२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सन् २०२६ को फिफा विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको भन्दै शनिवार राष्ट्रिय फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई सम्मान गरेका छन् । न्यु अलामेन शहरमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति सिसीले टोलीलाई ‘मेरिट कप’ र विभिन्न मानपदवी प्रदान गरेका हुन् । टोलीले प्रतियोगिताका क्रममा प्रदर्शन गरेको उत्कृष्ट प्राविधिक कौशल, दृढता, अनुशासन र साहसिक खेलको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सिसीले खेलकुद केवल जित र हारमा मात्र सीमित नहुने धारणा व्यक्त गर्नुभयो । 
सन् २०२६ को विश्वकपमा इजिप्ट पहिलो पटक प्रतियोगिताको अन्तिम १६ (राउन्ड अफ १६) सम्म पुग्न सफल भएको थियो । ३२ औँ चरणको खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले यो ऐतिहासिक सफलता प्राप्त गरेको हो । यसै संस्करणको समूह चरणको खेलमा न्युजिल्याण्डलाई ३–१ ले हराउँदै इजिप्टले विश्वकपको इतिहासमा आफ्नो पहिलो जित समेत दर्ता गरेको थियो । इजिप्टको विश्वकप यात्रा जुलाई ७ मा एटलान्टामा साविक विजेता अर्जेन्टिनासँगको प्रतिष्पर्धापछि टुङ्गिएको थियो । अत्यन्तै रोचक सो खेलमा इजिप्टले शुरुवाती २–० को अग्रता लिए पनि खेलको अन्तिम समयमा तीन गोल व्यहोर्नुपर्दा ३–२ को हार व्यहोर्न पुगेको थियो । अर्जेन्टिनाले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित हात पारेको थियो । 

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती काठमाडौंमा मनाइएको छ । 
सोमवार बिहान काठमाडौंमा उहाँको स्मरणमा एक कार्यक्रम गरी २१३ औँ जन्मजयन्ती मनाइएको हो । नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पु¥याउनुभएका आचार्यको स्मरणमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन् । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनमानसमा पु¥याउनुभएको थियो । नेपाली भाषाको उत्थान र साहित्यको विकासमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै हरेक वर्ष असार २९ गतेलाई भानु जयन्तीका रूपमा मनाउने गरिन्छ । यस अवसरमा आज काठमाडौंको रानीपोखरीस्थित उहाँको पूर्णकदको प्रतिमामा माल्यार्पण गरिनुका साथै विभिन्न साहित्यिक गोष्ठी, काव्य वाचन तथा प्रवचन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 
कार्यक्रममा बोल्दै नेपाली लोक साहित्य संस्कृति र नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुभएकी संस्कृतिविद् डा. आना एम सिस्टरले आफू नेपाल २० वर्षअघि विद्यार्थी भएर आएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘म २० वर्ष अगाडी विद्यार्थी भएर आएँ नेपालमा पहिलो चोटी । त्यो भन्दा अगाडी मलाई पठाएको क्यासेटबाट अलिकति मात्रै नेपाली भाषा सिकेको थिएँ । सिक्दै गएँ, तर पनि कहिले पनि सोचेको थिइनँ कि यस्ता सम्मान प्राप्त गर्ने ठाउँमा पुग्ने थिएँ । यो मेरो लागि धेरै ठूलो कुरा भयो । अनि अहिले भानु प्रतिष्ठानको अध्यक्ष दिव्य अर्यालको अनुरोध अनुसार म कोशिस गर्छु,अलिकति भानुभक्त रामायणको दुई लाइन गाउनलाई ।’
उक्त अवसरमा उहाँले भानुभक्तले नेपालीमा उल्था गर्नुभएको रामायणको एउटा श्लोक समेत वाचन गरेर सुनाउनु भयो । साथै एउटा गीत समेत उहाँले गाएर सुनाउनु भयो । 
विदेशीको नेपाली भाषा र संस्कृतिप्रतिको मोहबारे आनाको यो सुस्पष्ट भाषा र लयवद्ध वाचनले पनि स्पष्ट पार्छ । 
भानुभक्तका ‘रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायतका कृतिहरू नेपाली साहित्यका अमूल्य निधि मानिन्छन् । नेपालका साथै दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषीहरूको बाहुल्यता रहेका स्थानहरूमा पनि भानु जयन्तीलाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ । उहाँको योगदानले नै नेपाली भाषालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भुमिका खेलेको साहित्यकारहरूको ठम्याइ छ । 

