२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

नेपालमा दर्ता भएका गैरसरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्कृय रहेको पाइएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो । सदस्यसचिव बुढाकाअनुसार समाज कल्याण परिषद्मा हालसम्म करिव ६० हजार गैरसरकारी संस्था (एनजीओ) आवद्ध भएपनि तीमध्ये करिव १० हजार मात्रै सक्रिय अवस्थामा रहेका छन् । त्यसैगरी, हालसम्म करिव २ सय ५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) ले नेपालमा काम गरेको रेकर्ड भएपनि हाल १ सय ३६ वटा संस्था मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेका छन् । समितिको बैठकमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधि र कानूनी प्रक्रियाबारे जानकारी दिँदै सदस्यसचिव बुढाले इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आईसीजे) को पछिल्लो अवस्थाबारे स्पष्ट पार्नुभयो । आईसीजेले सन् २००९ देखि नेपालमा कार्य शुरु गरेको र पछिल्लो पटक सन् २०२२ फेब्रुअरी २५ मा ५ वर्षका लागि सम्झौता नवीकरण गरेको छ । यस संस्थाले संक्रमणकालीन न्याय, मानव अधिकार, सर्वोच्च अदालतको नजिर र पीडित समूहको कानूनी अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ । हाल सो संस्थाले अपाङ्गता भएका महिला तथा बालिकाहरूको अधिकारका लागि ‘इनेबल’ नामक नयाँ परियोजना प्रश्ताव गरेको र उक्त प्रश्ताव हाल मन्त्रालयको सहजीकरण समितिमा छलफलका क्रममा रहेको छ । 
त्यसैगरी, एम्नेस्टी इन्टरनेशनल नेपालको सन्दर्भमा यो संस्था २०६२ सालदेखि परिषद्मा आवद्ध रहेको र यसको आबद्धता २०८३ असार मसान्तसम्म बहाल रहने जानकारी दिइएको छ । एम्नेस्टीले सन् २०२६ का लागि ५ करोड १५ लाख ४२ हजार ५४० रुपैयाँको बजेटमा मानव अधिकार अभियान र वकालतसम्बन्धी आयोजना स्वीकृत गराएको छ । यसका लागि वैदेशिक सहायता लण्डनस्थित अन्तर्राष्ट्रिय सचिवालयबाट प्राप्त हुने परिषद्को रेकर्डमा देखिएको छ ।
उहाँले भन्नुभयो, ‘समाज कल्याण परिषद्मा करिब ६० हजार एनजीओ आबद्ध छन्, जसमध्ये करिव १० हजार सक्रिय छन् । नेपालमा हालसम्म करिव २५० आईएनजीओले काम गरेका छन् भने १३६ संस्था मात्र सक्रिय छन् । आईसीजेले सन् २००९ देखि परिषद्सँग आवद्ध भई मानवअधिकार, संक्रमणकालीन न्याय र कानूनी सुधारका क्षेत्रमा काम गर्दै आएको छ । हाल सन् २०२७ सम्मको परियोजना सञ्चालनमा रहेको छ र नयाँ परियोजनाको प्रश्ताव पनि पेश गरेको छ । एमनेस्टी इन्टरनेशनल नेपाल २०६२ सालदेखि परिषद्मा आवद्ध छ । यसले सन् २०२६ मा मानवअधिकारसम्बन्धी अभियान सञ्चालन गर्न करिव ५ करोड १५ लाख बजेटसहित परियोजना कार्यान्वयन गरिरहेको छ । ह्युमन राइट्स वाच २०६४ सालमा परिषद्मा आवद्ध भएपनि हालसम्म कुनै परियोजनाको स्वीकृति लिएको वा नवीकरण गरेको अभिलेख छैन । परियोजना स्वीकृति समाज कल्याण परिषद् र मन्त्रालयको निर्धारित प्रक्रियाअनुसार हुन्छ । कानून वा सम्झौताको उल्लंघन भएमा परियोजना रद्द, निलम्बन वा अन्य कानूनी कारबाही गर्न सकिने व्यवस्था छ ।’
यता, ह्युमन राइट्स वाचको हकमा भने यो संस्था २०६४ सालमा परिषद्मा आवद्ध भएपनि हालसम्म कुनैपनि कार्यक्रमको स्वीकृति नलिएको र नवीकरणका लागि समेत नआएको सदस्यसचिव बुढाले बताउनु भयो । संयुक्त विज्ञप्तिहरूमा उल्लेख हुने ह्युमन राइट्स वाच न्युयोर्कमा आधारित आइएनजीओ रहेको उहाँले स्पष्ट पार्नुभयो । परिषद्ले गैरसरकारी संस्थाहरूको नियमनका लागि समाज कल्याण ऐन, २०४९ र नियमावलीअनुसार कार्य गर्दै आएको छ । संस्थाहरूले नेपालको प्रचलित कानून र सम्झौताका सर्तहरू पालना नगरेमा स्पष्टीकरण सोध्ने, परियोजना सम्झौता रद्द गर्ने वा संस्था निलम्वन गर्नेसम्मको अधिकार सरकारलाई रहेको सदस्यसचिव बुढाले जानकारी दिनुभयो ।

