चीनको उत्तर–पश्चिमी प्रान्त गान्सुमा आईतवार आएको भीषण बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय (एमईएम) काअनुसार गान्सु प्रान्तको डिङसी सहरस्थित वेइयुआन काउन्टीमा अचानक परेको भारी वर्षापछि बाढी आएको हो । बाढीले उक्त क्षेत्रका पर्यटकीय स्थलहरूमा ठूलो क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूकाअनुसार बाढी आउँदा पर्यटकीय क्षेत्रमा क्याम्पिङ गरिरहेका केही पर्यटकहरू बाढीको चपेटामा परी फसेका थिए । घटनाको जानकारी लगत्तै राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले राहत तथा उद्धार कार्यका लागि एक विशेष टोली घटनास्थलतर्फ पठाएको छ । बाढीको जोखिम र क्षतिको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले गान्सु प्रान्तका लागि चौथो तहको बाढी रोकथाम आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । चीनमा प्रकोपको गम्भीरताका आधारमा चार तहको आपत्कालीन प्रणाली अपनाइने गरिन्छ, जसमा पहिलो तहलाई सबैभन्दा गम्भीर मानिन्छ ।
नेपालको यातायात पूर्वाधारको इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गा पार गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमवार आयोजित एक समारोहका बीच यस सुरुङमार्गको उद्घाटन भएसँगै नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने दशकौँ पुरानो सपनाले मूर्त रूप पाएको हो । नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको सञ्चालनले मुलुकलाई विधिवत रूपमा सुरुङ मार्गको युगमा प्रवेश गराएको छ । यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नागढुङ्गा सुरुङमार्गको उद्घाटनप्रति खुशी व्यक्त गर्दै सरकारले देशभरका अन्य निर्माणाधीन सुरुङमार्गलाई पनि ‘फास्ट ट्रयाक’मा अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले यस आयोजनाले समयको वचत गर्नुका साथै नागढुङ्गाको कठिन सडक खण्डमा हुने सम्भावित दुर्घटनाको जोखिमलाई न्युन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यद्यपि, सुरुङमार्ग प्रयोग गरेबापत सार्वजनिक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्कप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्क पुनर्विचार गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले सुरुङमार्ग प्रयोग गर्ने सवारीको लागि तोकिएको शुल्क धेरै बढी भएको गुनासो आएको बताउँदै सुरुङमार्ग सञ्चालन खर्च र सार्वजनिक यातायात व्यवसाय दुवैलाई असर नपर्ने गरी शुल्क निर्धारण गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले देशभरका अन्य सुरुङमार्ग निर्माणको कार्य समेत तिब्र गतिमा अघि बढाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नागढुङ्गा सुरुङमार्गको उद्घाटन भएकोमा हामी खुशी छौँ । सरकारले यससँगै देशभरका अन्य निर्माणाधिन सुरुङमार्गहरुको निर्माण पनि फास्ट ट्र्याकमा गर्नुपर्छ । सरकारले यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नतर्फ ध्यान दिनुपर्छ । आज यो सुरुङमार्ग उद्घाटन भएकोमा नेपाल यातायात राष्ट्रिय महासंघ र सार्वजनिक यातायात व्यवसायीको तर्फबाट म धन्यावाद पनि दिन चाहन्छु । तर सुरुङमार्गमा चल्ने सार्वजनिक यात्रुवाहक र मालवाहक सवारी साधनले तिर्नुपर्ने शुल्कबारे पुनर्विचार गर्न पनि म आग्रह गर्न चाहन्छु । महसुल अघि धेरै भयो भन्ने गुनासो सार्वजनिक यातायात क्षेत्रको आएको छ । यो सुरुङमार्ग धेरै ठूलो रकम खर्चिएर बनेको भन्ने हामीले सुनेका छौँ । तिर्नुपर्ने महशुल त तिर्नुपर्छ । सुरुङमार्ग सञ्चालन र सार्वजनिक यातायातलाई असर नपर्नेगरी आर्थिक कुराको व्यवस्थापन गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु ।’
सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार सुरुङमार्ग हाल केही दिनका लागि परीक्षण (ट्रायल) को चरणमा रहनेछ । उहाँले सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला नभएसम्म कुनैपनि शुल्क नलिइने स्पष्ट पार्नुभयो । हाँले सुरुङमार्गको अन्तिम चरणको प्राविधिक परीक्षण (मक ड्रिल) बाँकी रहेको भन्दै केही दिनमै सबै प्रकारका सवारीको लागि सुरुङमार्ग सञ्चालन गरिने बताउनु भयो । उहाँले सुरुङमार्गको आयु (डिजाइन लाइफ) एक सय वर्ष रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो सुरुङमार्गको एक सय वर्षको डिजाइन लाइफ हुन्छ । यसलाई राम्रोसँग चलाउन सकियो भने यो डिजाइन लाइफसम्म टिक्छ । सुरुङमार्गमा अब हाम्रो थोरै काम गर्न बाँकी छ । हामीले अलिकति मक ड्रिल गर्नुपर्नेछ । त्यसपछि छिट्टै नै सुरुङमार्ग पूर्ण रुपबाट सञ्चालनमा आउँछ । हामीले सुरुङमार्गमा प्रवेश गर्ने र बाहिरिने सवारीको लागि पहिले नै शुल्कहरु तोकिसकेका छौँ । सुरुङमार्ग पूर्ण रुपबाट सञ्चालन नभएसम्म हामी शुल्क लिदैनौँ । अहिले ट्रायल फेज नै छ । पूर्ण रुपमा सञ्चालन भएपछि हामी पूर्वनिर्धारित रुपमा शुल्क लिन्छौँ ।’
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको भौगोलिक जटिलताका कारण सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य रहेको बताउनु भयो । उहाँकाअनुसार चालू आर्थिक वर्षभित्रै निर्माणाधीन ९ सय मिटर लामो सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । सुरुङमार्ग सञ्चालनको लागत र शुल्कबारे स्पष्ट पार्दै सचिव सिग्देलले सुरुङभित्र सुरक्षा, निगरानी र वायुको गुणस्तर कायम राख्न २४ सै घण्टा प्राविधिक जनशक्तिको उपस्थिति आवश्यक पर्ने भएकाले यसको सञ्चालन खर्च तुलनात्मक रूपमा बढी हुने बताउनु भयो तर भविष्यमा धेरै सुरुङमार्गहरू सञ्चालनमा आएपछि एउटै एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उहाँको भनाइ छ । हाल काठमाडौं–तराई फास्ट ट्रयाकलगायत अन्य ६ वटा सुरुङमार्गको निर्माण कार्य पनि द्रुत गतिमा अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सुरुङमार्गको उद्घाटन गरेसँगै हामी सुरुङमार्गको युगमा प्रवेश गरेका छौँ । निर्माणको क्रममा रहेको ९ सय मिटरको सिद्धबाबा सुरुङमार्ग हामी यही आर्थिक वर्षभित्र सञ्चालन गर्छौँ । त्यसैगरी ६ वटा सुरुङमार्ग पनि हाम्रो फास्ट ट्र्याकमा निर्माणको क्रममा रहेका छन् । यसले के देखाउँछ भने विस्तारै हामी सुरुङमार्गमा प्रवेश गर्दैछौँ । सुरुङमार्ग आफैंमा सुरक्षित यात्राको लागि एउटा विकल्प हो । तर सञ्चालन लागत अलि बढी हुन्छ । लागत कसरी घटाउने भन्ने विषयमा हामीले अध्ययन, अनुसन्धान गर्नुपर्ने हुन्छ । तर हाम्रो जस्तो भौगोलिक अवस्था भएको देशमा सुरुङ अपरीहार्य छ । समयको वचत र सवारी दुर्घटना घटाउने कुरामा सुरुङमार्ग अत्यन्तै आवश्यक छ । भविष्यमा अझै धेरै सुरुङमार्ग निर्माण गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । सुरुङ सञ्चालनको क्रममा दुर्घटना हुन नदिको लागि पनि मानवीय उपस्थिति आवश्यक छ । त्यसकारण विभिन्न सवारी साधनबाट उत्पन्न हुने ग्यासहरु फाल्नको लागि पनि २४ सै घण्टा मानवीय उपस्थिति हुनुपर्ने कारणले अलि महंगो पर्छ । तर भविष्यमा धेरै सुरुङहरु भयो भने एउटै मेकानिज्म र एउटै व्यवस्थापनले एकभन्दा बढी सुरुङमार्ग सञ्चालन गर्दाखेरी त्यसको लागत घट्छ ।’