आषाढ २९, २०८३ सोमबार । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताउनुभएको छ । 
सोमवार काठमाडौंमा २१३ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले  आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सिमित नराखी, त्यसलाई आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको हो । सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिष्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको सामीप्यता आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै सभामुख अर्यालले युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्नुपर्ने बताउनु भयो । उहाँले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयसापेक्ष रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । भानुभक्तको सम्मानमा गरिने हरेक कार्य नेपाली राष्ट्रियताको रक्षा र मौलिकताको परिचायक हुने उहाँको भनाइ छ । 
सभामुख अर्यालले भन्नुभयो, ‘आजको दिन हामीले भानुभक्तलाई सम्झनु मात्र होइन, उहाँको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनु आवश्यक छ । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिष्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच पनि हाम्रो भाषा, संस्कृति र पहिचानलाई जोगाउनु तथा उन्नत बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो । यो जिम्मेवारी पूरा गर्न हामीलाई सफलता मिलोस् भन्ने विश्वास व्यक्त गर्दछु । भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनतासँगको निकटताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । हामीले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ । सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ तथा भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्छ । भानुभक्तको सम्मानमा जे–जति गरिन्छ, ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक पनि हुन् ।’
सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुई श्रष्टालाई सम्मान समेत गर्नुभयो । सम्मानित हुनेहरूमा वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा. आना एम सिस्टर रहेका छन् । 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले राष्ट्रिय गौरवका आयोजनाहरूको लागत अत्याधिक वृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले आयोजना व्यवस्थापन र अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिका विषयमा प्रश्न उठाउनुभएको हो । आयोजनाहरु समयमै सम्पन्न नहुँदा राज्यलाई ठूलो आर्थिक भार परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या वृद्धि गरिए पनि तिनको वर्गीकरण र प्राथमिकीकरणमा समस्या रहेको उल्लेख गर्नुभयो । उहाँले बबई सिंचाई आयोजनाको लागत २ अर्ब ८७ करोडबाट बढेर १८ अर्ब ९६ करोड पुगेको र रेल्वे तथा मेट्रो विकास आयोजनाको लागत ७० अर्ब ६२ करोडबाट बढेर ९५५ अर्ब २२ करोड पुगेको बताउनु भयो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र माथिल्लो तामाकोशीको लागत पनि अस्वाभाविक रूपमा बढेको भन्दै उहाँले राष्ट्रिय योजना आयोगले यस्ता आयोजनाहरूको ‘कस्ट बेनिफिट एनालाइसिस’ (लागत–प्रतिफल विश्लेषण) गर्ने गरेको छ कि छैन भनी प्रश्न गर्नुभयो । 
सांसद अधिकारीले सरकारी ढुकुटीबाट मात्रै यति धेरै आयोजना सञ्चालन गर्न असम्भव रहेको भन्दै ‘अल्टरनेटिभ फाइनान्स बिल’ मार्फत वित्तीय उपकरणहरूको प्रयोगमा जोड दिनुभयो । उहाँले सोभरन वेल्थ बन्ड, अफसोर बन्ड र थिमेटिक बन्ड जस्ता उपकरणहरू ल्याउने भनिए पनि योजना आयोग, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा कार्यान्वयन पक्ष फितलो देखिएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०६८/६९ सम्म १७ वटा रहेका राष्ट्रिय गौरवका आयोजनाको संख्या हाल २७ पु¥याइएको छ । यो आवश्यकताका आधारमा गरिएको हो कि राजनीतिक स्वार्थका लागि ? यसको औचित्य पुष्टि हुनुपर्छ । हाम्रो वार्षिक पुँजीगत खर्च विनियोजित बजेटको ४० प्रतिशत पनि हुन गाह्रो छ । दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न वार्षिक २० खर्बभन्दा बढी आवश्यक छ, तर हाम्रो खर्च २०० देखि ३०० अर्बमा सिमित छ ।’ 
यस्तो अवस्थामा राष्ट्रिय गौरवका आयोजनाहरूलाई घटाएर रणनीतिक महत्वका ८–१० वटा आयोजनामा मात्र ध्यान केन्द्रित गर्न उहाँले सुझाव दिनुभयो । 
सांसद अधिकारीले नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुने प्रक्रियाका विषयमा पनि चासो व्यक्त गर्नुभयो ।सन् २०२६ को नोभेम्बरमा हुने भनिएको स्तरोन्नतिलाई सन् २०२९ सम्म सार्न सरकारले गरेको प्रश्तावको अद्यावधिक अवस्थाबारे उहाँले जानकारी माग्नुभयो । स्तरोन्नतिपछि नेपालले स्वास्थ्य र व्यापार क्षेत्रमा भोग्नुपर्ने चुनौतीबारे सचेत गराउनु भयो । 
उहाँले भन्नुभयो, ‘स्तरोन्नतिपछि औषधिको पेटेन्ट छुट गुम्नेछ, जसले गर्दा क्यान्सर जस्ता रोगका औषधि ८०० देखि १००० गुणासम्म महँगो हुन सक्छ । यसका लागि हाम्रो तयारी के छ ?’
आइएलओको प्रतिवेदनलाई उद्धृत गर्दै उहाँले स्तरोन्नतिपछि पाँच वर्षमा १ लाख ३२ हजारले रोजगारी गुमाउन सक्ने र युरोपको तयारी पोसाक तथा गलैँचा बजार भारतले लिन सक्ने जोखिम औँल्याउनु भयो । सांसद अधिकारीले प्रमुख व्यापार साझेदारहरूसँग ‘प्रिफेन्सियल ट्रेड एग्रिमेन्ट’ (सहुलियतपूर्ण व्यापार सम्झौता) गर्न र डायस्पोरा तथा रेमिट बन्डमार्फत पूर्वाधारमा लगानी जुटाउन सरकारसँग माग गर्नुभयो । उहाँले ढिलासुस्ती गर्ने आयोजना प्रमुख, परामर्शदाता र ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन समेत योजना आयोगलाई आग्रह गर्नुभयो ।

सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरुमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आईतवार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो । सरकारले गरिव सुकुम्बासीहरुमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताउनु भयो । उहाँले सरकारविरुद्ध आफूहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी समेत दिनुभयो ।
 कार्यवाहक अध्यक्ष परिश्रमीले भन्नुभयो,‘पञ्चायत कालमा पनि यति साह्रो बर्बर दमन भएको थिएन गरिवहरुमाथि । यो बर्बर दमन भएको छ । अव ७० लाख सुकुम्बासीहरुले अब सहने छैनन् । यसैको विरोधमा आज हामीले भत्सर्नास्वरुप विरोध गर्नका लागि सुकुम्बासी अभियन्ता संघ, संगठन, जेन–जी मोभमेन्टका भाईबहिनीहरु, आज यो माईतीघर मण्डलामा आएका छौँ । सरकारले झन ज्यान जोखिममा पारेर बाढी नै कम्मर कम्मरमा आउने गरेर सरकारले राखेको छ । यो हो व्यवस्थापन सरकारको ? यो नामर्द सरकार हो । यो कायर सरकार । गरिवहरुसँग किन डराउनु परेको ? सक्छौ व्यवस्थापन गर सरकार । सक्दैनौ भने हामी त्यही थाँतथलोमा आएर बस्छौँ । अब हामी देशव्यापी आन्दोलन गर्दछाँै । त्यो बेला यो सरकारको आयु कति लामो हुन्छ ? गरिवलाई नजिस्का सरकार । हामी गरिवलाई जिस्क्याईस भने तेरो आयु कम हुन्छ । यो सरकारको आयु करिव सकिएको जस्तो लाग्दैछ ।’
त्यस क्रममा प्रर्दशनकारीहरुले सरकारको  दमन र गैरन्यायिक पक्राउ विरुद्ध चर्का नाराबाजी लगएका थिए । सुकुम्बासीमाथिको अन्यायको अन्त्य गर, जनताको आवाज दवाउन पाईदैन,  गरिवमाथिको अन्याय बन्द गर, सुकुम्बासी यहाँ छ, रवि–बालेन कहाँ छ ? गरिवमारा सरकार–मुर्दावाद लेखिएको प्लेकार्ड पनि प्रदर्शनकारीहरुले प्रर्दशन गरेका थिए ।