संविधानविद् विपिन अधिकारीले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरूले नेपालको न्यायपालिकाको स्वतन्त्रतामाथि उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।  प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा बोल्दै अधिकारीले हालै सार्वजनिक भएका अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले नेपाली न्यायपालिकामा गम्भीर खतरा (सिरियस थ्रेट) देखिएको औँल्याएकाले त्यसलाई उपेक्षा गर्न नमिल्ने तर्क गर्नुभएको हो । संविधानविद् अधिकारीले एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजी) जस्ता संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्ति केवल मानवअधिकारको सामान्य प्रतिवेदन मात्र नभई नेपालको न्यायपालिकाको स्वतन्त्रतामा देखिएको संकटको मूल्याङ्कन भएको बताउनु भयो । अधिकारीले प्रतिवेदनमा मुख्य रूपमा चारवटा विषयलाई केन्द्रित गरिएको जानकारी दिनुभयो । सर्वोच्च अदालतका न्यायाधीशहरूमा देखिएको राजनीतिक प्रभाव, महाभियोगका लागि पर्याप्त आधार नदेखिनु, विशिष्ट न्यायाधीशहरू (सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाल) विरुद्ध भएका टिप्पणीहरू र प्रधानन्यायाधीश नियुक्तिमा देखिएको विचलनलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘यति लामो प्रजातान्त्रिक अभ्यासमा पनि न्यायपालिकाभित्र राजनीतिक प्रभाव, विनाआधारका महाभियोग र न्यायाधीशहरूमाथिको टीकाटिप्पणीले गम्भीर चिन्ता पैदा गरेको छ । सरकारले यी संस्थाहरूसँग उनीहरूले दाबी गरेका विश्वसनीय प्रमाण माग गर्नुपर्छ । यदि न्यायपालिकाको छविमा आँच पुग्ने कार्य भएको छ भने त्यसको निष्पक्ष छानबिन गर्ने प्रतिवद्धता जनाउनुपर्छ । सरकारको प्रतिक्रियाका सम्बन्धमा टिप्पणी गर्दै अधिकारीले कानून मन्त्रीले ती आरोपहरूलाई निराधार भन्नु स्वाभाविक भएपनि कुटनीतिक र कानूनी रूपमा त्यसको तथ्यगत खण्डन हुनुपर्नेमा जोड दिनुभयो । अधिकारीले अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सूचनाको स्रोत गोप्य राख्ने नो हार्म रुल पालना गर्ने भएकाले उनीहरूले प्राप्त गरेका सूचनाहरू सधैँ सार्वजनिक नगर्ने स्पष्ट पार्नुभयो ।  तथापि, यस्ता संस्थाहरूले अन्तर्राष्ट्रिय तहमा स्वतन्त्र पुष्टि नगरी धारणा सार्वजनिक नगर्ने उहाँको भनाइ छ ।

देशभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।  पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका छन् । बजारमा देखिएको यो असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमनलाई तिब्र पारेको छ । यसैक्रममा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा पोखरास्थित प्रमुख ग्यास विक्रेता ‘चेरिस्मा इम्पोरियम’ मा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी बरालले बाहिरका कम्पनीहरूले मागअनुसारको ग्यास नपठाउँदा केही समय आपूर्तिमा समस्या देखिएको स्वीकार गर्नुभयो । बरालले बजारमा ग्यासको अभाव नहुने भन्दै उपभोक्तालाई त्रसित नहुन र आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गर्नुभयो । उहाँले आगामी दुई–तीन दिनभित्रै बजारमा ग्यासको आपूर्ति पूर्णतः सहज हुने दाबी समेत गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘प्रशासनको पहल र समन्वयका कारण अहिले आपूर्ति व्यवस्थामा सुधार आउन थालेको छ । नेपाल ग्यास, बाबा ग्यास लगायतका कम्पनीहरूले पोखराका लागि ग्यास पठाइसकेका छन् । हाल पोखरामा दैनिक ८ देखि १० हजार सिलिण्डर ग्यास भित्रिरहेको छ ।

यता, ग्यास व्यवसायीहरूले भने उपभोक्ताको अत्यधिक भण्डारण (होर्डिङ) का कारण बजारमा अभाव चुलिएको बताएका छन् । चेरिस्मा इम्पोरियमकी सञ्चालक सीता बरालकाअनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको युद्धको हल्ला र अभाव हुने डरले गर्दा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका छन् । उहाँले व्यवसायीहरूमा भन्दा पनि उपभोक्ताकै तहमा धेरै ग्यास सञ्चित रहेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘हामीले ग्यास लुकाएका छैनौँ, आपूर्ति हुनासाथ वितरण गरिरहेका छौँ । केही उपभोक्ताले ४–५ वटासम्म सिलिण्डर स्टक राख्नुभएको छ, जसले गर्दा वास्तविक आवश्यक भएकाहरूले ग्यास पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्नेमाथि कडा निगरानी राखिने जनाएको छ । आपूर्ति व्यवस्थालाई नियमित बनाउन प्रशासनले व्यवसायी र ग्यास विक्रेता संघसँग निरन्तर समन्वय गरिरहेको छ ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार पूर्ववत सात सदस्यीय नै कायम राख्न उपयुक्त हुने प्रश्ताव गरेको छ ।  मंगलवार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थ सचिव डा. घनश्याम उपाध्यायले सञ्चालक समितिको संख्या र संरचनाका सम्बन्धमा सांसदहरूले राखेका संशोधन प्रश्तावमाथि मन्त्रालयको धारणा स्पष्ट पार्नुभएको हो । सचिव उपाध्यायले प्रश्तावित नौ सदस्यीय सञ्चालक समिति भन्दा हाल कायम सात सदस्यीय समिति नै छरितो र प्रभावकारी हुने उल्लेख गर्नुभयो । डेपुटी गभर्नरको संख्या थप गर्ने विषयमा मन्त्रालयले हालको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने अडान राखेको छ । सचिव उपाध्यायले बैंकको वर्तमान कार्यबोझ र जनशक्ति विश्लेषण गर्दा दुई जना डेपुटी गभर्नर पर्याप्त रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘माननीयज्यूहरूको सुझाव र मन्त्रालयको महसुस अनुसार सञ्चालक समितिलाई सात सदस्यीय नै राख्नु उपयुक्त देखिन्छ । यद्यपि, समितिलाई समावेशी बनाउन नियुक्त हुने तीन जना सदस्यहरूमध्ये एक जना महिला अनिवार्य गर्ने व्यवस्था गर्न सकिन्छ । अहिले हामी डिजिटल बैंकिङको दिशामा अघि बढिरहेका छौँ, यस सन्दर्भमा उपलब्ध जनशक्ति पर्याप्त छ । भविष्यमा कार्यबोझ थपिएको खण्डमा संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमार्फत दरबन्दी व्यवस्थापन गर्न सकिन्छ, तर ऐनमै संख्या किटान गरेर बढाइरहनु आवश्यक छैन ।’ बैठकमा सचिव उपाध्यायले अर्थ सचिव सञ्चालक समितिमा ‘पदेन सदस्य’ रहने वा नरहने भन्ने विषयमा पनि सदस्यहरूबीच छलफल भइरहेको जानकारी दिनुभयो । राष्ट्र बैंक ऐनमा गरिन लागेको संशोधनका क्रममा सञ्चालक समितिको संख्या, महिला प्रतिनिधित्व र उच्च व्यवस्थापनको दरबन्दीका विषयमा सांसदहरूले विभिन्न संशोधन प्रश्तावहरू दर्ता गराएका थिए ।

