श्रावण २९,
श्रावण २९,
पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक उद्घाटन गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार आयोजित एक समारोहका बीच उक्त कोसेली घरको समुद्घाटन गर्नुभयो । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा थलो बन्ने बताउनु भयो । विशेषगरी पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस कोसेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनहरूलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ ।
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने भएसँगै उहाँलाई स्वागत गर्न पार्टीका शिर्ष नेताहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । सभापति देउवाको स्वागतका लागि नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् । गत वर्षको भदौ महिनामा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा आफू र धर्मपत्नी डा. आरजु राणा देउवामाथि आक्रमण भएपछि उहाँ उपचारका सिलसिलामा विदेश जानुभएको थियो । सोही उपचार प्रक्रिया पश्चात उहाँ आज स्वदेश फर्किनुभएको हो ।



श्रावण २८,
श्रावण २८,
नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व ‘गुँला’ आजदेखि विधिवत रूपमा शुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जिम्मेवार असहमतिलाई लोकतन्त्रको कमजोरी नभई शक्तिको रूपमा लिनुपर्ने बताउनुभएको छ । अनलाइनखबर’ द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको उल्लेख गर्नुभयो । उहाँले यहाँ फरक मतहरूले स्वतन्त्र रूपमा प्रष्फुटन हुने अवसर पाउनुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता एवं प्रश्न गर्नसक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्ने धारणा व्यक्त गर्नुभयो । लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एकअर्काका पूरक भएको चर्चा गर्दै राष्ट्रपतिले राज्यका सबै अङ्गले यसको मर्मलाई आत्मसात गर्नुपर्ने बताउनु भयो । आफूले यिनै लोकतान्त्रिक आदर्श र दर्शनका निम्ति जीवनको महत्वपूर्ण समय सङ्घर्षमा व्यतीत गरेको समेत उहाँले स्मरण गर्नुभयो । सूचना प्रविधिको तिब्र विकास र प्रतिष्पर्धासँगै समाजमा मिथ्या सूचना सम्प्रेषण गरी नागरिकलाई दिगभ्रमित पार्ने चुनौती बढेको प्रति उहाँले सचेत गराउनु भयो । यस्ता चुनौतीहरूको डटेर सामना गर्दै जनतामाझ सत्य र सही सूचना पु¥याउन अनलाइन खबर जस्ता जिम्मेवार सञ्चार माध्यमहरू सफल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर हो । यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्छ । असहमति लोकतन्त्रको कमजोरी होइन, जिम्मेवार असहमति यसको शक्ति हो । यही शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई लक्ष्यमा पु¥याउँछ भन्ने मेरो विश्वास छ । हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ । स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस तथा प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्छ । लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्नेकुरा पनि हामीले बिर्सनु हुँदैन । यसै दर्शनका लागि सङ्घर्ष गर्दै मैले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको स्मरण गर्न चाहन्छु । प्रविधिको तिब्र विकाससँगै मिथ्या सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्ने चुनौती पनि बढेको छ । यस चुनौतीको सामना गर्दै जनतासम्म सही र तथ्यपूर्ण सूचना पु¥याउन अनलाइनखबर जस्ता जिम्मेवार सञ्चारमाध्यमहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु । राष्ट्रपति पौडेलले सञ्चार क्षेत्रले व्यावसायिक निष्ठा कायम राख्दै नागरिकलाई सुसूचित गर्ने कार्यमा सफलता प्राप्त गर्ने विश्वासका साथ शुभकामना समेत व्यक्त गर्नुभयो ।
२७ साउन, काठमाडौं । थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौं आएका थिए । पक्राउबाट बच्न उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत रिसिभ गर्ने योजना बनाएको पाइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।
राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले नागरिकको स्वास्थ्योपचार र सामाजिक सुरक्षाको दायित्व पूरा गर्न सरकार असफल भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले काभ्रेको मण्डनदेउपुरका एक वृद्ध दम्पतीले गरेको आत्महत्याको घटनालाई लिएर सरकारको आलोचना गर्नुभयो । मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुलीले बोनम्यारो क्यान्सरबाट पीडित आफ्नी ६७ वर्षीया पत्नी तिलकुमारी पराजुलीलाई बुईमा बोकेर सुनकोशी नदीमा हाम फालेको घटनाले मुलुकलाई स्तब्ध बनाएको उहाँले बताउनु भयो । उहाँले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि व्यवहारमा सरकारले स्वास्थ्य सेवा र उपकरणमा कर लगाएर उपचारलाई महँगो बनाएको बताउनु भयो । जटिल र नसर्ने रोगको उपचार सर्वसाधारणको पहुँच बाहिर पुग्नु र जेष्ठ नागरिकहरूले सहाराविहीन महसुस गर्नु राज्यका लागि लज्जास्पद विषय भएको उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘यो सामान्य आत्महत्या मात्र होइन, आर्थिक अभावका कारण उपचार गर्न नसकेर लिइएको जल समाधि हो । विपन्न नागरिकले उपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्थाले राज्यको सामाजिक सुरक्षा र स्वास्थ्य नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ । पीडित परिवार राहत र सहमतिको कार्यान्वयनका लागि सिंहदरबारको गेटमा भौँतारिरहेका छन् तर सरकारले एक रुपैयाँ पनि सहयोग गरेको छैन ।’ सांसद देवकोटाले सरकारले पीडित पक्षसँग गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भयो । गत असार २५ गते आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले गरेको ९ बुँदे सहमति अझै कार्यान्वयन नभएको उहाँले उल्लेख गर्नुभयो । बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति पनि सांसद देवकोटाले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले वर्तमान सरकारले दलित समुदायको अधिकार प्रवर्धनका सवालमा ६० लाख दलित जनसङ्ख्यालाई झुक्याउने र ‘इमोसनल ब्ल्याकमेल’ गर्ने रणनीति लिएको आरोप लगाउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिँदै मुख्य सचेतक परियारले सरकारले दलित समुदायका व्यक्तिलाई मन्त्रिमण्डलमा सहभागी गराएर समावेशिताको प्रशंसा बटुले पनि व्यवहारमा भने दलित अधिकार सम्बन्धी कानून निर्माणलाई उपेक्षा गरेको बताउनु भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अगाडि बढाउन प्रस्ताव गरेका सातवटा कानूनमध्ये दलित समुदायको अधिकार सम्बन्धी विधेयकलाई सबैभन्दा अन्तिम अर्थात सातौँ प्राथमिकतामा राखिएको प्रति उहाँले कडा आपत्ति जनाउनु भयो । गत फागुन २१ गतेको राजनीतिक घटनाक्रम र त्यसपछिको निर्वाचनका क्रममा राजनीतिक दलहरूले दलित समुदायसँग क्षमायाचना गर्दै मत मागेको स्मरण गराउँदै उहाँले सरकारमा पुगेपछि ती प्रतिवद्धताहरू बिर्सिएको बताउनु भयो । परियारकाअनुसार न सरकारले संसद्मार्फत दलित समुदायसँग आधिकारिक रूपमा क्षमायाचना ग¥यो, न त दलित अधिकार सम्बन्धी ऐनलाई ‘फास्ट ट्रयाक’बाट अगाडि बढाउने तत्परता नै देखायो ।
सांसद परियारले भन्नुभयो,‘नेपाल सरकार गठन हुँदा दलित समुदायलाई पनि उचित स्पेस दिइयो, दलित समुदायबाट मन्त्री बनाइयो र बादी समुदायका व्यक्तिलाई समेत सरकारमा सहभागी गराइयो । त्यसबेला हामीले यसको प्रशंसा ग¥यौं । तर आज दलित समुदायकै मन्त्री मन्त्रिपरिषद्मा हुँदाहुँदै पनि दलित अधिकारसम्बन्धी विधेयकलाई सबैभन्दा पछिल्लो प्राथमिकतामा राखिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रश्ताव गरेका सातवटा कानुनमध्ये दलित अधिकारसम्बन्धी विधेयकलाई सातौँ नम्बरमा राखिएको छ । यही गतिमा अघि बढे यो कानुन बन्न अझै दुई वर्ष लाग्न सक्छ । गत फागुन २१ गतेको निर्वाचनमा दलित समुदायसँग क्षमायाचना गर्ने प्रतिबद्धताका आधारमा दलितहरूले मतदान गरे। तर अहिलेसम्म न संसद्बाट क्षमायाचना भयो, न सुधारका कार्यक्रम आए, न दलित अधिकारसम्बन्धी ऐनलाई फास्ट ट्रयाकमा अघि बढाइयो, न विशेष बजेटको व्यवस्था गरियो । त्यसैले म स्पष्ट रूपमा भन्न चाहन्छु, यो सरकार पनि देशका ६० लाखभन्दा बढी दलित समुदायलाई झुक्याउने र भावनात्मक रूपमा प्रयोग गर्ने बाटोमा अघि बढिरहेको छ । यसका लागि सम्पूर्ण दलित तथा उत्पीडित समुदायले निरन्तर खबरदारी गर्न आवश्यक छ । खबरदारी नगर्ने हो भने दलित अधिकारसम्बन्धी कानुन निर्माणमा अझै ढिलाइ हुने निश्चित छ ।’
वार्षिक बजेट तथा कार्यक्रमहरूमा पनि दलित समुदायका लागि कुनै विशेष प्याकेज वा सुधारका कार्यक्रम नल्याइएको उहाँको गुनासो छ । मुख्य सचेतक परियारले सदनमार्फत दलित तथा उत्पीडित समुदायलाई सरकारको कामकारबाहीप्रति निरन्तर खबरदारी गर्न आह्वान गर्नुभयो ।
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साह लक्षित गर्दै तिब्र गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी साधन र त्यसको चालकको कार्यशैलीलाई लिएर सांकेतिक टिप्पणी गर्नुभएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद आलेमगरले सवारीको गति र चालकको सन्तुलन नमिल्दा गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिनुभयो । सांसद आलेमगरले ट्राफिक नियमको बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने नारालाई उद्धृत गर्दै द्रुत गतिमा चल्ने सवारीका जोखिमबारे चर्चा गर्नुभयो । उहाँले चालक दक्ष र सचेत भए मात्र गन्तव्य सुरक्षित हुने बताउँदै यदि चालकले मादक पदार्थ वा लागुपदार्थ (गाँजा, भाङ, धतुरो) सेवन गरेर सवारी चलाएमा दुर्घटना निश्चित रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री साहले चितवनमा पार्टीको पहिलो महाधिवेशनका क्रममा वर्तमान सरकार ‘एक्सप्रेस’ वेमा रहेको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो,‘लोकल गाडीको तुलनामा एक्सप्रेस गाडीले छिटो गन्तव्यमा पु¥याउँछ, त्यो सकारात्मक पक्ष हो। तर एक्सप्रेस गतिको गाडी चलाउने चालक कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यस्तो अवस्थामा दुर्घटना अवश्यम्भावी छ र त्यसले पु¥याउने क्षतिको कुनै पूर्वानुमान गर्न सकिँदैन ।’
सांसद आलेमगरले एक्सप्रेस र लोकल गाडीको छनोट गर्दा चालकको अवस्था र नियमको पालनालाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।