२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले मध्यपूर्वी देशहरुमा देखिएको संकटले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष रुपमै असर गर्ने बताउनुभएको छ ।  आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रवार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्वका कारण कच्चा तेलको मूल्यवृद्धि भइरहेको र त्यसले नेपाली अर्थतन्त्रमा समेत प्रत्यक्ष असर गर्ने बताउनुभएको हो । उहाँकाअनुसार धेरै लामो समयसम्म द्वन्द्व रह्यो भने नेपालसहित विश्वभर नै जोखिम बढाउने देखिन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएअनुसार युद्धका कारण एक ब्यारलको १० प्रतिशतले मूल्यवृद्धि हुन्छ भने ०.४ प्रतिशत क्वाइन्टले मुद्रास्फ्रीति बढ्छ । त्यसरी हेर्दा ०.१५ प्रतिशत क्वाइन्टले आर्थिक वृद्धि घट्छ भनेर अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेको छ । उहाँकाअनुसार द्वन्द्व लामो समय रही रहे २५ प्रतिशतले तेलको मूल्य बढ्ने खतरा छ ।  अहिले युद्धका कारण भारत, नेपाल लगायतका देशमा ग्यास होल्ड गर्ने प्रवृत्ति देखिएको छ । यसले विस्तारै अभाव बढ्न सक्ने उनले बताउनु भयो । युद्धका कारण खाद्यन्नदेखि ग्यासहरु जोहो गर्न मानिसहरु लाग्दा ती वस्तुहरुको कृत्रिम अभाव खडा गर्न व्यवसायीहरु समेत लाग्नसक्ने भट्टले बताउनु भयो । उहाँकाअनुसार मुद्रास्फ्रीतिको असर सबैभन्दा बढी तल्लो वर्गका मान्छेमा पर्छ । मूल्यवृद्धि हुँदा बित्तीकै गरिबीदेखि आय असमानता समेत बढ्ने खतरा रहेको उहाँले बताउनु भयो । विश्वमा भइरहेका युद्धका कारण नेपालको आर्थिक वृद्धिदरमा समेत असर परिरहेको पूर्वकार्यकारी निर्देशक भट्टले बताउनु भयो । 

पूर्व कार्यकारी निर्देशक भन्नुभयो–‘आर्थिक वृद्धि प्रभावित हुने जोखिम देखिरहेको छ । पुनर्निर्माणका कामहरु थाल्ने भनिरहेका छौं । लामो समयसम्म बजारमा पेट्रोलियम पदार्थको मूल्य कम भइरहेको अवस्था थियो भने अब त्यो अवस्था हुँदैन । अब पुनर्निर्माणका कामहरु अघि बढाउन कठिन हुन्छ । कच्चापदार्थहरु सहजै आपूर्ति गर्न त्यति सजिलो छैन । त्यसले निर्माणका कामहरु प्रभावित हुन सक्छन् । सामान्य आर्थिक गतिविधि प्रभावित भएपछि मुलुकको आर्थिक वृद्धि समेत प्रभावित हुन जान्छ । भोलिका दिनमा यातायात, होलसेल, खुद्राका गतिविधिहरु प्रभावित हुन थाल्नेछन् । जसले हाम्रो अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिइरहेका छन् । युद्धबाट पर्यटन क्षेत्र पनि प्रभावित हुने देखिन्छ । आयात निर्यात पनि प्रभावित हुनसक्छ । नेपालमा आउने मल मध्ये मध्य पूर्वबाट मात्रै आधा हिस्सा मल आउने गरेको छ । मलको आयात प्रभावित हुने बित्तिकै कृषि उपजमा असर गर्नेछ । कृषि, पर्यटनदेखि दैनिक आर्थिक गतिविधि प्रभावित हुँदा बित्तिकै अर्थतन्त्रमा ठूलो संकट आउन सक्छ ।’ भट्टले द्वन्द्वका कारण मुलुकमा आउने रेमिट्यान्समा समेत गिरावट आउन सक्ने खतरा रहेको बताउनु भयो । उहाँकाअनुसार  मध्यपूर्वि देशमा मात्रै ४० प्रतिशत नेपाली कामदारहरु कार्यरत छन् । उनीहरु प्रभावित हुँदा बित्तिकै रेमिट्यान्स कम हुने र आगामी दिनमा विदेशी सञ्चितिमा समेत गिरावट आउने खतरा रहेको उहाँले बताउनु भयो ।  विदेशी सञ्चिति कमजोर हुँदा आगामी दिनमा दातृ निकायहरुले समेत सहायताका लागि नपत्याउने स्थीति बन्न सक्ने भट्टले बताउनु भयो । युद्धका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा नेपालमा रहने श्रमिकहरुको व्यवस्थापन ठूलो चुनौतीपूर्ण बन्ने सक्ने उहाँको भनाइ रहको छ ।

खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ । ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन् । ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारै–किनार खाली सिलिण्डरको लामो लाइन देख्न सकिन्छ । विशेषगरी ‘नेपाल ग्यास’का राता सिलिण्डरहरू सडकपेटीमा लामवद्ध राखिएका छन् । आफ्नो पालो कुरेर घन्टौं उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रस्टै झल्किन्छ । लाइनमा युवा, वृद्धदेखि महिलाहरूसम्मको उल्लेख्य उपस्थिति छ । कोही मोटरसाइकलको पछाडि सिलिण्डर बाँधेर आइरहेका छन् भने कोही काँधमै गह्रौं सिलिण्डर बोकेर डिपो धाउन बाध्य छन् । भीडभाडमा आफ्नो सिलिण्डर नहराओस् वा नसाटियोस् भनेर कतिपय उपभोक्ताले सिलिण्डरको रेगुलेटर लाग्ने ठाउँमा सेतो कपडा वा बोराको टुक्रा बाँधेर चिनो लगाएको रोचक तर विवश दृश्य पनि तस्बिरमा कैद भएको छ । एउटा ग्यास सिलिण्डर भर्नका लागि आफ्नो दैनिक कामधन्दा, कार्यालय र व्यापार व्यवसाय नै माया मारेर दिनभर सडकमा बस्नुपर्ने बाध्यताले नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको छ । बजारमा ग्यास अभावको हल्ला चल्ने बित्तिकै वा आपूर्तिमा सामान्य ढिलाइ हुँदा पनि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ । जसका कारण ग्यास पाइने आशमा मानिसहरू यसरी उद्योग र डिपोहरूमा ह्वारह्वार्ती पुग्ने गर्छन् । अत्यावश्यक उपभोग्य वस्तुको रूपमा रहेको खाना पकाउने ग्यासको वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्नु र बेला–बेलामा यस्तो अभाव सिर्जना हुनुले आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । सम्बन्धित निकायले ग्यास आपूर्तिलाई सहज, पारदर्शी र नियमित बनाउन तत्काल कदम नचाल्ने हो भने सर्वसाधारणले यस्तो सास्ती अझै व्यहोरिरहनुपर्ने निश्चित छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ हुनुहुन्थ्यो । गएराति अप्ठ्यारो महशुस भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आउनुभएको थियो । गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा उहाँको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उहाँ झापा फर्कनुभएको थिएन ।

पोखरा । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । 
शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सो जघन्य  अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुुन् । आवश्यक परे कानूनमा संशोधन गरेर भएपनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दवाव दिन आफूहरुले सरकारसँग खबरदारी गर्नुपरेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनु भयो । उहाँले यस्ता जघन्य अपराधका घटनामा जिम्मेवार निकाय आफैँले संरक्षण गर्ने गरेको आफूहरुलाई आशंका लागेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । 
सामाजिक अभियन्ता सोडारीले भन्नुभयो,‘यो बलात्कारको घटना जुन सुर्खेतमा घट्यो । यो निकै दयनीय अवस्था छ । यस्तो खाले घटना पटकपटक भइरहँदा उपराधीहरु उत्साहित भइरहेका हुन् कि भन्ने अड्कल गर्न सकिन्छ । यो घटनामा निकै जघन्य अपराध देखिन्छ । यस्तो जघन्य अपराधको घटनामा सरकारका जिम्मेवार निकायहरुले विभिन्न घटनाहरुलाई ढाकछोप गर्ने तत्वहरुलाई निमिट्यान्न पार्नका लागि नीतिगत रुपमा नै करेक्शन गर्नुपर्छ किभनेर हामीले सामाजिक विरोधका कार्यक्रम गरेका हौँ ।’
