२६ जेठ, आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् ।
दिउँसो ३ बजेका लागि शपथको तयारी भए पनि झन्डै डेढघण्टा ढिला गरी शपथ सुरु हुन लागेको छ । शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।



जिल्ला तनहुँ व्यास नगरपालिका-१२ देउराली स्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
मंगलबार करिब १३:०० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको BR10AB7739 नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार ५ जना मध्ये ३ जना घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ ।
घाइतेहरुको विवरणः
१) देश भारत बिहार राज्यको मधुबनी १० बस्ने ३७ वर्षीया आशा देवी
२) ऐ.ऐ. बस्ने ४० वर्षीया मनिका देवी
३) कार चालक, भारत बिहार भगलपुर बस्ने २८ वर्षीय सोनु
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साहलाई इतिहासको अध्ययन गर्न सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरु ३५ वर्ष यताको हुन् भनि उल्लेख गर्नुभएकोप्रति आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराउनुभएको हो । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले प्रधानमन्त्री साहको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने पनि बताउनु भयो । प्रधानमन्त्रीले सीमा सम्बन्धि दिएको आपत्तिजनक अभिव्यक्ति परराष्ट्रमन्त्री वा आफूले दिँदा हुने धारणा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएपछि उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने स्पष्ट पार्नुभएको हो । नेता केसीले प्रधानमन्त्रीले आफनो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि भरिया लगाएर अर्कोले जवाफ दिएर हुँदैन । तपाईमाथि प्रश्न उठाएको कुनै प्रतिनिधि राखेर अथवा कोही मान्छेमार्फत जवाफ दिएर हुन्छ ? हुँदैन । उहाँको अभिव्यक्तिबाट जे आयो, त्यसलाई सच्याउनुपर्ने अथवा त्यसमा गल्तीभए फिर्ता लिनुपर्ने । अथवा कुन मनसायले भनेको हो, उहाँले आएर भनिदिँदा के हुन्छ ? आज मैले उहाँको स्टाटस हेरेको थिएँ नक्कली हो कि के हो ? थाहा छैन । ३५ वर्षदेखि यो समस्या रहेको हो भनेर भन्नुभएको छ । मैले सम्माननीय प्रधानमन्त्रीजीलाई विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने अलि इतिहासलाई अध्ययन गरौँ । यो ३५ वर्षयताको समस्या मात्रै होइन ।’
नेता केसीले संसदलाई सुचारु गराउने जिम्मेवारी सरकारको भएकाले उसले पहल गर्नुपर्ने पनि बताउनु भयो ।
२६ जेठ, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन निर्देशन दिएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन् ।
उनले पार्टीलाई अझ संगठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन अपिल गरेका छन् ।
बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
२६ जेठ, । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंक घटेको हो । सो कमीपछि नेप्से २७३३ अंकमा झरेको छ । दिउँसो १ : २२ बजे नेप्से आजको न्यूनतम अंक २७०२ अंकसम्म झरेकोमा त्यसपछि सम्हालिएको हो । अघिल्ला तीन कारोबार दिन बजार लगातार घटिसकेको छ । बिहीबार १३, शुक्रबार ११ तथा सोमबार २० अंकले नेप्से घटेको थियो ।आज कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४४ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो। १०५ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने १५ को स्थिर रह्यो । फाइनान्स सबैभन्दा धेरै १.