साउन १८,

पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर ९ स्थित बसपार्क क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली प्रकाशन गर्ने समय थप गरेको छ । विवरण अध्यावधिक गर्ने कार्य नसकिएकाले अन्तिम नामावली साउन २२ गते प्रकाशन गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले यसअघि साउन १८ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको थियो । बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन तथा कागजात छानबिन गरी साउन २ गते ५ सय ७४ परिवार समेटिएको प्रारम्भिक नामावली प्रकाशित गरिएको थियो ।

उक्त नामावलीमाथि परेका दाबी विरोधका १४६ निवेदनहरुमाथि अहिले अध्ययन भइरहेको छ । ‘प्राप्त १४६ निवेदनहरु उपर अध्ययन भइरहेको छ,’ महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ, ‘यस सम्बन्धमा भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र अन्य सरोकारवालाहरुसँग थप छलफल गरी अन्तिम नामावली साउन २२ गतेसम्म प्रकाशन गरिने छ ।’

यसअघि साउन २ मा सार्वजनिक सूचीमा २ सय ८६ परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा २ सय ३३ परिवार अव्यवस्थित बसोबासीका रुपमा वर्गीकृत थिए । ५५ परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको पाइएको थियो ।

बसपार्कमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न जेठ १२ मा तीनवटा समिति बनाइएको थियो । पूर्व न्यायाधीश शंकर बराल संयोजकत्वको समितिले बसपार्कको जग्गाको अवस्था पहिचान गरी प्रतिवेदन बुझाइसकेको छ । त्यस्तै वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही योगी संयोजकत्वको समितिले वैकल्पिक जग्गाको खोजी गरेको थियो । प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीको नेतृत्वमा रहेको सहजीकरण समितिले ५ सय ७२ जनाको दाबीमाथि छानबिन गरेको थियो ।

पोखरा बसपार्क निर्माणका लागि २०३२ सालमा १ सय ९६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अतिक्रमणका कारण अहिले १ सय ८७ रोपनी जग्गा मात्र बाँकी छ । त्यसमध्ये २६ रोपनी क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा छ । महानगरपालिकाले बसपार्कको उत्तरी र पश्चिमतर्फका ५ सय २० संरचना हटाइसकेको छ । मुख्य बस्तीका सुकुम्बासीले भने विकल्प नदिएसम्म ठाउँ खाली नगर्ने भन्दै अदालतबाट अन्तरिम आदेश ल्याएका थिए ।

१८ साउन,

नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । 

भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् ।

 

शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्ड संगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ ।

यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ । विशेषगरी विकास बैंकतर्फ शाइन रेसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ । शाइन रेसुङ्गा रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक हो ।

 

अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्र्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुलारूपमा आवेदन आह्वान गरेको थियो ।

यी दक्षिण एसियाली मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ का विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनलगायतका विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।

अवार्ड छनोट प्रक्रिया अझ विश्वसनीय र पारदर्शी बनाउन प्राइस वाटरहाउस कूपर्स (पीडब्लुसी) का विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डल (जुरी) गठन गरिएको थियो । विश्वव्यापी रूपमा ‘बिग फोर’ व्यावसायिक सेवा प्रदायक कम्पनीमध्ये एक मानिने पीडब्लुसीले १५० भन्दा बढी देश र करिब ७०० स्थानबाट सेवा प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय वित्तीय मूल्याङ्कन र लेखापरीक्षण क्षेत्रमा पीडब्लुसीको संलग्नताले पुरस्कारको विश्वसनीयता थप बलियो बनाएको आयोजकले जनाएको छ ।

सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्स भारतको अग्रणी तथा राष्ट्रिय स्तरको वाणिज्य मण्डल हो । दक्षिण एसियाली मुलुकहरूबीच व्यापार, लगानी, वित्तीय सहकार्य तथा आर्थिक साझेदारी प्रवद्र्धनमा सक्रिय आईसीसीले हरेक वर्ष बैंकिङ तथा वित्तीय क्षेत्रका उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

नेपालका बैंकहरूले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले देशको बैंकिङ प्रणालीप्रतिको विश्वास र विश्वसनीयता थप मजबुत बनाउने विश्वास गरिएको छ ।

पोखरा ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यो नयाँ मूल्य गएको राति १२ बजेदेखि लागू भइसकेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएको छ । हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