सडक विभागकाअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गभित्र सुरक्षाका कारण मोटरसाइकल, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीसाधन र पैदलयात्रीलाई प्रवेश निषेध गरिएको छ। साथै, प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनले पनि यस मार्गको प्रयोग गर्न पाउने छैनन् । वि.सं. २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गरिएको यस आयोजनाको शुरुवाती लागत करिव २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । यद्यपि, निर्माणका क्रममा आइपरेका भूगर्भीय समस्या, डिजाइनमा गरिएका परिमार्जन र अन्य प्राविधिक कारणले गर्दा यसको कुल लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । खर्चको हिसावले चुनौतीपूर्ण देखिए पनि यस सुरुङमार्गले नेपालको आधुनिक पूर्वाधार विकासमा एक नयाँ मानक स्थापना गरेको छ ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटकमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन तथा प्रहरी–व्यवसायी सहकार्यका विषयमा विस्तृत छलफल गरिएको हो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको उल्लेख गर्नुभयो । उहाँले व्यवसायी र प्रहरीबीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रियाका क्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गहरूमा हुने सम्भावित दुर्घटना र आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने माग राख्नुभयो । यस्तै, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराउनु भयो ।
पोखरा पर्यटन वर्षका संयोजक गोपी भट्टराईले भारतीय पर्यटकको आगमन वृद्धि भइरहेको समयमा गण्डकी प्रदेश र कास्की प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनु भयो । सो अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) वीरेन्द्र घर्तीले होटल तथा भाडाका कोठाहरूमा लामो समय बस्ने व्यक्तिहरूबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रहरीले शंकास्पद गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको छ । होटल व्यवसायी र घरधनीले आफ्ना पाहुनाको पहिचान सुनिश्चित गरी कुनैपनि शंकास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउनुहुन आग्रह गर्दछु ।’
लेकसाइड क्षेत्रका विभिन्न पर्यटन संवद्ध संघ–संस्था, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले सुरक्षित पर्यटनका लागि निजी क्षेत्र र सुरक्षा निकायबीचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा सामूहिक प्रतिवद्धता जनाएका थिए ।
श्रावण ११, २०८३ सोमबार
लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन जारी राखेका छन् ।
उनीहरूले साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठक गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्न माग राखेर गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीले उक्त निर्णयले लोकसेवा आयोगजस्तो संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको दाबी गरेका छन् । लोकसेवा आयोगले पदपूर्तिसम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरित रहेको उनीहरुको भनाई छ । प्रदर्शनमा सहभागी विधार्थी दीपक रेग्मीले लोकसेवा आयोगले आफ्नो संवैधानिक अधिकारअनुसार स्वतन्त्र रूपमा पदपूर्ति प्रक्रिया सञ्चालन गर्न पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले गरेको निर्णयले आयोगको स्वायत्तता कमजोर बनाएको आरोप लगाउनु भयो । विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारीमध्ये कार्यसम्पादनका आधारमा १० प्रतिशतलाई कायम राखी बाँकी पद खुला प्रतिष्पर्धामार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन् । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको थियो । मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित २२ बुँदे निर्णयअनुसार चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी सिर्जना गर्न पाउने छैनन् । सोही निर्णय विरुद्ध विद्यार्थीले केही दिन अघिदेखी प्रर्दशन गरिरहेका छन् ।