०१ प्रतिशत घट्यो । अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.०३ अंक मात्रै घट्यो । विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार ०.३८ प्रतिशत घटे । अन्य ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१, होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढे । सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । यी दुवै हालै बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढ्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा करिब १५ लाख रुपैयाँ खर्च गरेर सेनेटरी प्याड खरिद गरेको भए पनि ती सामग्री विद्यालयसम्म नियमित रूपमा पुग्न नसक्दा अभाव चुलिएको हो । विद्यालयमा एकपटक मात्र वितरण भएको र त्यसपछि लामो समयसम्म आपूर्ति नहुँदा मौज्दात सकिएको शिक्षकहरूको भनाइ छ ।
शिक्षकहरूका अनुसार शैक्षिक सत्र २०८१ मा एकपटक प्याड विद्यालयमा पुर्याइएको थियो । त्यसपछि दुई वर्षसम्म आपूर्ति नहुँदा समस्या झन् बढेको हो । शैक्षिक सत्र २०८२ मा पुरानै मौज्दातबाट केही प्याड वितरण गरिएको भए पनि ती सामग्री माघ महिनासम्म मात्रै पुगेको शिक्षकहरूले जनाएका छन् । त्यसयता गाउँपालिकाका अधिकांश विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराइएको छैन ।
शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह मंगोलाका अनुसार विद्यालयमा प्याड सकिएको केही महिना भइसकेको छ । उनले भने, ‘केही समयदेखि प्याड सकिएका छन्, पालिकामा जानकारी गराएका छौँ, अब उपलब्ध गराउने तयारी भइरहेको भन्ने सुनेको छु ।’
यस्तै चन्द्रदेवल माध्यमिक विद्यालयकी शिक्षिका मिना साउँदले प्याड नहुँदा महिनावारीका बेला छात्राहरू समस्यामा परेको बताइन् । उनका अनुसार विद्यालयमा प्याड नहुँदा आवश्यक परेको बेला छात्राहरूलाई खाली हात फर्काउनुपर्ने बाध्यता छ । ‘महिनावारी भएको बेला प्याड माग्न आउने छात्रालाई रित्तै फर्काउनुपरेको छ, केही छात्राहरू त पढाइ छाडेर घर फर्किनुपर्ने अवस्था पनि छ,’ उनले भनिन् ।
विद्यालयहरूमा सेनेटरी प्याड अभाव भइरहेका बेला गाउँपालिकाले मौज्दातमा रहेका सामग्री समयमै वितरण नगरेको र म्याद गुज्रिएपछि फालिएको आरोप पनि लागेको छ । दुई वर्षअघि खरिद गरिएका प्याडहरू लामो समय स्टोरमै राखिँदा प्रयोग नहुँदै म्याद सकिएको बताइएको छ ।
स्थानीयका अनुसार २०८२ चैत २७ गते गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरका लागि कोठा खाली गर्ने क्रममा स्टोरमा राखिएका करिब ३०० भन्दा बढी सेनेटरी प्याड गाउँपालिका परिसरभित्रकै फोहोर व्यवस्थापन क्षेत्रमा विसर्जन गरिएको थियो ।
विद्यालयमा अत्यावश्यक सामग्रीको अभाव भइरहेका बेला मौज्दातको सही व्यवस्थापन हुन नसक्नु र सामग्री प्रयोग नै नहुने गरी नष्ट हुनु सार्वजनिक स्रोतको दुरुपयोग भएको भन्दै स्थानीयस्तरमा प्रश्न उठेको छ । किशोरीहरूको स्वास्थ्य, स्वच्छता र विद्यालय उपस्थितिसँग प्रत्यक्ष जोडिएको सामग्री समयमै उपलब्ध गराउन नसक्नु स्थानीय सरकारको कार्यक्षमतामाथिको गम्भीर कमजोरीका रूपमा हेरिएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश साउँदले प्याड किन र कसरी विसर्जन गरियो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । ‘स्टोरमा राखिएका प्याड किन फालिए भन्नेबारे मलाई जानकारी छैन,’ उनले भने ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यले म्याद नाघेका प्याड स्टोरमा रहेकाले फालिएको जानकारी आफूले पाएको बताए । उनका अनुसार दुई–तीन वर्षअघि खरिद गरिएका सामग्री प्रयोग हुन नसकेपछि व्यवस्थापन गरिएको हो । ‘अब स्रोत उपलब्ध भए विद्यालयलाई पुन: उपलब्ध गराउनुपर्ने हुन्छ, त्यसबारे बुझ्दैछु,’ उनले भने ।