 

नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा उपभोक्ताले पेट्रोल र डिजेलका लागि प्रतिलिटर १९९ रुपैयाँ तिर्नुपर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा यसको मूल्य १९७ रुपैयाँ ५० पैसा पुगेको छ । यसअघि बजारमा पेट्रोल १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल १९५ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको थियो ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई २०२६ मा पठाएको नयाँ खरिद मूल्यका आधारमा निगमले यो निर्णय लिएको हो । सो सूचीअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा मूल्य बढेर आएको छ ।

मूल्य समायोजन गर्दा पनि निगमलाई १५ दिनमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको घाटा हुने देखिएको छ । ‘पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा १ अर्ब ४९ करोड बराबरको घाटा हुनेछ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा।

पोखरामा ट्राफिक नियम उल्लंघन गर्ने ६ वटा स्कुल बस कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान गरेको विशेष चेकजाँचका क्रममा ती बसहरूलाई कारबाही गरिएको हो। सवारी नियम उल्लंघन विरुद्धको कारबाहीलाई प्रभावकारी बनाउन यो अभियान सुरु गरिएको हो।

ट्राफिक व्यवस्थापन चुस्त राख्न र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक प्रहरीको मुख्य उद्देश्य छ। प्रहरीले स्कुलका सवारी साधनलाई लक्षित गरी चेकजाँच कडा पारेको छ। नियम विपरीत सञ्चालन भएका प्रगति एजुकेशन फाउण्डेशनका ४ वटा बस कारबाहीमा परेका छन्। त्यस्तै विन्ध्यवासिनी माध्यमिक विद्यालयको १ र पोखरा एकेडेमीको १ वटा बसलाई पनि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले मातहतका कार्यालय समेतबाट टोली खटाएर यो विशेष जाँच गरेको हो। ‘सडक सुरक्षा र विद्यार्थीको यात्रालाई सुरक्षित बनाउन हामीले स्कुल बसहरूमा कडा निगरानी राखेका छौं,’ ट्राफिक प्रहरीले जनाएको छ। आगामी दिनमा पनि नियम मिच्ने सवारी साधनमाथि निगरानी र कारबाही जारी रहने प्रहरीको भनाइ छ।

२०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिनअनुसार यस अवधिमा कूल ४ हजार ५३ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । वैशाख यता ५ हजार १ सय ८८ परिवार प्रभावित भएका छन् । वैशाख १ देखि साउन १७ गतेसम्म ४ हजार ५३ वटा विपद्का घटनामा १ सय ९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १ हजार २ सय १८ जना घाइते भएका छन् । सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ, जसबाट ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । ७ सय १६ सर्पदंशका घटनामा ७ सय १८ परिवार प्रभावित बनेको छ । 

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालु सिजनमा सर्पदंशबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । सर्पदंशका कुल ७ सय १६ वटा घटनामा ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । यसबाट ७ सय १८ परिवार प्रभावित बनेका छन् । चट्याङका २ सय ३१ वटा घटनामा २५ जनाको मृत्यु र १ सय ३२ जना घाइते भएका छन् । त्यस्तै २ सय ७७ परिवार प्रभावित भएको छ । लेक लाग्ने ५७ वटा घटनामा २२ जनाको मृत्यु र ३६ जना घाइते भएका छन् । ५६ परिवार प्रभावित भएको छ । त्यस्तै यस अवधिमा पहिरोका ६ सय ८५ वटा पहिरोका घटनामा २० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता र ३० जना घाइते भएका छन् । ५ सय ८६ परिवार प्रभावित भएका छन् । आगलागीका कुल १ हजार २४ वटा घटनामा परि २० जनाको मृत्यु र १ सय ३९ जना घाइते भएका छन् । १ हजार १ सय ३३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २ सय २५ वटा घटनामा १८ जनाको मृत्यु र १ हजार २ सय २० जना घाइते भएका छन् । ३ सय ४२ परिवार प्रभावित छन् । २ सय बाढीका घटनामा १४ जनाको मृत्यु, ३ जना बेपत्ता र १० जना घाइते भएका छन् । त्यस्तै बाढीबाट ४ सय ५० परिवार प्रभावित भएका छन् । ४ सय ८० हावाहुरीका घटनामा १३ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् । १ हजार ३ सय ५८ परिवार प्रभावित भएका छन् ।  यसबाहेक भारी वर्षाबाट ४ जना, ढुङ्गा पल्टिएर २ जना, वन डढेलोबाट १ जना, हिउँ पहिरोबाट १ जना, विस्फोटनबाट १ जना र अन्य घटनाबाट १ जनाको मृत्यु भएको छ । असिना र भूकम्पका कारण मानवीय क्षति नभए पनि क्रमशः १ र ३ परिवार प्रभावित भएका छन् । 
पछिल्लो २४ घण्टाको घटना विवरण 

