२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान रक्षा, लोकतन्त्रको सुदृढीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि आफ्नो पार्टी अविचलित रूपमा अगाडि बढ्ने बताउनुभएको छ ।  झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देशमा व्याप्त गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । यो देश नेपालीहरूको भएकाले यसलाई सही बाटोमा डो¥याउनु सबैको दायित्व भएको बताउनु भयो । मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउनु भयो । गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई स्वाभाविक रूपमा लिँदै अध्यक्ष ओलीले हारबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । चुनावमा नराम्रोसँग हार व्यहोरेका तर हारपछि मैदान छोडेर भाग्ने एमालेको प्रवृत्ति नभएको बताउनु भयो । एकपटक पछारिँदैमा अखडा छोडेर भाग्नेले कुस्ती खेल्न नसक्ने र जुरुक्क उठेर पुनः चुनौतीको सामना गर्ने नै विजयी हुने उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै बौरिनु जरुरी छ । गलत क्रियाकलापको प्रतिवाद गर्न जरुरी छ । यो देश हाम्रो देश हो, नेपालीहरूको देश हो । तर देशलाई गलत बाटोमा लैजान कसैलाई पनि छुट छैन । देशलाई सही बाटोमा अघि बढाउनुपर्छ, शान्ति र लोकतन्त्र फर्काउनुपर्छ, संविधानको रक्षा गर्नुपर्छ । हाम्रो संस्कार, सभ्यता र संस्कृति जोगाउँदै देशलाई अगाडि बढाउने काम नेकपा एमालेले गर्नुपर्छ । हामी चुनाव हा¥यौं, नराम्रोसँग हा¥यौं, तर चुनाव हार्दैमा मैदान छोडेर भाग्ने पार्टी नेकपा एमाले होइन । कुस्तीमा एकपटक पछारिँदैमा अखडा छोडेर भागिँदैन, जुरुक्क उठेर फेरि सामना गर्नुपर्छ । नेकपा एमाले पनि त्यही गर्छ । यो भगौडा पार्टी होइन, परिस्थितिको सामना गर्ने, चुनौतीसँग जुध्ने र निरन्तर अगाडि बढ्ने पार्टी हो । एमाले कुनैपनि चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गर्दै उहाँले पार्टी भगौडा नभई परिस्थितिसँग जुधेर अगाडि बढ्ने शक्ति भएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले देशको सभ्यता, संस्कार र संस्कृतिलाई फर्काउँदै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने जिम्मेवारी नेकपा एमालेको काँधमा रहेको समेत स्पष्ट पार्नुभयो । 

राजधानी काठमाडौंमा भएको ३ दिने युवा सम्मेलनले सबै स्थानीय तहमा कम्तीमा दुई जना ‘क्लाइमेट च्याम्पियन’ राख्नुपर्ने माग गरेको छ ।  जलवायु परिवर्तनसम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्था गर्नुपर्ने भन्दै सम्मेलनले त्यसको शुरुवात स्थानीय तहबाटै गर्नुपर्ने माग गरेको हो । स्थानीय, प्रदेश र संघीय तहका सबै जलवायु निर्णय प्रक्रियामा बालबालिका तथा युवाको समानुपातिक प्रतिनिधित्व सहित निर्णय प्रक्रियामा सहभागीताको सुनिश्चित गरिनुपर्ने माग पनि युवाहरुले गरेका छन् । जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नाराका साथ शुरु भएको सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दे त्यसको कार्यान्वयनको पनि सुक्ष्म अनुगमन गरिने जनाएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दे नेप्लिज युथ फर क्लाइमेट एक्सशनकी राष्ट्रिय संयोजक आकृति डोटेलले घोषणा पत्र कार्यान्वयन भए नभएको बारेमा पनि निरन्तर खबरदारी गरिने बताउनु भयो ।  सम्मेलनका निष्कर्षलाई सरोकारवाला मन्त्रालयमार्फत राष्ट्रिय नीतिमा सम्बोधन गराउन पहल गर्नुको साथै बंगलादेशमा आयोजना हुने क्षेत्रीय युवा सम्मेलनमा पनि प्रश्तुत गरिनेछ । त्यसैगरी नेपालका बालबालिका तथा युवाको आवाज प्रतिनित्विय गरेको सम्मेलनको निष्कर्षलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनफसिसिसि) को आधिकारिक बालबालिका तथा युवा समूह (योङगो) मार्फत जलवायु परिर्वतन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रश्तुत गरिने योङगोका पोलिसि टिम सदस्य अटल ढकालले जानकारी दिनुभयो । 

