





















पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएको छ । लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा सडकको ठूलो हिस्सा भासिएर ध्वस्त भएको हो । सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ । विभागको प्राविधिक टोलीले सो स्थानको भौगोलिक अवस्था र सडक भासिनुको कारणबारे विस्तृत अध्ययन शुरु गरेको जनाएको छ । अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा सडकको पुनःनिर्माण तथा मर्मत कार्यलाई अगाडि बढाइने विभागले उल्लेख गरेको छ । सडक भासिएका कारण सो क्षेत्रमा यातायात आवागमन समेत प्रभावित भएको छ । भदौ १० गते रसुवा हुँदै आएको भोटेकोशी बाढी र धादिङ त्रिशूली नदीको कटानका कारण सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।
चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन् । राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र सङ्घीय संसदका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो । सो अवसरमा राजदुत माओमिङले राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुका साथै नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गर्नुभयो । राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणहरू समेत नेपाल आइपुगेका छन् । चीनको चेङ्दु सुआन्लियु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमानहरू करिव तीन घण्टाको उडानपछि काठमाडौँ अवतरण गरेका थिए । प्राप्त सामग्रीहरूमा पाल, कम्मल, स्लिपिङ ब्याग, तयारी खाजा र प्राथमिक उपचार किट गरी कुल १३ हजार २ सय थान सामग्रीहरू रहेका छन्, जसको कुल वजन ५० टन रहेको छ ।
नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाकाअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सहायता पु¥याउने उद्देश्यले सो रकम सहयोग गर्ने निर्णय भएको हो । नगद सहयोगका अतिरिक्त पार्टीले प्रभावित जिल्लाहरूमा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ । विपद्को यस घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै प्रवक्ता ज्वालाले उक्त निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
भदौ १० गतेको भोटेकोशी बाढी र त्यसपछिको विपद्का घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरी कार्य शुरु गरिरहेको छ । प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा स्थापित यस केन्द्रको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले गरिरहनुभएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेकाअनुसार यस केन्द्रले विपद्का घटनामा परेका व्यक्तिको खोजतलास, शव व्यवस्थापन र उद्धार कार्यमा अन्तरनिकाय समन्वयको मुख्य भुमिका निर्वाह गरिरहेको छ । केन्द्रमा विभिन्न डेस्कहरू स्थापना गरी अस्पतालहरूमा संकलन भएका शवहरूको विवरण, तस्बिर तथा भिडियो संकलन गर्ने र पीडित पक्षसँग समन्वय गरी पहिचान खुलाउने कार्य भइरहेको छ । प्रवक्ता काफ्लेकाअनुसार केन्द्रले देशभरबाट बेपत्ता भएका व्यक्तिहरूको विवरण संकलन गरी त्यसको व्यवस्थित ‘डकुमेन्टेसन’ गरिरहेको छ। संकलित फोटो तथा भिडियोहरूलाई बेपत्ता व्यक्तिको विवरणसँग भिडान (म्याचिङ) गरी पहिचान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
उद्धार कार्यका लागि मेडिकल असिस्टेन्स र आवश्यक जनशक्ति परिचालनमा समेत यसै केन्द्रबाट समन्वय भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा समन्वय अधिकृत तोकिएको छ । केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गरिरहेको छ । प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार विपद्का कारण हालसम्म ६ सय ६९ वटा शव (अङ्गहरू समेत गरी) फेला परेका छन् । जसमा १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ वटा मानव अङ्ग रहेका छन् । फेला परेका शवमध्ये हालसम्म २० वटा पहिचान खुलेर आफन्तलाई हस्तान्तरण गरिएको छ । बेपत्ता हुनेहरूको संख्या २,३६२ पुगेको छ । जसमा १,५९१ स्वदेशी पुरुष, २६४ स्वदेशी महिला रहेका छन् भने ५२३ जना विदेशी नागरिक (२२३ पुरुष र ३०० महिला) बेपत्ता छन् । विपद्को समयमा २६ जना प्रहरी कर्मचारी समेत हराइरहेको केन्द्रले जनाएको छ । प्रहरीले हालसम्म २,३०१ जनाको घाइते अवस्थामा उद्धार गरेको छ । नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर स्थापना गरी १ हजार जनालाई राखिएको छ भने धादिङमा पनि होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीले हराएका र फेला परेका व्यक्तिहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ । नागरिकहरूले वेबसाइटमा राखिएका फोटो तथा भिडियोहरू हेरेर आफ्ना आफन्तको पहिचान गर्नसक्ने र त्यसपछि कानूनी प्रक्रिया पूरा गरी शव हस्तान्तरण गरिने प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा धादिङको कृष्णभीर क्षेत्रमा सडकको तल्लो भागबाट कटान भई सडक भासिएपछि यातायात ठप्प भएको हो । त्रिशूलीमा आएको तिब्र बहावले सडकको जगबाटै कटान शुरु गरेपछि सडक भासिएको र सवारी आवागमन असुरक्षित बनेको हो । आज बिहान केही समयका लागि सञ्चालनमा आएको यो सडकखण्ड पुनः कटान बढ्न थालेपछि पूर्ण रूपमा बन्द गरिएको छ । मुख्य राजमार्ग नै अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ शव फेला परेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म ७ सय ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन् । प्राधिकरणकाअनुसार बाढी र पहिरोका कारण विभिन्न जिल्लामा गरी ७ सय ३४ जनाको शव फेला परेको छ । जसमध्ये सबैभन्दा बढी चितवनमा २ सय ५९ जनाको शव फेला परेको छ । । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा १ सय ८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमा विभिन्न मानव अङ्गहरूसमेत रहेको प्राधिकरणले जनाएको छ । अझै पनि २ हजार ४ सय ९८ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी (नेपाल प्रहरी २७, नेपाली सेना ४५, सशस्त्र प्रहरी १३), भन्सार र अध्यागमनका कर्मचारी, जलविद्युत आयोजनाका ९ सय ३३ कामदार तथा ५ सय ८९ जना विदेशी नागरिक रहेका छन् । रसुवा, नुवाकोट र मकवानपुर जिल्लाबाट ठुलो सङ्ख्यामा स्थानीयहरू बेपत्ता भएको विवरण प्राप्त भएको छ ।
उद्धार कार्यका क्रममा हालसम्म ८ हजार १ सय ८६ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल १९ हजार ८ सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जलविद्युत आयोजनाको सुरुङ्गमा थुनिएका २ सय ७९ जना र २ सय २७ जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाढीमा परी घाइते भएका २४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई तिब्रता दिएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । साथै, प्रभावित १५ वटा पालिकालाई कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री र हेलिकप्टरमार्फत ७ उडान गरी अत्यावश्यक वस्तुहरू प्रभावित क्षेत्रमा पु¥याइएको छ । उत्तरगया र धुन्चे क्षेत्रमा मात्रै २ टन खाद्य सामग्री पठाइएको छ । सञ्चार सेवा अवरुद्ध भएका स्थानहरूमा सञ्चार सेटहरू समेत पठाइएको प्राधिकरणले जनाएको छ । पहिचान हुन नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित राखिएको छ । मृतकको पहिचानका लागि नेपाल प्रहरीको ‘डिजास्टर पोर्टल’ र प्राधिकरणको फेसबुक पेजमार्फत विस्तृत विवरण सार्वजनिक गरिएको छ । इन्धन आपूर्तितर्फ नुवाकोटका विभिन्न आयल स्टोरहरूमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ । हवाई इन्धनको मौज्दात १४ हजार लिटर रहेको र हालसम्म २५ हजार लिटर खपत भइसकेको जानकारी दिइएको छ ।
मगर भाषा प्रष्ठिान, कास्कीले प्रतिष्ठानका २८ जना आजीवन सदस्यहरुलाई एक कार्यक्रम वीच सदस्यता प्रमाणपत्र वितरण गरिएको छ । मगर भाषा प्रतिष्ठान, कास्कीको १५ औं स्थापना दिवसको अवसरमा पोखरामा आयोजित आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम मार्फत सदस्यता प्रमाणपत्र वितरण गरिएको हो । प्रमुख अतिथि नेपाल मगरसंघ केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगर र मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष यामबहादुर थापा मगरले संयुक्त रुपमा सदस्यता प्रमाण पत्र वितरण गर्नुभएको हो ।