आषाढ २८, २०८३ आइतबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानमाथि ठूलो संख्यामा मिसाइल आक्रमण गर्ने चेतावनी दिनुभएको छ । आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले त्यस्तो कदम चालेमा अमेरिकाले शुरुमा १ हजार वटा मिसाइल प्रहार गर्ने र त्यसलगत्तै थप हजारौं मिसाइलहरूद्वारा आक्रमण गरिने बताउनु भयो । ट्रम्पले अमेरिकी सेनालाई यसका लागि तयारी अवस्थामा रहन आवश्यक आदेश दिइसकेको दाबी समेत गर्नुभएको छ । उहाँकाअनुसार यो सैन्य तयारी एक वर्षको अवधिका लागि गरिएको छ र आवश्यकता अनुसार यसको समय सीमा थप विस्तार गर्न सकिनेछ । इरानले आफ्नो हत्या गर्ने योजना बनाएको भन्ने रिपोर्टहरू सार्वजनिक भइरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पको यो कडा प्रतिक्रिया आएको हो । 

पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ । 
शाहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुनसक्ने जोखिम न्युनिकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ (मापसे) तथा लागुपदार्थ (लापसे) सेवनसम्बन्धी विशेष जाँच शुरु गरेको हो । सडकमा सवारी चालकहरूको नियमित जाँच गरिएझैँ पोखरा–१८, सराङकोटस्थित तोरीपानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटहरूको आकस्मिक परीक्षण गरेको थियो । भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति रहेको हालको समयमा पाइलटहरूले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यो अनुगमन गरिएको हो । वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीसहितको टोलीले तोरीपानीमा पुगेर ३५ जना पाइलटको स्वास्थ्य परीक्षण गरेको थियो । डिएसपी भट्टराईकाअनुसार उडानका क्रममा हुनसक्ने मानवीय त्रुटी र सम्भावित दुर्घटना रोक्नका लागि यो कदम चालिएको हो । पर्यटकको सुरक्षालाई सुरक्षित गर्न आफूहरुले चेकजाँच गरेको बताउनु भयो । पोखराको मौसम परिवर्तन भइरहने भएकाले पाइलटले विशष सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । सुरक्षित शाहसिक गन्तव्यस्थल बनाउन चेकजाँचको श्रृंखला जारी रहेको बताउनु भयो । 
प्याराग्लाइडिङ आफैँमा एक शाहसिक र जोखिमपूर्ण खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय–समयमा यस्तो अनुगमन गर्दै आएको छ । विगत २५ वर्षको अवधिमा टेन्डम उडान (पाइलट र यात्रु) का क्रममा दुई वटा दुर्घटना भइसकेका छन् । यस्तो अवस्थामा प्रहरीको सक्रियताले पर्यटकहरूमा थप आत्मविश्वास जगाउने र उडान सुरक्षित हुने विश्वास पाइलटहरूले व्यक्त गरेका छन् । प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमले प्याराग्लाइडिङ गर्न दिनमा ५ सय जना भन्दा बढी पर्यटक आउने गरेको बताउनु भयो । पर्यटन क्षेत्र बचाउने काम आफ्नै भएकाले सबैले मिलेर सुरक्षित रुपमा काम गर्नुपर्ने बताउनु भयो । यस पटक भारतीय र बंगलादेशी पर्यटक पोखरामा अपसिजनमा आइरहेको बताउनु भयो । अर्का एक जना कपाइलट ७ हजार ५ सयमा प्याराग्लाइडिङ गर्न सकिने बताउनु भयो । उक्त रकममा फोटो भिडियो सबै हुने उहाँको भनाइ छ । 
सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले प्याराग्लाइडिङ क्षेत्रमा हुने असुरक्षित गतिविधिले समग्र पोखराको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने बताउनु भयो । उहाँले पाइलटहरूलाई आफ्नो पेशाप्रति थप जिम्मेवार बनाउन र सुरक्षा मापदण्ड पालना गराउन सम्बन्धित निकायले नियमनमा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । शाहसिक खेलमा कुनै दुर्घटना हुन नदिन चेकजाँच कडाइ गरिएको बताउनु भयो । विगतका वर्षहरुमा पनि यो कार्यक्रम गरिएको उहाँको भनाइ छ । 
सरोकारवालाहरूकाअनुसार साहसिक खेललाई व्यवस्थित र मर्यादित बनाउन यस्ता छड्के जाँचहरू नियमित रूपमा गरिनुपर्छ, जसले गर्दा सम्भावित हवाई दुर्घटनालाई न्युनिकरण गर्न मद्दत पुग्नेछ ।