सम्मेलनले प्रत्येक स्थानीय तहमा पारदर्शी र समावेशी प्रक्रियाबाट क्लाइमेट च्याम्पियन छनोट गर्नुपर्ने तथा उपलब्ध स्थानीय स्रोतको उपयोग गर्दै स्थानीयस्तरमा जलवायु कार्यको नेतृत्व गर्नुपर्ने उल्लेख गरेको छ । यो संरचनाले जलवायुकार्यमा बालबालिका तथा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरि स्थानीय तहबाट नै जलवायु कार्यलाई प्रभावकारी बनाउन प्रभावकारी भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । युवा सम्मेलनले हरेक राष्ट्रिय जलवायु योजनालाई सरल भाषामा र जिल्लाको आवश्यकता तथा सन्दर्भअनुकूल तयार गर्नुपर्ने माग पनि गरेको छ । वातावरणसम्बन्धी नीति, मौसमसम्बन्धी चेतावनी तथा अनुदानसम्बन्धी निर्देशिकालाई स्थानीय भाषामा उपलब्ध गराउँदै भाषिक न्यायलाई संस्थागत गर्नुपर्नेमा युवाहरूले जोड दिएका छन् । त्यस्तै, बालबालिका र युवाले दिएका सुझाव तथा सिफारिसमा सरकार र सम्बन्धित निकायले औपचारिक रूपमा लिखित जवाफ दिने व्यवस्था बनाउनुपर्ने पनि माग गरिएको छ ।

जलवायु वित्तमा स्थानीय समुदायको पहुँच
घोषणापत्रले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका आदिवासी र कृषक समुदायका लागि कानूनी रूपमा बाध्यकारी ‘क्लाइमेट रेजिलियन्स प्रोग्राम’ स्थापना गर्नुपर्ने माग गरेको छ । विशेषगरी ग्रामीण नेपालका जोखिममा रहेका समुदायलाई लक्षित गरी स्थानीय तहमा जलवायु अनुकूलनका लागि बजेट व्यवस्था गर्नुपर्ने र त्यस्तो बजेट व्यवस्थापनमा बालबालिका, युवा, महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख छ । जलवायु उत्थानशील भविष्यतर्फ अघि बढ्दा कुनैपनि श्रमिक, समुदाय वा सीमान्तकृत समूह पछि नपर्ने गरी राष्ट्रिय न्यायोचित संक्रमण ढाँचा तत्काल विकास गर्नुपर्ने माग पनि घोषणापत्रमा समावेश गरिएको छ ।  जलवायु वित्त प्रभावित समुदायसम्म समान रूपमा पुग्नुपर्ने भन्दै युवाहरूले जग्गाको स्वामित्व प्रमाणपत्र वा औपचारिक परिचयपत्र नभएका व्यक्तिहरूले समेत जलवायु वित्तमा पहुँच पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । दुर्गम, ग्रामिण तथा आदिवासी समुदायमा समयमै र सहज रूपमा जलवायु सूचना पु¥याउन स्थानीय भाषामा मौसम पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणाली विस्तार गर्नुपर्नेमा पनि घोषणापत्रले जोड दिएको छ । यस्तो सूचना नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने माग युवाहरुको छ ।  जलवायु परिवर्तनका कारण हुने हानि–नोक्शानी सम्बोधन गर्ने अन्तर्राष्ट्रिय कोषलाई थप प्रभावकारी बनाउँदै अति कम विकसित देश तथा उच्च जोखिममा रहेका हिमाली समुदायका लागि सहज पहुँच सुनिश्चित गर्न आगामी कोप–३१ मा पहल गर्नुपर्ने मागसमेत गरिएको छ । जोखिममा रहेका समूहका लागि आवश्यकतामा आधारित बीमाको व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।

हिमाली समुदाय र जलस्रोत संरक्षणमा जोड