उहाँले भन्नुभयो, ‘विशेषगरी २०८३ श्रावण ४ गते मुख्यसचिवको अध्यक्षतामा सचिवस्तरीय बैठकको जुन निर्णय आयो, त्यो निर्णयको बुँदा नम्बर ११ मा हामीलाई चित्त दुखाइ छ । त्यो लगायतका अन्य मागहरू पनि हाम्रा छन् । लोकसेवा आयोग आफैंमा पनि एउटा संवैधानिक निकाय हो, स्वायत्त निकाय हो । उसले आफ्नो काम गर्न पाउनुपर्दछ । तर त्यसमा हस्तक्षेप गर्ने निर्णय त्यो बुँदा नम्बर ११ मा छ । संवैधानिक निकायमाथी हस्तक्षेप गर्न पाईदैन, त्यो निर्णयमा लोकसेवा खोल्नलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोध्नुपर्ने, त्यहाँबाट स्वीकृत लिनुपर्ने अनि विज्ञापन गर्ने नगराउने निर्णय गर्ने उल्लेख छ । संवैधानिक निकायले विज्ञापन खोल्नलाई पदपूर्ति गर्नलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई किन सोध्नुपर्ने ? भन्ने कुरा हो । सम्पूर्ण लोकसेवा परीक्षार्थी विद्यार्थीहरूको माग भनेको विशेष गरी हाम्रो ११ नम्बर बुँदालाई खारेज गर्नु हो । करारको विषय छ, अहिले जति करारका कर्मचारीहरू हुनुहुन्छ, उहाँहरू १० प्रतिशत रिटेन गर्नुपर्छ कार्यसम्पादनको आधारमा । १० प्रतिशत चाहीँ रिटेन गरौं र ९० प्रतिशत हटाएर त्यसलाई खुल्ला प्रतिष्पर्धाबाट स्थायी गरौं भन्ने हाम्रो माग हो ।’
प्रदर्शनकारीहरुले ‘खुला प्रतिष्पर्धाको अधिकार खोस्न पाइँदैन’, ‘प्रशासनमा दलिय भागबण्डा बन्द गर, करार कर्मचारी तुरुन्त हटाउ’, ‘स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयको स्वीकृत लिनुपर्ने हो ?’, ‘पदपूर्ति रोक्न पाइँदैन, लोकसेवाको अधिकार खोस्न पाईदैन’, ‘लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर’, ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ ! एउ… एउ… एउ !!’, ‘सुशासन अनि विधिको शासन र लोकतन्त्रको बारेमा एक चोटी राम्रोसँग पढ्ने पो होकी सरकार’ लगायत नारा लेखिएका प्लेका बोकेका थिए ।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरु भएको बताउनुभएको छ । नागढुंगा सुरुङमार्ग उद्घाटन कार्यक्रममा उहाँले कठिन भौगोलिक अवस्थाका बाबजुद पनि नेपालमा सुरुङमार्ग सञ्चालनमा ल्याएको बताउनुभएको हो । उहाँले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भएमा नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्नसक्ने बताउनु भयो । उहाँले नेपालमा सुरुङ पूर्वाधार विकासको शुरुवात मात्र भएको भन्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने बताउनु भयो । सचिव सिग्देलले सुरुङ निर्माणमार्फत नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माणसम्बन्धी अनुभव हासिल गरेको र यसले भविष्यमा देशभर सञ्चालन हुने अन्य सुरुङ तथा पूर्वाधार परियोजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुरुङ निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड–१९ महामारी तथा हिमाली भू–संरचनासम्बन्धी चुनौतीका बीच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘कठिन भौगोलिक अवस्था हुँदाहुँदै पनि राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्छ । यो पहिलो सुरुङ हो, तर अन्तिम भने होइन ।
