










नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वीपी कोईरालाको विचार व्रह्माण्डीय विचार भएको बताउनुभएको छ । बिहीवार ४४ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वीपीको विचारमा कसैको ट्रेडमार्क नलाग्ने बताउनु भयो । उहाँले वीपीको रगत आफूहरुसँग नरहेपनि वीपीको विचार, आदर्श र सिद्धान्त रहेको उल्लेख गर्नुभयो । उहाँले काँग्रेसको वर्तमान नेतृत्वले वीपीको विचारलाई विश्वरभर फैलाउने बताउनु भयो । गौतम बुद्धपछि विश्वले चिन्ने दर्शनका रुपमा वीपी कोईरालाका विचार र सिद्धान्तलाई स्थापित गर्ने उहाँको दाबी छ । उहाँले वीपी कोइरालाको विचार, सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै बदलिएको समयअनुसार देशलाई अघि बढाउने संकल्प गर्न काँग्रेसका नेता–कार्यकर्तालाई आह्वान समेत गर्नुभयो । वीपीको रगतभन्दा पनि उहाँको विचारका लागि जीवन अर्पण गर्नेहरूको योगदानले नै वीपीको राजनीतिक दर्शनलाई राष्ट्रिय चेतनाको हिस्सा बनाएको उहाँले बताउनु भयो । वीपी कोईरालाको आह्वानमा प्राण आहुति दिएका दुर्गानन्द झा र कामेश्वर कुशेश्वरलगायतका व्यक्तिहरूको उदाहरण दिँदै उहाँले वीपीको विचार कुनै परिवार वा वंशमा सिमित नभई सम्पूर्ण देशको साझा सम्पती भएको बताउनु भयो । दशकौँको राजनीतिक संघर्ष, सशस्त्र द्वन्द्व र कठिन परिस्थितिमा पनि काँग्रेसको विचारबाट विचलित नभएका कार्यकर्ताहरूलाई वीपीको मार्गमा अडिग रहन उहाँले आग्रह गर्नुभयो । आगामी ५० वर्षपछि पनि नेपालका युवाले बुद्धपछि देशका महान व्यक्तित्वको नाम लिँदा वीपी कोईरालाकै नाम स्मरण गर्ने वातावरण निर्माण गर्नु काँग्रेसको लक्ष्य हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘वीपी कोइराला नाम गरेको विचार यो व्रह्माण्डीय विचार हो । ब्रोडर विचार, यो केवल कम्पनी रजिस्ट्रारको कार्यालयमा, यो उद्योगको कार्यालयमा गएर दर्ता गरिए जस्तो सामान्य कुनै सामानको ब्रान्ड होइन । हामी वीपी कोईरालाको रगत बोकेका मानिसहरु होइनौं तर वीपी कोईरालाको विचार, बीपी कोइरालाको सिद्धान्तलाई, आदर्शलाई केन्द्रमा बोकेर बसेका हौं । हामी जान्दछौँ, वीपी कोईरालाको आह्वानमा फाँसीमा झुन्डिएका दुर्गानन्द झाको शरीरमा वीपीको रगत थिएन । हामी जान्दछौँ, बीपीको आह्वानमा जीवन गुमाएका कामेश्वर कुशेश्वरहरुको शरीरमा वीपीको रगत थिएन । त्यसैले आज वीपीको विचार सिंगो देशको विचार भइरहेको बेलामा काँग्रेस जन प्रत्येकले आफ्नो मन मस्तिष्कमा बीपीको विचारलाई, वीपीको संस्कारलाई, वीपीको प्रेरणालाई अनुभूति गर्नुछ र दृढतापूर्वक संकल्प गर्नुछ । चाहे दश वर्षे द्वन्द्वमा गाउँ–गाउँमा रहेर मारिदै गर्दा पनि काँग्रेस नछोडेर बसेको परिवार जन होस्, प्रत्येकले आजको मितिमा संकल्प गर्नुछ कि हामी बदलिएको समयमा पनि वीपीको विचार बमोजिम देशलाई लिएर जानेछौं । ताकि अबको ५० वर्ष पछिको युवकले पनि देशको लागि नाम लिनु प¥यो भने बुद्ध पछि नाम लिँदै गर्दा खेरि वीपीको नाम लिनेछ । नेपालको राजनीतिज्ञहरु मध्येमा तिमीले लिने नाम, तिमीले हिँड्ने बाटो, तिमीले लिने विचार कसको हो भन्यौँ भने त्यस बेला पनि उसले भन्नेछ– वीपी कोईराला, वीपी कोईराला, वीपी कोईराला भनेर भन्नेछ । त्यो वीपीको विचार र त्यो सिद्धान्त बमोजिमको यात्रा अगाडि बढ्नका लागि अहिले हामीले चयन गरेको सभापति गगन थापा र सिंगो टिम नयाँ ढंगले, नयाँ सोच र नयाँ संकल्पका साथ जान प्रतिवद्ध छ । यसैको लागि देशभरिका, स्वदेश विदेशका सबै साथीहरूको यो नयाँ यात्रामा हामी साथ चाहन्छौं । उहाँले पार्टीभित्र देखिएको मतभेद र आलोचनालाई स्वभाविक रुपमा लिन पनि पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नयाँ विधानले काँग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अगाडि बढाएको बताउनुभएको छ । ४४ औँ बीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टी अब नयाँ कार्यशैलीका साथ अघि बढ्न लागेको र यस क्रममा विधानको सफल कार्यान्वयन गर्नु पार्टीका लागि ‘अग्निपरीक्षा’ भएको उल्लेख गर्नुभएको हो । उपसभापति भुसालले पार्टीभित्र सभापति गगनकुमार थापाको परिकल्पनाअनुसार ‘इलेक्सन ब्युरो’ टिम गठन भएको जानकारी दिनुभयो । उक्त ब्युरोको उपसंयोजकमा पूर्वसहमहामन्त्री एवं केन्द्रिय सदस्य जीवन परियार रहनुभएको छ । ब्युरोमा सम्बन्धित विषयका विज्ञ केन्द्रिय सदस्यहरूका साथै प्रविधिसँग जोडिएका युवा पुस्ताका नेताहरूलाई सदस्यका रूपमा समावेश गरिएको उहाँले बताउनु भयो । उपसभापति भुसालले भन्नुभयो, ‘विशेष अधिवेशनले नेपाली काँग्रेसको विधानलाई नयाँ ढंगबाट अगाडि बढाएको छ । यही विधानअनुसार यो विधानमा नेपाली काँग्रेस रूपान्तरण र पुस्तान्तरण र परिवर्तनकारी जीवनशैलीबाट अब अगाडि बढ्दैछ भनेर अग्निपरीक्षामा खरो उत्रिनु पनि छ । यही विधानको व्यवस्थाले अहिलेको विधानमा भएको व्यवस्थाअनुसार यही विधानअनुसार हाम्रो पार्टीका सभापति गगनकुमार थापाको परिकल्पनाले नेपाली काँग्रेसभित्र इलेक्सन ब्यूरो टिमको गठन भयो । त्यो टिमभित्र उपसंयोजकको रूपमा पूर्वसहमहामन्त्री, केन्द्रिय सदस्य जीवन परियारजी उपसंयोजकको रूपमा रहनुभएको छ । त्यही टिममा यो विषयका विशेष विज्ञ हाम्रा केन्द्रिय सदस्यहरू त्यसको सदस्य हुनुहुन्छ । प्रविधिसँग जोडिएका युवा पुस्ताका नेताहरू त्यही इलेक्सन ब्यूरोको सदस्यको रूपमा रहनुभएको छ भन्नेकुरा म यहाँ जानकारी गराउन चाहन्छु । उपसभापति भुसालले पार्टीलाई परिवर्तनकारी जीवनशैली र आधुनिक पद्धतिमा ढाल्न नयाँ विधान र नवगठित ब्युरोले महत्वपूर्ण भुमिका निभाउने बताउनु भयो ।
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आम जनता र ‘भुइँ मान्छे’का समस्यासँग जोड्दै नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले वीपी कोईरालाको समयमा जस्तै काँग्रेसलाई सबै वर्ग र समुदायको साझा अभियानका रूपमा विकसित गर्नुपर्ने बताउनुभएको हो । महामन्त्री पौडेलले वीपी कोईरालाको नेतृत्वमा काँग्रेसले समाजका हरेक मुद्दालाई स्पष्ट रूपमा बोकेको स्मरण गर्नुभयो । परिवर्तित परिस्थितिमा काँग्रेसले नयाँ संकल्प र अभियानका साथ अघि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीलाई सिर्जनात्मक र संगठित बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । महामन्त्री पौडेलले नेपाली काँग्रेसको सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिनुभयो । प्रविधिको प्रयोगका कारण केही प्राविधिक कठिनाइ भएपनि ८० प्रतिशतभन्दा बढी सदस्यले डिजिटल माध्यमबाट आफ्नो विवरण अद्यावधिक गरिसकेको उहाँले बताउनु भयो । अब हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुने र उनीहरूले आफ्नो विवरण आफैँ परिमार्जन गर्नसक्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । यसले पार्टीभित्र पारदर्शिता कायम गर्न र नेतृत्वसँग सदस्यहरूको सीधा संवाद स्थापित गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न काँग्रेसले उम्मेदवार छनोट प्रक्रियामा ‘प्राइमरी’ निर्वाचनको अवधारणा ल्याउन लागेको पौडेलले जानकारी दिनुभयो । प्रविधिको प्रयोग गरी डिजिटल भोटिङमार्फत उम्मेदवार छानिने पद्धति विकास गरिने उहाँले बताउनु भयो ।
