२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

 
 

१६ साउन,

बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित कालापानीमा चक्काजाम गरिएको छ । गत जेठ ११ गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरुले सडक चक्काजाम गरेका हुन् ।

उक्त प्रकरणमा चारजनामाथि झुठा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरु निर्दोष रहेकोले तीन दिनभित्र मुद्दा फिर्ताका लागि पहलकदमी गर्न बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 

त्यसअनुसार बिहीबार बर्दिबास नगरपालिकाको सभाहलमा स्थानीय राजनीतिक दल, स्थानीय सरकार, प्रहरी तथा प्रमुख जिल्ला अधिकारीबीच सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुद्दा दर्ता भइसकेर अनुसन्धानको प्रक्रियामा रहेकाले त्यसलाई तत्काल फिर्ता लिने विषय आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर रहेको बताएका थिए । त्यसपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

बैठकमा बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले मुद्दा फिर्ता गराउन प्रशासनलाई दिइएको तीनदिने अल्टिमेटम शुक्रबार सकिने जानकारी गराएका थिए ।

 

तीनदिने अल्टिमेटम शुक्रबार सकिएपछि स्थानीय सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरु शनिबार बिहानैदेखि राजमार्ग अवरुद्ध पार्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले स्थानीयवासीलाई लगाइएको झुठा मुद्दा फिर्ता गर्नुपर्ने, घटनाका दोषी डीएफओलाई कारबाही गर्नुपर्ने, घटनाका बेला भएको सहमति कार्यान्वय गर्नुपर्ने माग गरेका छन् ।

अतिव्यस्त राजमार्गमा चक्काजामका कारण सयौं सवारीसाधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार सारु मगरले कालापानी घटनासम्बन्धी मुद्दा असार १९ गते दर्ता भई अनुसन्धानको प्रक्रियामा रहेको बताए ।

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले उत्पादनशील प्रतिफल नदिने पूर्वाधारमा अन्धाधुन्ध ऋण लगानी गर्दा मुलुक दीर्घकालीन ऋण संकटतर्फ धकेलिने चेतावनी दिनुभएको छ । बिहीबार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘सार्वजनिक ऋणः परिमाण, परिचालन, उत्पादकत्व र भावी रणनीति’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्तरिक वा वाह्य ऋण लिने विषयलाई केवल अर्थ मन्त्रालयको जिम्मेवारीका रूपमा मात्र नहेरी संसद, नागरिक समाज र सरोकारवाला निकायले यसको औचित्य, उपयोग र प्रतिफलमाथि निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जलविद्युत, सिंचाइ र शिक्षाजस्ता क्षेत्रमा लगानीका लागि ऋण लिने गरिए पनि सुशासन, शासन प्रणालीमा सुधार र कानुनी शासनको सुदृढीकरणका क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले जिम्मेवार राजनीतिक नेतृत्वले कुनैपनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य जाँच गर्नुपर्नेमा जोड दिनुभएको हो । सभापति थापाले नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएको उल्लेख गर्दै समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढ्दै गएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सुनसरीमा भएको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभयो । सांसद ओलीले सुनसरीको घटनालाई सत्तारुढ दलहरूले दुःखद् र संवेदनशील भने पनि घटनाको प्रकृति र पृष्ठभूमिका बारेमा मौन बसेको आरोप लगाउनु भयो । बोलबम धार्मिक यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरूमाथि गोली प्रहार भएको, ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ घाइते भएको तथ्यलाई सरकारले स्पष्ट रूपमा स्वीकार गर्न डराएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जालमार्फत गोली चलेको विषयमा दिएको अभिव्यक्ति अपरिपक्व भएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले मोरङ जिल्ला प्रशासन कार्यालयले धार्मिक अनुष्ठानका क्रममा ध्वनि नियन्त्रणका लागि जारी गरेको सूचनाप्रति पनि आपत्ति जनाउनु भयो । एउटा निश्चित धर्म र पुराणलाई मात्र लक्षित गरेर ल्याइएको यस्ता सूचनाले समाजमा इगो (अहंकार) पैदा गर्ने र यसले प्रशासनिक अपरिपक्वता झल्काउने उहाँको तर्क छ । 