नागढुंगा सुरुङमार्ग सञ्चालनले सिस्नेखोला–बलम्बुबीचको अब केही मिनेटमा पूरा हुने उल्लेख गर्नुभयो । यात्रुहरूले वर्षौंदेखि भोग्दै आएको जाम, तीव्र घुम्ती र पहिरोको जोखिमबाट अब राहत मिल्ने उहाँको भनाई छ । सचिव सिग्देलले नागढुंगा पास लामो समयदेखि काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा परिचित भएपनि राष्ट्रिय सडक सञ्जालको सबैभन्दा बढी जाम हुने र जोखिमपूर्ण खण्डमध्ये एक रहेको उल्लेख गर्नुभयो । सचिव सिग्देलले परियोजना निर्माणमा जापान सरकारको सहयोगको लागि धन्यवाद दिनुभयो । उहाँले मन्त्रालय सुरुङको सुरक्षित सञ्चालन, नियमित मर्मतसम्भार र पारदर्शी व्यवस्थापनमा प्रतिवद्ध रहेको उल्लेख गर्दै यसबाट प्राप्त लाभ दीर्घकालसम्म नेपाली जनताले पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमवार भव्य समारोहबीच ‘ब्रेक थ्रु’ (छिचोलिएको) गरिएको छ । आयोजनाको मुख्य सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदुत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गर्नुभयो । नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनुले थप विशेष महत्व राखेको राजदुत तोरुले बताउनु भयो । यो सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने विश्वास गरिएको उहाँले बताउनु भयो । काठमाडौंलाई धादिङ र पोखरातर्फ जोड्ने मुख्य नाकामा अवस्थित यो सुरुङमार्गले कठिन भौगोलिक अवस्थाका कारण हुने यातायात अवरोध र समयको वचत गर्दै वस्तु तथा सेवाको ढुवानीलाई सहज बनाउनेछ । यसबाट स्थानीय समुदायको जीवनस्तरमा सुधार आउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने राजदुत तोरुको भनाइ छ ।
हिमालय क्षेत्रको जटिल भूगर्भ र सक्रिय भौगर्भिक अवस्थाका कारण निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको थियो । वर्षायाममा हुने पहिरो र जमिनको मुभमेन्टका बाबजुद जापानी विज्ञहरूको अनुभव र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रमले आयोजना सफल भएको उल्लेख गर्नुभयो । जापानले निर्माण गरेका करिव १५ हजारभन्दा बढी सुरुङमार्गहरूको प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको र यसबाट नेपाली इन्जिनियरहरूले प्राविधिक सीप र सुरक्षा मापदण्डका विषयमा महत्वपूर्ण अनुभव हासिल गरेको विश्वास जापान सरकारले लिएको उहाँको भनाइ छ । सुरुङ खन्ने कार्य सफलतापूर्वक सम्पन्न भएसँगै अब यसको प्रभावकारी सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारको हातमा आएको छ । राजदुत तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस सुरुङमार्गको स्वतन्त्र र दिगो व्यवस्थापनका लागि आफ्नै सञ्चालन क्षमता विकास गर्नेमा जापान सरकार विश्वस्त रहेको बताउनु भयो । नेपालको लोकतान्त्रिक प्रक्रिया र विकासको लक्ष्यप्रति ऐक्यवद्धता जनाउँदै राजदुत तोरुले नेपालको स्थिरता र समृद्धिका लागि जापानको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागढुङ्गा सुरुङमार्गले नेपालको आर्थिक विकासको प्रवेशद्वारको रूपमा काम गर्ने र भविष्यमा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन गरिएको छ । सोमवार एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदुत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गर्नुभएको हो । सुरुङमार्ग उद्घाटनका क्रममा व्राह्मणहरुले स्वस्तिवाचनसहित पूजापाठ समेत गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदुत र जाइकाका अध्यक्षबाट संयुक्त रुपमा जापानतर्फको शिलालेखको अनावरण समेत गर्नुभएको छ । उद्घाटनसंगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको छ । उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गर्नुभएको छ ।
जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङमार्गको निर्माण सम्पन्न भएको हो । यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ । मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । सुरुङ मार्गमा तत्कालको लागी एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिने सडक विभागका महानिर्देशक डा. विजय जैशीले जानकारी दिनुभयो । सुरुङमार्गलाई चरणवद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ । उहाँका अनुसार सुरुङ परिक्षणको क्रममा कुनै शुल्क लिइनेछैन भने परिक्षणको क्रम सकिएपछि सवारी साधानको प्रकारअनुसार शुल्क लिइनेछ ।
