नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक केही बेरमा बस्दैछ । ४ दिनअघिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्यविभाजन प्रस्ताव गरेका थिए । मङ्सिरमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी छ ।

तर, ओलीको प्रस्तावलाई लिएर नेताहरू असन्तुष्ट सुनिएका छन् । केही नेताले त सामाजिक सञ्जालमा समेत असन्तोष व्यक्त गरेका छन् । अध्यक्षको प्रस्तावमा आजको बैठकमा कसरी अघि बढ्ने रणनीति बनाइरहेको एक पदाधिकारीले बताए ।
‘अध्यक्षले एकपक्षीय रूपमा ल्याउनुभएको छ, कसैलाई दोहोरोतेहेरो जिम्मेवारी छ, कसैलाई वास्ता गरिएको छैन, उहाँको आलोचना गर्नेलाई बाइपास गरेको देखिन्छ, कसरी जाने भन्नेबारे सल्लाह हुँदैछ’ उनले भने ।
पार्टी पुनर्गठनको कुरा उठिरहँदा नयाँ ढंगले अघि बढ्नुपर्ने दबाबसहित कार्यविभाजनलाई अहिले थाती राख्नुपर्ने उनीहरुको तर्क छ ।
सचिवालय बैठकबाट अनुमोदनका लागि प्रस्तावित प्रदेश इञ्चार्जदेखि जिल्ला इञ्चार्जसम्म अध्यक्ष ओली इतरबाट कोही नपरेको असन्तुष्ट पक्षको गुनासो छ । एक प्रदेशमा सबभन्दा कनिष्ठ केन्द्रीय सदस्य र अर्को प्रदेशमा एकै व्यक्तिलाई तीन पदसम्म दिइएकाले पनि यो व्यवहारिक नभएकाले प्रतिवाद गर्नुको विकल्प नरहेको नेताहरूले बताएका छन् ।
प्राप्त विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा दामोदर भण्डारी इञ्चार्जमा प्रस्तावित छन् । त्यहाँ उनीभन्दा अरू थुप्रै वरिष्ठ केन्द्रीय सदस्य छन् । भण्डारी १० औँ महाधिवेशनपछि केन्द्रीय सदस्य मनोनीत भएका हुन् । त्यहाँ पार्टी उपमहासचिव लेखराज भट्ट, आठौँका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना, पोलिटब्युरो सदस्य भइसकेका कर्णबहादुर थापा, लालबहादुर थापाहरु प्रदेश इञ्चार्जका रूपमा छनौटमा भएनन् । भण्डारीसँगैका अन्य केन्द्रीय सदस्यले जिल्ला इञ्चार्ज पनि पाउन सकेका छैनन् ।
कर्णाली प्रदेशको इञ्चार्जमा यामलाल कँडेल प्रस्तावित छन् । उनी मुख्यमन्त्री र पार्टीको केन्द्रीय सचिवसमेतको जिम्मेवारीमा छन् । उनीभन्दा अगाडिका प्रदेश इञ्चार्ज गोरख बोगटी थिए । एक नेताका अनुसार मान्छे नै नपाएर एकै व्यक्तिलाई तीन जिम्मेवारी बोकाइएको होइन । उक्त प्रदेशबाट नवौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका राजबहादुर बुढा, सोही कार्यकालमा मनोनीत निरज आचार्य, विष्णु रिजालसहितका नेता छन् ।
कोशी प्रदेशको इञ्चार्जमा पुनः शेरधन राई प्रस्तावित छन् । उनी ११ औँ महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटीको सचिव निर्वाचित भएका थिए । प्रस्तावित कार्यविभाजनमा उनले दुई जिम्मेवारी पाएका छन् । कोशी प्रदेशका बहुसंख्यक केन्द्रीय सदस्यले मुख्यमन्त्रीसमेत रहेका सचिव हिक्मत कार्कीलाई इञ्चार्ज बनाउन अध्यक्ष ओलीसमक्ष सिफारिस गरेका थिए । त्यस्तो सिफारिस सुनेर ओलीले ‘एउटालाई तीनवटा पद कसरी हुन्छ ?’ भनेका थिए ।

तर, कर्णालीबाट मुख्यमन्त्री एवं पार्टी सचिव नै इञ्चार्ज प्रस्तावित छन् । अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेशको इञ्चार्ज रहेकी पद्मा अर्याललाई यस पटक त्यस्तो जिम्मेवारी दिइएन । उनी प्रतिनिधिसभा सदस्य एवं पार्टीकी केन्द्रीय सचिव पनि हुन् । लुम्बिनीमा छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ । मधेश इञ्चार्जमा लीलानाथ श्रेष्ठ प्रस्तावित छन् । बागमतीमा महेश बस्नेत र उपत्यकामा डा. राजन भट्टराई इञ्चार्जमा प्रस्तावित छन् ।
गण्डकी प्रदेशको इञ्चार्ज प्रस्तावित खगराज अधिकारीबारे खासै प्रश्न उठेको छैन । उक्त प्रदेशका जिल्लामध्ये बाग्लुङमा मना केशी, पर्वतमा पदम गिरी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, लमजुङमा जमिन्द्रमान घले, तनहुँमा भगवती न्यौपाने र स्याङ्जामा सीमा क्षेत्री जिल्ला इञ्चार्ज प्रस्तावित छन् । कास्की इञ्चार्जका दावेदार रश्मि आचार्यले अन्य जिम्मेवारी पाएका छन् ।
यता प्रेस चौतारीमा नेतृत्वको विवाद भइरहँदा यसको जिम्मेवारी लिन नेताहरू आकांक्षी देखिएका छैनन् । प्रचार विभागको जिम्मेवारी दिइए पनि चौतारीको इन्चार्ज कसैलाई नदिइएको संगठनका एक पदाधिकारीले जनाए ।
अध्यक्षको प्रतावित कार्यविभाजनको असन्तुष्ट पदाधिकारीले खुलेर विरोध गर्न नसके पनि एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत् बास्कोटाले उस्तै उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि राखिएको टिप्पणी गरेका छन् । आफूले जिम्मेवारी नमागेको, सुनेपछि लागेको कुरा भनेको उनको प्रष्टोक्ति छ । बास्कोटालाई भूमि व्यवस्था विभाग प्रमुखमा प्रस्ताव गरिएको छ । उनले कामकाजी नहुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? भन्दै प्रश्न सोधेका छन् ।
एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू अध्यक्ष ओलीले मार्गप्रशस्त गर्ने लाइनमा उभिएपछि उनले नयाँ रणनीति बनाएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गराएर त्यो समूहका नेताहरुलाई हात लिन खोजेको आन्तरिक आँकलन छ ।










