
हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने रणनीतिक महत्वको कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी ‘पप्पु–महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)’ लाई सरकारले करिव २ अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐनबमोजिम १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ सरकारी राजश्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गर्दै कानूनी प्रक्रिया शुरु गरेको हो । सार्वजनिक खरिद ऐनबमोजिम निर्धारण गरिएको १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ तोकिएको समयभित्र राजश्व खातामा दाखिला नगरे निर्माण कम्पनीको जायजेथा रोक्का गरी सरकारी बाँकी सरह तहसिल कार्यालयमार्फत असुल गरिनेछ । हुलाकी राजमार्ग निर्देशनालयले जारी गरेको सूचनामा तोकिएको ३५ दिनको म्यादभित्र उक्त रकम दाखिला नगरे निर्माण व्यवसायीको चल–अचल सम्पती (जायजेथा) बाट सरकारी बाँकी सरह असुलउपर गरिने प्रस्ट पारिएको छ । तोकिएको अवधिमा रकम दाखिला नभए लगत कसेर तहसिल कार्यालयमार्फत असुलउपरको कानूनी प्रक्रिया अघि बढाइने योजना कार्यालयले जनाएको छ । साथै सडक विभागअन्तर्गतका अन्य कार्यालयहरूबाट निर्माण व्यवसायीले पाउने कुनैपनि भुक्तानी रोक्का राख्न सम्बन्धित सबै निकायमा पत्राचार गरिसकिएको छ । साथै योजना कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त निर्माण व्यवसायी कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राख्ने निर्णयसमेत कार्यान्वयन गरिसकेको छ । विसं २०६८ जेठ ३१ गते ७२३ मिटर लामो कन्काइ पुल निर्माणका लागि ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण व्यवसायीको चरम लापरबाहीका कारण आयोजनाले पाँच पटकसम्म म्याद थप गर्दासमेत भौतिक प्रगति जम्मा ५६ प्रतिशतमा सिमित रह्यो । लगातारको ढिलासुस्ती र स्थानीयको आक्रोशपछि आयोजनाले गत वर्ष मङ्सिरमा जेभीसँगको ठेक्का सम्झौता रद्द गर्ने (तोड्ने) निर्णय गरेको थियो । पुल निर्माण अलपत्र परेपछि झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका हजारौं स्थानीय बासिन्दाले विगत डेढ दशकदेखि चरम सास्ती भोगिरहेका छन् । वर्षायामको उर्लँदो कन्काइ नदीमा जोखिम मोलेर काठको डुङ्गामार्फत वारपार गर्नुपर्ने बाध्यता छ भने हिउँदमा समेत स्थानीयले निजी बाँसको अस्थायी साँघुबाट पैसा तिरेर नदी वारपार गर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहिआएको छ ।
विश्वव्यापी हरित रूपान्तरणलाई तिब्र बनाउन चीनसहित विश्वभरका व्यवसायीबीच सहकार्य र ज्ञान आदानप्रदान थप मजबुत बनाउनुपर्ने विश्व दिगो विकास व्यवसाय परिषद्का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पिटर बाक्करले बताउनुभएको छ । चीनको उहानस्थित इस्ट लेक र स्विट्जरल्यान्डको लेक जेनेभाको नामबाट राखिएको ‘टु लेक्स डायलग’को तेस्रो संस्करण मंगलवारदेखि बिहीवारसम्म उहानमा आयोजना हुँदैछ । विश्व दिगो विकास व्यवसाय परिषद्, हुबेई होङताई समूह र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्को हुबेई उपपरिषद्को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । बाक्करले भू–राजनीतिक घटनाक्रमले विश्व समाचारमा ठूलो स्थान ओगटिरहेका बेला चीन र पश्चिमी मुलुकका व्यवसायीलाई एउटै मञ्चमा ल्याएर अर्थतन्त्रलाई कसरी कार्बन उत्सर्जनमुक्त बनाउने भन्ने विषयमा छलफल गर्नु महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले विभिन्न कम्पनीले विकास गरेका हरित प्रविधि तथा समाधानको तुलना, अनुभव आदानप्रदान र नयाँ व्यावसायिक साझेदारीमार्फत ती समाधानलाई व्यापक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । बाक्करले विश्वभरका व्यवसायीलाई चीनको विकासबाट सिर्जित अवसरको सदुपयोग गर्दै विश्वव्यापी हरित रूपान्तरणलाई अघि बढाउन आह्वान गर्नुभयो । उहाँकाअनुसार चीनले जलवायु परिवर्तन न्युनिकरणका लागि विभिन्न समाधान विकास गर्नुका साथै ती समाधानलाई अन्य देशको तुलनामा ठूलो स्तरमा कार्यान्वयन गर्ने क्षमता पनि देखाएको छ । चीनमा कार्यान्वयन भइरहेका प्रविधि तथा समाधानबाट साझेदारी र ज्ञान हस्तान्तरणमार्फत अन्य देशका व्यवसायले सिक्नसक्ने उहाँले बताउनु भयो । बहुराष्ट्रिय कम्पनी, चाहे ती पश्चिमा हुन् वा चिनियाँ, एकै ठाउँमा आएर आपूर्ति श्रृंखलाबाट हुने कार्बन उत्सर्जन, त्यसको न्युनिकरणका उपाय र उत्सर्जन मापनका लागि आवश्यक मापदण्डबारे छलफल गर्नुपर्ने उहाँको भनाइ छ । यस्तो सहकार्यले कुनै एक देश वा क्षेत्रलाई मात्र फाइदा पुग्ने नभई विश्वव्यापी रूपमा जलवायु परिवर्तनविरुद्धको प्रयासलाई तीव्र बनाउन सहयोग गर्ने समाधान विकास गर्न सकिने बाक्करले बताउनु भयो । ‘टु लेक्स डायलग’ले चीन र पश्चिमी मुलुकका व्यवसायी तथा दिगो विकासका क्षेत्रमा कार्यरत पक्षबीच संवाद, सहकार्य र हरित प्रविधिको आदानप्रदानका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ ।
वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषिपञ्चमी पर्व मनाउँदैछन् । ऋषिपञ्चमीका अवसरमा देशभरका विभिन्न धार्मिक तथा तीर्थस्थलमा पूजा–आराधना गर्ने भक्तजनको भीड लागेको छ । काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि सप्तऋषिसहित अरुन्धतीको पूजा–आराधना गर्ने भक्तजनको उल्लेख्य भीड रहेको छ । विशेषगरी महिलाहरूले ऋषिपञ्चमीका दिन स्नान गरी सप्तऋषि र अरुन्धतीको विधिपूर्वक पूजा गर्ने तथा व्रत बस्ने धार्मिक परम्परा रहँदै आएको छ । यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषिको पूजा गरिन्छ । ऋषिपञ्चमीलाई तीज पर्वको अन्तिम दिनका रूपमा समेत लिइन्छ । धार्मिक आस्थाका साथ मनाइने यस पर्वले नेपाली समाजमा परम्परा, संस्कार र सांस्कृतिक निरन्तरताको महत्व बोकेको छ ।