प्राधिकरणकाअनुसार साउन १७ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका २५ स्थानमा (जिल्लागत घटना जोड्दा) कुल ३४ वटा विपद्का घटनाहरू भएका छन् । सर्पदंश ८ जिल्लामा १४ वटा सर्पदंशका घटना छन् । यसबाट १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सुरक्षाका लागि ५० जना प्रहरी परिचालन गरिएको थियो । १० जिल्लामा ११ वटा आगलागीका घटनामा ५ जना घाइते भएका छन् । उद्धार र नियन्त्रणका लागि १८४ जना प्रहरी टोली खटिएका थिए । ४ जिल्लामा ६ वटा पहिरोका घटनामा १ जना घाइते भएका छन् । सडक अवरुद्ध खुलाउन र उद्धारमा १३ जना प्रहरी खटिएका थिए । जनावर आक्रमणका ३ जिल्लामा ३ वटा घटना हुँदा १ जना घाइते भएका छन् । २४ जना प्रहरी परिचालन गरिएको थियो । २४ घण्टाको अवधिमा कूल २ सय ७१ जना नेपाल प्रहरी टोली उद्धार तथा सुरक्षाका लागि कार्यक्षेत्रमा खटिएका थिए । पछिल्लो २४ घण्टामा (साउन १६ बिहान १०ः०० देखि १७ बिहान १०ः०० बजेसम्म) ३४ वटा विपद्का घटना भएका छन्, जसमा १ जनाको मृत्यु र २० जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा अनुमानित २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ भने १८ वटा चौपाया मरेका छन् र २ स्थानमा सडक अवरुद्ध भएको छ ।

राप्रपाले सुनसरीसहित तराई मधेशमा घटेका घटनाको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन माग गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घटनाबारे समीक्षा गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । बैठकपछि प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशेषतः तराई-मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व वा धार्मिक महोत्सवका बेला पटक-पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद उत्पन्न हुने क्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
 

धार्मिक संवेदनशीलतामाथि प्रहार भइरहेको यस्ता घटनाको कारण, पृष्ठभूमि, योजनाबद्ध पक्ष, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वसमेतको गहिरो अध्ययन गरी समस्याको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।

पटकपटक दोहोरिरहेको यस्ता घटनालाई सधैँको लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाइ सरकारले तत्काल संवादको थालनी गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्दछ । तर, शृङ्खलाबद्ध हिंसात्मक घटनाप्रति राज्यको उदासीनताका कारण देश द्वन्द्व उन्मुख हुने सम्भावनाले हामीलाई अति चिन्तित तुल्याएको छ ।’

विश्वका अनेकन् घटना, दुर्घटनाबाट पाठ सिक्दै सबै पक्षलाई विश्वासमा लिएर दीर्घकालीन शान्तिको राष्ट्रिय अठोटको गन्तव्य तय गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा पुनः स्पष्ट गर्दछ कि वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापनाको आफ्नो एजेन्डा कुनै धर्म, सम्प्रदाय वा समुदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित होइन । बरु नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता, समान अधिकार र पारस्परिक सम्मानलाई संस्थागत रूपमा सुनिश्चित गर्ने राष्ट्रिय अवधारणाका रूपमा पार्टीले यसलाई निरन्तर उठाउँदै आएको छ।’

पछिल्लो दुई दशकको अभ्यासले हिन्दु राष्ट्र नेपालको आवश्यकता प्रमाणित गरिरहेको यथार्थलाई स्वीकार गर्न र तदअनुरुप बहस प्रारम्भ गर्न आह्वान गरेको छ । सम्पूर्ण नेपाली नागरिकहरूलाई संयम, विवेक, सहिष्णुता तथा राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।