महामन्त्री पौडेलले भन्नुभयो, ‘वीपी कोईरालाको नेतृत्वमा नेपाली काँग्रेस समाजका सबै मुद्दाप्रति स्पष्ट थियो । काँग्रेस केवल राजनीतिक दल मात्र नभई विभेदविरुद्ध, महिला, दलित, मधेसी, भूमिहीन, सुकुम्बासी, किसान र गरिब जनताको अधिकारका पक्षमा उभिएको आन्दोलन पनि थियो । उहाँले जनताका मुद्दालाई पार्टीको एजेन्डासँग प्रभावकारी रूपमा जोड्नुभएको थियो । आज हामीले आत्मसमीक्षा गर्नुपर्छ–के हामीले अहिले पनि जनताका वास्तविक समस्या र भुइँमान्छेका मुद्दालाई त्यही गम्भीरताका साथ पार्टीको एजेण्डामा समेट्न सकेका छौँ ? समय परिवर्तन भएको छ, चुनौती र प्राथमिकता पनि बदलिएका छन् । त्यसैले हाम्रो सोच, संकल्प र अभियान पनि समयअनुकूल हुनुपर्छ । वीपी कोईरालाबाट प्रेरणा लिँदै, विगतका अनुभव र कमजोरीबाट सिकेर नेपाली काँग्रेसलाई जनताको पार्टीका रूपमा अझ सशक्त र समावेशी ढंगले अघि बढाउनु आजको आवश्यकता हो । पार्टीमा युवाहरूको आकर्षण बढाउन ३० र ३५ वर्षमुनिका युवाहरूलाई विभिन्न तहमा अनिवार्य प्रतिनिधित्व गराउने विधानको व्यवस्थालाई कडाइका साथ लागू गरिएको समेत उहाँले उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाले सरकार जनादेशको पालना नगरी उल्टै बाटोमा हिँडेको भन्दै चर्को आलोचना गर्नुभयो । उहाँले संविधान निर्माणमा भुमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति झुट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी पनि गर्नुभयो । उहाँले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री साहले आत्मालोचना नगरेको तथा सत्तारुढ दलकै नेताहरूले त्यसलाई समर्थन र प्रमाणित गर्न खोजेको विषयमा अझै गम्भीर र सोचनीय रहेको बताउनु भयो । उहाँले सरकारले समाजलाई विभाजित गर्दै राज्य फाँसीवादउन्मुख दिशातर्फ अगाडि बढेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्था र संविधानको मूल्यमान्यता नै सिध्याउने गरि अघि बढिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणको लागि संविधान निर्माणमा भुमिका खेल्ने मुख्य दलहरुको भुमिका र दायित्वको विषयमाा हामीले गम्भीरतापूर्वक सोचेर अघि बढ्न्पर्ने बेला भएको छ । किनभने अहिले नेपालमा दुई वटा गम्भीर संकट र खतरा उत्पन्न भएको छ । एउटा, नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भइराखेको छ । राष्ट्रिय स्वाधिनतामाथि संकटको स्थिति उत्पन्न भइराखेको छ । देशको प्रधानमन्त्रीले नै संसदको रोस्ट्रममा उभिएर नेपालले अर्को देशको भूमि धेरै ठाउँमा मिचेको छ भनेर सरासर झुट कुरा गर्छ र यो गैरजिम्मेवार, आपत्तिजनक, राष्ट्रघाती, घातक अभिव्यक्तिको बारेमा अहिलेसम्म आत्मालोचना गरिएको छैन । यो गम्भीर कुरा हो । सत्तारुढ पार्टीका सांसद र नेताहरु त्यसै अभिव्यक्तिप्रति समर्थन गर्दै ताली ठोक्छन् र त्यस पछाडि नेपालले भारतको भूमि कहाँकहाँ मिचेको छ ? भनेर प्रमाण खोज्दै हिँडिरहेका छन् । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा, नेपालको राष्ट्रिय स्वाधिनताको आन्दोलनको इतिहासमा, नेपाली समाजलाई यति घातक ढङ्गले राष्ट्रिय स्वाधिनताको सवालमा विभाजित गर्ने काम कहिल्यै भएको थिएन, त्यसकारण गम्भीर संकट उत्पन्न भएको छ । यसले फाँसीवादउन्मुख दिशातिर राज्यलाई लैजान खोजिएको छ भने अर्कोतिर राष्ट्रघातको दिशातिर देशलाई अगाडि बढाउन खोजिँदै छ । फाँसीवाद खाली निरङ्कुश तन्त्र मात्रै होइन, फाँसीवाद सरकारले गरेको राष्ट्रघात र गलत कामकारवाहीको पक्षमा उभिने गरी तयार गर्ने र राज्यलाई त्यसको बल प्राप्त हुने स्थितिले फाँसीवाद पैदा गर्छ । नेपाल त्यसकारण फाँसीवादतिर उन्मुख हुँदै गइरहेको छ । उहाँले राष्ट्रिय स्वाधिनता र व्यवस्थाको रक्षाको लागि सबै देशझक्त, बामपन्थीहरु एकीकृत हुन आवश्यक रहेको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहरित’ अवस्थामा रहेको भन्दै यसको सुदृढीकरणभन्दा फर्काउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताउनु भयो । उहाँले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुनसक्ने बताउनु भयो । उहाँले विभिन्न देशमा नियमित चुनाव भएपनि लोकतन्त्र कमजोर वा अपहरित अवस्थामा रहेको उल्लेख गर्दै नेपाल समेत त्यस्तै अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले संविधान संशोधन नभई संविधानको रक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनु भयो । उहाँले गत वर्षको भदौमा भएको जेन–जी आन्दोलनलाई हिंसात्मक घटनाको संज्ञा दिँदै वैधानिक सरकारलाई अवैधानिक ढंगबाट फालिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपालको बलिदानपूर्ण लामो संघर्ष, त्याग र तपस्याबाट ल्याएको लोकतन्त्र वास्तवमा अपहरित भएको छ । आज लोकतन्त्रको सुदृढीकरण होइन लोकतन्त्रको वापसीको आवश्यकता छ । लोकतन्त्र कहाँ छ ? चुनावको आयोजन आफैंमा लोकतान्त्रिक अभ्यास त होला तर त्यो चुनावको आयोजन कस्तो परिस्थितिमा कस्तो अवस्थामा केका लागि गरियो त्यो महत्वपूर्ण छ । चुनावले मात्रै लोकतन्त्र हुँदैन । विभिन्न देशमा चुनाव हुने गरेका छन् तर लोकतन्त्र अपहरितको अपहरित छ । वास्तविक लोकतन्त्र छैन धेरै देशमा । हाम्रो देशमा पनि बोल्नको लागि जिब्रो चपाइरहनुपर्ने आवश्यकता छैन । भदौ २३, २४मा जुन भयानक क्षति गराउने, मार्ने, मराउने, आगजनी गराउने कार्य भयो । राणा शासनका विरुद्धको संघर्षमा यस्तो भएन । राणाहरुका घर आगो लगाइएन । सात सालमा पनि दरबारहरू जलाइएन । त्यसपछिका संघर्षहरूमा ४६ मा पनि गरिएन । ६२, ६३ मा पनि त्यस्तो गरिएन । माओवादीले सत्ता कब्जा गर्नका लागि हिंसात्मक बाटो उपयुक्त छ भनेर त्यो बाटो समात्यो तर यस्ता आगजनी, लुटपाट, तोडफोडका उपद्रवकारी, आतंकपूर्ण क्रियाकलापहरु गरेर समाजलाई आतंकको, भयको नियन्त्रणमा राख्ने क्रियाकलाप गरेन । उहाँले सरकारले समाजलाई आतंक र भयको नियन्त्रणमा राख्ने उद्दत रहेको आरोप पनि लगाउनु भयो
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ । बिहीवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिनुभएको हो । अर्थमन्त्री वाग्लेले राज्यले लिने नीति र बीउ पुँजीका रूपमा गरिने लगानीले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै राजश्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘स्वेच्छिक कर अनुपालन’को अवधारणालाई जोड दिँदै करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो । प्रशासनिक सुधारको