दक्षिण चीनको ग्वाङ्सी जुआङ स्वायत्त क्षेत्रमा विगत केही दिनदेखि जारी मुसलधारे वर्षाका कारण आएको बाढीपछि राहत तथा उद्धार कार्यलाई तिब्र पारिएको छ । बाढी प्रभावित क्षेत्रमा सहयोग पु¥याउन चीनभरबाट उद्धार टोली, स्वयंसेवक र राहत सामग्री परिचालन गरिएको छ । ग्वाङ्सीको किनझोउ शहरमा छिमेकी गुआङडोङ प्रान्तको गाओझोउ शहरबाट आएको उद्धार टोलीले जुलाई ७ देखि नै राहत कार्य जारी राखेको छ । उक्त टोलीले बाढीमा फसेका बासिन्दाहरूको उद्धार गर्नुका साथै दैनिक उपभोग्य वस्तुको वितरण र जमेको पानी निकास गर्ने कार्य गरिरहेको छ । यस्तै, नान्निङको बिन्याङ काउन्टीमा पनि गुआङडोङ प्रान्तका दुई टोलीले बासिन्दाहरूको सुरक्षित स्थानान्तरण र आपतकालीन विद्युत् आपूर्तिमा सहयोग गरिरहेका छन् । 
यसैगरी, पूर्वी चीनको जियाङ्सी प्रान्तको युगन काउन्टीबाट आएको उद्धार टोलीले गुइगाङ सहरमा उद्धार र आपतकालीन सामग्री आपूर्तिमा सहयोग गरिरहेको छ । छिमेकी प्रान्तहरूबाट अत्यावश्यक राहत सामग्रीहरू बाढी प्रभावित क्षेत्रमा पठाउने क्रम जारी छ, जसमा ट्रक चालकहरूले स्वयंसेवी रूपमा सेवा प्रदान गरिरहेका छन् । 
यसैबीच, चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले ग्वाङ्सीको आपतकालीन प्रतिकार्य र पुनःस्थापना कार्यका लागि केन्द्रिय प्राकृतिक विपद् राहत कोषबाट थप ८ करोड युआन (करिव १ करोड १७ लाख ७० हजार अमेरिकी डलर) विनियोजन गरेका छन् । यसअघि जुलाई ६ मा पनि उक्त क्षेत्रका लागि ११० मिलियन युआन विनियोजन गरिएको थियो ।

पोखरा ।

पोखराको फेवातालमा डुबेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखरा घुम्न आएका अन्दाजी ३६ वर्षका भारतीय पर्यटक रोहित कुमारको शुक्रबार दिउसो तालमा डुबेर मृत्यु भएको हो।

प्रतक्ष्यदर्शीका अनुसार तालबाराही मन्दिरको छेउमा फोटो खिच्ने क्रममा फेवातालमा खसेर रोहित बेपत्ता भएका थिए ।

करिव ४:५० बजेको समयमा तालमा डुबेर बेपत्ता भएका उनलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले करिव ५ :१० बजे अचेत अवस्थामा उद्दार गरेको थियो ।

फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उद्दार गरे पश्चात पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेका हुन  ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

२७ असार, 

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् । सना प्रविणले २७ रन जोडिन् भने अञ्जिला पाठक २३ रनमा अविजित रहिन् । कप्तान सोनी पाख्रिन भने खाता नै खोल्न नसकी आउट भइन् ।

 

१३१ रनको लक्ष्य पछ्याएको कतार नेपाली बलरहरूको कसिलो आक्रमणअघि निरीह बन्यो । कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन ४ मात्र रह्यो ।

नेपालका लागि रचना चौधरीले ३ ओभरमा २ रन मात्र दिएर ३ विकेट लिइन् । रिया शर्माले ३ ओभरमा ६ रन दिएर ३ वपकेट लिइन् । मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिए ।

 

नेपालले अब दोस्रो खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।