सरोकारवालाहरूले सेनेटरी प्याड जस्ता संवेदनशील सामग्रीको व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै छानबिनको माग गरेका छन् । वार्षिक आवश्यकता आकलन, समयमै वितरण, मौज्दात व्यवस्थापन र म्याद अनुगमन प्रणाली प्रभावकारी नहुँदा सार्वजनिक स्रोतको दुरुपयोग भएको उनीहरूको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन्।
गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी अगाडि बढाइएको स्राेतले जनाएकाे छ। राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि गत चैत १३ गते गृहमन्त्रीको रूपमा पहिलोपटक कार्यभार सम्हालेका गुरुङले सेयर लगानी र स्वार्थको बाझिने विषयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि नियुक्तिको २६ दिनमै (गत वैशाख ९ गते) पदबाट राजीनामा दिएका थिए। आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि बाटो खुला गर्न भन्दै उनले नैतिकताको आधारमा तत्कालीन समयमा राजीनामा बुझाएका थिए।
उनीमाथि लागेका आरोपहरूको विस्तृत अध्ययन र छानबिन गर्न सरकारले गत वैशाख अन्तिम साता उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा एक विशेष समिति गठन गरेको थियो।
उक्त छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउँदै उनलाई सफाइ (क्लिन चिट) दिएको वा राजनीतिक समीकरणमा कुरा मिलेको आधारमा गुरुङलाई पुनः सोही शक्तिशाली मन्त्रालयको जिम्मेवारी सुम्पन लागिएको हाे।
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुरुङ रास्वपाभित्र र युवा वृत्तमा आक्रामक एवं ऊर्जावान् नेताका रूपमा चिनिन्छन्।
पोखरा । पोखराको सडकमा पत्रपत्रिका बेचेर जीविका चलाउने कृष्ण थापाले जेठ २३ गते एउटा नमीठो विभेद भोगे । बौद्धिक अपांगता भएका कृष्णले पोखरा महानगरपालिका वडा नम्बर ३२ मा बस रोक्न खोज्दा चालकले गाडी रोकेनन् । उनी बस चढ्न खोज्दै थिए तर बस नरोकी अघि बढ्यो । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि कास्की प्रहरीले सक्रियता देखाएको छ ।
प्रहरीले ग२ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिएको छ । ट्राफिक नियम उल्लंघन गरेकाले उक्त बसलाई जरिवाना गरिएको छ । कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी वीरेन्द्रकुमार पासवानले भिडियो र जनगुनासोका आधारमा तत्काल कारबाही गरिएको बताए । प्रहरीले बसका चालक र सहचालकलाई बोलाएर सम्झाएको छ । उनीहरूले अबदेखि फरक क्षमता भएका, अपांगता भएका र वृद्धवृद्धालाई यात्रामा प्राथमिकता दिने सहमति जनाएका छन् ।
सार्वजनिक यातायातमा अपमानित बनेका कृष्णले ढिलै भए पनि न्याय पाएका छन् । पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाको पहलमा आइतबार बेगनासताल पोखरा यातायात प्रालीसँग छलफल भएको छ । छलफलमा आगामी दिनमा कृष्ण र उनीजस्ता अन्य नागरिकमाथि यस्ता दुव्र्यवहार हुन नदिने प्रतिबद्धता जनाइएको छ ।
कृष्णको सम्मान र छुट्टै पहिचानका लागि वडा कार्यालयले उनलाई विशेष पोसाक उपलब्ध गराउने भएको छ । उक्त पोसाकका आधारमा बसहरूले उनलाई सहज र सुरक्षित यात्राको सुविधा दिनेछन् । साथै उनलाई यात्राका क्रममा भाडामा पूर्ण सहुलियत अर्थात् निःशुल्क यात्रा गराउन समितिलाई अनुरोध गरिएको छ । सार्वजनिक यातायातलाई सबैका लागि मर्यादित बनाउन प्रहरीले पनि निगरानी बढाएको छ ।