प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउन नहुने टर्कीका विदेशमन्त्री हाकान फिदानले बताउनुभएको छ । साथै उहाँले इरानमा सत्ता परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभएको छ । राजधानी अंकारामा भ्रमणमा रहेका जर्मन विदेशमन्त्री जोहान वाडेफुलसँगको संयुक्त पत्रकार सम्मेलनमा फिदानले यो युद्ध जतिसक्दो चाँडो रोकिनुपर्ने बताउनु भयो । इरानको क्षेत्रीय अखण्डताको सम्बन्धमा कुनै समस्या हुनुहुँदैन र सत्ता परिवर्तन जस्ता लक्ष्यहरू राखिनु नहुने उहाँको भनाइ छ । यस क्षेत्र जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्कनुपर्ने उहाँले बताउनु भयो । फिदानले इरानका लागि विखण्डनकारी परिदृश्यहरू खडा गर्ने प्रयास भइरहेको भन्दै चेतावनी दिनुभयो । 

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मोहनप्रसाद ओली केही समययता अस्वस्थ हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई ओलीको गुण्डु (भक्तपुर) स्थित निवासमा लगिने भएको छ भने अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिनेछ । 

अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ । अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूले ऊर्जाको मूल्य घटाउन आ–आफ्नो भण्डारबाट कुल ४० करोड ब्यारेल तेल र प्रशोधित उत्पादनहरू सामूहिक रूपमा निकाल्ने राष्ट्रपति ट्रम्पको प्रस्तावमा सर्वसम्मतिले सहमति जनाएका बताउनुभएको हो । राइटले यसै प्रयासको हिस्सास्वरूप राष्ट्रपति ट्रम्पले आगामी हप्तादेखि ऊर्जा विभागलाई रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख (१७२ मिलियन) ब्यारेल तेल निकाल्न अनुमति दिनुभएको छ । योजनावद्ध निष्कासन दरका आधारमा यो आपूर्ति पूरा हुन करिव १२० दिन लाग्नेछ । अमेरिकाले आगामी एक वर्षभित्र यी रणनीतिक भण्डारहरूमा करिव २० करोड ब्यारेल तेल पुनः प्रतिस्थापन गर्ने व्यवस्था मिलाएको पनि राइटले जानकारी दिनुभयो । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्रलाई प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने बताउनुभएको छ । 
उहाँले विद्यमान उच्च भन्सार दरलाई समेत न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष अग्रवालले दक्षिण एशियाका अन्य देशहरुमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा राजश्वको अनुपात १३ देखि १४ प्रतिशत मात्रै रहेको तर नेपालमा १९.९ प्रतिशत पुगेको भन्दै यसले लगानी र व्यापारको प्रतिष्पर्धी वातावरण नबनेको बताउनु भयो । विगतमा लामो समय राजनीतिक अस्थिरताका कारण अर्थनीति पनि अस्थिर भएको भन्दै उहाँले अब बन्ने बलियो सरकारले अर्थनीतिमा स्थायित्व ल्याउनुपर्ने बताउनु भयो । नियामक निकायको संकुचित मौद्रिक नीतिका कारण विगत ४ वर्षदेखि अर्थतन्त्र अत्यन्तै शिथिल बनेको उहाँको भनाइ छ । यद्यपि हालै अर्थमन्त्रीको सहकार्यमा राष्ट्र बैंकले गरेका केही नीतिगत सुधारप्रति भने उहाँले सन्तोष व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी लगानी निजी क्षेत्रको रहेकाले नीतिगत परिवर्तनको प्रत्यक्ष असर निजी क्षेत्रलाई पर्ने उहाँले प्रस्ट पार्नुभयो । यसैलाई मध्यनजर गर्दै अब उप्रान्त कुनैपनि नीति नियम लागू गर्नुअघि ‘रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट’ (नियामकीय प्रभाव मूल्याङ्कन) गर्ने प्रथा शुरु गर्नुपर्ने उहाँको माग छ । 
आगामी दिनमा पर्यटन र सूचना प्रविधि (आईटी) जस्ता ‘वेटलेस र बोर्डरलेस’ (भारविहीन र सीमारहित) व्यापारलाई प्रवद्र्धन गर्न लगानीमैत्री नीति ल्याउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । विगतका भूतप्रभावी (रेट्रोस्पेक्टिभ) कर नीतिले निजी क्षेत्रलाई ठूलो अप्ठ्यारो पारेको, नयाँ अडिट प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नभएको र भन्सारको अनलाइन मूल्याङ्कन प्रणालीमा अझै कमजोरी रहेको भन्दै उहाँले यी सबै समस्या तत्काल समाधान गरी अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मूल्यअभिवृद्धिकर एक तहले हुँदैन, हामीले दुई तहको मूल्यअभिवृद्धि कर ल्याउनैपर्छ नभए नेपालको अर्थतन्त्र प्रतिष्पर्धी हुँदैन । दोस्रो अहिले विद्यमान अवस्थामा भन्सारको दरहरु धेरै बढी छन् । ती भन्सारका दरहरुलाई हामीले न्युनिकरण गर्नुपर्छ । अहिले हाम्रो ओभरल राजश्व जिडिपीमा १९.