घोषणापत्रले राष्ट्रिय जलवायु नीति तथा अन्तर्राष्ट्रिय वार्तामा हिमाली समुदायका मुद्दालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । सीमापार नदी तथा हिमनदी सम्बन्धी सहकार्य सुदृढ गर्दै हिमाली समुदायको आवाजलाई उनीहरूको भविष्य निर्धारण गर्ने छलफलको केन्द्रमा राख्नुपर्ने माग गरिएको छ । हिमाली क्षेत्रमा पानीका मुहान संरक्षण तथा पुनस्र्थापना गर्न समुदायको नेतृत्वमा जलाधार व्यवस्थापन अघि बढाउनुपर्ने युवाहरूको माग छ । विशेषगरी मूल तथा हिमनदीबाट आउने खोलाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । जलवायु अनुकूलनका लागि आदिवासी तथा स्थानीय समुदायको परम्परागत ज्ञानलाई स्रोतका रूपमा मान्यता दिँदै त्यसको संरक्षण गरि  क्षयीकरण वा दुरुपयोगबाट रोक्न पनि माग गरिएको छ । उच्च हिमाली क्षेत्रमा रहेका हिमनदी प्रणालीमा अनुकूलनका प्रयासलाई विशेष प्राथमिकता दिनुपर्ने, हिमताल विस्फोटजन्य बाढी र तिब्र गतिमा भइरहेको हिमनदी पग्लिने प्रक्रियालाई सम्बोधन गर्न विशेष पहल गर्नुपर्ने माग गरिएको छ ।

जलवायु–मैत्री कृषि र खाद्य सुरक्षामा लगानी
युवा सम्मेलनले साना किसानलाई प्राथमिकतामा राख्दै जलवायु–मैत्री कृषिमा ठूलो स्तरमा लगानी गर्न तथा स्थानीय बीउ बैंक स्थापना गरी स्थानीय तथा आदिवासी आनुवंशिक विविधताको संरक्षण गर्नुपर्ने माग गरेको छ । सिंचाई पूर्वाधार विस्तार गर्दा सौर्य ऊर्जा, लिफ्ट सिंचाई र थोपा सिंचाईलाई प्राथमिकता दिनुपर्ने तथा स्थानीय तहमा कानूनी सहयोगसहित सरल कृषि बीमाको व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । साना किसानलाई लक्षित सहयोगमार्फत जैविक कृषितर्फको रूपान्तरणलाई तत्काल अनुदान दिनुपर्ने र परम्परागत तथा आदिवासी ज्ञानलाई राष्ट्रिय कृषि नीतिमा औपचारिक रूपमा समेट्नुपर्ने माग पनि गरिएको छ ।

युवाको आफ्नै प्रतिवद्धता
घोषणापत्रमा युवाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु प्रक्रियामा सक्रिय रूपमा सहभागी हुने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय निर्धारित योगदान तेश्रो एनडिसी र स्थानीय अनुकूलन योजना कार्यान्वयनमा युवा, बालबालिका, सीमान्तकृत समूह र जलवायु जोखिमको अग्रपंक्तिमा रहेका समुदायको आवाज सुनिश्चित गर्न सक्रिय हुने उनीहरूको प्रतिवद्धता छ । सहभागीहरुले विज्ञान, प्रविधि तथा परम्परागत ज्ञानलाई एकीकृत गर्दै न्युनिकरण, अनुकूलन, जैविक विविधता संरक्षण तथा जलवायु उत्थानशील जीविकोपार्जनका क्षेत्रमा युवा नेतृत्वका पहल अघि बढाउने बताएका छन् । त्यस्तै, जलवायु साक्षरता, हरित सीप तथा पैरवी क्षमता अभिवृद्धि गर्ने, युवाबीच सहकार्यका सञ्जाल निर्माण गर्ने र पुस्तान्तरणीय न्यायलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । राष्ट्रिय जलवायु नीति तथा युवा नेतृत्वका पहलको कार्यान्वयनको अनुगमन गर्ने, उपलब्धि मूल्याङ्कन गरी सार्वजनिक रूपमा प्रतिवेदन गर्ने तथा जलवायु प्रतिवद्धतामा सरकार, संस्था र निजी क्षेत्रलाई जवाफदेही बनाउने प्रतिबद्धता युवाहरूले व्यक्त गरेका छन् ।  घोषणा पत्रमा सरकार तथा सम्बन्धित सरोकारवालालाई निकालेका निष्कर्षलाई नीतिगत मार्गदर्शनका रूपमा ग्रहण गर्न, प्रत्येक सिफारिसमा लिखित जवाफ दिन, युवा तथा समुदाय नेतृत्वको अनुकूलनका लागि समर्पित जलवायु वित्त उपलब्ध गराउन र राष्ट्रिय जलवायु परिवर्तन नीति पुनरावलोकन, तेश्रो एनडिसी तथा सम्बन्धित योजना प्रक्रियामा सम्मेलनका सिफारिसहरू कार्यान्वयन गर्न आह्वान गरिएको छ । आयोजककाअनुसार, ९ वटा भर्चुअल परामर्श पछिको सम्मेलनमा वृहत्तर छलफल पछि घोषण पत्र तयार गरिएको हो । जुलाई २१ देखि ३१ सम्म गरिएको अनलाइन सर्वेक्षणमा सातै प्रदेशबाट १ सय १६ जना युवाले सहभागिता जनाएका थिए । भर्चुअल परामर्शमा १ हजार ५ सय बढी युवाको सहभागिता रहेको थियो । त्यसैगरी मुख्य सम्मेलनमा सातै प्रदेशबाट १ सय ८० युवा प्रतिनिधि सहभागी थिए ।