उहाँले भन्नुभयो, ‘बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो । गोली कसले र कसको आदेशमा चलायो ? जिल्ला प्रशासन, प्रहरी र प्रधानमन्त्रीको अभिव्यक्तिमा किन विरोधाभास छ ? यो गम्भीर विषय हो । संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्र रहँदा नेपाल आजको तुलनामा बढी सहिष्णु र सन्तुलित थियो । यो तथ्यलाई भावनाले मात्र होइन, गम्भीर बहस र प्रमाणका आधारमा समीक्षा गरिनुपर्छ ।’ सांसद ओलीले नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेयता धार्मिक द्वन्द्व र असहिष्णुता बढेको दाबी गर्नुभयो । वाह्य स्रोतको लगानीमा भइरहेको धर्मान्तरण र रोहिंग्या तथा पाकिस्तानी शरणार्थीहरूको अनियन्त्रित प्रवेशले मुलुकको राष्ट्रिय सुरक्षामा चुनौती थपेको उल्लेख गर्नुभयो । सुरक्षा निकायका उच्च अधिकारीहरूले समेत यस विषयमा चिन्ता व्यक्त गरिसकेकाले सरकारले यस्ता संवेदनशील मुद्दामा ध्यान दिनुपर्ने उहाँको माग छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले बिमस्टेक गुरुयोजना (मास्टर प्लान) अन्तर्गतका ६० प्रतिशत आयोजनाहरू कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।  परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) द्वारा आयोजित ‘बिमस्टेक एट ३०ः क्षेत्रीय सहयोग, एकीकरण र साझा समृद्धिका लागि जनस्तरको सम्बन्ध अभिवृद्धि’ विषयक उच्चस्तरीय नीति संवादमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा महासचिव पाण्डेले बिमस्टेक सदस्य राष्ट्रहरूबीचको भौतिक तथा डिजिटल कनेक्टिभिटी, संस्कृति, ऊर्जा र विपद् व्यवस्थापनमा प्रगति भैरहेको बताउनु भयो । समुन्द्री यातायात सहयोग सम्झौता सम्पन्न भएको र छिट्टै ‘बिमस्टेक मोटर भेहिकल एग्रिमेन्ट’ लाई अन्तिम रूप दिइने उहाँले बताउनु भयो । भारतले दिगो समुन्द्री यातायात केन्द्र स्थापना गर्ने प्रश्ताव गरेको समेत उहाँले उल्लेख गर्नुभयो । नेपालले संस्कृति, पर्यटन र गरिबी निवारण जस्ता महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहेको चर्चा गर्दै महासचिव पाण्डेले जनस्तरको सम्बन्ध विस्तारमा नेपालको भूमिका प्रशंसनीय रहेको बताउनु भयो । नेपालले पर्यटन र संस्कृतिको क्षेत्रमा ‘सेन्टर अफ एक्सीलेन्स’ स्थापना गर्ने प्रश्ताव अघि सारेको छ, जसलाई क्षेत्रीय सहयोगको क्षेत्रमा महत्त्वपूर्ण योगदानका रूपमा हेरिएको छ । यस्तै, गरिबी निवारण र जनस्तरको सम्पर्क मञ्च (पिपुल टु पिपुल कन्ट्याक्ट फोरम) मा पनि नेपालले सक्रियतापूर्वक काम गरिरहेको छ महासचिव पाण्डेले बताउनु भयो  ।