सन्दर्भमा अर्थमन्त्रीले पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गर्नुपर्ने बताउनु भयो उहाँले विभागको कार्यक्षमता बढाउन आइटी प्रणालीको स्तरोन्नति र चुस्त वाइफाई सेवा जस्ता आधारभुत आवश्यकतामा कुनै कञ्जुस्याइँ नगर्न महानिर्देशकलाई निर्देशन दिनुभयो । सरकारले चालु आर्थिक वर्षमा खर्च कटौती र मितव्ययितालाई प्राथमिकता दिएको जानकारी दिँदै अर्थमन्त्रीले २२ वटा मन्त्रालयलाई १८ मा झार्दा करिव २० अर्ब रुपैयाँ वचत हुने अनुमान गरिएको बताउनु भयो । यस्तै, अर्थतन्त्रलाई गतिशील बनाउन यसपटकको बजेटमार्फत २७ वटा विभिन्न कानून परिमार्जनको प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । अर्थ मन्त्रालयलाई केवल राजश्व उठाउने र खर्च गर्ने निकायमा मात्र सिमित नराखी ‘अर्थतन्त्रको मन्त्रालय’ का रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ ।
मन्त्री वाग्लेले भन्नुभयो, ‘मैले बारम्बार भन्ने गरेको छु, २१–२४ अर्ब रुपैयाँको पूँजीले देशलाई कायापलटको बाटोमा लैजान सक्छ । ७४ खर्ब रुपैयाँको अर्थतन्त्रमा यो बीउ पूँजी हो । यसलाई प्रभावकारी रूपमा परिचालन गर्नसके अर्थतन्त्रमा ठूलो परिवर्तन सम्भव छ । स्वेच्छिक कर अनुपालन बढाउन करका दरहरू व्यावहारिक बनाउनुपर्छ । करदाताले राज्य निर्माणमा आफ्नो योगदान हो भन्ने भावना विकास गर्नुपर्छ र राज्यले पनि करदाता तथा व्यवसायीलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ । त्यसबाट कर प्रशासनप्रति विश्वास बढ्छ । हामी पुराना र अप्रभावी अभ्यास त्यागेर नयाँ सोच, सुधार र सुशासनतर्फ अघि बढिरहेका छौँ । आवश्यक जोखिम लिएर सुधार शुरु गरेका छौँ र यी योजनाबाट झन्डै एक खर्ब रुपैयाँ अतिरिक्त राजश्व संकलन गर्ने लक्ष्य राखेका छौँ । सुधारका क्रममा देखिएका सबै प्रशासनिक, प्राविधिक र संरचनागत समस्याको समाधान गरिनेछ । यस वर्ष २२ मन्त्रालयलाई १८ मा झारिएको छ, जसबाट करिव २० अर्ब रुपैयाँ अनावश्यक खर्च वचत हुने अपेक्षा छ । कर्मचारी व्यवस्थापनलाई पनि आधुनिक प्रविधिअनुकूल बनाइनेछ । कृत्रिम बुद्धिमत्ताले केही काम सहज बनाए पनि मानव जनशक्तिलाई नयाँ सीपसहित आवश्यक क्षेत्रमा पुनः परिचालन गरिनेछ । दोस्रो र तेस्रो वर्ष सुधारको गति अझ तिब्र हुनेछ, र चौथो तथा पाँचौँ वर्षमा त्यसको प्रतिफल नेपाली जनताले प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् । यस सुधारको केन्द्रमा सार्वजनिक वित्त व्यवस्थापन छ । अर्थ मन्त्रालयलाई केवल राजश्व उठाउने र बजेट बाँड्ने मन्त्रालय होइन, अर्थतन्त्रको नेतृत्व गर्ने मन्त्रालयका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो । त्यसका लागि यस वर्ष २७ वटा कानून संशोधन वा निर्माणको प्रक्रिया अघि बढाइँदैछ । साथै, करदाता, व्यवसायी र सरोकारवालाको सुझावका आधारमा कर प्रणालीलाई अझ सरल, पारदर्शी र व्यवहारिक बनाइनेछ । करदाताका गुनासा सुन्न र राजश्व प्रशासनमा देखिएका व्यावहारिक अड्चन हटाउन सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले कुनैपनि किसिमका अनियमिताका विरुद्ध प्रमाणसहित आए सिधै आफूलाई सम्पर्क गर्नसमेत कर्मचारी र सर्वसाधारणलाई आह्वान गर्नुभयो । अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई चिर्दै आगामी पाँच वर्षभित्र बोल्ड निर्णयहरूका माध्यमबाट उल्लेख्य सुधारका नतिजाहरू जनतामाझ पु¥याउने अठोट उहाँले व्यक्त गर्नुभयो ।
