
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताउनुभएको हो । सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । प्रवक्ता शाहीले संसद जनताको आवाज बोल्ने थलो र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै सरकार बलियो हुँदा संसदको आवश्यकता अझ बढी हुने बताउनु भयो । उहाँले सुकुम्बासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था तथा भूमि व्यवस्थापनजस्ता विषय संसदबाटै कानुन बनाएर समाधान खोज्नुपर्ने धारणा राख्नुभयो । उहाँले अन्तरसरकारी समन्वयो अभावका कारण संघ सरकारले गर्ने कतिपय निर्णयहरु प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने नगरेको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले दुई दिन बिदा दिने भनेको छ । हाम्रो जिल्लामा एकदुई पालिकाले हामीले मान्दैनौँ भनिसके । अनि सरकार कसरी चल्छ ? यससम्बन्धी कुनै कानून छैन । रास्वपाका माननीय सांसद र दलका उपनेता यहाँ हुनुहुन्छ । संसद चलाउनुहोस् । संसदबाट नभाग्नुहोस् । संसद भनेको जनताको आवाज बोल्ने थलो हो भने सरकार त्यसको कार्यान्वयन गर्ने हो । जब सरकार बलियो हुन्छ तब संसदको आवश्यकता झन ठहरिन्छ । किनकी हामी प्रजातान्त्रिक अभ्यासमा छौँ । कानून बनाउनुपर्ने छ । अहिले सुकुम्बासीको समस्या छ । अहिले कानून नबनाइकन सुकुम्बासीको व्यवस्थापन गर्न सक्नुहुन्छ ? अहिले अड्केको भूमिसुधार ऐनले होइन ? अनि भूमिसुधार ऐन कसले बनाउने हो ? रास्वपाको सरकारले बनाउने हो कि सरकारले बनाउने हो ? ऐन बनाउने त संसदले होला नि । अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्यो भने केपी ओलीको हालत हुन्छ । संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनि नगर्नुस् ।’
उहाँले संघीयताका कारण मुलुकमा अतिरिक्त आर्थिक भार थपिएको भन्दै सरकारले प्रदेश खारेज गर्न चाहेको खण्डमा पार्टी सहयोग गर्न तयार रहेको पनि बताउनु भयो ।
उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकशिल मुुलुकमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताउनुभएको छ । विश्व बौद्धिक सम्पती दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एलडीसी ग्रजुएसनपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने भन्दै उहाँले यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनु भयो । महानिर्देशक बस्नेतकाअनुसार नेपाल हाल अल्पविकसित राष्ट्रको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार नलिकनै उत्पादन गर्न पाउने विशेष सुविधा उपभोग गरिरहेको छ । तर स्तरोन्नति भएपछि नेपालले प्याटेन्ट अधिकार भएका कम्पनीहरूलाई रोयल्टी तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमै उत्पादन भइरहेका औषधिको मूल्य स्वाट्टै बढ्नसक्ने अवस्था रहने उहाँको भनाइ छ । उहाँले औषधी र खोपको मुख्य बढ्दा निजी क्षेत्र र औषधि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रत्यक्ष असर पु¥याउने बताउनु भयो । व्यापारिक सहुलियतहरू हट्दा र उत्पादन लागत बढ्दा हालको कर प्रणालीमा समेत परिवर्तन ल्याउनुपर्ने स्थिति आउने बताउँदै उहाँले नेपालले भारत र अन्य तेस्रो मुलुकसँगको व्यापारमा पाउँदै आएका सुविधाहरू पनि एलडीसी ग्रजुएसनपछि नपाउने स्थीति रहने बताउनु भयो ।
महानिर्देशक बस्नेतले भन्नुभयो– ‘मेडिसिन र भ्याक्सिनमा अहिले सुविधा पाएका छौँं । अहिले हाम्रो व्यापारको एउटा ट्रेन्ड जुन छुट सुविधा सहुलियत भारतसँग गर्दा पनि अरु देशसँग गर्दा पनि हामीले पाइराखेका छौँ । अब ती कुराहरू एलडीसी ग्रजुएसनमा जाँदा नपाउने स्थिति छ र त्यस्तै यो कुरा पनि नपाइदो रहेछ । जस्तै नेपालमा उत्पादन भएका औषधिहरुको अहिले प्याटेन्ट नलिकन पनि यहाँ उत्पादन गर्न पाउने सुविधा चाहीँ हामीले एलडीसीमा रहदा पाएका रहेछौँ । अब त्यो सुविधा पनि हामीले नपाउने रहेछौँ । अब चाहिँ हामीले प्याटेन्ट सलाई वालालाई रोयल्टी तिरेर मात्रै उत्पादन गर्नुपर्ने रहेछ । अब यसो गर्दाखेरि हाम्रो औषधिको मूल्य जो नेपालमा उत्पादन भइराखेको छ स्वाट्टै मूल्य वृद्धि हुन सक्ने अवस्था रहेछ । अब यस्तो थुप्रै सेक्टरमा यसले चाहिँ असर पार्ने देखिराखेको छ एलडीसी ग्रजुएसन पछि र यो सेक्टरलाई पनि असर पर्ने देखिन्छ । त्यसको मिटिगेसनका लागि पनि हामीले रिस्क मिटिगेसन गर्ने स्ट्राटेजी नै बनाएर अगाडी बढ्नुपर्ने छ सबभन्दा बढी त यसले यसलाई यसले असर कसलाई गर्छ भने भन्दाखेरि निजी क्षेत्रलाई गर्छ । जो चाहिँ अहिले सम्बन्धित व्यवसायमा लागिरहनु भएको छ, अब त्यो व्यवसायमा अकस्मात परिवर्तन आउदा खेरि हाम्रो ट्याक्स रिजाइनमा पनि त्यसले चेन्ज ल्याउछ ।’ महानिर्देशक बस्नेतकाअनुसार यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा पनि देखिनेछ । भविष्यमा आउन सक्ने यस्ता जोखिमहरूलाई सम्बोधन गर्न सरकारले अहिले नै ठोस जोखिम न्युनिकरण रणनीति बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्ता परिवर्तनले व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत प्रभाव पार्ने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उहाँको भनाइ रहेको छ ।
मनोहरास्थित सुकुम्बासी बस्तीमा आज प्रहरीले घेरा हालेर डोजर चलाएको छ । आफ्नो थातथलो भत्काइएपछि सुकुम्बासीहरु सामान र गाईवस्तु सार्न व्यस्त देखिएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरण र स्थानीय प्रशासनको सक्रियतामा आज बिहानैदेखि बस्तीमा डोजर चलाइएको हो । प्रहरीले साविकको बस्ती क्षेत्रलाई चारैतिरबाट घेरा हालेर डोजर चलाउन थालेपछि त्यहाँका स्थानीयबासीहरु बिचल्लीमा परेका छन् । वर्षौंदेखि बस्दै आएको आफ्नो टहरो भत्काउन थालेपछि सुकुम्बासीहरु आफ्ना सामानहरु पोका पार्न र गाईवस्तुहरु बाँधेर सुरक्षित स्थानतर्फ लैजान व्यस्त देखिएका छन् । बस्ती भत्काउन आएका डोजरलाई रोक्न केही स्थानीयले प्रयास गरेपनि ठूलो संख्यामा परिचालित प्रहरीले दिएनन् । हाल बस्ती क्षेत्रमा डोजरले टहराहरु भत्काइरहेको छ भने विस्थापितहरु आफ्ना सरसामान सडक किनारमा थुपार्न बाध्य भएका छन् ।
भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् । हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।
त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी पक्षसँग भेट्न पाकिस्तानको इस्लामावाद जान लागेका अमेरिकी प्रतिनिधिहरूको भ्रमण रद्ध गरेको घोषणा गर्नुभएको छ । ट्रम्पले भन्नुभयो, ‘तपाईंले सायद सुन्नुभयो होला कि हामीले भ्रमण रद्ध गरेका छौं । हामीसँग सबै परिस्थिति अनुकूल छ । पर्याप्त नभएको कागजात दिनका लागि जहाजमा १५ घण्टा बिताउँदै आउने–जाने गरिरहन हामी चाहँदैनौं । त्यसैले हामी टेलिफोनमार्फत कुरा गर्नेछौं, र उनीहरूले चाहेको बेला हामीलाई फोन गर्न सक्छन् । फेरि पनि भन्छु, हामीसँग सबै कुराको नियन्त्रण छ । उनीहरूसँग व्यावहारिक रूपमा कुनै सेना बाँकी छैन, उनीहरूसँग कुनै नेता बाँकी छैनन् । नेताहरू को हुन् भन्ने हामीलाई थाहा छैन । नेता को हो भनेर कसैलाई थाहा छैन, मलाई लाग्दैन कि उनीहरूलाई नै आफ्ना नेता को हुन् भन्ने थाहा छ । यो धेरै महत्वपूर्ण छ । त्यसैले तपाईंले त्यो देख्नुभयो ।’
यसअघि शनिवार ट्रम्पले फक्स न्युजलाई बताउनुभएको थियो कि उहाँले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टिभ विटकफको पाकिस्तान भ्रमण रद्ध गर्नुभएको छ । अन्तर्वार्तामा ट्रम्पले दाबी गर्नुभयो कि इरानसँगको द्वन्द्वमा अमेरिका बलियो स्थितिमा रहेकाले अमेरिकी प्रतिनिधिमण्डलले पाकिस्तानसम्म १८ घण्टाको उडान भर्नु उचित छैन । विटकफ र कुश्नर यस सप्ताहन्तमा अमेरिका–इरान वार्ताको दोस्रो चरणका लागि पाकिस्तान जाने कार्यक्रम थियो ।
आज काठमाडौंको आकाशमा बिहानैदेखि बादल लागेको छ र अध्यारोले पूरै ढाकेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, वागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश, वागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने आज तातो दिन हुने सम्भावना छ । राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपात हुनसक्ने छ । मौसम विभागले मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा शतर्कता अपनाउन अनुरोध गरेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो दिन हुने भएकाले शतर्क रहन सल्लाह दिइएको छ ।