क्षेत्रीय सुरक्षा र विपद् व्यवस्थापनका लागि ‘बिमस्टेक सेन्टर अफ एक्सीलेन्स इन डिजास्टर म्यानेजमेण्ट’ स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । यसका लागि छ सदस्य राष्ट्रले समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् र बाँकी एक देशको स्वीकृतिपछि यो पूर्ण रूपमा सञ्चालनमा आउनेछ । वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा भुटानले नेतृत्व गरिरहेको जानकारी दिँदै महासचिव पाण्डेले पर्वतीय अर्थतन्त्रको महत्वबारे जोड दिनुभयो । उहाँले ‘बिमस्टेक मौसम र जलवायु केन्द्र’ क्षेत्रीय सहकार्यको एक सफल र जीवित उदाहरण भएको बताउनु भयो ।  यस केन्द्रले सदस्य राष्ट्रहरूका मौसम विज्ञान विभागहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको मागको आधारमा अनुकूलित मौसम पूर्वानुमान गर्दछ र पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धिमा काम गरिरहेको छ ।’ उहाँले भन्नुभयो, ‘यो केन्द्र अहिले पूर्ण रूपमा कार्यात्मक छ र क्षेत्रीय सहकार्यमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ । नेपालका लागि ऊर्जा क्षेत्र अत्यन्त महत्त्वपूर्ण रहेको औँल्याउँदै महासचिव पाण्डेले ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ सम्झौता केवल एउटा योजना मात्र नभई सदस्य राष्ट्रहरूको ठोस प्रतिवद्धता भएको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार केही सदस्य राष्ट्रहरूबीच ग्रिड जोडिसकिएको छ भने अब नीतिगत पक्षहरूमा सहमति जुटाएर यस प्रस्तावलाई पूर्ण रूपमा वास्तविकतामा परिणत गरिनेछ ।