दक्षिण–पश्चिम चीनको एक मकैबारीमा सातवटा जंगली एशियाली हात्तीहरू गहिरो निन्द्रामा सुतेको दुर्लभ दृश्य देखिएको छ । स्थानीय वन्यजन्तु अनुगमनकर्ताहरूकाअनुसार सामान्यतया हात्तीको बथान सुत्दा सुरक्षाका लागि केही सदस्यहरूलाई पहरेदारको रूपमा खटाउने गरिन्छ । तर यस पटक भने बथानका सबै सातै वटा हात्तीहरू सँगै निदाएका थिए । विज्ञहरूकाअनुसार हात्तीहरू यसरी सामूहिक रूपमा गहिरो निद्रामा पर्नुले उनीहरूले उक्त वातावरणमा आफूलाई पूर्ण रूपमा सुरक्षित महशुस गरेको सङ्केत गर्दछ । कुनैपनि हात्ती पहरेदारको रूपमा नबस्नुलाई वन्यजन्तुको व्यवहारमा एक दुर्लभ घटनाको रूपमा लिइएको छ ।

दक्षिण–पश्चिम चीनको एक मकैबारीमा सातवटा जंगली एशियाली हात्तीहरू गहिरो निन्द्रामा सुतेको दुर्लभ दृश्य देखिएको छ । स्थानीय वन्यजन्तु अनुगमनकर्ताहरूकाअनुसार सामान्यतया हात्तीको बथान सुत्दा सुरक्षाका लागि केही सदस्यहरूलाई पहरेदारको रूपमा खटाउने गरिन्छ । तर यस पटक भने बथानका सबै सातै वटा हात्तीहरू सँगै निदाएका थिए । विज्ञहरूकाअनुसार हात्तीहरू यसरी सामूहिक रूपमा गहिरो निद्रामा पर्नुले उनीहरूले उक्त वातावरणमा आफूलाई पूर्ण रूपमा सुरक्षित महशुस गरेको सङ्केत गर्दछ । कुनैपनि हात्ती पहरेदारको रूपमा नबस्नुलाई वन्यजन्तुको व्यवहारमा एक दुर्लभ घटनाको रूपमा लिइएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मा अवैध रूपमा व्यावसायिक उद्देश्यले उत्पादन गरिँदै आएको ठूलो परिमाणको घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।  स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य वस्तुहरू मिसावट गरी स्थानीय मदिरा उत्पादन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानकाअनुसार पोखरा–५ मा कोठा भाडामा लिएर बस्ने वसन्त दुलामी र सपना लामिछानेले उक्त अवैध कार्य गरिरहेको फेला परेको थियो । वडा प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले खानतलासी गर्दा मदिरा बनाउन प्रयोग गरिने १५ ड्रम कच्चा पदार्थ फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई नष्ट गरिएको छ । डीएसपी पासवानले परम्परागत रूपमा घरमा खानका लागि वा धार्मिक कार्यमा प्रसादका रूपमा घरेलु मदिराको प्रयोग सांस्कृतिक रूपमा स्वीकार्य भएपनि, यसरी अखाद्य वस्तु मिसाएर व्यावसायिक रूपमा उत्पादन तथा विक्री–वितरण गर्नु कानूनतः पूर्ण रूपमा वर्जित रहेको स्पष्ट पार्नुभयो  ।  यस विषयमा थप जानकारी दिँदै पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराईले यस्तो विषाक्त मदिरा बजारका विभिन्न रेस्टुरेन्टहरूमा आपूर्ति हुने गरेको र यसको सेवनले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर तथा दीर्घकालीन असर पर्ने बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी प्रहरीसँगको समन्वयमा उक्त सामग्री तत्काल नष्ट गरिएको जानकारी दिनुभयो । प्रहरीले सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्ने यस्ता अवैध गतिविधिहरू