उक्त अवसरमा बोल्नुहुँदै प्रमुख अतिथि आले मगरले भाषाको आप्mनै महत्व र पहिचान भएकोले शव्दद्धार महत्व झल्काउन नसक्ने बताउनुभयो । उहाँले मगर भाषा इतिहास, पहिचान र संस्कृति भएकोले यसको संरक्षण गर्नुका साथै पुस्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभायो । प्रतिष्ठान गठन गर्नुभएकोमा मगरले संस्थापक अध्यक्ष लोक वहादुर थापा मगरलाई सम्झनुहुँदै, धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार द्धय फुल कुमारी थापा मगर, नरेश थापामगर र नेपाल मगर संघ कास्कीका सह–सचिव जीवन थापा मगरले पनि भाषा संरक्षणका लागि राज्यको पनि दायीत्व भएको उल्लेख गर्नुभयो । मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष याम बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रम सचिव मिना थापा मगरले सञ्चालन गर्नुभएको थियो ।
भाद्र कृष्ण प्रतिपदाको पावन अवसरमा आज काठमाडौं उपत्यकासहित देशविदेशमा नेवार समुदाय र सम्पूर्ण नेपालीहरूले परम्परागत ऐतिहासिक पर्व गाईजात्रा (नेपाल भाषामा ‘सापारु’) भव्यता र धार्मिक निष्ठाका साथ मनाइरहेका छन् । बिहानैदेखि ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र, हनुमानढोका, गद्दी बैठक र पाटन–भक्तपुरका प्राचीन गल्लीहरूमा जनसागर उर्लिएको छ । विगत एक वर्षभित्र दिवङ्गत भएका आफ्ना परिवारजनको आत्माको चीर शान्ति, सद्गति र स्वर्गारोहणको कामना गर्दै परिवारका सदस्यहरूले बालबालिकालाई गाई, श्रीकृष्ण, राधारानी, जोगी तथा विभिन्न देवी–देवताको भेषभूषामा सिँगारेर नगर परिक्रमा गराएका छन् । मृतकको आत्माले यमलोक जाने क्रममा वैतरणी नदी सजिलै पार गरोस् भन्ने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ ।






















दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाले आफ्नै सैनिकहरूमाथि लामखुट्टेबाट सर्ने रोगहरूको अमानवीय परीक्षण गरेको तथ्य सार्वजनिक भएको छ । चीनको हेलुङजियाङ प्रान्तको राजधानी हार्बिनस्थित जापानी सेनाको युनिट ७३१ द्वारा गरिएका अपराधका प्रमाणहरू संकलित प्रदर्शनी केन्द्रले बिहीवार सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले यस्तो खुलासा गरेको हो । अध्ययनकाअनुसार दोस्रो विश्वयुद्धको समयमा चीनमा रहेका जापानी सेनाका दुई प्रमुख जैविक युद्ध एकाइहरू–हार्बिनस्थित ‘युनिट ७३१’ र बेइजिङस्थित ‘युनिट १८५५’–का साथै जापानका अन्य सैन्य चिकित्सा संस्थाहरूले लामखुट्टे, उपियाँ र झिंगा प्रयोग गरी कीटाणुजन्य हतियारको अनुसन्धान गरेका थिए ।
प्रतिवेदनले उल्लेख गरेअनुसार ती जैविक युद्ध एकाइहरूले रोग फैलाउने कीटहरूमाथि विस्तृत अनुसन्धान गर्न समर्पित विभागहरू नै स्थापना गरेका थिए । उनीहरूले प्लेग सार्न उपियाँ, हैजा फैलाउन झिंगा र मलेरियाका लागि मुख्य वाहकका रूपमा लामखुट्टेको प्रयोग गरेका थिए । प्रदर्शनी केन्द्रका अनुसन्धानकर्ता जीन सिचेङका अनुसार, सन् १९४० को मेदेखि अगस्टसम्म मलेरिया संक्रमित लामखुट्टे प्रयोग गरी गरिएको मानव परीक्षणको दस्तावेज सन् १९४३ जनवरी १० मा जापानी आर्मी मेडिकल कोरको जर्नलमा प्रकाशित भएको थियो ।
जापानको चिबा प्रान्तस्थित एक सैन्य अस्पतालमा गरिएको सो परीक्षणमा, सुरुमा चीनमा मलेरिया संक्रमित भएका सैनिकहरूलाई लामखुट्टे टोकाइएको थियो । त्यसपछि ती संक्रमित लामखुट्टेहरूलाई मानसिक रोगका कारण अस्पतालमा भर्ना भएका १० जना जापानी सैनिकहरूलाई टोकाएर संक्रमण फैलाइएको थियो । परीक्षणका क्रममा विषय बनाइएका ती सैनिकहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने र खानामा अरुचि हुने जस्ता गम्भीर लक्षणहरू देखिएका थिए ।
‘यो घटनाले मानव जातिलाई केवल ‘प्रयोगात्मक सामग्री’ का रूपमा प्रयोग गर्ने जापानी सेनाको आपराधिक चरित्रलाई उजागर गर्दछ । अनुसन्धानकर्ता जीनले भने । ‘यसले जैविक हतियारको परीक्षण जापानको मुख्य भूमिसम्म फैलिएको र उनीहरूले आफ्नै सैनिकहरूलाई समेत नछोडेको पुष्टि गर्दछ ।’
अध्ययनले जापानी फौजले जैविक हतियारको अनुसन्धानका लागि विभिन्न निकायहरूबीच समन्वय र सहकार्य गर्ने गरेको समेत खुलासा गरेको छ ।