प्रधानमन्त्री बालेन शाहका निकट पात्रसमेत रहेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल अहिले देशका विभिन्न आयोजना अवलोकनको दौडधुपमा छन् । आयोजनाहरुलाई तीव्रता दिन जोडबल गरिरहेका उनी कतिपय सन्दर्भमा भने आफैँ ट्रोल हुनु परेको छ ।
केही समयअघि काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएर ट्रोल बनेका लम्साल अहिले पनि उसैगरी ‘हिरोइज्म’ देखाउँदै हिँडिरहेका छन् ।
साउन २२ गते रुपन्देही १ मा पर्ने आफ्नो निर्वाचन क्षेत्रमा आएका लम्सालले अब १ महिना रुपन्देहीको रोहिणीमा बसेर आफ्नो मन्त्रालय चलाउने घोषणा गरे । धेरैलाई यो विषय आश्चर्यजनक र अपत्यारिलो लाग्यो । तर उनले यसको प्रष्टिकरणसहित रोहिणीको मुहार फेर्नका लागि १ महिना मन्त्रालयको सबै काम यहीबाट हेर्नेगरी कार्यालय खोजिरहेको बताए ।
शुक्रबार रुपन्देहीको रोहिणी गाउँपालिकामा लामो समयदेखि गाउँब्लक जग्गामा रहेर पूर्जा नपाएका २७१ जना स्थानीयलाई लालपूर्जा वितरण गर्दै उनले यस्तो घोषणा गरेका थिए । तर यो व्यवहारिकरुपमा कति सम्भव होला भन्ने प्रश्न उठेको छ । उनले स्थानीय जनताको गुनासो सुन्ने, पूर्वाधार विकासका काम अघि बढाउनेगरी असोज महिनाभर रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले अर्को वर्षदेखि रोहिणीमा डुबान नै नहुने भनेर अर्को ललिपप देखाएका छन् ।

उनले भने, ‘अब रोहिणीको दीर्घकालीन रुपमा धेरै समस्या समाधान हुँदैछन् । यहाँको डुबान पनि यही वर्ष मात्रै हो । अर्को वर्ष डुबान नै हुँदैन, ढुक्क भएर बसे हुन्छ । यहाँको एक-एक समस्याबारे बुझेको छु ।’
साउन २३ गते मन्त्री लम्साल लामो समयदेखि अलपत्र परेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको अनुगमनमा निस्के । आफैं गाडी चलाएर रुपन्देहीको सालझण्डीबाट पाल्पा हुँदै अर्घाखाँची पुगेर उनले अलपत्र बाटो आउने वर्षमा सबै कालोपत्रे बनेर सकिने र त्यसको लागि बजेटको कुनै अभाव नहुने दावी गरे । उनले यो बाटोमा कति काम बाँकी छ र त्यसको लागत कति लाग्छ भन्ने कुनै हेक्का नपाइ बोले वा स्रोत सुनिश्चितता गरेर बोलेका हुन्, उनैलाई थाहा होला । उनी बोलिरहँदा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुलाई नै त्यो समयमा सकिने विश्वास नै लागेन । काम धेरै बाँकी छ । मन्त्री लम्सालले यसै वर्ष सालझण्डीदेखि ढोरपाटनसम्मको पूरै सडक कालोपत्र गर्न ठेक्का लाग्ने र अर्को वर्ष जसरी पनि सकिने दोहोराए ।
रुपन्देहीको सालझण्डीबाट सडक अनुगमन गर्दै सदरमुकाम आएका मन्त्री लम्साल सन्धिखर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सम्बोधन गरेर ढोरपाटन पुगेका हुन् । यो सडक खण्डमा कालोपत्र गर्न बाँकी रहेको १ सय ४० किलोमिटर सडक खण्डको यसै वर्ष ठेक्का प्रक्रिया अघि बढाइने उनले बताएका थिए ।
‘सडकमा बजेट अभाव हुँदैन । पुरै सडकलाई कालोपत्रे गर्न यसैवर्ष ठेक्का हुन्छ । काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ,’ उनले भनेका थिए ।
सडक योजना प्रमुख गगालबहादुर भण्डारीले सडकको हालसम्म भएको भौतिक प्रगति, निर्माण व्यवसायीले काम नगरेर ठेक्का तोड्नुपर्दा काममा ढिलासुस्ती भएको, सडकको महत्त्व र पर्याप्त बजेट नहुँदा निर्माणको गति सुस्त भएको जस्ता समस्या मन्त्री लम्साललाई सुनाएका थिए ।