ग्रिड अन्तरसम्बन्धभन्दा अगाडि बढेर अब नवीकरणीय ऊर्जातर्फ ध्यान केन्द्रित गरिएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसँग मिलेर सौर्य ऊर्जा प्रवद्र्धन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।  बिमस्टेक ऊर्जा केन्द्रले सञ्चालन गर्ने क्षमता अभिवृद्धि तालिमको उपयोगिताबारे बोल्दै उहाँले भन्नुभयो, ‘यो केन्द्रले आयोजना गर्ने तालिम कार्यक्रमहरूमा सहभागी हुन कतिपय देशहरूले ३० देखि ४० जनासम्म मनोनयन गर्ने गरेका छन्, यसैबाट यस केन्द्रले खेलेको महत्त्वपूर्ण भूमिका स्पष्ट हुन्छ । यस्तै, श्रीलङ्कामा स्थापना हुन लागेको ‘बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फ्यासिलिटी’ को सञ्चालन ढाँचा तय गर्न आगामी सेप्टेम्बरमा महत्त्वपूर्ण समझदारी हुने उहाँले उल्लेख गर्नुभयो । बिमस्टेकका हरेक कार्ययोजनामा महिलाको प्रतिनिधित्व र नेतृत्वलाई मूलप्रवाहीकरण गर्न विज्ञ समूह गठन गर्ने प्रश्ताव सचिवालयले अघि सारेको छ । स्वास्थ्य क्षेत्रमा श्रीलङ्काको नेतृत्वमा महामारी पूर्वतयारी र प्रतिकार्यका योजनाहरू कार्यान्वयन भइरहेका छन् । थाइल्याण्डले यसअघि नै ‘बिमस्टेक सेन्टर अफ एक्सीलेन्स अन ट्रपिकल मेडिसिन’ सञ्चालनमा ल्याइसकेको छ । महासचिव पाण्डेले एशियाली विकास बैंकको सहयोगमा तयार पारिएको यातायात कनेक्टिभिटी गुरुयोजनालाई कोलम्बो शिखर सम्मेलनले अनुमोदन गरेयता सदस्य राष्ट्रहरू बाँकी आयोजनाहरू सम्पन्न गर्न प्रतिवद्ध रहेको बताउनु भयो । बिमस्टेकको ३० औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने र यसले क्षेत्रीय एकतालाई थप बल पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा शक्तिशाली भूकम्पपछि एक सपिङ मलमा भएको विस्फोटमा परी दुई महिलाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार उक्त घटनामा अन्य एक व्यक्ति गम्भीर अवस्थामा रहेका छन् । कुमामोतो प्रान्तीय सरकारलाई उद्धृत गर्दै सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार काशिमा शहरस्थित इयोन मल कुमामोतोबाट बुधवार बिहान स्थानीय समयअनुसार ४ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलालाई मृत घोषित गरिएको छ भने अर्का एक व्यक्तिको हृदयघातका कारण अवस्था चिन्ताजनक रहेको छ । अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।  भूकम्पका कारण ग्यास चुहावट भई विस्फोट भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । यद्यपि, विस्फोटको यकिन कारणबारे अनुसन्धान भइरहेको छ।   जापान मौसम विज्ञान एजेन्सीकाअनुसार मंगलबार स्थानीय समयअनुसार दिउँसो ४ः२७ बजे कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो । कुमामोतो प्रान्तीय प्रहरीका अनुसार भूकम्प लगत्तै मलमा रहेका करिव २०० ग्राहक र कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निस्किएका थिए । विस्फोटको घटना मानिसहरू बाहिर निस्किएपछि भएको थियो । प्रहरीले केही कर्मचारीहरू अझै पनि भवनभित्र फसिरहेको हुनसक्ने बताएको छ, तर उनीहरूको यकिन संख्या भने अझै खुल्न सकेको छैन । अहिले सो क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । 
बुधवार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाउनुभएको हो । नेता आङदेम्बेले सुनसरीको घटनालाई लिएर सरकारले देखाएको उदासीनता र बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाउनु भयो । नेता आङदेम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच हुनुपर्ने आवश्यक संवाद र समन्वयको अभावले पनि राज्य सञ्चालनमा गम्भीर त्रुटी देखिएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय महत्वका यस्ता विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोज्नुको सट्टा सरकार हिचकिचाइरहेको दाबी गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘यस्तो गम्भीर र संवेदनशील विषयमा डाकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रस्ट हुन्छ । सरकार केवल सामाजिक सञ्जालको ‘स्टाटस’ मा मात्र सिमित देखियो, तर कार्यथलोमा उसको उपस्थिति शुन्य छ । हामीले अब ढिलो नगरी तराई–मधेसमा क्रियाशील सामाजिक समूह, धार्मिक गुरु तथा सरोकारवाला पक्षहरूसँग प्रत्यक्ष छलफल अगाडि बढाउनेछौँ । सामाजिक सद्भाव बिग्रन नदिन र उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि राजनीतिक वृत्तभन्दा बाहिरका सरोकारवालासँग पनि सहकार्य गरिनेछ ।’
बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तत्कालै संयुक्त पहल गर्ने निर्णय गरेका छन् । राज्यको प्रतीक्षा नगरी दलहरू आफैँ फिल्डमा गएर शान्ति स्थापनाका लागि आह्वान गर्ने सहमति भएको आङदेम्बेले जानकारी दिनुभयो ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सुनसरीमा दुई धार्मिक समूहबिच विवाद भएसँगै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । महासचिव पोखरेलले पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी आयोजना गरिएको सर्वदलीय बैठकलाई सकारात्मक रूपमा लिँदै यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिनुभयो । सरकार र प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको टिप्पणी गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा भएको छलफलमार्फत शान्ति, सद्भाव र सहिष्णुताका लागि संयुक्त विज्ञप्ति जारी गरिएको जानकारी दिनुभयो । सुरक्षा निकायको कार्यसम्पादनमाथि चर्चा गर्दै महासचिव पोखरेलले दङ्गा र भीड नियन्त्रणका सन्दर्भमा सुरक्षा संयन्त्रहरू किन प्रभावकारी हुन सकिरहेका छैनन् भन्ने विषयमा गहिरो समीक्षा आवश्यक रहेको बताउनु भयो । 
उहाँले कुनैपनि प्रकारको भ्रममा नपरी सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा धार्मिक व्यक्तित्वहरूलाई अपिल समेत गर्नुभयो । विशेषगरी सुनसरीलगायतका प्रभावित क्षेत्रका जनसमुदायलाई सरकारले अभिभावकत्वको प्रत्यक्ष अनुभूति दिलाउनुपर्ने उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘सुरक्षा निकायको मनोबल गिरेका कारण वा साधन–स्रोतको अभावमा यस्ता घटना भएका हुन्, त्यसको सूक्ष्म अध्ययन हुनुपर्छ । भविष्यमा मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्न सुरक्षा निकायको सामथ्र्य र क्षमता विकास गर्नु आजको अनिवार्य आवश्यकता हो ।’
नागरिकको सुरक्षालाई साझा जिम्मेवारीको रूपमा अथ्र्याउँदै महासचिव पोखरेलले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सबै पक्षबाट सकारात्मक योगदानको अपेक्षा गर्नुभयो । न्यायको पर्खाइमा रहेका नागरिकका पक्षमा राजनीतिक दलहरू दृढतापूर्वक उभिएको उल्लेख गर्दै उहाँले कसैले पनि असुरक्षित महशुस गर्न नहुने वातावरण निर्माणमा जोड दिनुभयो । 