विरुद्ध आफ्नो निगरानी र कारबाहीको प्रक्रियालाई थप तिब्र बनाउने जनाएको छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूको पर्व नागपञ्चमी आज देशभर परम्पराअनुसार नागको पूजा–अर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौंको नक्शालस्थित नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ । नागपोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको उल्लेख्य भीड लागेको छ । धार्मिक विश्वासअनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषिप्रधान मुलुकमा यस पर्वको विशेष महत्व रहिआएको छ । आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ, अग्निभय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गर्नुभएको छ । 
मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गर्नुभएको हो । उहाँले आफूभन्दा भिन्न विचार राख्नेहरुलाई पनि सम्मान गर्न युवालाई आग्रह गर्नुभयो । लोकतन्त्रको शक्ति आफूले राखेको विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण निर्माण गर्ने संस्कारमा रहेको उहाँको भनाई छ । उहाँले सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतका पुस्ताभन्दा बढी सूचनासम्पन्न भएको बताउनु भयो । तर धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको उहाँको भनाई छ । सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्ने क्षमता युवाका लागि आवश्यक रहेको उहाँको भनाई छ । उहाँले राजनीतिमा युवाको सहभागिता पनि अपरिहार्य रहेको बताउनु भयो । निर्वाचनका समयमा मत माग्ने वा दिने कार्यमा मात्र युवालाई सिमित गर्न नहुने उहाँको भनाई छ । समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा भुमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो ‘कुनैपनि राजनीतिक विचार समय समयसँगै विकसित हुँदै जानुपर्छ । त्यसैले तपाईँहरु आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुस्, आफ्ना विचार व्यक्त गर्नुस्, अरुका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुहोस् । लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा होइन, फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुन्छ । आजको पुस्ता सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण विगतका पुस्ताभन्दा धेरै सूचना सम्पन्न छ । तर सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन । त्यसैले सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि अत्यन्तै महत्वपूर्ण छ । राजनीतिमा युवाहरुको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन । समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो । मदन भण्डारीको राजनीतिक यात्राबाट हामीले एउटा महत्वपूर्ण कुरा सिक्न सक्छौँ, राजनीति जनताबाट अलग भएर गर्न सकिँदैन । उहाँले जनताको भावना, आकांक्षा र वास्तविकतालाई राजनीतिक विचारसँग जोड्ने प्रयास गर्नुभयो । आज तपाईँहरुको पुस्ताले पनि आफ्नो समयमा आफ्नो समयका जनताको भावना, आकांक्षा र आवश्यकतालाई बुझ्दै देश र समाजलाई अघि बढाउने आफ्नो बाटो पहिल्याउनु आवश्यक छ ।’