सरकारले २०६५ सालमा नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष तथा पर्यटकीय क्षेत्रलाई तराई र अन्य सहरसँग जोड्ने उद्देश्यले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको बहुवर्षे योजना अघि सारेको हो । राष्ट्रिय प्राथमिकताको सडक निर्माण सुरु अनुमानित लागत ८ अर्ब थियो । अहिले लागत बढेर ११ अर्ब रुपैयाँ पुगेको छ । पर्याप्त बजेट अभावमा काम द्रुत गतिमा अगाडि बढ्न सकेको छैन ।
अहिलेसम्म ४६।५ प्रतिशत काम सकिएको छ । यो आर्थिक वर्ष ३५ करोड बजेट रहेको छ । सडकका विभिन्न ठाउँमा कालोपत्र र निर्माणको काम जारी छ । सो सडक रुपन्देहीमा ५ किलोमिटर, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बागलुङमा ५० किलोमिटरको दूरी रहेको छ ।
सडकको १ सय ९७ किलेमिटर लम्बाईमध्ये १५ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्छ । यो सडक लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी र गण्डकी प्रदेशको बागलुङ जोड्ने रणनीतिक सडक हो ।
साउन २४ गते उनी ढोरपाटनबाट फर्केर गुल्मीको तम्घासमा फर्केर दिएको निर्देशन पनि चर्चामा छ ।
दुई वर्षमा पूरा गर्ने भनेर सुरु गरिएको गुल्मी अस्पतालको नयाँ भवन निर्माण पाँच वर्ष पुग्न लाग्दासमेत सम्पन्न हुन नसकेको सुनेपछि मन्त्री लम्सालले भने, ‘आजै ठेक्का तोडम् । काम गरेको भुक्तानी दिएर आजै टुङ्गो लगाउनुस् ।’
उनले यो भनेपछि त्यहाँस्थित पत्रकारले ‘यो ठेक्का बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसँग जोडिएको स्वच्छन्द–बानियाँ जेभीले जिम्मा लिएको हो, सक्नुहुन्छ त तोड्न ?’ भनेसँगै उनले जवाफ दिए, ‘मुख्यमन्त्री होस् कि जो सुकै होस्, ५ वर्षसम्म अलपत्र पार्नेलाई अब कुर्न सकिँदैन, आजै तोडेर नयाँ प्रक्रियामा लैजानुस् ।’
उनले आफूलाई ठेकेदार को हो भन्ने विषयसँग सरोकार नभएको र काम समयमै सम्पन्न हुनुपर्नेमा आफू स्पष्ट रहेको बताएका थिए । यो ठेक्कामा दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको भवनको काम ९२ प्रतिशतभन्दा बढी पुगे पनि करिब ६ करोड रुपैयाँ बराबरको काम अझै बाँकी छ ।
निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मन्त्री सुनिल लम्सालले स्थलगत अनुगमनपछि तत्काल ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका हुन् । २०७८ असार १८ गते सम्झौता भएको भवन २०८० असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो ।
पटक–पटक म्याद थप्दा पनि निर्माण पूरा हुन सकेको छैन । पाँच तले भवन निर्माणको लागत २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ रहेको छ । मन्त्री लम्सालले निर्माणमा भएको ढिलाइलाई छुट दिनै नसकिने भन्दै जङ्गिएका थिए । व्यवसायीसमेत रहेका गुल्मीका तारा भुसालले मन्त्रीको ठेक्का तोड्ने निर्देशनपछि अस्पताल पुनः अलपत्र पर्ने चिन्ता व्यक्त गरेका छन् ।
‘४ प्रतिशत मात्रै काम बाँकी रहेको अस्पतालको ठेक्का आजै तोड्न मन्त्रीको निर्देशनपछि कर्मचारी एक्सनमा जानुपर्ने होला, निर्माण व्यवसायी अदालत जालान् र काम रोकिने होला । कति काम बाँकी छ, ढिलाई गरेकालाई जरिवाना गराएर काम छिटो गराउनेतिर ध्यान दिए हुने,’ उनले भनेका छन् ।
सामाजिक सन्जालमा मन्त्री तथा सभासदहरुलाई अध्ययन गरेर, विज्ञहरुको सल्ला लिएर पूरा गर्न सकिने विषय मात्र बोल्नका लागि धेरैले सुझाएका छन् । स्वयं रास्वपाका नेताकार्यकर्ताहरुले पनि जनताले पत्याउने गरी विषयवस्तु उठाउन आग्रह गरिरहेका छन् ।