९ प्रतिशत देखिन्छ । जबकी दक्षिण एशियाका अन्य देशहरुमा १३÷१४ प्रतिशत मात्रै छ । त्यो हिसावले हाम्रो प्रतिष्पर्धी वातावरण नबनाईकन आर्थिक गतिविधि विस्तार हुँदैन । तेस्रो, विगतमा हामीले लामो समयदेखि राजनीति स्थायित्वको अभावमा अर्थनीतिको पनि स्थायित्व भएन । अब यो पहिलो पटक संविधान जारी भएपछि झन्डै दुईतिहाई बहुमतको सरकार हुँदैछ । अब अर्थनीतिहरु स्थायित्व हुनुप¥यो । हाम्रो अर्थतन्त्रमा नियमन निकायहरुको नीतिले धेरै ठूलो प्रभाव पारेको छ । विगतमा मौद्रिक नीतिको संकुचित कारणले गर्दा लामो समय झन्डै ४ वर्षसम्म अर्थतन्त्र अत्यन्तै शिथिल अवस्थामा रह्यो । केही समय अगाडी मात्रै माननीय अर्थमन्त्रीज्युको सहकार्यमा यी कार्यको सुधार गर्न राष्ट्र बैकको केही नीतिहरु परिवर्तन भएका छन् । अब उप्रान्त पहिलो पटक नितिनियम लागू हुनुभन्दा अगाडी रेगुलेट्री ईम्प्याक्ट एसेसमेन्ट गर्ने प्रथा हामीले चालु गर्नुपर्छ । ८० प्रतिशत भन्दा बढी लगानी निजी क्षेत्रको नै रहेको छ । यसको सबैभन्दा प्रभाव निजी क्षेत्रलाई नै पर्ने हो । आगामी दिनमा वेटलेस र बोर्डरलेस व्यापारलाई प्रवद्र्धन गर्नुप¥यो । हामी कहाँ धेरै सम्भावना छ । बोर्डरलेसम्दाखेरी पर्यटन र आईटी सेक्टर आउँछन्, यसको प्रर्वद्धनको लागी लगानीमैत्री नीतिहरु आउनुपर्छ । समग्र रुपमा अर्थतन्त्रलाई स्थायित्व दिएर लगानीमैत्री वातावरण निर्माण गरेर लगानीकर्ताको उत्साह बढाउनु आजको आवश्यकता हो । विगतमा भुतप्रभावित करका नीतिहरुले पनि धेरै ठूलो अफ्ठ्यरो पा¥यो । अडिट सिष्टम पनि परिवर्तन भइसकेको छ तर अहिलेपनि त्यो प्रभावकारी कार्यन्वयन भइसकेको छैन । भन्सारमा पनि मूल्याङ्कन अनलाईन सिष्टम डाटावेसवाट गर्नुभयो, अझ पनि त्यसमा धेरै कमी कमजोरीहरु देखिएका छन् । यी सबैलाई हटाउँदै आगामी दिनमा अर्थतन्त्रलाई गतिशिल दिनुप¥यो । निर्वाचन परिणाम आईसकेपछि निजी क्षेत्र धेरै उत्साहित भएर अगाडी बढेको छ, लगानी गर्न त्यतिकै आतुर छ । छिटै नै आवश्यक ऐन नियमहरुमा परिमार्जन गरि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आउँदैछ, उसले चुनावी घोषणापत्रमा राखेका आर्थिक समृद्धिका बुँदाहरुलाई पनि यथाशिघ्र कार्यान्वयनमा लग्दै अगाडी बढ्यो भने हामी पुनः आर्थिक गतिशिलतामा जानसक्छौँ ।’ निर्वाचन परिणामपछि निजी क्षेत्र उत्साहित भएको र लगानी गर्न आतुर रहेको उहाँले बताउनु भयो । 

सुडान र चाडबीचको अद्रे सीमा नाकामा भएको ड्रोन आक्रमणमा १३ सर्वसाधारणको मृत्यु भएको छ । अल जुनैना आपतकालीन कक्षको समन्वय परिषद्, एक स्वैच्छिक नागरिक समूहले एक विज्ञप्ति जारी गर्दै ड्रोनले नाकामा चारवटा मिसाइल प्रहार गरेको बताएको छ । यस आक्रमणमा इन्धन व्यापारमा संलग्न ५ महिलासहित १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आक्रमणले नाकामा रहेको इन्धन बजार ध्वस्त पारेको छ, धेरै नागरिक सवारी साधनहरूमा क्षति पु¥याएको छ र ठूलो परिमाणमा खाद्यान्न आपूर्ति जलाएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार सबै पीडितहरू साना व्यापारीहरू थिए जसले चाडको अद्रे शहरबाट नाकासम्म परम्परागत जनावरले तान्ने गाडा प्रयोग गरेर इन्धन र सामानहरू ओसारपसार गर्ने गर्दथे । यो उनीहरूको दैनिक जीविकोपार्जनको माध्यम थियो । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।