उहाँले मदन भण्डारीका विचारलाई नयाँ पुस्ताले समय र बदलिँदो सामाजिक परिवेशसँग जोडेर अध्ययन तथा आत्मसात गर्नुपर्ने पनि बताउनु भयो । लोकतन्त्रलाई थप प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही तथा सक्षम बनाउने, राजनीतिमा युवाको सहभागिता र विश्वास बढाउने तथा शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने विषयमा युवाले गम्भीर बहस गर्नुपर्ने उहाँको भनाई छ । देशमा परिवर्तनका अपेक्षा उच्च रहेको र युवामा नयाँ सोच तथा केही नयाँ गर्ने ऊर्जा रहेको उल्लेख गर्दै उहाँले उक्त ऊर्जा र उत्साहलाई देश तथा समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्र्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवालाई लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो । नयाँ पुस्ताले नै देशको सुदृढ र उज्ज्वल भविष्य निर्माण गर्ने उहाँको भनाई छ ।

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताउनुभएको छ । 
उहाँले आफू अन्य कुनै पनि धर्म वा समुदायको विरोधी नभएको समेत स्पष्ट पार्नुभयो । आईतवार काठमाडौंमा सम्पन्न काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफू हिन्दु भएपनि कुनै धर्म विरोधी नभएको बताउनु भयो । सबैले आफ्नो धर्मको पहिचान खुलाउन पाउने बताउनु भयो । आफू हिन्दु धर्ममा पूर्ण विश्वास राख्ने बताउँदै देउवाले आफ्नो धार्मिक आस्थाका बारेमा पहिले पनि पटक–पटक स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो । उहाँले सबै धर्मको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै आफ्नो व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो धार्मिक आस्थाका बारेमा थप प्रस्ट पार्दै देउवाले आफूले गुहेश्वरीमा हिन्दु ऋतिरिवाजअनुसार नै विवाह गरेको स्मरण गर्नुभयो । आफू पशुपतिनाथको भक्त भएको र त्यहाँ पूजा गर्ने इच्छा सधैँ रहने बताउनु भयो । देशको धार्मिक स्वरूप कस्तो हुने भन्ने निर्णय नेपाली जनताको हातमा रहेको उल्लेख गर्दै उहाँले धार्मिक स्वतन्त्रता अपरिहार्य रहेको बताउनु भयो । सो क्रममा उहाँले बुद्ध धर्मलाई वैज्ञानिक धर्मको रूपमा व्याख्या गर्दै यसप्रति आफ्नो उच्च श्रद्धा रहेको बताउनु भयो ।
देउवाले भन्नुभयो, ‘मैले गुह्येश्वरीमा हिन्दु विधिअनुसार विवाह गरेको हुँ । त्यसैले म व्यक्तिगत रूपमा पूर्ण रूपमा हिन्दु हुँ । कसैले मलाई हिन्दु होइन भन्न सक्दैन । नेपालमा कुन धर्म हुने वा नहुने भन्ने निर्णय नेपाली जनताको अधिकार हो। म धार्मिक स्वतन्त्रताको पक्षमा छु । तर नेपालीले हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्न मिल्दैन । म हिन्दु हुँ र पशुपतिनाथमा पूजा गर्न चाहन्छु । बुद्धप्रति मेरो गहिरो श्रद्धा र सम्मान छ । बौद्ध धर्मलाई आज विश्वले सम्मानका साथ स्वीकार गरेको छ । त्यसैगरी राई, लिम्बु लगायतका समुदायको प्रकृतिप्रतिको आस्था र परम्परालाई पनि हामीले सम्मान गर्नुपर्छ । म सबै धर्म र संस्कृतिको सम्मान गर्छु । मैले तपाईंहरूबाट न्याय, माया र सद्भाव पाएको छु । त्यसलाई म कहिल्यै बिर्सने छैन । आगामी दिनमा पनि तपाईंहरूको माया र सद्भावलाई आत्मसात गर्दै अघि बढ्नेछु । मैले अघि नै भनिसकेको छु । म हिन्दु हुँ । तर म कुनैपनि धर्मको विरोधी होइन । न म क्रिश्चियनको विरोधी हुँ, न मुस्लिमको, न किराँत, राई, लिम्बु वा अन्य कुनै धर्म–समुदायको । नेपालमा सबै धर्मावलम्बीहरूलाई आफ्नो धर्म मान्ने अधिकार छ । मेरो भन्न खोजाइ यति मात्र हो कि म आफूलाई हिन्दु भन्न पाउनुपर्छ र आफ्नो धर्ममा विश्वास गर्न पाउनुपर्छ । क्रिश्चियनले आफूलाई क्रिश्चियन भन्न पाउँछ, मुस्लिमले आफूलाई मुस्लिम भन्न पाउँछ भने मैले पनि आफूलाई हिन्दु भन्न पाउनुपर्छ । यस विषयमा कुनै भ्रम नहोस् । टाढा–टाढाबाट दुःख र कष्ट सहेर यहाँ आउनुभएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूलाई परेको असुविधाका लागि क्षमाप्रार्थी छु । अब सर्वोच्च अदालतको निर्णयलाई हामी सम्मान गर्नेछौँ । निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटघाट हुने विश्वास दिलाउँदै सबैलाई धन्यवादसहित बिदा हुन्छु ।’