सडक विभागकाअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ । त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट शुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिनेछ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
नेपाल सरकारले सम्पती शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक क्षेत्रलाई समेत यसको कानूनी क्षेत्राधिकारभित्र समेटेपछि एआइएनले यो पहलकदमी लिएको हो । सामाजिक संघसंस्थाहरूलाई दर्ता तथा आवद्धता दिने निकायहरूबाट आवश्यक कानूनी अभ्यास र नियमनका मापदण्डहरू तय भइरहेको परिप्रेक्ष्यमा सरोकारवालाहरूलाई नीतिगत स्पष्टता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको एआइएनले बताएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि तथा प्राविधिक क्षेत्रका विज्ञहरूले सम्पती शुद्धीकरण, आतङ्ककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणका सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराउनु भयो । अन्तर्राष्ट्रिय स्तरमा मुलुकलाई ‘ग्रे लिस्ट’ बाट ‘ग्रिन लिस्ट’ मा स्तरोन्नति गर्ने राष्ट्रिय अभियानमा सामाजिक क्षेत्रका तर्फबाट सहयोग पु¥याउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको एआइएनको भनाइ छ । कार्यक्रममा एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनु भयो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) द्वारा आयोजित ‘सम्पती शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले वित्तीय सुशासन कायम गर्नु कुनै एक संस्था वा इकाईको मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताउनुभएको हो । उहाँले नेपालका लागि वर्तमान समय वित्तीय पारदर्शिताका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नेपाल फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा परेको विषयलाई केवल अन्तर्राष्ट्रिय सूचीको रूपमा मात्र सिमित राख्न नहुने उहाँको तर्क छ । यसलाई चेतावनीभन्दा पनि एक अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ग्रे लिस्टिङको प्रभाव बहुआयामिक हुने उल्लेख गर्दै कोषाध्यक्ष माथेमाले यसले विदेशी लगानीको वातावरण, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार, रेमिट्यान्सको सहजता र विकास साझेदारीमा समेत प्रत्यक्ष असर पार्नसक्ने बताउनु भयो । यसले मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत गम्भीर प्रभाव पार्ने उहाँको भनाइ छ ।
सम्पती शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (एएमएल÷सीएफटी) लाई केवल प्राविधिक वा कानूनी विषयका रूपमा मात्र हेर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँकाअनुसार यो विषय मुलुकको आर्थिक स्थायित्व र राष्ट्रिय प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको छ । उहाँले वित्तीय क्षेत्रमा सुधार ल्याई राष्ट्रिय छवि मजबुत बनाउन सरोकारवाला सबै पक्षलाई आह्वान समेत गर्नुभयो ।
कोषाध्यक्ष माथेमाले भन्नुभयो, ‘वित्तीय सुशासन कुनै एक संस्था वा एकल निकायको मात्र जिम्मेवारी होइन; यो हामी सबैको साझा दायित्व हो । आजको कार्यक्रम पनि नेपालका लागि अत्यन्त महत्वपूर्ण समयमा आयोजना भइरहेको छ । हामी सबैलाई थाहा छ कि नेपाल हाल फाइनान्सियल एक्शन टास्क फोर्सबाट ग्रे लिस्टमा परेको छ । धेरैले यसलाई केवल एउटा अन्तर्राष्ट्रिय सूचीका रूपमा मात्र हेर्ने गरेका छन् । तर मेरो विचारमा हामीले यसलाई चेतावनीका रूपमा मात्र नभई एउटा अवसरका रूपमा लिनुपर्छ । यो हाम्रा वित्तीय प्रणालीलाई