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको छ । 
श्रेष्ठको पार्थिव शरीरमा काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने विभिन्न राजनितिक दलका नेता तथा काँग्रेस कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई काँग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । ८३ वर्षको उमेरमा मंगलवार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको हो । बुधवार नै उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले दिवंगत श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका विशेष स्तम्भ भएको बताउनु भयो । श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान इतिहासमा सदैव स्मरणीय रहने उहाँको भनाई छ । श्रेष्ठले सानै उमेरदेखि नेपाली काँग्रेसको नेतृत्वमा भएका सबै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको महामन्त्री घिमिरेले उल्लेख गर्नुभयो । उहाँकाअनुसार २०१७ सालपछि उत्पन्न प्रतिकूल राजनीतिक परिस्थितिमा पार्टीले सञ्चालन गरेका हरेक संघर्षमा श्रेष्ठ निरन्तर सहभागी भई जेल, यातना र दमन सहेर पनि लोकतन्त्रको पक्षमा अडिग रहुनभएको थियो । १२ बुँदे समझदारीमा तत्कालीन सात दल र माओवादीबीच भएको ऐतिहासिक सहमतिका हस्ताक्षरकर्तामध्ये श्रेष्ठ पनि एक भएको महामन्त्री घिमिरेले बताउनु भयो । उहाँकाअनुसार श्रेष्ठले सरकारमा उपप्रधानमन्त्री, पार्टीमा उपसभापति तथा तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । श्रेष्ठ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै महामन्त्री घिमिरेले पछिल्लो विशेष महाधिवेशनमा उहाँको उपस्थितिले पार्टीलाई ऊर्जा र मार्गदर्शन दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको वरिष्ठ नेता गोपाल दाइ नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा यस्तो स्तम्भ हुनुहुन्थ्यो, जसले प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा लामो समय योगदान गर्नुभयो । सानो उमेरदेखि नै उहाँले नेपाली काँग्रेसको नेतृत्वमा भएका सबै आन्दोलनहरुमा सहभागिता जनाउनु भयो । १७ साल पछिको प्रतिकुल राजनीतिक परिस्थितिमा पार्टीद्वारा संचालित सबै संघर्षहरुमा उहाँले यथोचित सहयोग पु¥याउनुभयो । प्रतिकुल समयमा सहयोग गर्न सामान्य व्यक्तिको लागि निकै गाह्रो हुन्थ्यो, त्यसैले उहाँ असामान्य व्यक्ति भन्नु पर्छ । प्रतिकुल समयमा पनि पार्टीलाई योगदान पु¥याएर संघर्षमा सामेल भएर जेल नेल यातना सबै झेलेर नेपाली काँग्रेसको वृक्षलाई जोगाउन, फलाउन, फूलाउन र अन्ततः ३० वर्षको लामो संघर्ष पछि प्रजातन्त्रको पुनस्थापना गराउन उहाँको ठुलो भूमिका छ । उहाँले सरकारमा गएर पनि काम गर्नुभयो, उपप्रधानमन्त्रीसम्म हुनुभयो, पार्टीमा उहाँ उपसभापतिसम्म हुनुभयो । तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यबाहक सभापति बन्नुभयो । १२ बुँदे समझदारीको हस्ताक्षर कर्तामध्ये तत्कालिन ७ दल र माओवादीका बीचको भएको समझदारीको हस्ताक्षर कर्ता मध्येको एक हो, उहाँ । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई पु¥याउनु भएको योगदान हाम्रा लागि चिरस्मरणिय रहनेछ । नयाँ पुस्ताका निम्ति उहाँ प्रेरणा श्रोत हुनुहुन्थ्यो । पछिल्लो पटक विशेष महाधिवेशनमा उपस्थित भएर उहाँले हामीलाई संरक्षकत्व र ऊर्जा प्रदान गर्नु भएको थियो । त्यसले हामीलाई अगाडी बढ्न प्रेरणा दियो, र आज हामी यहाँ छौ । त्यसैले उहाँ हाम्रो धेरै नेताहरु मध्येको एक महत्वपूर्ण नेता हुनुहुन्थ्यो ।’
वि.सं. २००१ मा जन्मिनुभएका श्रेष्ठले विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर सहभागिता जनाएको कांग्रेसले जनाएको छ । श्रेष्ठ २०४८, २०५६, २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो भने २०७० सालमा समानुपातिक सांसद बन्नुभएको थियो । २०५१ सालको निर्वाचनमा भने उहाँ पराजित हुनुभयो । पटक पटक मन्त्री बन्नुभएका उहाँ लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल समेत पर्नुभएको थियो । लामो समय नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट रहुनभएका श्रेष्ठ काँग्रेसको विशेष महाविधेशनमा सहभागी भएर गगन थापा निकट हुनुभएको थियो । उहाँले काँग्रेस विभाजनपछि लामो समय नेपाली काँग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारी समेत समाल्नुभएको थियो ।