उहाँले सर्वोच्च अदालतमा पार्टीमाथिको विचाराधीन मुद्दाको प्रसङ्ग उल्लेख गर्दै अदालतको निर्णयलाई सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ । 
हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका कारण सडकमा खाल्डाखुल्डी पर्ने, सडकको सतह दबिने र पुलमा क्षति पुग्ने गरेको देखिएको छ । सरकारले क्षमताभन्दा बढी लोड बोक्ने मालवाहक सवारीलाई पाँच लाख रुपैयाँ जरिवाना गर्नेगरी कानून बनाउन लागेको हो । प्रश्तावित सार्वजनिक सडक विधेयकमा तोकिएको सीमाभन्दा बढी भार बोकेमा सवारीधनीलाई प्रतिपटक पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रश्ताव गरिएको छ । विधेयकको दफा १३ मा मालवाहक सवारीसाधनको भारवहन तथा जरिवानासम्बन्धी व्यवस्था गरिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले मालवाहक सवारीसाधानले अत्याधिक लोड बोकेर सडक तथा पुललाई क्षति पु¥याएका आरोप लगाउनु भयो । राज्यको अर्बौँ रुपैयाँ लगानीमा निर्माण भएका सडकलाई टिकाउ बनाउन कानूनले तोकेको भारवहन सीमा पालना गराउनु आवश्यक रहेको उहाँको भनाई छ । उहाँकाअनुसार हाल चार लेनका सडक निर्माणमा प्रतिकिलोमिटर २५ देखि ३० करोड रुपैयाँसम्म लागत लाग्ने गरेको छ । सडकमा क्षति पुग्ने गरी क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई नियन्त्रण गर्नु सरकारको बाध्यता भएको उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सडक निर्माण एकदम महँगो छ किनभने किलोमिटरकै २५ करोडदेखि ३० करोडसम्म प्रति किलोमिटर सडक निर्माणको लागत लागेको छ, अहिलेका आधुनिक ४ लेनका सडकहरूको निर्माणको लागि । राज्यको अर्बौं सम्पती लगाएर निर्माण गरिएका सडकहरू सही तरिकाले उपयोग गर्नुपर्छ, यसलाई दिगो पनि बनाउनुपर्छ र दीर्घकालसम्म चलाउनुपर्छ । केही यातायात व्यवसायी अथवा ट्रक व्यवसायीहरूले जथाभाबी कानुनको उल्लङ्घन गरेर कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सडक क्षति गरेको अवस्था देखिन्छ, त्यस भएको हुनाले त्यसलाई नियन्त्रण गर्न र सडकलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ, त्यसलाई हुबहु लागू गर्न मात्रै खोजेको हो, अरू केही गर्न खोजेको होईन ।’

चार जनाको ज्यान जाने गरी आएको बाढी पहिरोका कारण उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।  रिसाङ क्षेत्रका करिब ७० घरपरिवारका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राख्ने व्यवस्था गरिएको छ। जोखिममा रहेका नागरिकहरूको सुरक्षा तथा उद्धारका लागि प्र.स.नि. प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ। उद्धार तथा सुरक्षित स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन्। यी क्षेत्रबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक बासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ। विपद्को समयमा नेपाल प्रहरी नागरिकको सुरक्षा, उद्धार तथा सहयोगका लागि निरन्तर परिचालित रहेको छ।

   

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।