति हेर्दा आजै यातायात सञ्चालनमा आउने सम्भावना न्युन रहेको बताइएको छ । बुधवार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्मको क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्राप्त जानकारीअनुसार हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् । सुरक्षा निकाय र सरोकारवाला निकायहरू बेपत्ताको खोजी, राहत वितरण तथा उद्धार कार्यमा सक्रिय रूपमा खटिएका छन् । बाढीले विभिन्न स्थानमा पुल तथा सडक मार्गहरू बगाउँदा संघीय राजधानी काठमाडौंसँग कतिपय जिल्लाहरूको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । भौतिक संरचनामा पुगेको ठूलो क्षतिका साथै विद्युत आपूर्ति बन्द हुँदा धेरै स्थानमा सञ्चार सम्पर्क समेत अवरुद्ध भएको सरकारले जनाएको छ । सडक सञ्जालमा पुगेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।