त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल त्यहाँ पुग्नुभएको थियो । –न्युज एजेन्सी नेपाल










नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ मा सहभागी हुन पोखराका पत्रकारहरू जापान प्रस्थान गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष साथै पोखरा टेलिभिनजका सम्पादक माधव बराल र गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल उक्त सम्मेलनका लागि जापान जान प्रसथान गरेका हुन् । आगामी जुलाई २५ तारिखका दिन जापानमा एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ आयोजना गर्ने निर्णय जापान शाखाको कार्यसमितिले गरेको छ।
सम्मेलनलाई प्रभावकारी र व्यवस्थित बनाउन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सम्पूर्ण टोलीसहित गण्डकी र कास्कीका नेतृत्वको सहभागिता रहनेछ। सन् २०२६ जुलाई २३ देखि २६ तारिख सम्मका लागि कार्यक्रम तालिका निश्चित गरिएको छ। गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र कास्कीका अध्यक्ष माधव बरालसँगै अन्य प्रदेश अध्यक्षहरू र जिल्ला अध्यक्षहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।
कार्यक्रममा काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने र मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीसहित पत्रकार महासंघ केन्द्रीय समितिको टोली जुट्नेछ। नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ’गोरखाली’ ले कार्यक्रमबारे जानकारी गराउँदै महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई औपचारिक पत्र पठाएका छन्। ‘ग्लोबल मिडिया सम्मेलनको समापनपछि केन्द्रीय समिति बैठकको व्यवस्थापनको प्रस्ताव गरिएकाले केन्द्रीय समितिबाट रचनात्मक सहयोग तथा सहकार्यको हार्दिक अपेक्षा राख्दछौँ,’ उनले भनेका छन्।
ग्लोबल मिडिया सम्मेलनको समापनलगत्तै महासंघको केन्द्रीय समिति बैठकको व्यवस्थापनसमेत जापानमै गर्ने प्रस्ताव गरिएको छ। सन् २०११ मा स्थापना भएको महासंघ जापान शाखाले कार्यक्रम व्यवस्थापन, समन्वय तथा अन्य आवश्यक पक्षहरूमा केन्द्रीय समितिबाट रचनात्मक सहयोग रहने विश्वास लिएको छ। सम्मेलनको आयोजक नेपाल पत्रकार महासंघ, जापान शाखा हो। जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ ’गोरखाली’ छन्।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण आगामी भदौ १८ गते काठमाडौँमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको २३ औं संस्करण भदौ १८ गते हुने भएको हो । यसपल्ट अवार्ड काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवको द ब्लु प्याभिलियनमा आयोजना हुने भएको छ । गत संस्करण पहिलोपल्ट अवार्ड उपत्यकाबाहिर पोखरामा आयोजना भएको थियो । मञ्चले पत्रकार सम्मेलनमा अवार्डको मितिसँगै मुख्य प्रायोजकबारे जानकारी दिएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र मुख्य प्रायोजक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता पुल ४५ लाख बराबरको हो । गोल्छा ग्रुप लगातार १९ औं वर्षसम्म अवार्डमा जोडिएको छ । अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता नवीकरण भइसकेको छ । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकर्मीको सबैभन्दा लोकप्रिय एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डसँग १९ वर्षसम्म सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।