तीन दिन पार्टीको झण्डा आधा झुकाईने  
नेपाली काँग्रेसको श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधवार बसेको आकस्मिक केन्द्रिय समितिको बैठकले साउन १३, १४ र १५ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला समितिका कार्यलयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । यस्तै साउन १४ गते विहीवार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यलयहरु बन्द गर्ने र १३ औँ दिनको पुण्य तिथिमा श्रेष्ठको गृहजिल्ला स्याङ्जामा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । 
बुधवार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उहाँले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् र संविधान निर्माणका जटिल चरणहरूमा राजनीतिक दलहरूले देखाएको साझा सहमति र राष्ट्रिय एकताको स्मरण गर्नुभयो । वर्तमान समयमा पनि सोही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीवोध आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय महत्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साझा समाधान पहिल्याउन नसकेको भन्दै प्रश्नसमेत उठाउनु भयो । यद्यपि, समसामयिक विषयमा छलफलका लागि बैठक आह्वान गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिनुभयो । परिस्थितिलाई सहज बनाउन सरकार थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले कुनैपनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने उल्लेख गर्दै संवाद र राजनीतिक समझदारी नै उत्तम विकल्प भएको बताउनु भयो । नेकपाले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिइसकेको जानकारी गराउँदै उहाँले घटनास्थलमा वाह्य तत्वहरूले वातावरण भड्काउन सक्ने भएकाले उच्च शतर्कता अपनाउन आग्रह गर्नुभयो । 
अध्यक्ष दाहालले भन्नुभयो, ‘सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ । भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता कठिन समयमा राजनीतिक दलहरूले राष्ट्रिय एकता र सहकार्यको उदाहरण प्रश्तुत गरेका थिए । आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ । यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले बैठक बोलाउनुभएकोमा धन्यवाद व्यक्त गर्दछु । यस्तो अवस्थामा सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील भूमिका निर्वाह गर्नुपर्छ । प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद र सहमतिका लागि पहल गरी सबै राजनीतिक दललाई विश्वासमा लिनुपर्छ । संसद्भित्र पनि सरकारको भूमिका अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन । बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन । संवाद, सहमति र राजनीतिक समझदारीबाटै परिस्थितिलाई सहज बनाउन सकिन्छ । हाम्रो पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिएको छ । साथै, घटनास्थलमा बाहिरी रूपमा वातावरण भड्काउने तत्व सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च शतर्क रहन आवश्यक छ । यो राजनीतिक तिक्तता बढाउने होइन, राष्ट्रिय जिम्मेवारी निर्वाह गर्ने समय हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनबमोजिम कारबाही हुनुपर्छ। सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकतावद्ध रूपमा अघि बढ्नुपर्छ ।’
संयोजक दाहालले अहिलेको समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने बेला भएको उल्लेख गर्नुभयो । उहाँले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गर्दै सम्पूर्ण राजनीतिक दल, सरकार र सरोकारवालाहरूलाई सामाजिक सद्भाव र शान्तिका लागि एकजुट हुन अपिल गर्नुभयो ।

(नोटः यो प्रचण्डको सचिवालयले दिएको जानकारीका आधारमा बनाएका हौँ । छलफलमा सञ्चारकर्मीहरुलाई बस्न दिइएको छैन ।)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।