अझ प्रभावकारी बनाउने, कानून र अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप परिमार्जन गर्ने तथा नेपाललाई विश्वसनीय, पारदर्शी र जिम्मेवार राष्ट्रका रूपमा विश्वसामु अझ सशक्त ढंगले प्रश्तुत गर्ने अवसर हो । किनभने ग्रे लिस्टिङको प्रभाव कुनै एक क्षेत्रमा मात्र सीमित रहँदैन। यसले विदेशी लगानीको वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा वित्तीय कारोबार, रेमिट्यान्सको प्रवाह, विकास साझेदारी तथा नेपालको अन्तर्राष्ट्रिय छविसम्म असर पार्नसक्छ । त्यसैले, मेरो बुझाइमा एन्टी–मनी लाउण्डरिङ तथा आतंकवादी गतिविधिमा वित्तीय सहयोग नियन्त्रण केवल प्राविधिक वा कानूनी विषय मात्र होइन, यो आर्थिक स्थायित्व, सुशासन, लगानीकर्ताको विश्वास र राष्ट्रिय प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्वपूर्ण विषय हो ।’
एआइएनका सदस्य संस्थाहरूका कार्यकारी प्रमुख तथा विभागीय प्रमुखहरूलाई नीतिगत ज्ञान र सचेतना प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सरकारी अधिकारी, प्राविधिक विज्ञ तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको समीकरणपछि बनेको नयाँ परिस्थितिबारे सातै प्रदेशका नेतासँग परामर्श गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा नेपाली काँग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्श गर्नुभएको हो । बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीयता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश संरचनामा सहभागी दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । प्रदेशअनुसार राजनीतिक समीकरण र दलहरूको संख्या हेरेर सरकार सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा थप निर्णय गर्ने उहाँले बताउनु भयो । यससँगै नेपाली काँग्रेस पनि प्रदेशमा सत्ता समीकरणका लागि एमाले र नेकपा बाहेकका दलहरुसँग परामर्शमा रहेको स्पष्ट हुन्छ । वागमती, मधेस र गण्डकी प्रदेशमा एमाले र नेकपाले मात्रै सरकार बनाउन स्पष्ट बहुमत नपुग्ने भएपछि दलहरु आफूअनुकुल बहुमत पु¥याउन जुटेका छन् । लोकतन्त्र र संघीयतालाई स्वीकार गरी निर्वाचनमा सहभागी भएका दलहरूसँग संवाद र सहकार्यको सम्भावनाबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सातै प्रदेशका पार्टीका सभापति, संसदीय दलको नेता र जहाँ मुख्यमन्त्री हुनुभएको छ, मुख्यमन्त्रीलाई बोलाएर पार्टी सभापतिले परामर्श लिनुभएको छ, अहिले प्रदेश सरकारको बीचमा जुन किसिमको परिस्थिति निर्माण भएको छ, त्यो परिस्थितिमा संघीयता लोकतन्त्र र संघीयता मान्दै निर्वाचनमा सहभागी भएका प्रदेश संरचनामा जुनजुन दल आएका छन्, त्यो दलहरु बीचमा सहकार्य गरेर कसरी जान सकिन्छ या प्रतिपक्षमा बस्नुपर्ने कहाँको अवस्था के छ, कम्पोजिसन हेरेर त्यहीअनुसार अगाडि बढ्ने भन्ने विषयमा नै मुलतः त्यही विषयमा नै कुरै रह्यो । मुख्यमन्त्री बानियाँकाअनुसार एमाले र नेकपाबीच भएको सहमतिपछि नयाँ राजनीतिक परिस्थिति बनेकाले त्यसलाई ध्यानमा राख्दै काँग्रेसले प्रदेश तहमा कसरी अघि बढ्ने भन्ने विषयमा सभापति थापाको उपस्थितिमा परामर्श गरिएको हो
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धानलाई तिब्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ । अनुसन्धानका क्रममा मृतक मकवानपुरको साविक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको छ । उनी रामबहादुर गोपालीका छोरा हुन् । घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । यसैबीच आज बिहान करिव साढे ८ बजे वागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको छ । घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।