यसपल्ट १७ लाख नगद र पाँच वटा बाइक प्रदान गर्ने उनको भनाई छ । गोल्छा ग्रुपले यो अवार्डलाई सहकार्यभन्दा पनि दायित्वका रूपमा लिँदै आएको उनले बताएका छन् । उनले खेलकुदका विभिन्न गतिविधिमा जोडिँदै आएपनि सबैभन्दा उत्साह यो अवार्डले दिने गरेको बताए । खेलकुदका विभिन्न गतिविधिमा सहकार्य गर्दै आए पनि खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई प्रत्यक्ष रूपमा सम्मान र प्रोत्साहन गर्ने भएकाले यो अवार्डसँग विशेष आत्मीयता रहेको उनको भनाइ थियो ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले यो अवार्ड समग्र नेपाली खेलकुदकर्मीहरूको साझा सम्मान भएको बताए । उनले २३ औँ संस्करणसम्म निरन्तर रूपमा खेल क्षेत्रका लागि काम गर्न पाउँदा एनएसजेएफ परिवार उत्साहित रहेको उल्लेख गर्दै अवार्डलाई अझ व्यवस्थित, निष्पक्ष र भव्य बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको जानकारी दिए । मञ्चका महासचिव अन्जन खड्काले ९ विधामा अवार्ड अवार्ड प्रदान गरिने बताए ।
यसपल्ट वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड गरी ९ विधामा सम्मान प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ। प्रत्येक विधामा समान जनाको अन्तिम मनोनयन रहनेछ । उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक, पिपल्स च्वाइस र युवा विधाका विजेताले एक थान बजाज मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई नगदसहित सम्मान प्रदान गरिने मञ्चका महासचिव खड्काले जानकारी दिए । गत वर्ष दीपेन्द्रसिंह ऐरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाडी पूजा महतो घोषित भएका थिए । त्यस्तै स्पेसल अवार्डबाट तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङ्देम्बे तथा एसियन जर्नालिस्ट स्पोट्र्स अवार्डबाट बंगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।
पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा सोमवार परेको भारी वर्षापछिको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण अन्य ८० जना घाइते भएका छन् भने १०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मादले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नुरिस्तानमा बाढीले ठूलो मानवीय क्षति पु¥याएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार प्रान्तीय विपद् व्यवस्थापन विभागको टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ र खोजी तथा उद्धार कार्य सुरु गरिएको छ । उद्धार टोलीले मृतकको शव निकाल्ने, घाइतेहरूको उपचारका लागि पहल गर्ने र बेपत्ताहरूको खोजीलाई तिब्रता दिएको छ । हम्मादले क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको र पूर्ण अनुसन्धान तथा मूल्याङ्कन सकिएपछि हताहती र भौतिक क्षतिको अन्तिम तथ्याङ्क सार्वजनिक गरिने बताउनु भयो । यसैबीच, अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले जारी खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र तीव्रता दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ । स्थानीय अधिकारीहरूका अनुसार नुरिस्तानको प्रान्तीय राजधानी पारुन बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले त्यहाँका थुप्रै घर, सार्वजनिक संरचना र पूर्वाधारहरूमा गम्भीर क्षति पु¥याएको छ ।